विकासन्युज

नेपाल सेवा लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न यस नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै सेयर जारी गरी सक्ने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, संस्थापकबाट ४ करोड २० लाख रुपैयाँ चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड पुग्ने कम्पनीले जनाएको छ । सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको यस संस्थाको हालसम्म ८ वटा शाखा कार्यालय रहेको छ ।

आइपीओ निष्काशन गर्ने युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्सको तयारी, धितोपत्र बोर्ड भन्छ-मिल्दैन

काठमाडौं । भर्खरै लाइसेन्स पाएर कारोबार आरम्भ गरेका युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी अघि बढाएका छन् । यी तीन वटै कम्पनीले आइपीओ निष्काशनका लागि बीमा समितिमा लबिङ थालेका हुन् । युनियन लाइफले त आइपीओ निष्काशनका लागि अनुमति माग्दै निवेदन नै दिईसकेको छ । ‘युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको बाटो खोलिदिन अनुरोध गरिरहेका छन्, युनियनले त निवेदन नै दर्ता गराएको छ’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनको वित्तिय विवरण स्विकृत गराएको छ भने ज्योति लाइफले पनि १० दिनको वित्तिय विवरण पेश गरेको छ ।‘युनियन लाइफको वित्तिय विवरण स्विकृति भैसकेको छ, ज्योति लाइफको विवरणमा चित्त नबुझेपछि ७ दिने प्रष्टिकरण सोधेका छौं, आईएमईले भने वित्तिय विवरण बुझाएको छैन’, बीमा समितिका उप निर्देशक दिनेश कुमार लालले भने । यी तीन वटै कम्पनीले गत असार २० गते लाइसेन्स पाएका थिए । त्यस्तो वित्तिय विवरणमा बैंकमा राखिएको निक्षेपको ब्याज र कर्मचारी खर्च लगायत समेटिएको पनि उनले बताए । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले त ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक १३ गतेका लागि साधारण सभा नै बोलाईसकेको छ । बीमा समितिको नियमन विभागका प्रमुख समेत रहेका उप निर्देशक साम्भराज घिमिरेले भने उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्काशन गर्न पाउने बताए । धितोपत्र बोर्ड भन्छः मिल्दैन नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने-सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन्, नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ ।

नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल

काठमाडौं । नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा कुशल व्यवस्थापन प्रणालीको लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ । उक्त सम्मान युनाईटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्धारा सेप्टेम्बर २१, २०१७मा प्रदान गरिएको हो । आईएसओ ९००१को नबिन संस्करण आईएसओ ९००१ः२०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तहरुको आधारमा मुल्याङ्कन हुने जस अन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिबद्धता, नेत्रित्व क्षमता, जनसहभागिता, पहुचको प्रकृया, सुधार, प्रामाणिक आधारको निर्णय प्रकृया तथा कुशल सम्बन्ध व्यवस्थापनका पक्षमा बैंक सफल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने “यस सम्मानलाई बैंकको ब्यबस्थापन अभ्यास तथा प्रकृयामा हामीले क्रमिक रुपमा गरेको सुधार तथा विवेकशिल ब्यबस्थापन अनुपालन संस्कृतीलाई निरन्तर रुपमा पालना गरेको प्रतिफलका रुपमा लिएका छौ ।” यस बैंकले हालै मात्र नेपालमा नै प्रथम पटक सुरक्षित वातावरणमा(थ्रीडी सेक्योर इन्भाईरोमेन्ट) विद्युतिय व्यापार कारोबारहरुमा सहजिकरण गर्न नबिल विद्युतिय भुक्तानि प्रणाली(नबिल इलोक्ट्रेनिक पेमेन्ट गेटवे)को शुरुवात गरेको छ ।  

काठमाडौं महानगरले सवारी कर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो । महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ । ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ । गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ । विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट  दिइएको महानगरपालिकाले जानकारी दिएको छ । सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा) मोटरसाइकल, स्कुटर ४०० कार, जीप र भ्यान १००० टेम्पु र ट्याक्टर १००० मिनीबस, मिनी ट्रक २००० ठुला बस, ट्रक ३००० हेभी गाडी, डोजर र क्रेन ४००० अन्य सवारी १०००

मंगलबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब पौने घण्टामा परिसूचक घटेर १४९४ अंकमा झरेको थियो भने त्यसपछिको करिब साढे एक घण्टामा परिसूचक फेरि बढेर १५०७ अंकमा पुगेको थियो । अन्तत: कारोबार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ७४ अंकले बढेर १५०२ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ३० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार अन्य, फाइनान्स र विकास बैंक समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा बढी ११ अंकले घटेको छ । त्यस्तै, सो दिन कारोबार भएका बाकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । जानकी फाइनान्सको सेयर मूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्य ३.७० प्रतिशतले घटेको छ ।

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक रिचार्ड थालरलाई

स्वीडेन । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिएको छ। समितिले पुरस्कार घोषणाबारे जानकारी दिन सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफ्पी

दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन

गाईघाट । देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौती भएका कारण रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नु परेको भए पनि हाल विद्युत् वितरण तथा विद्युत्भार कटौतीमा सुधारका कारण सिमेन्ट उत्पादन बढेको हो । एक हप्ता यतादेखि उद्योगले दैनिक ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले जानकारी दिए । “अब यसरी नै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने छ,” उनले भने । गत आवमा सो उद्योगले झण्डै २५ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवको भदौमा विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उत्पादनमा कमी आएको साहले बताए । विगतमा दिनमा १० पटकसम्म विद्युत्भार कटौती हुँदै आएको थियो । रासस

नेपाल इकरात इन्जिनियरिङ कम्पनी वाइवाइको बाटोमा, थाइल्याण्डको लगानीकर्ता आउट हुँदै

काठमाडौं । नेपालमा विद्युतीय ट्रान्सफरमर उत्पादन गरिरहेको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (नीक) बाट थाइल्याण्डको कम्पनी बाहिरिने भएको छ । नीकमा ४८ प्रतिशत स्वामित्व रहेको थाइल्याण्डको इकरात इन्जिनियरिङ पब्लिक कम्पनी लिमिटेडले लगानी फिर्ता लैजान लागेको हो । इकरातले थाइल्याण्डमा  ट्रान्फरमर उत्पादन गर्दे आएको छ । थाइ कम्पनीको स्वामित्व नेपालीले खरिद गर्न लागेको नीकका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । विकासन्युजसंग कुरा गर्दे उनले भने “नीकमा अब हामीले टेकअभर गर्देछौ ।” उनका अनुसार प्रक्रिया सुरु भएको छ । रजत वर्षमा साझेदार थाइल्याण्डको प्रतिनिधित्व थिएन । नीकमा जोशीलगायत नेपालीको ५२ प्रतिशत स्वामित्व छ ।  निकमा प्रवन्ध निर्देशक जोशीका अतिरित्त अजय मुडभरी लगायत ५ जना सञ्चालक छन् । विदेशी लगानी फिर्ता लैजान धेरै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले थाइल्याण्डको कम्पनीलाई फिर्ता जान केही समय लाग्ने छ । नीकको वेभसाइटमा अध्यक्षमा थाइल्याण्डको इकरात कम्पनीको केट फोङ नोइचावुङ छन् । यस्तै प्रवन्ध निर्देशकमा जोशी, निर्देशकमा अजय मुडभरीका अतिरित्त अशोक श्रेष्ठ छन् । जोशीले गत शुक्रबार निकको २५ औ रजत वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली प्राविधिकले विद्युतीय ट्रान्सफरमर बनाउन सक्ने बताएका थिए । थाइल्याण्डको पुँजी तथा प्रविधिमा २५ वर्षअघि अर्थात ०४९ सालमा नीकको स्थापना भएको हो । पछिल्लो समयमा उसले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ । निकले वार्षिक १ हजार थान भन्दा बढी ट्रान्फरमर उत्पादन गर्छ । कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाइ १० हजार भन्दा बढी थान ट्रान्सफरमर बेचेको छ । कम्पनीले हालसम्म ५ हजार बढी ट्रान्सफरमर भुटानमा निकासी समेत गरेको गरेको छ । हाल पनि भुटानमा ट्रान्सफरमर निकासी भइरहेको छ । यस्तै नेपालको चौधरी ग्रुपले पनि वाइवाइ चाउचाउ उत्पादन गर्न थाइल्याण्डबाट वाइवाईको प्रविधि र पुँजी भित्राएको थियो । चाउचाउले राम्रो प्रगति गरेपछि चौधरी ग्रुपले कम्पनी टेकअाेभर गर्दै १०० प्रतिशन सेयर लिएकाे थियाे ।