युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने
काठमाडौं । हालै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि युनियनले आगामी कात्तिक १३ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने युनियनले जनाएको छ । बीमा समितिले युनियनलाई दशैअघि जीवन बीमा कारोबार गर्न अनुमति दिएको हो । दशैअघि नै उसले कारोबार सुरु गरेको छ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् । यस्तै वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहको वित्तीय विवरण पारित हुने कार्यक्रम छ । संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक चयनका लागि निर्वाचन हुने कार्यक्रम रहेको युनियनले जनाएको छ ।
सेयर बजार घट्न थालेपछि धितोपत्र बोर्डले भन्यो–राजनीतिक अस्थिर छ, बुझेर मात्र लगानी गर्नुस
काठमाडौं । सेयर बजार निरन्तर घट्न थालेपछि नियामक धितोपत्र बोर्डले कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएका छ । बोर्डले धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने भन्दै अनावश्यक प्रचारप्रसार र कसैको वहकाउमा नलागी बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएको हो । पछिल्लो समयमा सेयर बजार अस्थिर हुने र घट्ने क्रम बढेपछि लगानीकर्तालाई बोर्डले सचेत गराएको हो । आइतबार नै बजार झण्डै ३३ अंकले घटेर नेप्से परिसुचक १ हजार ५१० मा झेरको थियो । कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेपछि उकालो लाग्नु पर्ने बजार लगातार ओरालो लागेपछि बोर्डले कम्पनीको लाभांश, व्यवस्थापन परिवर्तन, भावी योजना, अद्यावधिक वार्षिक प्रतिवेदन, क्रेडिट रेटिङको स्तर, नेटवर्थ, खुदनाफा र नोक्सान, जोखिम पक्ष जस्ता वित्तीय संचकाँक र साधारणसभाको निर्णय हेर्न लगानीकर्तालाई आग्रह गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले बजारका लगानीकर्तालाई सन्देश दिदै धितोपत्र बजारमा देशको समग्र आर्थिक र राजनीतिक प्रभाव हुने भन्दै अहिले बजार घट्नुमा पछिल्लो समयमा विकासित राजनीतिक घटनाक्रम रहेको संकेत गरेको छ । पछिल्लो समयमा विकासित भएको राजनीतिक घटनाक्रमले बजार ओरालो लागेको निश्कर्ष बोर्डको छ । यसैगरी बोर्डले धितोपत्रमा हुने लगानी जोखिमलाई न्यन गर्न लगानी विविधिकरण गर्न सुझाएको छ । धितोपत्र बजारको जानकारीका लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालया, नेपाल राष्ट्र बैंक र बीमा समितिका वेभसाइट निरन्तर हेर्न आग्रह गरिएको छ । बजारमा उतारचढाव आउन सक्ने भएकाले उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानी गर्न बोर्डले जानकारी गराएको छ ।
एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त
काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । क्यापिटलको ३९औ सञ्चालक समितिको बैठकको निर्णयले ढुंगेललाई कम्पनीको सिईओमा नियुक्त गरेको हो । सिईओ ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्ने कम्पनीले जनाएको छ ।
गोपाल खड्कालाई तत्काल बर्खास्त नगर्ने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आईतबार अन्तरिम आदेश दिएको हो । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो ।
जीवन बीमा गर्ने नेपालीको संख्या ४५ लाख, बार्षिक ३५ करोड बीमा शुल्क, साढे ८ करोड दावी भुक्तानी
काठमाडौं । पौने तीन करोड नेपालीमध्ये ४५लाखले मात्रै जीवन बीमा गरेका छन् । बीमा समितिका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा जीवन बीमा लेखको संख्या ४५ लाख २ हजार ६७ वटा पुगेको जनाएको हो । बीमा समितिले एक जनाले एक भन्दा बढि बीमा पोलिसी लिएको हुन सक्ने बताउँदै ठ्याक्कै संख्या भने एकिन गर्न कठिन हुने बताउँदै आएको छ । आर्थिक बर्ष २०७२/७३ मा कायम रहेको बीमा लेखको संख्या भन्दा यो ६ लाख २२ हजार २ सय ६७ ले बढि हो । एक बर्षमा १६ प्रतिशतले बढि बीमा लेखा बिक्रि भएको छ । सो आवमा जम्मा ३८ लाख ६९ हजार ८ सय जनाले मात्रै जीवन बीमा गरेका थिए । आव २०७२/७३ मा ३५ हजार ८ सय ५ वटा दावी वापत ६ करोड ९ लाख ५६ हजार भुक्तानी गरिएको थियो । सो आवमा जम्मा २३ करोड ८८ लाख २५ हजार बीमा शुल्क संकलन गरेको थियो । आव २०७३।७४ को असार मसान्तसम्ममा भने ५९० वटा दावीका लागि एक करोड १० लाख ३९ हजार रुपैंया दावी भुक्तानी गर्न बाँकी रहेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले सो आर्थिक बर्षमा ५९ हजार ६ सय ६४ वटा दावी वापत ३४ करोड ८७ लाख ५२ हजार बीमा शुल्क आर्जन गरेको देखिन्छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच कम भएकाले नै नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिन सुरु गरिएको बताए ।‘बीमाको पहुँच न्युन भएकाले नै नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो, बीमा बजार अब डबल डिजिटमा बढाउनु पर्छ’, समितिका निर्देशक पौडेलले विकासन्युजसँग भने ।
बैंकिङ प्रणालीमा तरलता कम हुने संकेत, एक महिनामा ४० प्रतिशत घट्यो
काठमाडौं । एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) ४० प्रतिशत घटेको छ ।बैंकिङ प्रणालीमा हाल ४२ अर्ब रुपैयाँ मात्र तरलता रहेको छ । गत भदौ २९ गते ७० अर्ब रुपैयाँ बढी तरलता थियो । झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । भदौको तुलनामा तरलता कम भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । “तरलताको अवस्था तलमाथि भइरहन्छ, तर अहिले कम देखिएको छ” उनले भने “बैंकको लगानी बढेर वा आयात बढेरे यस्तो देखिएको छ, हेर्न बाँकी छ ।” तरलता बढी भएको भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसअघि २ पटक गरेर केन्द्रीय बैंकले ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बजारमा तरलता कम नभएको बताउछन् ।
चिलिमे जलविद्युतले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ रहेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित
काठमाडौं । व्यवस्थापिका-संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आइतबार पारित भएको हो । साे दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरे । त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गर्यो । महिला आयोग विधेयक पारित व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘महिला आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो । बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् । विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका हुन् । व्यवस्थापिका-संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ । रासस