क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा
पोखरा । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनले बताए । केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ । रासस
४२६ मेगावाटको फुकोट कर्णालीको डीपीआर एनईसीले बनाउने, विज्ञ नियुक्त हुँदै
काठमाडौं । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड (एनईसी) ले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) मागेको छ । विद्युत प्राधिकरण अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो । जलविद्युत इन्जिनियर, हाइड्रोलोजी विज्ञ, जिओटेक्निकल इन्जिनियर, स्टक्चरल इन्जिनियर, बाँध इन्जिनियर, सिस्मोलोजिकल एक्सपर्ट, इलेक्ट्रोमेकानिकल विज्ञ मागेको छ । यस्तै हाइड्रोमेकानिकल इन्जिनियर, सुरुङ इन्जिनियर, वित्तीय तथा आर्थिक विश्लेषक, ऊर्जा प्रणाली विज्ञ, निर्माण योजनाकार, ठेक्का विज्ञ र टिम लिडर नियुत्त गर्न लागेको छ । जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउन एनईसीको स्थापना भएको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७/१७ र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर लगानी छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ । प्राधिकरणले स्वदेशी तथा विदेशी संस्थाबाट परामर्श सेवा खरिद गर्दे आएकोमा अबदेखि एनईसीमार्फत ठुला तथा साना आयोजनाको संभाव्यता अध्ययन र डीपीआर तयारीको काम हुने छ । सरकारले कालीकोटमा पहिचान भएको फूकोट कर्णाली आयोजना निर्माणको जिम्मा विद्युत उत्पादन कम्पनीलाई दिएको छ । कम्पनीले सोमबार आयोजना अध्ययनको अनुमति पाएको हो । कालिकोट जिल्लामा पर्ने फुलकोट आयोजनामा सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीले लगानी गरेर आयोजना निर्माण गर्नेबारे यसअघि ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो । ड्याम बनाएर क्यू ४० मा आयोजना निर्माण गर्दा लागत करिब ४१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अर्थात ४० करोड ८० लाख अमेरिकी डलर) अनुमान गरिएको छ । यही डिजाइनमा क्यू २५ मा निर्माण गर्दा लागत करिब ६१ अर्ब ८६ करोड रुपैयाँ अर्थात ६० करोड डलर अनुमान गरिएको छ ।
गोविन्दप्रसाद श्रेष्ठद्धारा एनआरएनए एसिया संयोजकमा उम्मेदवारी घोषणा
जापान । गैरआवासीय नेपाली संघको यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा एनआरएनए अभियानको सुरुवातसँगै यस अभियानमा प्रवेश गरि एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहि आफ्नो जिम्मेवारी अत्यन्त कुशलतापुर्वक निर्वाह गरेका गोविन्दप्रसाद श्रेष्ठ(रोविन्द्र)ले आगामी २०१७–२०१९ को कार्यकालका लागि एसिया प्यासिफिक संयोजकमा सोमबार उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले संयोजकमा उठ्ने घोषणासँगै एशियाका प्रतिनिधिहरूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । श्रेष्ठले एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै एसिया प्यासिफिकको सहसंयोजक समेत रहि काम गरिसकेकाले स्वभाविक रुपमा संयोजकको दावेदार रहेको बताए । एसिया प्यासिफिक ‘सहसंयोजक भएर मैले एनआरएनएमा जे जति गरें त्यो सबैको सामुन्ने छर्लङ्ग छ, अब म अहिले भन्दा बढी जिम्मेवारी लिन चाहन्छु त्यसैले एसिया प्रशान्त क्षेत्रको संयोजकको उम्मेदवार घोषणा गरेको हुँ’, श्रेष्ठले भने, ‘यसपटक पनि गैर आवासिय नेपालीहरुबाट पहिलेजस्तै सहयोगको अपेक्षा राखेको छु ।’ सात वर्ष हङकङमा बसेर अहिले जापानमा रेष्टुरेण्ट लगायतका व्यावसाय गरिरहेका श्रेष्ठले आफु एनआरएन अभियानमा केहि लिनलाई नभई दिनलाई आएको बताए । श्रेष्ठले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै एसिया संयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ श्रेष्ठले भने । जापानमा बसेर व्यापारमा प्रभुत्व जमाउन सफल श्रेष्ठले एसियाका सबै क्षेत्रसँग छलफल गरेर उम्मेदवारी दिएको बताउँछन् । श्रेष्ठ कुरामा भन्दा काममा विश्वाश राख्ने गर्दछन् । एसिया प्यासिफिक समेलनमा उनको प्रस्तुति जहिलेपनि तारिफयोग्य रहेको छ । श्रेष्ठ समाजसेवीको रुपमा समेत परिचित छन् । सबैलाई समेट्न सक्ने नेतृत्वदायी भूमिका र मिलनसार व्यवहारले उनि गैरआवासीय नेपालीहरुको रुचिमा पर्दछन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहद विभिन्न क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका