आयल निगमबाट बर्खास्त गरिएका गोपाल खड्काले भने: सरकारको निर्णय हेरेपछि अदालत जान्छु
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट सोमबार बर्खास्त गरिएका गोपालबहादुर खड्का निर्णय हेरर मात्र निर्णयमा पुग्ने बताएका छन् । विकास न्युजसंग कुरा गर्दे खड्काले अदालतमा जाने बाटो खुला रहेको र सरकारले लगाएको आरोप हेरेपछि मात्र यस विषयमा निर्णय लिने बताए । “सरकारले कुन आधारमा हटाएको रहेछ, त्यही अधारमा उपर्युत्त निर्णय लिने छु” उनले भने । जग्गा खरिदमा अनियमितता नभएको र बोलपत्रबाट कम रकममा दिनेको जग्गा खरिद गरेको खड्काले दावी गरे । आफुले नियमसंगत रुपमा निगमको डिपो राख्नका लागि जग्गा खरिद गरेको बताउदै एकपक्षिय निर्णय भएको खड्काले जिकिर गरे । उनले खरिद प्रक्रियामा संलग्न अन्यलाई केही नगरी आफुमाथि मात्र सरकारले कार्वाही गरेको गुनासो गरे । मन्त्रिपरिषदको बैठकले खड्कालाई निगमको कार्यकारी प्रमुखबाट बर्खास्त गरेको हो । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय, अपचलन र अनियमितता भएकाले आरोपमा खड्कालाई पद्च्युत गरेको हो । संसदको उपभोक्ता हित संरक्षण समितिले गरेको अध्ययन प्रतिवेदनले खड्काले जग्गा खरिदमा भ्रष्टचार गरेको आरोप लगाएको छ । समितिले कार्वाही शिफारिश गरेपछि सरकारले सोमबार खड्कालाई पदमुत्त गरेको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले यो निर्णय गरेको हो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको समितिको प्रतिवेदनमा उल्लेख छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
काठमाडौं । सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका कर्मचारी पदपूर्ति गर्ने व्यवस्था गर्न थालिएको उपसमितिका संयोजक रेखा शर्माले जानकारी दिइन् । संविधानमा प्रदेश लोक सेवा आयोग प्रदेशसभाको निर्वाचनपछि मात्र हुने व्यवस्था गरिएको छ । उनले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदको पदपूर्ति आयोगले गर्ने बताइन् । विधेयकमा सम्भव भएसम्म पतिपत्नीलाई एउटै संघ, प्रदेश र स्थानीय तहमा समायोजना गर्न पनि सिफारिस गरेको छ । यस्तै विधेयकमा समायोजन हुने कर्मचारीको सेवा, शर्त र सुविधा कानून नबनेसम्म समायोजन ऐनअनुसार नै हुने उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहमा समायोजनपछि एकपटक बढुवा भएको कर्मचारी संघीय निजामती सेवाका लागि बढुवा हुन नपाउने व्यवस्था गरिएको छ । बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समायोजन ऐन चाँडै ल्याएर कर्मचारी खटाउन आवश्यक रहेको बताइन् । “समायोजन ऐन नआउँदा अरु ऐनमा बाधा पुगेको छ”, उनले भनिन् “हामीले भोलि आउने कुरालाई ध्यानमा राखेर समायोजन ऐन बनाउँछौँ ।” बैठकमा उपसमिति संयोजक शर्माले कर्मचारीलाई जबर्जस्ती नभई प्रेरित गरेर कर्मचारीलाई पठाउनुपर्ने बताइन् । यस्तै विधेयकमा कर्मचारी समायोजन नभएसम्म सरकारले खटाएको संघ, प्रदेश र स्थानीय तहमा जानुपर्ने उल्लेख छ । बैठकमा कानून, न्याय तथा संसदीय मन्त्रालयका सचिव कमलशाली घिमिरेले समायोजन गर्दा संघ, प्रदेश र स्थानीय तह जो जहाँ छन् त्यही तहमा सरुवाको व्यवस्था गर्नुपर्ने बताइन् । रासस
प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत मतदान
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीबाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।रासस
हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित
चितवन । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए । चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए । चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी २ लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँछन् । चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उनले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउँछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उनको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउँछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए । लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा १ लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म १ लाख ५६ हजार पर्यटक भित्रिएका छन् । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउँछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए । विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए । यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस
