अपडेट: सेयर बजारमा भारी गिरावट
काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार १ बजेर ३ मिनेट जाँदा बजार ४२ दशमलब ८३ अंकले ओरालो लागेको छ । सो अवधीमा १३४ कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सका सबै परिसूचक रातै देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २५३ अंकले ओरालो लागेको छ । उत्पादन मुलक समुह ९ अंकले ओरालो लागेको छ भने कारोबार भएका बाँकी सबै समुहको सूचक दोहोरो अंकले घटेको छ ।
मुलुक राजनीतिक स्थाइत्वतर्फ उन्मुख
यसपालीको दशैले नेपालको राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । दशैको अवसर पारेर नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्नेसम्मको सहमति गरेका छन् । दुबै पार्टी एक भएर साझा एकिकृत वामपन्थी शक्ति निर्माण गर्ने प्रतिवद्धता पनि जनाएका छन् । एमाले र माओवादीबीच ६०÷४० को तालमेल भएको छ । दुबै पार्टी एकभएर अहिले उम्मेदवार व्यवस्थापनामा लागेका छन् । वामपन्थी तालमेल भएपछि केन्द्रीय र प्रदेश निर्वाचनमा सहज रुपमा दुई तिहाइ बहुमत प्राप्त गर्न सकिने उनीहरुको आँकन छ । यदी दुबै पार्टीले चुनावलाई उपयोग गर्न मात्र रणनीति तयार पारेका हुन भने यसको कुनै अर्थ छैन् । यसले अहिले जनतामा भएको उत्साहलाई निराशामा परिणत गर्ने छ । दुबै पार्टीले इमान्दारपुर्वक सम्झौता कार्यन्वयन गरे भने पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी बन्ने निश्चित छ । एमाले र माओवादी केन्द्रले चुनावमा तालमेल र एकिकरणसम्मको सहमति गरेपछि सत्तारुढ नेपाली काँग्रसले पनि उसलाई चुनौति दिन भनेर वृहत लोकतान्त्रिक शक्तिको निर्माणमा जुटेको छ । काँग्रेसले तराई केन्द्रीत संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रीक फोरम, राष्ट्रिय जनता पार्टीलगायत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संग चुनावी तालमेलका लागि वार्ता थालेको छ । विमलेन्द्र निधीको संयोजकत्वमा चुनावी तालमेल समिति बनाएर काँग्रेसले काम अघि बढाएको छ । नयाँ चुनावी तालमेलले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राजपा परित्याग गरेर आएका हृदेयस त्रिपाठी र वृजेशकुमार गुप्तालगायतका नेतालाई ठुलो राहत दिने संभावना छ । उनीहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा भाग लिने भएका छन् । एमालेले साना र चुनाव जित्न सक्ने अन्य पार्टीका नेतालाई उम्मेदवारी बनाउन लागेको छ । निर्वाचन कानूनमा प्रत्यक्षतर्फ चुनाव नजित्ने र ३ प्रतिशत मत नल्याउनेलाई राष्ट्रिय पार्टीको मान्यता नदिने व्यवस्था भएपछि सबैले आफनो अस्तित्वका लागि चुनावी तालमेलदेखि एकिकरणसम्मका तयारी गरेका हुन् । निर्वाचन कानूनले नै नेपालमा फुटेका पार्टी जुटेर वामपन्थी र लोकतान्त्रिक शक्ति तयारका लागि आवश्यक पुर्वाधार तयार गरेको छ । एकता हुनुको मुल कारण निर्वाचनको थ्रेसहोल्डलाई मान्न सकिन्छ । नेपालको संघीय प्रणालीअनुसार कुनै पनि दललले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नदेखिएपछि फुटेका पार्टी पुनः जुट्न थालेका हुन् । लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष बहुदलीय प्रतिस्पर्धा नै हो । पार्टीबीच प्रतिस्पर्धा हुने नै लोकतन्त्रको चरित्र पनि हो । यो पालीको दशैले फुटेका पार्टी जुटाउन र एकआपसमा सद्भाव कायम राख्न ठुलो काम गरेको छ । एमाले र माओवादीले दशै विदाको भरपुर उपयोग गरेर चुनावमा तालमेलदेखि एकिकरणसम्मका लागि आवश्यक पुर्वाधार तयार गर्न सफल भएका छन् । यो एकताले नेपालमा