बिगतको भुकम्पमा होस् वा नाकाबन्दि, या लाप्राक नमुना बस्ती निर्माण देखि एनआरएन बिल्डिङ निर्माणमा समेत श्रेष्ठले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् । उनले विश्वमा रहेका गैरआवासिय नेपालीहरुलाई एकतावद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् । नेपाली हरू आ–आफ्ना बिभिन्न समस्याले बिदेशिए पनि नेपालको माया अति नै रहेको श्रेष्ठको प्रतिकृया छ । श्रेष्ठ बिदेसिने सिलसिलामा हङकङलाई कर्म थलो बनाई लामो समय सम्म हङकङ मा ६ बर्ष बिताएका थिए । त्यसैले हङकङ बासीले गोबिन्द प्रसाद श्रेष्ठ (रोबिन्द) लाई हङकङ बासी नै भन्न रूचाउछन् ! श्रेष्ठ फेरी ब्यापार कै सिलसिलामा जापान लाई दोस्रो कर्मथलो बनाउन पुगे अहिले जापानमा सफल ब्याबसायीका रूपमा चिनिन्छन् । उनी नरम र मिजासीला स्वाभाबका छन् । ईमान्दारी र मेहनत ले मात्र सफल हुन सकिन्छ भन्ने धारणा राख्ने श्रेष्ठ कुरा मा भन्दा काममा बिश्वास राख्छन् ! हङकङ मा राम्रो छबी बनाएका श्रेष्ठ जापानमा पनि त्यति नै लोकप्रिय छन् । जापानमा एन आर एन को १ केन्द्रीय समिति र १३ क्षेत्रिय समिति छन् । केन्द्र र क्षेत्र लाई सधै आर्थिक भौतिक र नैतिक सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनले प्रतिवद्धता जाहेर गरेका छन् । उम्मेदवारी घोषणाका क्रममा श्रेष्ठले भने– ‘एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनए मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।’ गोविन्दप्रसाद श्रेष्ठद्धारा जारी प्रतिवद्धता पत्र १. गैर आवासिय नेपालीहरु रहेका बिभिन्न देशमा भएको आन्तरिक विवादलाई न्यायपूर्णरूपमा सावधान गर्ने । २. बैदेशिक रोजगारको आपत्कालिन कोष लाई ससक्त बनाउने र बिमाको लागी पहल गर्दै वैदेशिक रोजगारीका लागि मलेसिया लगायतका मुलुकमा पुगेका नेपाली दाजुभाई, दिदीबहिनीका हक हितका लागि विशेष पहल गर्ने । ३. नेपालमा एनआरएनका साथीहरुबाट सामुहिक लगानी गर्न प्रेरित गर्ने तथा बिदेसिहरुबाट समेत लगानी भित्र्याउन पहल गर्ने । ४. नेपालका विभिन्न पर्यटकीय क्षेत्र, भाषा, संस्कृतिको प्रचार प्रचार गरी नेपालमा पर्यटन प्रवर्धन गर्न पहल गर्ने । ५. वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका कामदारहरुमा बिभिन्न समस्याले डिप्रेशन भई आत्मा हत्या गर्ने प्रवृति बढ्दै गइरहेकोमा उनीहरुलाई आवश्यक काउन्सिलिङ गरि काम गर्न प्रेरित गर्ने । ६. नेपालको इज्जत र प्रतिष्ठामा आँच पुग्ने कुनैपनि कुरामा सम्झौता नगर्ने र नेपालको शिर ठाडो पार्ने काम गरी अधि बढ्ने ।
कोका-कोलाको दशैं अफर अन्तर्गत २८०० भन्दा बढि बिजेताको नाम घोषित
काठमाडौं । कोका-कोला नेपालले ‘मन खोलौं कोकसँग’ नारा सहितको दशैं प्रबद्र्धनात्मक योजनामा २८०० भन्दा बढि बिजेताहरुको नाम घोषणा गरिसकेको छ । यो वर्षको विशेष अभियानले अनेकौं रोमाञ्चक उपहारहरु जित्ने अवसर प्रदान गरिरहेको छ । यसमा एउटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक प्रत्येक दिन उपहारमा स्वरुप जित्न सकिने छ भने अन्य आकर्षक पुरस्कारहरु मध्ये ४ वटा एलजी एलईडी टिभी दैनिक रुपमा तथा १०० रूपैयाँको ४०० जनालाई मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा जित्न सकिने छ । आजको दिनसम्म, कोकाकोलाले ७ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ, जसले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल भएका छन् भने ४८ जना उपभोक्ताहरु, जसले एलजी एलईडी टिभी, र २८०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् । यो अभियान यहि असोज ३० गतेसम्म संचालन हुनेछ । आगामी थप ४ सातामा, अझै धेरै टिभिएस स्ट्राइक बाइकहरु, एलजी एलईडी टिभीहरु, र मोबाइल फोन रिचार्ज कार्डहरु दैनिक रुपमा जित्न सकिने छ । यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजे देखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिने छ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । ग्राहकले कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर पाउने छन् ।
तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मतदान
काठमाडौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ । यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस
ग्रामीण विकास बैंकको एफपीओमा माग भन्दा बढी आवेदन, हेरौँ कति पर्यो ?
