धवलागिरिका ५२ सहकारी खारेज
बागलुङ । पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण नबुझाउने, लेखापरीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । बागलुङपछि सबै भन्दा धेरै पवर्तका २० सहकारी खारेज भएका छन् । म्याग्दीका सात र मुस्ताङको एउटा मात्र सहकारी खारेज भएको छ । न्यूनतम दुई वर्षभन्दा बढी सयम निष्क्रिय रहेका सहकारी संस्था खारेजीको प्रक्रियामा जाने कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताए । खारेज भएका सहकारीमा अधिकांश चार वर्षदेखि निष्क्रिय अवस्थामा रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०६२/६३ देखि २०७३/७४ सम्मको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६५/६६ मा सातवटा सहकारी खारेज भएका छन् । उक्त कार्यालयको आँकडाअनुसार वर्षेनी पाँच/सातवटा सहकारी संस्था खारेज हुँदै आएका छन् । पछिल्लो एक दशकमा १४ वटा बचत तथा ऋण, १८ बहुउद्देश्यीय, तीन कृषि, १० दुग्ध, तीन उपभोक्ता, एक विद्युत्, एक डिजेल मिल, एक जडीबुटी र एक जिल्ला संघ खारेज भएको जनाइएको छ । कमजोर व्यवस्थापन भएका, क्षमता बढाउन नसक्ने सहकारी बन्द अवस्थामा पुगी खोरजीमा पर्ने गरेका हुन् । संख्याको तुलनामा गुणात्मक विकास गर्न नसकेको आरोप पनि सहकारी संस्थालाई लाग्ने गरेको छ । एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धवलागिरि अञ्चलमा पनि सहकारीबीच एकीकरण भइरहेको छ । हालसम्म अञ्चलका १४ वटा सहकारी एकीकरण भएको कार्यालयले जनाएको छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ/संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुँदै आएका हुन् । यस अञ्चलमा एक हजार ६१ वटा सहकारी दर्ता छन् ।
उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि, दशैंमा २०-२१ लाख यात्रु बाहिरिने अनुमान
काठमाडौं । नेपालीको महान चाड बडादशैं नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् । घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए । “बाटोको दुरावस्था र वर्षाका कारण योवर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ,”-उनले भने । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच/छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेका विभागका प्रवक्ता डा टोकराज पाण्डेले बताए । रासस
पुँजीबजारमा उत्पादनशील क्षेत्रलाई प्रवेश गराइने
काठमाडौं । अर्थराज्यमन्त्री उदयशम्सेर राणाले पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गरिने बताएका छन् । लगानीकर्ताको जोखिम ब्यवस्थापनको लागि पनि उत्पादनशील क्षेत्र पूँजीबजारमा आउनु पर्ने उनको भनाई छ । राज्यमन्त्री राणाले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलसंगको भेटमा बास्तविक क्षेत्रको प्रबेशपछि मात्र नै यसले देशको अर्थिक ऐनाको रुपमा काम गर्ने बताए । पूँजीबजारको दिगो बिकासका लागि लगानीकर्ताले गरेको लगानीलाई दिर्घकालनि र अल्पकालीन गरि दीर्घकालीन लगानीमा राज्यले सौलियत दिनुपर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्रीराणाले उक्त विषय प्रति सरकारले उपयुक्त समयमा आवश्यक निर्णय लिने आश्वासन दिएका थिए । सो अबसरमा अध्यक्ष रेग्मीले पूँजीबजारको बिकासका लागि नितिगत, प्राविधिक र संरचनागत सुधारको खाँचो औल्याएका थिए । सो अवसारमा एसोसिएसनले राज्यमन्त्री राणालाई १० बुदे सुझाव पेश गरेको थियो ।
कतारकाे अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु
काठमाडौं । कतारको अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले र अल जमान एक्सचेन्जको तर्फबाट चिफ अपरेटिङ अफिसर जुबियार अब्दुल रहिमानले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ । यस सम्झौता पश्चात कतारमा हुने नेपालीहरुले कुनै पनि अल जमान एक्सचेन्जको ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
खसीबजार मेलामा १६ लाखको खसी बिक्री
नुवाकोट । दशैंलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुरकाे तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो । खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए । सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो । मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो । खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए । रासस
सानिमा बैंकको वार्षिक साधारणसभा असोज २९ गते, १६ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सानिमा बैंकको १३ औ वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । बैंकले गत आवमा गरको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पछि कम्पनीको पूँजी ९ अर्ब २८ करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।
साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने, पूँजी ७० करोड नाघ्ने
काठमाडौं । साना किसान विकास बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ७० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।
१२२ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, हालसम्म काँग्रेस अगाडि
काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् । आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो । रासस