बिजुलीको बिल भुक्तानी अब एनएमबि बैंकको मोबाइल बैंकिङबाट
काठमाडौं । एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपाल विद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवा शुरु गरेको छ । अब एनएमबि बैंकका ग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम, एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन् । साथै, यस बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने बैंकका सिइओ सुनिल केसीले बताएका छन् । यस बैंकले लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधी प्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउँदै लगेको छ ।
स्वास्थ्य सेवा बन्द गर्ने निर्णय छिट्टै फिर्ता लिन सरकारको आग्रह
काठमाडौं । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा सोमबारको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने छ । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिक बाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो ।
बुढीगण्डकीको निर्णय तत्काल खारेज गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलासययुक्त आयोजना चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १ हजार २ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन । अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्माले आयोजना गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । मन्त्रिपरिषद, उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र हचुवाको भरमा समझदारी गरिएको भन्दै तत्काल खारेज गर्न निर्देशन दिएको हो ।
विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या, १० करोड बजेट आवश्यक पर्ने
मोरङ । मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यकपर्ने भएको हो । सरकारले बजेट पठाउने आश्वासन दिएको तर अहिलेसम्म बजेट पठाउने कुनै चाँजोपाँजो नगरेको मिलका निर्देशक राजेन्द्र कार्कीको भनाइ छ । उनका अनुसार मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । भारतका उद्योगी राधाकृष्ण चमडियाले विसं १९९३ मा स्थापना गरेको विराटनगर जुटमिलको पूर्णरुपमा सञ्चालन हुने हो भने चार हजार मजदुरले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ । उक्त मिलमा काम गरेकै अवस्थामा ००७ सालको प्रजातन्त्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री स्व मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले आन्दोलनको विगुल फुक्न शुरु गर्नुभएको थियो । त्यतिमात्रै होइन अहिले जुटमिल ऋणैऋणमा डुबेको छ । जुटमिललाई अहिले सावाब्याजगरेर तीन अर्ब २० करोड रुपैयाँ ऋण पुगेको छ । यी तमाम समस्याका बीच सञ्चालक समितिले जुटमिललाई सञ्चालन गर्नका लागि अहिले जुटमिलका मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ । मिलका मेसिन तथा पार्टपुर्जाको इञ्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो । मिलको मर्मतसम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपुर्जा मर्मत गर्नुपर्ने अवस्थामा छन् । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको कामसक्ने जनाइएको छ । एक महिनाभन्दा बढी उनीहरुले काम गरिसकेका छन् । यसबाहेक करिब १० करोड रुपैयाँ लागतमा आधुनिक पार्टपुर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यकपर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुटमिल फेरि सञ्चालनको तयारीमा छ । रासस
अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि त्रिदेशीय सम्झौता
काठमाडौं । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पुर्याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले एक विज्ञप्ति मार्फत जनाएको छ । उक्त समझदारीपत्रमा हानका अध्यक्ष अमरमान शाक्य, फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डियाका अध्यक्ष के श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए । सो समझदारीपत्रमा तीनै देशका होटल एशोसिएशनमार्फत नेपाल, भारत र भुटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आदान प्रदान गर्ने कुरा उल्लेख छ । पर्यटन विकासका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेकाले तीनवटै मुलुकका होटल एशोसिएशनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक पालैपालो आयोजना गरिने समझदारी भएको छ । यस्तै, अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम, पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । तीनवटै मुलुकका पर्यटन योजना तर्जुमाका लागि आवश्यक तथ्यांक संकलन तथा व्यवस्थापन गर्न आपसी सहकार्य गरिने उल्लेख छ । रासस
१० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो, यो वर्ष २५० मेगावाट थपिदै
काठमाडौं । विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ । २०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । तर सरकारले चालु आवको बजेटमा ८ सय मेगावाट बिजुली थप भई जडित क्षमता १ हजार ७ सय मेगावाट पुर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ । प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ । लोडसेडिङ हटाउन गत वर्ष ३८५ मेगावाट बिजुली आयात भएको थियो । यो वर्ष कुसाह–कटैया १३२ केभी दोस्रोबाट ५० र परवानीपुर–रक्सौल १३२ केभीबाट ५० मेगावाट बिजुली थप आपूर्ति गर्ने योजना प्राधिकरणको छ । गत वर्ष बिजुलीको माग औसत १ हजार ३ सय मेगावाट पुगेको थियो । यो वर्ष भारतबाट समेत गरी बिजुली आपूर्ति १ हजार ८० देखि १ हजार १ सय मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । ३२० मेगावाट अपुग हुने प्राधिकरणको प्रक्षेपण छ । गत वर्ष ४ सय मेगावाट अपुग हुदा पनि उद्योग बाहेक ग्राहस्थ लोडसेडिङमुक्त थियो । हाल औसत ३ सय मेगावाट बिजुली अपुग हुदा पनि औद्योगिक क्षेत्रमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहको छ । १०९ मेगावाट पीपीए सम्पन्न विद्युत प्राधिकरणले चालु आव सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ६ वर्ष अझै ०७८ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् ।
सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी ८० करोड पर्याउने
काठमाडौं । सिनर्जी फाइनान्सले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पर्याउने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४१ रुपैयाँ रहेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन, प्रतिकित्ता १२ रुपैयाँ मात्र
काठमाडौं । सोमबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फण्डको २१.०५ प्रतिशत नगद लाभांश पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको यस म्यूचल फण्डको सेयर मूल्य प्रतिकित्ता १२.४४ रुपैयाँ तोकिएको छ ।