एनआईसी एसिया बैंकले ३ दिनमा अटोलोन दिने
काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ । यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो । आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, सरल प्रक्रिया, निःशुल्क प्रशासनिक शुल्क र ३ कार्यदिन भित्र कर्जा स्वीकृति हुने योजना बैंकले सार्वजनिक गरेको छ ।
इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका र उपाध्यक्षमा छोटेलाल चयन
काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । भदौ २१ गते फोरमका अध्यक्ष आत्मराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले भदौं २६ गते राजीनामा गरेपछि अध्यक्ष पौडेल र उपाध्यक्षमा रौनियार सर्वसहमतिमा चयन गरिएको फोरमका महासचिव बच्चुराम रिमालले जानकारी दिए । त्यस्तै फोरमको रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरिएको रिमालले जानकारी दिएका छन् । विगत लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहन गएकोमा पूँजीबजार विकासका लागि सक्षम योग्य एवं अनुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि सरकारसँग फोरम माग गरेको छ ।
माछापुच्छ्रे बैंकद्धारा बाढी पीडितलाई २१ लाख सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । एक महिनाअघि तराईका विभिन्न जिल्लाहरुमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाको निम्ति कोष मार्फत आर्थिक सहयोग गरेको हो । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बैंकका अध्यक्ष रोशन केसीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि देशमा आउन सक्ने यस्ता दैवीविपत्तिहरुमा सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ्गकारोवार शुरु गरेको यस बैकले कुलशाखा संख्या ६२, एक्स्टेन्सन काउण्टर ४, शाखा रहित सेवा ४ र आफ्नै ८१ वटा एटिएमबाट करीव ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
ओप्टोको नयाँ प्रोजेक्टर नेपाली बजारमा, फोर के प्रविधिमा फिल्म हेर्न सकिने
काठमाडौं । डि एण्ड डिईन्क प्रालीले ओप्टोमा प्रोडक्टसको नयाँ प्रोजेक्टर नेपाली बजारमा ल्याएको छ । ओप्टोमाको फोर के युएचडी प्रोजेक्टर दुई वटा मोडलमा उपलब्ध छन् – अप्टोमा युएचडी६५ र युएचडी६० । यसलाई इभोस्टोर आउटलेट र प्रतिष्ठित आइटी सप्सबाट बिक्री वितरण गरिने कम्पनीले जानकारी दिएको छन् । अप्टोमा युएचडी६५ र युएचडी६० ले टिभी, मूभी र गेमिङ्गका पारखीले फोर के फिल्म क्वालिटी इमेजमा हेर्न सकिनेछ । अल्ट्रा एचडी फोर के रिजोलुसनले साना साना सामाग्रीलाई पनि जीवन्त बनाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । ८.३ मिलियन अनस्क्रिन पिक्सलको साथमा अप्टोमा युएचडी६५ ले कन्ज्युमर टेक्नोलोजी एशोसिएशन (सिटिए) बाट फोर के यूएचडीको र सिटिए हाइ डाइनामिक रेञ्ज ९एचडिआर० कम्प्याटिबल डिस्प्ले स्ट्याण्डर्ड्सको आवश्यक प्रावधान पुरा गरेको कम्पनीको दाबी छ। यसले स्ट्याण्डर्ड एचडीभन्दा बढी स्पष्ट तस्वीर देखाउने कम्पनीले ग्यारेन्टी गरेको छ ।
उत्पादनमा लागत बढेपछि उद्योगीले मागे चिनीमा भन्सार छुट, आपूर्ति मन्त्री भन्छन्, ‘सकारात्मक छौं’
