विकासन्युज

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद पक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को महाप्रबन्धकमा चन्द्रसिहं साउद नियुक्त हुनेनिश्चित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउँदलाई नेप्सेको महाप्रबन्धक  नियुत्त गर्न प्रस्ताव गएपनि औपचारिक रुपमा निर्णय भएन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले आवेदन गरेका १३ जनामध्ये साउँदसहित प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई छनौट सूचिमा समावेश गरेको थियो ।उनी यस अघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।उनी नेपाली काँग्रेस निकट मानिन्छन् ।

नीकको क्षमतामा विस्तार, १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्ने

काठमाडौं । स्वदेशी तथा वैदेशिक लगानीमा २५ वर्षअघि स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि(नीक) ले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ । कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नीक स्थापनाको रजत वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले न्युनतम १ केभीदेखि १३२ केभी क्षमतासम्मको विद्युतीय ट्रान्सफरमर उत्पादनको अवस्थामा पुर्याएको उनले जानकारी दिए । वि.स. २०४९ मा थाइल्याण्डको इकरात इन्जिनियिरङको ४८ प्रतिशत लगानी रहेको कम्पनीले हालसम्म ५ हजार केभीए क्षमताको ट्रान्सफर उत्पादन गर्न सफल भएको जोशीले बताए । ठुला ट्रान्सफरमर उत्पादन गर्न सफल भएको उनको दावी छ । कम्पनीले अर्धस्वचालित प्रविधिबाट ट्रान्सफरमर उत्पादन गरिरहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाइ १० हजार भन्दा बढी थान ट्रान्सफरम बेचेको छ । यस्तै कम्पनीले हालसम्म ५ हजार बढी ट्रान्सफरमर भुटानमा निकासी समेत गरेको उनले जानकारी दिए । हाल पनि भुटानमा ट्रान्सफरमर निकासी भइरहेको छ । यस्तै बंगलादेशमा पनि निकासी भएको जोशीले बताए । ट्रान्सफरमर आयात प्रतिस्थापनका साथै निर्यात समेत गरेको उनको भनाई छ । थाइल्याण्डको साझेदारले कम्पनीलाई अघि बढाउन धेरै ठुलो सहयोग गरेको जोशीको भनाई छ । अप्ठेरो अवस्था आइपुग्दा पनि विदेशी साझेदारले ठुलो सहयोग गरेको उनले जानकारी दिए । उनले सबैको साथका कारण कर्मचारीलाई ५ महिनाको तलव बराबरको बोनस दिन सक्षम रहेको बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल, ग्रामीण विद्युत सहकारी, उद्योग, होटल, निर्माण उद्योगले नीक ट्रान्सफरमर खरिद गरेका छन् । नीक कच्चपदार्थमा नभई प्रविधि र गुणस्तरमा आधारित रहेको उनको दावी छ । रजत वर्षको अवसरमा नीकले इन्जिनियरिङ अध्ययन संस्थानका इलेक्ट्रिक इन्जिनियरिङ समूहको अन्तिम वर्षका विद्यार्थीलाई खोज तथा अनुसन्धान काममा विद्युतीय ट्रान्सफरमर विषयको पाठ्यक्रम समावेश गराई ४ जनालाई शोधमा सहयोग गर्ने भएको छ । यस्तै सामुदायिक ग्रामीण विद्युतीकरण संस्थालाई २५ केभीए क्षमताको विद्युतीय ट्रान्सफरमर दिने भएको छ ।  

अछामका सात स्थानीय तहमा बैंकिङ सेवा छैन

अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या  भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ । टाढाका स्थानीय तहमा बैंक नहुदा बैंकिङ सेवाका सबै काम गर्न दुई दिनसम्म हि“डेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउछन् । सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उनकाे भनाइ छ । स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउ“पालिकाका लेखापाल मनोज थापाले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि गाउँपालिकाको विकास बजेट झोलामा बोकेर लैजानुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । उपभोक्ता समितिले पनि सदरमुकाममा तीन/चार दिन बसेर करोडौँ रकम भुक्तानी गरेर फर्किदा सुरक्षाको दृष्टिकोणले निकै खतरा रहेको स्थानीय बताउँछन् । गाउँपालिकामा बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा पनि आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए । उहाँले बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्नका लागि आफू पहल गरिरहेको बताए । स्थानीय तह कार्यान्वयनमा आइसकेपछि केही बैंकले गाउ“पालिका र नगरपालिकामा शाखा स्थापना गर्न खोजे पनि सुरक्षित भवनको अभाव देखिएको बताएका छन् । तत्काल टाढाका गाउँपालिकामा सुरक्षाको पनि त्यतिकै समस्या रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मंगलसेनका शाखा प्रबन्धक मनोज नेपालले बताए । रासस

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । हालै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि युनियनले आगामी कात्तिक १३ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने युनियनले जनाएको छ । बीमा समितिले युनियनलाई दशैअघि जीवन बीमा कारोबार गर्न अनुमति दिएको हो । दशैअघि नै उसले कारोबार सुरु गरेको छ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् । यस्तै वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहको वित्तीय विवरण पारित हुने कार्यक्रम छ । संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक चयनका लागि निर्वाचन हुने कार्यक्रम रहेको युनियनले जनाएको छ ।

