सेयर बजारमा ४६ करोडको कारोबार, विशाल बजारको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । सोमबारको सेयर बजारमा ४६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन (आइतबार)को सेयर बजारमा ५७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोबार रकम सँगैै सोमबारको नेप्से परिसूचकमा पनि गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब २४ अंकले घटेर १५४३ अंकमा झरेको छ । नेप्से र कारोबार दुबैमा गिरावट आएको दिन पनि बिशाल बजारको सेयर मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको छ । सोमबार ९.९८ प्रतिशतले सेयर मूल्य बढेको यस कम्पनीको प्रतिकित्ता सेयर २७०१ रुपैयाँमा कारोबार भएको छ । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर करोबार भएको छ । यस बैंकको २ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो दिन बैंकको प्रतिकित्ता सेयर मूल्य १२३२ रुपैयाँ रहेको छ । त्यस्तै, उतार चढाव रहेको सेयर बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । ट्रेडिङ २०, हाइड्रोपावर १४ र उत्पादनमूलक २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २० अंकले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) ल्याउने योजना अलपत्र परेको छ । अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएपछि बैंकको आईपीओ निष्कासन योजनामा ढिलाइ भएको हो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको थियो । वाणिज्य व्यवस्थापनले आईपीओ निष्कासन मापदण्डलगायत अन्य कामका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थले हालसम्म यसको कुनै निर्णय गरेको छैन् । “वाणिज्य बैंकको आईपीओ तत्काल नआउने अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले बताए । प्रस्ताव आएपनि यस विषयमा छलफल र प्रक्रिया अघि नबढेको उनले स्पष्टपारे । “प्रक्रिया नै सुरु नभएकाले आईपीओ आउने संभावना देखिन्न” उनले भने । यता वैंकका प्रवत्ता तथा नायवमहाप्रवन्धक किरणकुमार श्रेष्ठ आईपीओ निश्कासनका लागि मन्त्रालयमा प्रस्ताव गएपनि हालसम्म प्रतिक्रिया नआएको बताए । यता वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । एनआईडीसी गाभ्ने (मर्जर) सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । आउदो माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम संचालन गर्ने सम्झौता
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २९ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एन.वी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ । बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकमको लागि आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्ने छ । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट काकार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
हिमालयन बैंकद्धारा बाढी पीडितलाई ११ लाख रुपैयाँको आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय एघार रुपैयाँ प्रदान गरेको छ । बैंकले हालै देशका विभिन्नस्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरवार विहीन भएकाहरुको लागि उक्त रकम सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब. राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
नेपालको ऋण बढ्दै, यो वर्ष जीडीपीको २९.४ प्रतिशत पुग्ने
काठमाडौं । नेपालको आन्तरिक र वाह्य ऋण भार वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षमा यस्तो ऋण भार बढेर कुल ग्राहस्र्थ उत्पादनको २९.४ प्रतिशत पुग्ने भएको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा नेपालको ऋण दाइत्व वर्षेनी बढ्दै गएको देखाएको छ । आगामी आर्थिक वर्षमा ऋण भार बढेर जीडीपीको ३१ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । नेपालको आन्तरिक ऋणभार बढेर साढे ७ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षमा जीडीपीमा ऋणको अनुपात २७.६ प्रतिशत थियो । विकासका नयाँ कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतले मात्र नपुग्ने भएपछि सरकारले आन्तरिक र वैदेशिक ऋण लिएर व्यवस्थापन गर्दे आएको छ । बजेटमा कर बाहेक अन्य स्रोत ऋण नै हो । नेपालको ऋण तिर्ने क्षमतामा सुधार आएको भन्दै एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले अनुदान कटौती गर्दे लगेका छन् ।यसले प्रतिव्यक्ति ऋण भार पनि बढाउदै लगेको छ । प्रत्येक नेपालको टाउकोमा २२ हजार रुपैयाँ हारहारीमा ऋण भार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षसम्म आन्तरिक ऋण मात्र २ खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बाँकी वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण मात्र १ खर्ब ४५ अर्ब र वैदेशिक ऋण २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ लिने लक्ष्य लिएको छ । चालु आवमा मात्र सरकारले आन्तरिक र वाह्य गरी ३ खर्ब ६० अर्ब रुपैयाँ बढी ऋण लिने तयारी गरेको छ । राष्ट्र बैंकमार्फत सरकारले विकास ऋणपत्र र ट्रेजरीबिल्स उपकरणमार्फत आन्तरिक ऋण उठाउन थालेको छ । गत आवमा सरकारले १ खर्ब १९ अर्ब रुपैयाँ ऋण तिर्नका लागि बजेट विनियोजन गरेको थियो । यो वर्ष १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । विश्व बैंककाअनुसार सन् २०१४ मा सरकारको ऋण जीडीपीमा २८.३, २०१५ मा २५.६, २०१६ मा २८ र गत वर्ष २७.६ प्रतिशत थियो । सन् २००३ मा नेपालको ऋण जीडीपीको ६० प्रतिशत नाघेको थियो ।
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सोमबार प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् । प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन् । रासस
नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा कविकुमार तिव्रेवाला नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा कविकुमार तिव्रेवाला नियुक्त भएका छन् । असोज १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले तिव्रेवालालाई सञ्चालकमा नियुक्त गरेको हो । तिव्रेवाला राष्ट्रिय बीमा कम्पनीका प्रमोटर सेयर होल्डर हुन् ।
सिजी इलेक्ट्रोनिक्सले पायो ‘कृति अवार्ड २०७४’
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ‘‘वेस्ट होम अप्लान्ईसेस्’’ विधाको कृति अवार्ड २०७४ पाएको छ । उक्त अवार्ड सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेको सिजी ब्राण्डको ‘‘सिजी मै छ सबै’’ क्याम्पियनलाई प्रदान गरिएको थियो । उक्त अवार्ड वितरण कार्यक्रममा देशका धेरै भन्दा धेरै विज्ञापन एजेन्सिहरुको ठूलो रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा थुप्रै विधाहरुमा अवार्ड वितरणका साथै मानोरञ्जनात्मक कार्यक्रमहरु पनि भएको थियो ।