लोकतान्त्रिक र वामपन्थी शक्ति गरी दुई धार स्पष्ट रुपमा स्थापित गर्नेतर्फ उन्मुख बनाएको छ । वामको नेतृत्व एमाले र माओवादी र लोकातान्त्रिक शक्तिको नेतृत्व काँग्रेसले गरेका छन् । विकशित मुलुकको अभ्यास हेदा मुल रुपमा दुई राजनीतिक दल नै चुनावमा प्रतिस्पर्धामा आएको देखिन्छ । अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक । यस्तै वेलायतमा लेवर र कन्जरभेटीभ पार्टी छन् । लामो समयदेखि यी प्रमुख दलले अमेरिका र बेलायतमा आलोपालो शासन गर्दे आएका छन् । २, ४ सिट जितेर मोलमोलाइ गरी सधै सत्तामा जानेको अब दिन गएका छन् । यद्यपी स्वतन्त्र सांसदको अस्तित्व रहेने भएकाले सत्ता समीकरणमा केही खेलोफड्को हुने संभावनालाई नर्कान सकिन्न् । त्यसैले नेपाल जस्तो सानो मुलुकमा धेरै दल हुनु राम्रो हैन् । फुटेर हैन जुटेर जादा नै राजनीतिक स्थाइत्व भई मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने छ । यसले जनताको आशा जगाएको छ । यो प्रयास सफल भए नेपालको राजनीतिमा लोकतान्त्रीक र वामपन्थी दुई धारको मात्र अस्थित्व रहने देखिन्छ । पार्टी एकिकरण र चुनावी तालमेलको प्रयास थालनी भएको छ, यसले मुर्तरुप पाओस भन्ने हाम्रो शुभकामना ।
माहुली सामुदायिक लघुवित्तले ६० प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि
काठमाडौं । माहुली सामुदायिक लघुवित्तले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश गरि सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले ५० प्रतिशत बोनस सेयर पछि २ बराबर एकको अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले पूँजी वृद्धिकोे लागि सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६ करोड रुपैयाँ हुनेछ । त्यस्तै, बोनस पश्चात कायम भएको पूँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पूँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको बोनस वितरण तथा हकप्रद सेयर निष्काशन गर्न पाउने छन् ।
थ्राइभ ब्रोकेरेजको सेयर कारोबार खुला
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार खुला गरेको छ । ३ दिन कारोबार रोक्का गरेपछि आइतबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले यस ब्रोकेरेजकोे कारोबार रोक्का गरेको हो ।
स्वावलम्बन लघुवित्तले ३१ प्रतिशत लाभांश दिने
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ दशमलब ५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले नगद लभांश तथा बोनस सेयरको कर समेत ४ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको नगद लभांश दिने प्रस्ताव राखेको छ । साथै, कम्पनीले ८ लाख ३७ हजार ९२३ कित्ता बोनस सेयर वितरण गर्ने छ ।
रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता
काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोक स्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’नामक सेवाग्राहीमूखि कार्यक्रमयही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको विजेता छानिए
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको बिजेताहरु छानिएका छन् । कम्पनीले भदौ २९ देखी आश्विन २१ सम्मको विजेताहरु इलेक्ट्रोनिक लक्की ड्र मार्फत छानेको हो । कम्पनीले चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । शिव खनाल, बाल कुमार सुनुवार , सम्झना ढकाल, जनक माया लामा, रामवती सव्रिया निरु सुबेदी, प्रमिला गिरि, युकेश श्रेष्ठ, हेम कुमारी मगर, भक्त बहादुर तामाङ, दान माया राना मगर, फुल माया घलान , ओम सारी पुन , हिरा पुर्कुटी, लक्ष्मी घर्ति, रुक माया राई, आशिक गुरुङ र गङ्गा बहादुर पुनले चाँदीको सिक्का पाएका छन् । रुपेश राना मगर र उम्माया गुरुङले ओप्पो मोबाइल फोन प्राप्त गरेका छन् । कम्पनीले साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गर्ने बताएको छ । योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।
