विकासन्युज

सेयर बजारमा अवसरै अवसर छ

मान्छे धनि बन्ने लालचमा महंगो ओच्छानमा निदाउन नसकि निन्द्राको गोलि खान्छन । एक लिटर दुध बेचेर दुई कप चिया खान्छ । धान खेत बेचेर चामल किन्छ । घर बेचेर गाडि किन्छ । र, भन्छ दःुख पाए । आफुलाई सर्वज्ञान सम्पन्न ठान्छ । अरुलाई अपमान गर्छ र आफुले सम्मान नपाएको गुनासो गर्छ । हो ठ्याक्कै यस्तै प्रवृतिका केही मान्छे शेयर बजारमा छन् र त शेयर बजारको महत्व छ । नत्र बालि भित्राउने बेलामा कसले किन खेत बेच्थ्यो र, स्वस्थ रहने बेलामा दुध बेचेर चिया कसले खान्थ्यो र ? अनि,  यो शेयरमा फाप्दै फापेनअचाक्लि घाटा भयो भनि फलाक्दै हिन्ने को नै हुन्थ्यो र ? महोदय तिमिहरु छौ र शेयर बजारमा अवसरै अवसर छ ।

सानिमामाई हाइड्रोपावरको हकप्रद निष्कासन अाज अन्तिम दिन

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन बिहीबारदेखि बन्द हुने भएको छ । कम्पनीले ८२ मेगावाटका दुईवटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गरेको हो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।    

एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि हकप्रद सेयर निष्कासन गर्दे

काठमाडौं । चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले आउदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर बिक्री गर्दे छ । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्ने छ । अब बैंकको पुँजी संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।

सिद्धार्थ इक्वीटी फन्ड असोज २५ देखि बिक्री खुला हुदै

काठमाडौं । सिद्धार्थ म्युचल फन्डले १० करोड २० लाख एकाई सिद्धार्थ इक्वीटी फन्ड बिक्री खुला गर्न लागको छ । प्रति एकाई १० रुपैयाँ दरको फन्ड आउदो असोज २५ गतेदेखि बिक्री खुला हुदैछ । कोषको प्रवद्र्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । निष्कासन बन्द छिटोमा असोज २९ र ढिलोमा कात्तिक ८ गते हुने छ । कुल १२ करोड एकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई सिद्धार्थ बैंकले राख्ने छ । दरखास्त दिन पाउने संख्या न्युनतम १ सय र बढीमा २४ लाख एकाई रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ । योजनाको अवधि बाँडफाँड गरेको १० वर्षमा हुने छ ।

राजधानीको वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तानी व्यापार मेला सुरु, फर्निचरदेखि गरगहनासम्म

काठमाडौं । राजधानीको त्रिपुरश्वरस्थित युनाइटेड वर्ड ट्रेड सेन्टरमा पाकिस्तानमा उत्पादित वस्तुहरुको व्यापार मेला सुरु भएको छ । बुधबारदेखि सुरुभएको ८ औं संस्करणको ‘मेड इन पाकिस्तान एक्सपो‘को पाकिस्तानी व्यवसायीको सहभागितामा रावलपिन्डी चेम्बर अफ कमर्शले आयोजनामा गरेको हो । एक हप्तासम्म चल्ने यो मेलामा फर्निचर, छालाजन्य वस्तु, हस्तकला सामग्री, गरगहना लगायतका पाकिस्तानी उत्पादनका सामग्रीहरु बिक्रीमा राखिएका छन् । उक्त व्यापार मेलामा पाकिस्तानका ५० जना भन्दा बढी व्यवसायीले भाग लिने आयोजकले जानकारी दिएका छन् । मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पाकिस्तानी सामग्रीमा नेपाली उपभोक्ताको निकै आकर्षित हुने गरेको बताए । उनले भने, ‘हामी नेपाली पाकिस्तान घुम्न गयौं भने साथीभाईहरुले पाकिस्तानी छालाका सामान कोसेली ल्याउन आग्रह गर्छौं । पाकिस्तानी उत्पादनसँग हाम्रो स्नेह जोडिएको छ ।‘ कार्यक्रममा सार्कका महासचिव अमजाद हुसेन बी साइलले दक्षिण एशियाली मुलूकहरुबीच सडक सञ्जालको आवश्यकता रहेको बताए । उनले भने, ‘यदी मैले अलादिनको चिराक भेटाए भने । म जिनसँग सुखसयल माग्दिन । हामी सार्क अन्तर्गका मूलुकबीच कनेक्टीभिटी होस् यही कामना गर्छु ।‘ कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझर जाभेद, पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारी, पाकिस्तान नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष हिमालय शमशेर राणा र र ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष सबिन श्रेष्ठको उपस्थिती रहेको थियो ।

बजारमा पस्यो राजश्व अनुगमन टोली, विल जारी नगर्नेमाथि कार्वाही हुने

काठमाडौं । आन्तरिक राजश्व विभागको अधिकृतको टोली बजार अनुगमन थालेको छ । टोलीले विल विजक जारी गरे नगरको छड्के जाँच गर्न थालेको छ । धेरै स्थानमा विल विजक जारी नगरको भन्ने सुचनाका आधारमा विभागले अनुगमा थालेको हो । विल विजक जारी नगर्नेलाई मूल्य अभिवृद्धि कर ऐन बमोजिम पहिलो पटक ५ हजार तत्कालै जरिवाना गर्न सक्ने र राजश्व छली भएको पाइएमा थप अनुसन्धान गरी कर निर्धारण हुने जानकारी दिएको छ । विल विजक जारी गर्न विभागले प्रत्येक बिक्रेतालाई अनुरोध समेत गरेको छ ।