काठमाडौं । बिस्कुट, चकलेट, मिठाई तथा मिठाईजन्य गुलियो खाद्यवस्तु उत्पादन गर्ने उद्योगीले सरकारसँग चिनीको आयातमा भन्सार सहुलियतको माग गरेका छन् । उत्पादन लागत बढेको भन्दै बिस्कुट, चकलेट मिठाई लगायतका विभिन्न निजी क्षेत्रका चिनीजन्य खाद्यवस्तु उत्पादकले चिनीमा भन्सार सहुलियत मागेका हुन् । उद्योगीले आइतबार आपूर्ति मन्त्री शिवकुमार मण्डललाई भेटी चिनीजन्य उत्पादनको लागतबढेर प्रतिस्पर्दा क्षमता गुमेको भन्दै भन्सार सहुलियत माग गरेका हुन् । औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा भारतबाट आयात हुने चिनीमा १५ प्रतिशत भन्सार शुल्कका कारण उत्पादनको मूल्य प्रभावित भएको र बिदेशी ब्राण्डकका उत्पादनसँग प्रतिस्पर्दा गर्न नसकेको एसियन बिस्कुट एण्ड कन्फेसनरीका सञ्चालक महेश जाजुले बताए । उनले भने, ‘कच्चा पदार्थका रुपमा प्रयोग हुने चिनीमा १५ प्रतिशत कर लगाइएकाले भारतमा ४० रुपैयाँ प्रति किलो पर्ने चिनीको नेपालमा ६० रुपैयाँ पर्न आउँछ । किलोमा नै २० रुपैयाँको अन्तर हुँदा निजी उद्योगी मर्कामा परेका छन् ।’ आत्मनिर्भर र विदेशी उत्पादनसँग प्रतिश्पर्दा गर्नका लागि पनि सरकारले सहुलियत दिनुपर्ने आवश्यकता रहेको जाजुले बताए । उनले भने, ‘आत्मनिर्भर तर्फ उन्मुख उद्योगलाई राज्यले प्रबद्र्धन गर्न राज्यले सहुलियत अथावा छुटको व्यवस्था गर्नुपर्छ ।’ सरकारले साल्ट ट्रेडिङ लिमिटेडलाई बजार नियन्त्रण गर्न चिनी आयातमा १ प्रतिशत भन्सार सहुलियत दिएको छ । साल्ट ट्रेडिङलाई जस्तै अन्य उद्योगीलाई पनि सहुलियत प्रदान गर्नुपर्ने उनले बताए । उनले भने, ‘अहिले चिनीमा साल्ट ट्रेडिङको एकाधिकार छ, यसलाई तोड्नु जरुरी छ ।’ नेपालमा स्वदेशी उत्पादनले नधान्ने भएपछि चिनीको आयात हुनेगरेको छ । नीजि व्यापारीले दसैं तिहार जस्तो अत्याधिक माग हुने समयमा चिनीको कृत्रिम अभाव सिर्जना गर्ने भएकाले चिनीजन्य उद्योग र उपभोक्ता मारमा पर्ने गरेको जाजुले बताए । उनले भने, ‘हामी त अझ बढी मारमा छौं । साल्ट ट्रेडिङले पनि खुद्रामा मात्र चिनीको कारोबार गर्छ । भारतबाट सोझै आयात गर्नुपर्ने भएकाले हामीलाई महंगोमा चिनी किन्नुपर्ने बाध्यता छ ।’ आपूर्ति मन्त्री शिवकुमार मण्डलले उद्योगीको माग प्रति मन्त्रालय सकारात्मक रहेको बताए । उनले यो विषयलाई उद्योग मन्त्रालय तथा भन्सार विभागसँग संयुक्त बैठक बसेर समाधान गरिने जानकारी दिए । उनले भने, ‘उहाँहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थमा सहुलियत माग्नु भएको छ । हामी यो विषयमा सकारात्मक नै छौं । स्वदेशी उत्पादनलाई प्रतिश्पर्दा गराउन हामी सक्दो सहयोग गर्नेछौं ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सम्पूर्ण व्यवसायी र उद्योगीलाई चिनीमा खुला प्रतिश्पर्दा गराउन नहुने बताए । उनले भने, ‘साल्टलाई जस्तै चिनीमा आधारित उद्योगहरुलाई औद्योगिक प्रयोजनका लागि निश्चित कोटामा चिनी ल्याउने व्यवस्था बरु जायज हुन्छ । नत्र मनपरी छुटमा ल्याउँन दिनुहुँदैन । खुला बजारको मौका छोपेर कालोबजारी हुने सम्भावना प्रबल हुन्छ ।’
आन्तरिक राजश्व विभाग बजार अनुगमनमा, कर छल्ने ३०२ व्यापारिमाथि कार्वाही
काठमाडौं । आन्तरिक राजश्व विभागले कर कानून पालना नगर्ने ३०२ करतालाई कार्वाही गरेको छ । अनुगमन सुरु गरेको ४ दिनमा २३४ टोलीबाट १ हजार ९५१ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा कानुनी कारवाही गरेको छ । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको विभागले जनाएको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेको थियो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीदबिक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ । विभागले बजारमा विलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । विभागले आफू अन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन सुरु गरेको हो । प्रत्येक कार्यालयबाट ३/३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्ष जस्तै यस