पिपुल्स हाइड्रोपावरले ८५ करोडको आईपीओ निष्कासन गर्दै, पुसदेखि प्रक्रिया शुरु हुने
काठमाडौं । पुँजी बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ४९.६ मेगावाट क्षमताको सुपरदोर्दीखोला आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोपावरले सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ निष्कासनको तयारी थालेको हो । आईपीओ निष्कासन गर्न कम्पनीलाई लिमिटेडमा परिणत गर्नका लागि प्रक्रिया शुरु भएको छ । कम्पनीलाई लिमिटेडमा रुपान्तरण गरेपछि आउदो पुसदेखि आईपीओका लागि काम सुरु गर्ने कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । विकास न्युजसंग कुरा गर्दे उनले ढिलोमा आगामी १ वर्षभित्र आईपीओ निष्कासन गरिसक्ने जानकारी दिए । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने उनले बताए । जसमध्ये १० प्रतिशत स्थानियबासिन्दा र २० प्रतिशत सर्वसाधारणलाई हुनेगरी सेयर संरचना तयार पारिएको छ । कम्पनीमा अहिले १ हजार ५ सय भन्दा बढी संस्थापक सेयरधनी छन् । प्रभावित लम्जुङबासिले सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडमार्फत २७ करोड रुपैयाँ संस्थापक सेयर लगानी गरेको छन् । ६० प्रतिशत अन्य र १० प्रतिशत स्थानियको संस्थापक सेयर लगानी छ । बाँकी ३० प्रतिशत आईपीओबाट लगानी जुटाउने गरी कम्पनीले लगानी संरचना तयार पारेको रायमाझीले जानकारी दिए । आयोजना बनाउन ८ अर्ब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । नविल बैंकको अगुवाईमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संचय कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलगायत १० वित्तीय संस्थाले ५ अर्ब ८० करोड रुपैयाँ आयोजनामा लगानी गरेका छन् । बाँकी संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ । आयोजनाको सुरुङ निर्माणको काम सुरु भइसकेको उनले बताए । रायमाझीका अनुसार आयोजना ढिलोमा आउदो ०७७ असारसम्म सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरणले दोर्दीकरिडोरमा प्रसारणलाइन निर्माणमा ढिलाइ गरिरहेकाले आयोजना निर्माण पनि पछि धकलिएको हो । आयोजनाको अडिट सुरुङ सम्पन्न भई मुल सुरुङ खन्ने काम पनि सुरु भएको छ । बाँधको काम पनि अब सुरु हुने उनले जानकारी दिए । आयोजनाको झण्डै ५ किलोमिटर लामो सुरुङ खन्नुपर्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता (पीपीए) गरेको छ । जसअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आयोजना लम्जुङको ढोढेनी र फलेनीमा पर्छ । आयोजनाबाट वार्षिक ३० करोड १५ लाख युनिट बिजुली उत्पादन हुने छ । जसअनुसार २४ करोड ४१ लाख वर्षामा र ४ करोड ५३ लाख युनिट बिजुली सुख्खायाममा उत्पादन हुने छ । आयोजनाको प्रतिकिलोवाट लागत करिव १७ करोड रुपैयाँ छ भने आन्तरिक प्रतिफल १६.९ प्रतिशत हुने कम्पनीले गरेकाृे वित्तीय विश्लेषणमा उल्लेख छ । हेड ६०२ मिटर भएकाले आयोजना आर्थिक रुपमा आर्कषण देखिएको छ । कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको संभाव्यता अध्ययन थालेको छ । सुपरदोर्दी सम्पन्न हुने बेलामा हिमचलुली दोर्दीको पनि निर्माण सुरु हुने उनको भनाई छ ।