विकासन्युज

चिलिमे जलविद्युतले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ रहेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं । व्यवस्थापिका-संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आइतबार पारित भएको हो । साे दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरे । त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गर्यो । महिला आयोग विधेयक पारित व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘महिला आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो । बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् । विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका हुन् । व्यवस्थापिका-संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ । रासस

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक, एनआरएनको अध्यक्षमा उम्मेदवारी

काठमाडौं । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए । जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी रोजगारमा संलग्न हुन थाले । महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम शुरु गरे । ती दिन सम्झना गर्दै भट्टले भने, “घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।” तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिनुपर्छ भन्ने उहाँले योजना बनाए। उनले भने, “भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माँझे ।” उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पुर्याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो । यसरी ६ वर्षसम्म फरक/फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे । विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बताए । जापान गएको छ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो । सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए । यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरिसकेका छन् । ‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाँको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् । विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै रु एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ ९एनआरएन० को ठूलो सहयोग नेपाल भित्रिएको थियो । नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो । पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरेका थिए । एनआरएनको अध्यक्षमा उम्मेदवारी गैरआवासीय नेपाली संघ ९एनआरएन० को अन्तर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका भट्टले यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे । एनआरएन जापानको अध्यक्ष, एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र अहिले उपाध्यक्षको दोस्रो कार्यकालको अन्तिम चरणमा उनी छन् । आफू अध्यक्षमा निर्वाचित भएमा आफ्नो कार्यकाल एनआरएनका लागि नयाँ युगको सुरुआत गर्ने उनको लक्ष्य छ । आफ्नो कार्यकालमा एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिला, युवा विभागलाई थप सशक्त बनाउने, नेपालमा एनआरएन र विदेशी लगानीका लागि वातावरण बनाउन प्रयास गर्ने तथा त्यसका लागि सरकारलाई दबाब दिनेलगायत उनको योजना छ । अहिलेसम्म भट्टबाहेक अरुले एनआरएनको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी दिइहालेमा पनि स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको भट्ट बताउँछन् । रासस

‘संसारकै ठुलो’ बैंक डकैती विफल, ५०० मिटर सुरुङ खनेर ३५ अर्ब लुट्नखोज्ने गिरोहको भण्डाफोर

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती र भेन्टिलेसन सिस्टमको पनि सुविधा छ । प्रहरीको जाँचबुझमा केहि चोरीएका गाडी फेला परेका छन् । शुक्रबार गर्नलागिएको डकैतीमा डाकुले ती गाडीको समेत प्रयोग गर्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ । बेलायती अखबार ‘द गार्जियन’ का अनुसार गीरोहले भाडामा लिएर बसेको घरबाट सुरुङ खन्न सुरु गरेका थिए । यो सुरुङ बैंक अफ ब्राजीलको शाखामा गएर अन्त्य हुन्छ । ती गिरोहले डकैती गरेर करिब २५ करोड पाउण्ड (३५ अर्ब रुपैयाँ) भन्दा बढी लुट्ने योजना बनाएका थिए । मुख्य अनुसन्धानकर्ता फ्याबियो पिनहिरोले यो डकैती हुने थियो भने संसारकै सबैभन्दा ठुलो डकैती हुने बताए । उनले भने, ‘यो गिरोह निकै खतरनाक छ र यिनले लामो आपराधिक इतिहास बोकेका छन् । तिनीहरुमाथि हत्या जस्तै थुप्रै हिंसात्मक अपराधको आरोप छ। अधिकांश डाकुहरुको उमेर ३५ वर्षभन्दा माथीको हुनुपर्छ ।’ यो घटनामा अहिलेसम्म १६ जना अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएका छन् । उनीहरुका अनुसार जम्मा २० जनाले मिलेर डकैतीका लागि करिब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । प्रहरीले दुई महिनादेखि यो गिरोहमाथी कडा निग्रानी राखेको थियो । यो सुरंङलाई खन्नका लागि मात्र चार महिनाको समय लागेको थियो । हाल प्रहरीले ती गिरोहलाई फर्जी परिचयपत्रका भरमा घर भाडामा दिने एक महिलाको खोजी गरिरहेको छ। अधिकारीका अनुसार केहि अभियुक्तहरु सन् २०११को  साओ पाउलोको बैंक डकैतीमा पनि संलग्न थिए ।

नेप्से ३२ अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक ३२ अंकले ओरालो लागेको छ । साताको पहिलो दिनको नेप्से कारोबार शुरु भएदेखि निरन्तर दोहोरो अंकले ओरालो लागिरहेको थियो । बजार खुलेको करिब साढे दुई घण्टामा नेप्से ५० अंकले घटेको थियो । त्यसपछिको कारोबारमा भने केहि सामान्य सुधार देखिएको छ । र बजार बन्द हुँदा नेप्से ३२ अंकले घटेर १५१०.०१ अंकमा पुगेको छ । दोहोरो अंकले घटेको बजारमा ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी जनता बैंक नेपालको एक करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५२ कम्पनीको ९ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार भएका ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १९३ अंकले ओरालो लागेको छ । त्यस्तै, ट्रेडिङ र अन्य समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, स्वावलम्बन विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ७/७ प्रतिशतले घटेको छ । धितोपत्र ब्रोकर्स एशोसिएनको पूर्व अध्यक्ष नरेन्द्र सिजापतिका अनुसार सेयर बजारमा राजनीति प्रवाह परेकाले सेयर बजार निरन्तर घट्दै गएको हो । नेकपा एमाले, माओबादी केन्द्र लगायत कम्युनिष्ट पार्टीहरु एक भएर चुनाव लड्ने घोषणासँगै सेयर बजार तीब्र रुपमा ओरालो लागेको उनी बताउँछन् ।