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि छिटोमा ३० गतेसम्म जारी गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)मा माग भन्दा बढीको आवेदन परेको छ । बैंकद्धारा तोकिएको सो मितिसम्ममा २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरुको सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आवेदन खुल्ला गरेको पहिलो दिन (मंगलबार) ३० करोड पच्चिस लाख भन्दा बढीको आवेदन परेको थियो भने दोस्रो दिन ५२ करोड भन्दा माथिको परेको छ । त्यस्तै, तेस्रो दिन ७६ करोड ३८ लाख भन्दा बढी आवेदन परेको थियो । त्यसैगरी, चौथो अर्थात अन्तिम दिन १ अर्ब १५ करोड ७० लाख भन्दी बढी आवेदन गरी २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । तोकिएको मितिसम्ममा माग अनुसारको आवेदन नपरेमा असोज १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेपछि यही भदौ ३० गते नै एफपीओ बन्द गरिएको बैंकको बिक्री प्रबन्धकले जनाएको छ ।
निस्दी गाउँपालिकाको बजेट रकम ३७ करोड
पाल्पा ः निस्दी गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष ०७४/०७५ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाले गाउँपालिकाका लागि ३६ करोड ९५ लाख ६७ हजार ७४३ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो । कुल बजेटमध्ये गाउँपालिकाले नेपाल सरकारबाट निःशर्त अनुदानबाट १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ , सशर्त अनुदानबाट १४ करोड ८८ लाख ९७ हजार रुपैयाँ , गत वर्षको वडाको मौज्दातबाट ७४ लाख ३२ हजार ६३ रुपैयाँ , आन्तरिक राजस्वबाट १५ लाख रुपैयाँ र सामाजिक सुरक्षाअन्तर्गत ३ करोड १७ लाख ७७ हजार ६८० रुपैयाँ गरी रकम जुटाउने लक्ष्य राखेको छ । गाउँपालिकामा कृषिको सम्भावना रहेकाले जनतालाई कृषिमा आत्मनिर्भर बनाई आयआर्जन बढाउन बाली विकास कार्यक्रम, माटो सुधार कार्यक्रम, वीजवृद्धि, फलफूल विकास कार्यक्रमलगायतका कार्यक्रम सञ्चालनको गाउँपालिकाले रु एक करोड १६ लाख ९२ हजार विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनले पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माण र स्तरोन्नतिका लागि ४ करोड ४९ लाख ९० हजार रकम विनियोजन गरिएको बताए । गाउँपालिकाले सिँचाइका लागि ५४ लाख २५ हजार रुपैयाँ , पुल पुलेसाको लागि ३५ हजार रुपैयाँ , विद्युत् विस्तारका लागि ९ लाख ५० हजार रुपैयाँ , भवन निर्माणमा ६० लाख ५ हजार रुपैयाँ , कार्यालय व्यवस्थापनमा ६६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, पर्यटन विकासको लागि १० लाख रुपैयाँ , सहकारी विकासको लागि ११ लाख ५० हजार रुपैयाँ , पशु विकासका लागि ४८ लाख ५५ हजार ११७ रुपैयाँ , लक्षित वर्गका लागि ७६ लाख ५० हजार रुपैयाँ , खानेपानीको लागि ८९ लाख ९० हजार रुपैयाँ , शिक्षाको लागि ६५ लाख रुपैयाँ र स्वास्थ्यको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको पनि गाउँपालिकाका अधिकृत कल्पना अर्यालले जानकारी दिइन् । गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले गाउँपालिकाले सडक निर्माणतर्फ वडा कार्यालय र गाउँपालिका केन्द्र जोड्ने सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए । उनले गाउँपालिकाका सबै वडासम्म सडक सञ्जाल विस्तार गर्ने रणनीति लिएको पनि बताए । १ हजार ६४ मिटर सडक कालोपत्रे यसैबीच, रामपुर नगरपालिका–६ को विजयपुर बजार क्षेत्रमा सडक कालोपत्रे गर्ने काम सकिएको छ । पचास प्रतिशत मन्त्रालयबाट, २० प्रतिशत रामपुर नगरपालिकाबाट र ३० प्रतिशत उपभोक्ताको लागतमा विजयपुर बजार क्षेत्रमा एकहजार ६४ मिटर सडक कालोपत्रे भएको छ । ७८ लाख ६९ हजार ३८४ रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले जानकारी दिए । उपभोक्ता समितिले ७३० मिटर सडक कालोपत्रे गर्ने लक्ष्यअनुसार काम शुरु गरेपनि लक्ष्यभन्दा बढी सडक कालोपत्रे गर्न सफल भएको छ । रासस
वित्तीय संस्थाको ६०० प्रतिशत हकप्रद सेयर, २०० प्रतिशत बढी हकप्रद निष्कासन गर्दा अन्तराष्ट्रिय रुपमा राम्रो मानिदैन
काठमाडौं । अन्तराष्ट्रिय मान्यता विपरित बैंक तथा वित्तीय संस्थाले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न थालेका छन् । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन जारी गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत बैंक तथा वित्तीय र बीमा कम्पनीले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नियामक निकाय र धितोपत्र बोर्डले अनुमाति दिएमा उसले हकप्रद निष्कासन गर्ने छ । नेपालमा हकप्रद सेयर निष्कासनको सीमा नतोकिएकाले जति पनि निष्कासन गर्न सक्ने बोर्डका प्रवत्ता नीरज गिरी बताउछन् । “अन्तराष्ट्रिय मान्यताअनुसार १ बराबर २ अनुपातमा हकप्रद निष्कासन गर्ने कम्पनीलाई राम्रो मानिन्दैन तर नेपालमा कानूनी व्यवस्था भएकाले हकप्रदको सीमा छैन्” उनले भने । हकप्रद सेयर निष्कासन गर्ने कम्पनीलाई विकशित मुलुकमा कमजोर मानिने र हकप्रदको घोषणा गरेपछि सेयर भाउ ओरालो लाग्ने उनको भनाई छ । नेपालमा हकप्रद निष्कासन गर्ने भनेपछि सेयरको भाउ उकालो लाग्ने गरेको छ । बोर्डले कम्पनीको अवस्था हरेर २ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको गिरी बताउछन् । “सेयर निष्कासनको आधार पुष्टि भएमा जति हकप्रद निष्कासन गर्न पाउने छ” उनले भने “तर आधार पुष्टि हुनुपर्छ । हामी हचुवाको भरमा अनुमति दिदैनौ ।” नेपाल राष्ट्र बैंकले चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले पुँजी पु¥याउन धमाधम हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ । सोही अनुसार पुँजी योजना तयार गरी धमाधम हकप्रद सेयर निष्कासन गरिरहेका छन् । यस्तै बीमा कम्पनीको पनि पुँजी बढाउन नियामक बीमा समितिले आउदो असारसम्म सयम दिएको छ । असारसम्म निर्जीवन बीमा व्यवसाय गर्नेले हालको २५ करोडबाट १ अर्ब र जीवन बीमा व्यवसाय गर्नेले ५० करोडबाट २ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । चुक्तापुँजी बढाउन र व्यवसाय वृद्धिका लागि हकप्रद निष्कासन गरेको हो भने बोर्डले त्यस्तालाई निष्कासनको अनुमति दिने उनको भनाई छ । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन दिएपछि हकप्रद सेयर निष्कासन गर्नु कम्पनीको वाध्यता भएको उनी बताउछन् । एकआपसमा गाभिन (मर्जर) प्रक्रियामा जाने संस्थाले बोनस सेयर बितरण गर्ने, त्यसले नपुगे हकप्रद र प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) बिक्री भइरहेको छ । अधिकाँश बैंकले न्युन अनुपातमा हकप्रद बिक्री गरेका छन् ।