माछापुच्छ्रे बैंककाे नयाँ सेयर भर्ने सुविधा, अब लाइन बस्नु नपर्ने

काठमाडाैं । माछापुच्छ्रे बैंकले बिना झण्झट लाइन नबसी सेयर भर्ने सुविधा सहितको योजना ल्याएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने र सेयर भरेको रकम खातामा रहने र ब्याज आम्दानी भइरहने बैंकले जनाएको छ । बैंकको जुनसुकै शाखाबाट निःशुल्क सेयर भर्ने सकिने, नगद कारोबार गर्नुनपर्ने, सरलकृत सेयर आवेदन फारम र डिम्याट खाता खोल्ने सुविधा रहेको बैंकले जनाएको छ ।

बैंक ठगेर फरार व्यक्तिहरुको हुलिया इन्टरपोलमा, फरार अभियुक्तको राहदानी रद्द गरिने

काठमाडौं । अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न प्रहरीले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो । बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइ भागेका अभियुक्त फिर्ता गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो । ब्युरो प्रमुख डीआइजी पुस्कर कार्कीले विभिन्न अपराधमा संलग्न रही विदेशमा बस्दै आएका व्यक्तिको राहदानी रद्द गरी नेपाल फिर्ता गर्न सम्वन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको बताए । ब्युरोले त्यस्ता व्यक्तिको हुलिया र कसुर गरेको विवरण प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगिसकेको छ । गृहको अनुरोधअनुसार केही अपराधीको विवरण परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न मुलुकका राजदूतावास तथा विदेशस्थित नेपाली नियोगमार्फत सम्बन्धित देशका कानुन कार्यान्वयन गर्ने निकायलाई पठाइसकेको छ । “नेपालमा अपराध गरेर विदेश भागेका व्यक्तिलाई फिर्ता गर्न हामीले आवश्यक कूटनीतिक पहल थालिसकेका छौं,” डीआइजी कार्कीले भने, “त्यसका लागि सम्बन्धित देशमा रहेका अभियुक्तको राहदानी रद्द गरी नेपाल फिर्ता गराउन त्यहाँका कानुन कार्यान्वयन गर्ने निकाय र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल जारी राखेका छौं ।” ब्युरोले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएका अपराधिको खोजीमा समेत सहयोग गरिदिन पनि आग्रह गरेको छ । ब्युरोले किष्ट बैंकको कर्जा अपचलन गरी फरार तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली, पोखरास्थित कैलाश विकास बैंकको रकम हिनामिना गर्ने रविचन्द्र खनाल, उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर अपराधका अभियुक्त आत्मराम थपलियाको हुलिया विदेश पठाइसकेको छ । यस्तै, राहदानी किर्तेमा संलग्न किशोर गुरुङ, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका पवनकुमार कार्की, कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेश ढकाल, साइबर अपराधमा संलग्न आत्मराम थपलियालगायत डेढ दर्जन व्यक्तिको कसूरसहितको हुलिया ब्युरोले गृह हुँदै परराष्ट्र मन्त्रालयबाट सम्वन्धित मुलुक पठाइसकेको जनाएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर कसूरका अभियुक्त थपलिया जर्मन र राहदानी किर्तेका आरोपित गुरुङ थाइल्याण्डमा रहेको प्रहरीले जनाएको छ । कैलाश विकास बैंकको पोखरास्थित ब्रान्च म्यानेजर खनालले ८ करोडको हाराहारीमा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । ब्युरोका अनुसार उनी अहिले अमेरिकामा बस्दै आएका छन् । यस्तै पुनरावेदन अदालत पाटनले किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक ज्ञवालीलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र १२ करोड ५० लाख रूपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ । उनी अमेरिकामा रहेको ब्युरोका अधिकारी बताउँछन् । क्यापिटल मर्चेन्ट एन्ड फाइनान्सका सञ्चालक कार्कीलाई पुनरावेदन अदालत पाटनले नै २०७१ वैशाख २१ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रूपैयाँ जरिवाना र कैद सजायँको फैसला सुनाएको थियो । अमेरिकाको नागरिकता पाइसकेका कार्की विरुद्ध इन्टरपोलले २०७२ पुस १४ गते रेडकर्नर नोटिस जारी गरेको छ । उनले अमेरिकाको नागरिकता प्राप्त गरीसकेकोले नेपाल फिर्ता गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । उनीसहित १४ जना नेपालीलाई इन्टरपोल नेपालको आग्रहमा रेटकर्नर नोटिस जारी गरिएको छ । “विदेशी नागरिकता पाइ नसकेका व्यक्तिको राहदानी रद्द गर्न सकिए उनीहरूलाई नेपाल ल्याउन सजिलो हुने हाम्रो निष्कर्ष छ,” ब्युरो प्रमुख कार्कीले भने, “अपराध गरेर भागेका व्यक्तिले आफू सुरक्षित हुन विभिन्न प्रक्रियाबाट विदेशी नागरिकता लिने गरेको र त्यस्ता व्यक्तिलाई जतिसक्दो छिटो नागरिकता लिनुअगावै फिर्ता गर्नुपर्ने हाम्रो धारणा हो ।” काराेबार दैनिकबाट