सयपत्री मालामा पनि भारतमै निर्भर, तिहारमा ९० लाख मूल्य बराबरको माला आयात हुने

काठमाडौं । यसपाली तिहारका लागि भारतबाट करिब ९० लाख रुपैयाँ बराबरको सयपत्रीका माला आयात हुने भएका छन् । भारतको कलकत्ताबाट आयात गरिने सयपत्री माला लक्ष्मी पुजाको दुई दिन अगाडी आइपुग्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कुसजुले बताए । गत वर्ष तिहारमा दुई लाख माला आयात गरेकोमा यसपाली तीन लाख माला आयात गर्ने योजना रहेको उनले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष तिहारमा चाडै सुरु हुनेभएकाले सयपत्रीको आन्तरिक उत्पादनले बजार नधान्ने भएकाले आयात बढाउनु परेको उनले बताए । ‘नेपालमा कात्तिकको मध्यदेखि मात्र राम्रोसँग सयपत्री फुल फुल्छ,’ उनले भने, ‘यो वर्ष तिहार कात्तिक ४ गते सुरु हुन्छ । अधिकांश किसानले व्यवसायिकरुपमा भन्दापनि तिहारलाई मध्य नजर गरेर खेती गर्ने भएकाले यसपाली समयमा नै उत्पादन नभएको हो ।’ गोदावरी र मखमली फूलमा भने नेपाल आत्मनिर्भर भइसकेको छ । अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ। एसोसिएसनका अनुसार भारतबाट आयातित सयपत्री मालाको खरिद मूल्य ३० रुपैयाँ प्रति माला पर्छ । यसको बजार मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । गत वर्षभन्दा यसपाली सयपत्रीमालाको मूल्य १० प्रतिशतले महंगिएको कसजुले जानकारी दिए । गोदावरीको बजार मूल्य ४०-५० रुपैयाँ रहेको छ भने गोदावरीको एक सय देखि तीन सय रुपैयाँसम्म रहेको उनले बताए । उनले भने, ‘ उपभोक्ताले गोदावरी माला डिजाइनका आधारमा किन्ने गरेका छन् । आकर्षक डिजाइन छ भने मंहगोमा पनि गोदावरी माला किन्छन् ।’ सम्पूर्ण पुजाकार्यमा सयपत्री फुलको प्रयोग हुने भएकाले तिहारमा यसको माग बढेको हो । यसपाली तिहारमा फुलको माग १५ लाख पुगेको कुसजुले जानकारी दिए । जसमध्य ११ लाख सयपत्री, तीन लाख मखमली र एक लाख गोदावरी तथा अन्य फुल रहेका छन् । सामान्य अवस्थामा मालाको माग दैनिक १०-१५ हजार मात्र रहेको छ । नेपालमा चितवन, मकवानपुर, धादिङ, भक्तपुर र काभ्रेलाई सयपत्री फुलको हब मानिन्छ । मखमलीका लागि भक्तपुर र ललितपुर विख्यात छ । गोदावरी फुल काठमाडौं र काभ्रेका केही स्थानमा पाइन्छ ।

अछामको चार सय घरधुरी लालपुर्जाविहीन

अछाम । अछामको मेल्लेख गाउँपालिका-३ का ४०० घरधुरी जग्गाधनी पुर्जा (लालपुर्जा)बाट अहिले पनि वञ्चित छन् । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो । अछामको पुनःनापी कार्य भएसँगै विसं २०७१ मा विशेष नापी अछामले नापनक्सा कार्य सम्पन्न भए पनि लालपुर्जा पाउन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । लालपुर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उनको भनाइ छ । जग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको छ । राज्यका लागि जग्गाको तिरो (राजस्व) संकलनमा पनि लालपूर्जा नहुँदा समस्या सिर्जना भएको स्थानीय खड्कबहादुर शाहको भनाइ छ । सामान्य कृषि ऋण लिनबाट पनि आफूहरु वञ्चित हुनुपरेको उनले बताए । “विशेष टोलीले नापनक्सा गरायो तर दर्ता प्रक्रियामा कसैले सहयोग गरेन”- उनले दुःखेसो पोखे । विशेष नापी टोलीले जग्गा नापनक्सा गरिसकेको भए पनि पुरानो कागजात केहीँपनि फेला नपर्दा समस्या भइरहेको बताइएको छ । नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सीयाराम ठाकुरले बताए । पटकपटक विभिन्न सरोकार भएकासँग परामर्श गर्दा पनि लालपुर्जा दिन नसकेको र मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ । यता जग्गा दर्ता प्रक्रिया पूरा गर्न र लालपुर्जा वितरण गराउनका लागि गाउँपालिकाबाट निर्णय गरिसकेको मेल्लेख गाउँपालिका प्रमुख लोकबहादुर बोहराले बताए । आफू त्यसै कामका लागि एक हप्तादेखि भूमिसुधार मन्त्रालय र केन्द्रीय नापी विभागमा धाइरहेको प्रमुख बोहराले बताए । जग्गा दर्ता गराई लालपुर्जा वितरण गर्नका लागि आफू निरन्तर खटिरहेको भन्दै बोहराले अब छिट्टै वडावासीलाई लालपुर्जा वितरण गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । रासस

सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा, नयाँ विज्ञापन गर्ने

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ । आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिए । उनका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् । यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताए । अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । “सबै मन्त्रालय निकायलाई रिक्त दरबन्दी पठाउन चिठी पठाएका छौँ”– उनले भने, “सबैतिरबाट रिक्त दरबन्दी आएपछि आयोगमा पठाउँछौँ ।” सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ । रासस