गुहेश्वरी मर्चेण्टले १९ करोड ७३ लाखको हकप्रद निश्कासन गर्दै, कहिलेदेखि बिक्री खुला ?
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन १९ करोड ७३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको छ । कम्पनीले मंगलबार हकप्रद निश्कासन सम्बन्धि सूचना प्रकाशित गरी कात्तिक १२ देखि मंसिर १८ गतेसम्मका लागि बिक्री खुला गरेको जानकारी दिएको छ । बैंकले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता हकप्रद बिक्री गर्ने भएको छ । बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापुँजी ६९ करोड रुपैयाँ पुग्ने छ । इच्छुक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटल मार्केट्स र गुहेश्वरी मर्चेन्टको सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन भर्न सक्नेछन् । साथै, सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरु बाट हकप्रद सेयर भर्न सक्नेछन् ।
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेकेदार चयनको तयारी, अनुमानित लागत तय हुदै
काठमाडौं । ढल्केबर सवस्टेशनको निर्माणको ठेक्का तोडिएपछि नेपाल विद्युत् प्राधिकरणले नयाँ ठेकेदार चयनको प्रक्रिया थालेको छ । प्राधिकरण र परामर्शदाता भारतको पावर ग्रीड कर्पोरेशनले अनुमानित लागत तयको काम थालेका छन् । १, २ दिनभित्र अनुमानित लागत तय भएपछि बोलपत्र आब्हानको काम सुरु हुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । ग्लोबल, आन्तरिक टेण्डर वा सिधै दिने व्यवस्था भएपनि कुन प्रक्रियाबाट ठेकेदार छनौट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । आयोजनाको ९० प्रतिशत काम सकिएको छ । बाँकी १० प्रतिशत काम गर्न १४ करोड रुपैयाँ जति लाग्ने अनुमान गरिएको छ । गत असोज ६ गते सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) संग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेको हो । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । प्रसारणलाइनको क्षमता बढाउदै लगेर सन् २०१९ सम्म ४ सय केभीमा चार्ज गर्ने योजना छ । सिसिपिजीले सव–स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । लोडसेडिङ हटाउन भारतबाट ल्याउने भनिएको थप ४५ मेगावाट बिजुली आयात नहुने भएको छ । ढल्केबरमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको सिसिपिजीसंग प्राधिकरणले ठेक्का तोडेपछि थप बिजुली आयात नहुने भएको हो । थप बिजुली आयात नुहने भएपछि विद्युत प्राधिकरणलाई लोडसेडिङ मुक्त कायम राख्न चुनौती थपिएको छ । विद्युत प्राधिकरणले ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण गरेर भारतको मुज्जफपुरबाट यो वर्ष २ सय मेगावाट बिजुली आयातको तयारी गरेको थियो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर १४५ मेगावाटसम्म बिजुली आयात भएको छ । सीसीपीजीसंग ढल्केबर, इनरुवा र हेटौडा गरी ३ वटा सवस्टेशन निर्माणको ठेक्का तोडिएको उनले जानकारी दिए । उनका अनुसार ३ वटा सवस्टेशनको काम रोकिएको छ । ढल्केबर सवस्टेशन २ महिनाभित्र सञ्चालनमा आउने थियो । प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारणलाइनको ठेक्का तोडी करिब ३० करोड रुपैया“ बैक ग्यारेन्टी जफत गरेपछि सीसीपीजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव–स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए । गत वर्ष प्राधिकरणले हिउ“दमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारणलाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो । सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बा“की छन् । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव–स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव–स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ७८ करोड ३० लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९५ रुपैयाँ रहेको छ ।
आयो १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड, यस्ता छन् विशेषता
