प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ३२ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । उक्त सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।
कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफा बाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
आरएसडिसी लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने, पूँजी १३ करोड रुपैयाँ पुग्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।
नेपाल टेलिकमले प्रीपेड ग्राहकलाई ऋण दिने, ब्याज नलिने
काठमाडौं । नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका लागि खुसिका खबर आएको छ । टेलिकमको प्रीपेड सिमबाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएर बिचमै फोन काटिने समस्या अब समाधान हुँदैछ । किनकी नेपाल टेलिकमले आफ्ना प्रीपेड ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ । सापटी लिएपछि ब्याज(सेवा शुल्क) कति लाग्ला भन्ने जिज्ञासा पनि तपाईको मनमा आउन सक्छ । त्यसमा पनि चिन्ता नगर्नुस, टेलिकमले बिना ब्याज(सेवा शुल्क बिनै) त्यस्तो सापटी(ऋण) उपलब्ध गराउन लागेको हो । ‘प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन(ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा सञ्चालनमा ल्याउने तयारी कार्य गरिरहेको छ’, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले भनिन् । उनले टेलिकमको सेवालाई उपभोक्ता मैत्री र गुणस्तरिय बनाउन सेवा शुल्क बिनै निश्चित रकम सापटी(ऋण) दिन लागिएको बताईन् । यद्यपी ब्याज बिना कति रकम ऋण दिने भन्नेबारे भने यकिन भैसकेको छैन् । टेलिकमका सयहाक प्रवक्ता सोभन अधिकारीले पनि सापटी योजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्रिपेड ग्राहकलाई बिना ब्याज ऋण दिने सम्बन्धी तयारी धेरै अघि बढिसकेको छ, चाँडै उपभोक्ताले सुबिधा उपयोग गर्न पाउनेछन’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । यस अघि नै एनसेलले आफ्ना प्रीपेड ग्राहकहरुलाई सापटी दिँदै आएको थियो । यद्यपी एनसेलले सेवा शुल्क वापत २ रुपैंयाँ ५१ पैसा असुल्दै आएको छ । नेपाल टेलिकमले भने सेवा शुल्क नलिएरै सापटी दिन लागेको हो । व्यवस्थापिका संसदको विकास समितिले सापटी योजना ल्याउन निर्देशन दिएको थियो ।
स्वरोजगार लघुवित्त विकास बैंकको १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले १६.६६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैैंकले बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशतका दरले हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । नवौं बार्षिक साधारण सभाका लागि बैंकले असोज २३ गतेदेखि बुक क्लोज गर्नेछ । असोज २३ गतेअघि सम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले बोनस सेयर तथा हकप्रद सेयर पाउनेछन् ।
नेपाल कम्युनिटी डेभलपमेन्टको १२० प्रतिशत हकप्रद सेयर असोज २६ देखि
काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयर असोज २६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले चुक्ता पुँजी पुर्याउने योजना अनुसार प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । लगानी कर्ताहरुले कात्तिक २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखा, एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सकिने व्यवस्था गरिएको छ ।
फुकोट कर्णाली आयोजना-एचआईडीसीएलले लगानी जुटाउने र विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने
काठमाडौं । सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल) ले ४२६ मेगावाटको फुकोट कर्णाली आयोजनालाई लगानी जुटाउने भएको छ । एआईडीसीएलले आफुलगायत कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको लगानी हुने गरी छलफल थालेको छ । आयोजनामा १५ प्रतिशत स्वपुँजी (इक्युटी) लगानी गर्न लागेको एचआईडीसीएलले अन्य गैरवित्तीय संस्थासंग लगानी जुटाउनका लागि छलफल थालेको हो । फुकोट कर्णाली आयोजना आफनो नेतृत्वमा लगानी जुटाउने काम भइरहेको एआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । नेपाल विद्युत प्राधिकरण अन्र्तगतको विद्युत उत्पादन कम्पनी लिमिटेडसंग आयोजनामा लगानी गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनले छिट्ट विद्युत उत्पादन कम्पनीसंग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने पोखरेलले बताए । एचआईडीसीएलले फुकोट कर्णालीमा इक्वीटीका अतिरिक्त ऋण पनि लगानी गर्ने योजना उनले सुनाए । “विद्युत उत्पादन कम्पनीले आयोजना प्रवद्र्धन गर्छ हामी आवश्यक लगानी जुटाउने छौ”उनले भने “ हिस्साअनुसार प्रतिफल बाँडिने गरी आयोजना बनाउने सोचाई बनाएका छौ ।” कर्मचारी संचय कोष, नागरिक लगानी कोष र बीमा संस्थानसंग पर्याप्त पुँजी रहेकाले लगानीको समस्या नभएको उनको भनाई छ । यता एचआईडीसीएलले जलविद्युतमा थप लगानी जुटाउन ३० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटड (एनईसी) ले फुकोट कर्णालीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम सुरु गर्न लागेको छ । विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णालीको संभाव्यता अध्ययन गरी डीपीआर तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) मागेको छ । जलविद्युत इन्जिनियर, हाइड्रोलोजी विज्ञ, जिओटेक्निकल इन्जिनियर, स्टक्चरल इन्जिनियर, बाँध इन्जिनियर, सिस्मोलोजिकल एक्सपर्ट, इलेक्ट्रोमेकानिकल विज्ञ मागेको छ । यस्तै हाइड्रोमेकानिकल इन्जिनियर, सुरुङ इन्जिनियर, वित्तीय तथा आर्थिक विश्लेषक, ऊर्जा प्रणाली विज्ञ, निर्माण योजनाकार, ठेक्का विज्ञ र टिम लिडर नियुत्त गर्न लागेको छ । जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउन एनईसीको स्थापना भएको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७/१७ र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर लगानी छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ । प्राधिकरणले स्वदेशी तथा विदेशी संस्थाबाट परामर्श सेवा खरिद गर्दे आएकोमा अबदेखि एनईसीमार्फत ठुला तथा साना आयोजनाको संभाव्यता अध्ययन र डीपीआर तयारीको काम हुने छ । आयोजना क्यू ४० मा आयोजना निर्माण गर्दा लागत करिब ४१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अर्थात ४० करोड ८० लाख अमेरिकी डलर) अनुमान गरिएको छ । यही डिजाइनमा क्यू २५ मा निर्माण गर्दा लागत करिब ६१ अर्ब ८६ करोड रुपैयाँ अर्थात ६० करोड डलर अनुमान गरिएको छ । यता सञ्चय कोषले ६८८ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कोषले आयोजना निर्माणका लागि वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरेको छ । कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्ने भएको छ ।