बैंकिङ प्रणालीमा तरलता बढ्यो, बजारबाट ५ अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं । बजारमा लगानीयोग्य पुँजी तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ । बैंकले रिभर्स रिपोमार्फत प्रतिस्पर्धाबाट एक साताका लागि बुधबार ५ अर्ब रुपैया तरलता प्रशोचन गर्न लागेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको रकम प्रशोचन सुरु गरेको हो । गत साता राष्ट्र बैंकले १ अर्ब रुपैयाँ तरतला प्रशोचन गरेको थियो । बजारमा अझै ७० अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् । तरलता अभाव भएपछि गत वर्ष बैंकले १३ प्रतिशत ब्याजमा निक्षेप उठाएका थिए ।
टाटा मोटर्सको नयाँ शोरुम भैरहवामा
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन हालै आयोजित एक कार्यक्रममा गरिएको हो । शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको विक्री वितरण गरि स्थानीय ग्राहकहरुलाई विक्री को समय र विक्री पश्चातका सेवाहरु सहज रुपमा प्रदान गर्ने कुरा बुद्धम अटोमार्टका प्रतिनिधिले जानकारी गराएका छन् । सिप्रदी ट्रेडिङ्ग भारतको सुप्रसिद्ध गाडी निर्माता कम्पनी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो । पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्सको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि रहेका छन् ।
१५ दिनदेखि बीमा संस्थान प्रमुृखविहीन, नियुक्तिमा ढिलाइ
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा नयाँ प्रशासक नियुक्तिमा ढिलाइ गरेको छ । गत भदौ १९ गतेदेखि प्रशासक आश्विनीकुमार ठाकुरको पदावधि सकिएपछि अहिले संस्थान प्रमुखविहीन भएको छ । हाल निमित्त प्रशासकको रुपमा सुरेन्द्र थापाले जिम्मेबारी सम्हालेका छन् । स्थानिय तहको निर्वाचन आचारसंहिता र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिकामा रहेकाले नियुत्तिको प्रक्रिया रोकिएको हुन सक्ने अर्थ मन्त्रालयका प्रवत्ता अर्जुनप्रसाद पोखरेलले बताए । नियुत्तिका लागि अर्थले सूचना प्रकाशित गर्नुपर्नेमा हालसम्म नभएको उनले स्पष्टपारे । यता संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पनि संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु नभएको बताए । औपचारिक रुपमा नियुक्ति भएको जानकारी नपाएको उनले स्पष्टपारे । संस्थानमा ०६८÷०६९ देखियताको लेखापरीक्षण भएको छैन् । महालेखा परीक्षकको कार्यलयले लेखापरीक्षक पठाएर परीक्षणको काम सुरु गरेको छ ।
‘ली मोबी क्यर सेन्टर’ नेपाली बजारमा, ग्राहकलाई तत्काल सेवा दिने
काठमाडौं । ली मोबी क्यर(एलएमसी) सेन्टरले कुलप्याड स्मार्टफोन र ओट्टो फोनको लागि पहिलो आधिकारिक सर्भिस सेन्टर राजधानीको सीभिल मलमा विस्तार गरेको छ । यसको उद्देश्य ग्राहकलाई तत्काल सेवा सुविधा उपलब्ध गराउनु हो । जाइमा इन्टरकन्टिनेन्टल प्रालि (जेआइपीएल) का अध्यक्ष गणेश बहादुर श्रेष्ठले सोमबार सो सेन्टरको उद्घाटन गरेका हुन् । यसले कुनै पनि देशबाट पर्सनल डीजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडीइ ग्राहकलाई सेवा दिने कम्पनीले जनाएको छ । यो कम्पनीले ग्राहकलाई न्युनतम टर्नअराउन्ड टाइममा अधिकतम सन्तुष्टि प्रदान गर्न कुलप्याड स्मार्टफोन प्रयोगकर्ताको लागि ९० दिन निःशुल्क सेवा सुविधा दिने भएकोे छ भने ओट्टो फोनको प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा दिने जानकारी दिएको छ । यस सेवा हरेक हप्ता १० देखि ६ बजेसम्म खुल्ला हुने एलएमसीले जानकारी दिएको छ ।