वर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइएको विभागले जानकारी दिएको छ । भदौ २७ गते मात्र ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदातालाई कारोवार स्थलमै तत्काल कानूनी कारवाही गरेको थियो । भदौ २८ गते ५३ वटा टोलीले ५६६ वटा करदाताको कारोवार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा ११० वटा करदाताले कर कानून परिपालना नगरेपछि जरिवाना गरेको विभागले जनाएको छ । भदौ २९ गते ५२ वटा अनुगमन टोलीले ५५३ वटा करदाताको अनुगमन गरेकोमा ८३ वटा करदातालाई प्रचलित जरीवाना गरेको छ । त्यस्तै भदौ ३० गते ४५ वटा टोलीले ४४७ वटा करदाताको अनुगमन गरेर ६९ करदातालाई कारवाही गरेको थियो ।
भूकम्पपछि ध्वस्त काष्ठमण्डपको अझै पुनःनिर्माण भएन,
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३ सय वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डप लगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो । काष्ठमण्डप पुनःनिर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनःनिर्माण अभियानमा जुटिरहेको छ । रासससँग कुरा गर्दै काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमण्डपको पुनःनिर्माण कार्य जनस्तरबाट नै हुनुपर्ने आफ्नो स्पष्ट अडान रहेको तथा विदेशी मुलुकबाट धन ल्याएर यसको निर्माण गर्ने सम्बन्धमा आफ्नो विमति रहेको बताए । काष्ठमण्डप पुनःनिर्माणका लागि करोडौँ रुपैयाँ लाग्न सक्छ यो जनस्तरबाट उठाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासा राख्दा उनले भने, “काष्ठमण्डप पुनःनिर्माणका लागि जनताबाट मज्जाले पैसा उठ्नेछ ।” यसमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन । यसको पुनःनिर्माणका लागि विदेशबाट पैसा नलिने प्रतिबद्धता अभियानको छ । काष्ठमण्डपको स्थितिमा उनले थपे, “काष्ठमण्डपभित्रको जग एक हजार ३ सय वर्ष पुरानो छ । यसमा रहेको चारवटा पिलर खम्बा एक हजार वर्ष पुरानो छ । उत्खननका क्रममा मिलेकोे समयकाल र सातौँ शताब्दीमा काष्ठमण्डपको निर्माण कार्य लीलाबज्रले निर्माण गरेको भनी थ्यासफूमा उल्लेख भएको भनी बौद्धविद्वान यज्ञमानपति बज्राचार्यको भनाइ अध्ययनका क्रममा मिल्न आएकाले यसलाई आधार मानिएको अध्यक्ष श्रेष्ठले बताए । अर्को प्रसंगमा उहाँले काठमाडौँ महानगरपालिकासँग दक्ष जनशक्ति नभएको र पुरातत्व विभागले उपलब्ध गराएको नक्सा पनि काष्ठमण्डपको पुनःनिर्माणका लागि पर्याप्त नभएकाले परम्परागत वास्तुकलालाई मिश्रण गरेर तथा जनता तथा स्थानीय बासिन्दाको राय, सल्लाह लिई तयार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसको विरोध मात्र आफूहरुले गरिरहेको बताए। श्रेष्ठले काठमाडौँ महानगरपालिका तथा पुरातत्व विभागसँग पनि सहकार्य गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए । सो अभियानअन्तर्गत उडाय समाज, राजकर्णीकार समाज तथा नेपाल मण्डलसहित थुप्रै संस्थासँग मिलेर नेवा सभ्यताको प्रतीक काष्ठमण्डपको पुनःनिर्माण अभियानमा विदेशी पैसाबिना नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । रासस
बाढीपिडितका लागी महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले तराई क्षेत्रमा आएको बाढी पीडितकालागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले डेभलपमेन्ट बैँकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको हो । उक्त रकम प्राकृतिक विपदले पुगेको क्षतीलाई केही हदसम्म न्युनीकरण गर्न र बाढी प्रभावित क्षेत्रको जनजीवनलाई सहजीकरण गर्ने उद्येश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।