सेयर बजार घट्न थालेपछि धितोपत्र बोर्डले भन्यो–राजनीतिक अस्थिर छ, बुझेर मात्र लगानी गर्नुस

काठमाडौं । सेयर बजार निरन्तर घट्न थालेपछि नियामक धितोपत्र बोर्डले कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएका छ । बोर्डले धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने भन्दै अनावश्यक प्रचारप्रसार र कसैको वहकाउमा नलागी बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएको हो । पछिल्लो समयमा सेयर बजार अस्थिर हुने र घट्ने क्रम बढेपछि लगानीकर्तालाई बोर्डले सचेत गराएको हो । आइतबार नै बजार झण्डै ३३ अंकले घटेर नेप्से परिसुचक १ हजार ५१० मा झेरको थियो । कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेपछि उकालो लाग्नु पर्ने बजार लगातार ओरालो लागेपछि बोर्डले कम्पनीको लाभांश, व्यवस्थापन परिवर्तन, भावी योजना, अद्यावधिक वार्षिक प्रतिवेदन, क्रेडिट रेटिङको स्तर, नेटवर्थ, खुदनाफा र नोक्सान, जोखिम पक्ष जस्ता वित्तीय संचकाँक र साधारणसभाको निर्णय हेर्न लगानीकर्तालाई आग्रह गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले बजारका लगानीकर्तालाई सन्देश दिदै धितोपत्र बजारमा देशको समग्र आर्थिक र राजनीतिक प्रभाव हुने भन्दै अहिले बजार घट्नुमा पछिल्लो समयमा विकासित राजनीतिक घटनाक्रम रहेको संकेत गरेको छ । पछिल्लो समयमा विकासित भएको राजनीतिक घटनाक्रमले बजार ओरालो लागेको निश्कर्ष बोर्डको छ । यसैगरी बोर्डले धितोपत्रमा हुने लगानी जोखिमलाई न्यन गर्न लगानी विविधिकरण गर्न सुझाएको छ । धितोपत्र बजारको जानकारीका लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालया, नेपाल राष्ट्र बैंक र बीमा समितिका वेभसाइट निरन्तर हेर्न आग्रह गरिएको छ । बजारमा उतारचढाव आउन सक्ने भएकाले उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानी गर्न बोर्डले जानकारी गराएको छ ।

एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । क्यापिटलको ३९औ सञ्चालक समितिको बैठकको निर्णयले ढुंगेललाई कम्पनीको सिईओमा नियुक्त गरेको हो । सिईओ ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्ने कम्पनीले जनाएको छ ।

गोपाल खड्कालाई तत्काल बर्खास्त नगर्ने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आईतबार अन्तरिम आदेश दिएको हो । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो ।

जीवन बीमा गर्ने नेपालीको संख्या ४५ लाख, बार्षिक ३५ करोड बीमा शुल्क, साढे ८ करोड दावी भुक्तानी

काठमाडौं । पौने तीन करोड नेपालीमध्ये ४५लाखले मात्रै जीवन बीमा गरेका छन् । बीमा समितिका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा जीवन बीमा लेखको संख्या ४५ लाख २ हजार ६७ वटा पुगेको जनाएको हो । बीमा समितिले एक जनाले एक भन्दा बढि बीमा पोलिसी लिएको हुन सक्ने बताउँदै ठ्याक्कै संख्या भने एकिन गर्न कठिन हुने बताउँदै आएको छ । आर्थिक बर्ष २०७२/७३ मा कायम रहेको बीमा लेखको संख्या भन्दा यो ६ लाख २२ हजार २ सय ६७ ले बढि हो । एक बर्षमा १६ प्रतिशतले बढि बीमा लेखा बिक्रि भएको छ । सो आवमा जम्मा ३८ लाख ६९ हजार ८ सय जनाले मात्रै जीवन बीमा गरेका थिए । आव २०७२/७३ मा ३५ हजार ८ सय ५ वटा दावी वापत ६ करोड ९ लाख ५६ हजार भुक्तानी गरिएको थियो । सो आवमा जम्मा २३ करोड ८८ लाख २५ हजार बीमा शुल्क संकलन गरेको थियो । आव २०७३।७४ को असार मसान्तसम्ममा भने ५९० वटा दावीका लागि एक करोड १० लाख ३९ हजार रुपैंया दावी भुक्तानी गर्न बाँकी रहेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले सो आर्थिक बर्षमा ५९ हजार ६ सय ६४ वटा दावी वापत ३४ करोड ८७ लाख ५२ हजार बीमा शुल्क आर्जन गरेको देखिन्छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच कम भएकाले नै नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिन सुरु गरिएको बताए ।‘बीमाको पहुँच न्युन भएकाले नै नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो, बीमा बजार अब डबल डिजिटमा बढाउनु पर्छ’, समितिका निर्देशक पौडेलले विकासन्युजसँग भने ।