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड ल्याएको छ । सिद्धार्थले आफ्नो तेश्रो म्युचुअल फण्डका रुपमा १० वर्षे इक्वीटी फण्ड ल्याएको हो । असोज २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने यो फण्डमा १० रुपैंयाँ मूल्यका न्युनतम एक सय ईकाईदेखि अधिकतम २ करोड ४० लाख मुल्यको २४ लाख ईकाईका लागि आवेदन दिन सकिन्छ । फण्डको १५ प्रतिशत सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८५ प्रतिशत अर्थात १अर्ब २ करोड मूल्य बराबरको १० करोड २० लाख ईकाईमा भने अन्य संस्था तथा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । यसअघि नै २ वटा म्युचुअल फण्डहरुको सफल कार्यान्वयन गरिहरेको कम्पनीले यसपाली तीन गुणा आवेदन पर्ने अपेक्षा गरेको छ । ‘हामीले अघिल्ला २ वटा म्युचुअल फण्डहरुमा राम्रो प्रतिफल दिईरहेका छौं, तेश्रो फण्डका लागि मागको तीन गुणा बढि आवेदन पर्ने अपेक्षा गरेका छौं’, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने । कम्पनीले पहिलो पटक ५० करोड रूपैयाँको म्युचुअल फण्ड ल्याएको थियो । साढे ४ वर्षे अवधीमा सो म्युचुअल फण्डले १२४.५ प्रतिशत प्रतिफल दिईसकेको छ । त्यस्तै, कम्पनीले साढे २ वर्ष अघि ल्याएको एक अर्बको दोश्रो म्युचुअल फण्डले ४१ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिईसकेको छ । सिद्धार्थ इक्वीटी फण्डले औषतमा २५ प्रतिशतका दरले प्रतिफल दिने प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले दावी गरे । ‘म्युचुअल फण्डमा हामी अब्बल सावित भैसकेका छौं, २५ प्रतिशतको औषत प्रतिफल दिन कुनै समस्या हुन्न’, तिमल्सिनाले विकासन्युजसँग भने ।
फेरी म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजार २६८ जना भर्ना गरिने
काठमाडौं । आउदो केन्द्र र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरीले झण्डै १ लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ । निर्वाचनको सुरक्षाका लागि प्रहरीले ९८ हजार २६८ जनालाई भर्ना खुलाएको हो । निर्वाचनमा खटिने म्यादीको समय ५५ दिन हुने छ । म्यादीलाई नेपाल प्रहरीको जवान सरह आधारभूत तलव १७ हजार २३० का दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानिय भत्ता उपलब्ध गराइने प्रहरी प्रधान कार्यलयले जनाएको छ । कार्यस्थलमा खटिने म्यादीलाई ७ दिनका लागि प्रतिदिन २५० रुपैयाँ विशेष भत्ता र सोही बराबर खाना खर्च उपलब्ध गराइने प्रधान कार्यलयले जनाएको छ । यस्तै पोशाकलाई ४ हजार र खटिएको ठाउँमा आउन जानका लागि १ हजार रुपैयाँ दिने प्रधान कार्यलयले जानकारी दिएको छ । १८ वर्ष पुरा गरी ५४ वर्ष ननाघेकाले उमेर हद तोएिको छ ।
आरम्भ माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको कात्तिक १८ गते हुने तेस्रो वार्षिक साधारणसभा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । यस्तै संस्थाले कार्यक्षेत्र विस्तारका लागि जिल्ला थप गर्ने प्रस्ताव सभामा पेश हुने जानकारी दिएको छ । संस्थाको कार्यलय काभ्रेको वनेपामा छ ।
विश्व बैंकको वार्षिक गभर्नस बैठक सुरु हुदै, नेपालले भूकम्प पीडितलाई घर बनाउन थप ३० अर्ब माग्ने
काठमाडौं । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । बैंकले हालै शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकको वार्षिक बैठकमा भाग लिन अर्थसचिव डा. शान्तराज सुवेदी अमेरिका जादैछन् । यो वैठकमा विश्व बैंकको सहायतामा सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने सचिव सुवेदीले बताए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष कारणवस नजाने भएपछि नेपालको नेतृत्व गर्दे सचिव सुवेदीले बैठकमा भाग लिने भएका हुन् । उनकाअनुसार विश्व बैंक थप सहयोग गर्न सकरात्मक भएको छ । उसले शुन्य ब्याज दरमा थप रकम ऋण दिने संकेत समेत गरेको उनले जानकारी दिए । बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५० हजार २५१ निजी आवास निर्माण सम्पन्न भएका छन् । यस्तै १ लाख ३० हजार २३४ घर निर्माणधिन अवस्थामा छन् । हालसम्म ९ लाख ९६ हजार १६२ घरको सर्वे भएको छ । यसमध्ये लाभग्राहीको सूचीमा ७ लाख ६५ हजार ६१८, ६ लाख ४० हजार २७० संग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता वापत ६ लाख ९ हजार ९४० लाई वितरण भइसकेको छ । यस्तै दोस्रो किस्ता ७९ हाजार ११४ र तेस्रो किस्ता ७ हजार ९९४ लाई वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
निर्माण व्यवसायी महासंघको निर्णय, गौचनको हत्यारालाई कार्वाही नभएसम्म सरकारी ठेक्कामा भाग नलिने
काठमाडौ । व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पहिचान गरेर कानूनी कार्वाही नगरेसम्म निर्माण व्यवसायीले सरकारी ठेक्कापटट्मा भाग नलिने भएका छन् । अध्यक्ष गौचनको सोमबार दिउसो गोली हानी हत्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघको कार्यकारी समितिको आकास्मिक बैठकले हत्यारलाई कार्वाही नगरेसम्म सरकारी बोलपत्रमा भाग नलिने निर्णय गरेको हो । महासंघले गौचनको हत्यारा पहिचान गरी कार्वाही गर्न सरकारको ध्यानकर्षण गरेको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । लेनदेनको कारण गौचनको हत्या भएको अनुमान गरिएको छ । गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए ।