सेयर बजार ९ अंकले उकालो, सबै समूह हरिया
काठमाडौं । बुधबारको सेयर बजार ९ दशमलब १७ अंकले उकालो लागेर १५६८ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ४३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ११ लाख ११ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका ८ समूह: बुधबार कारोबार भएका ८ वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः १४ र ११ अंकले वृद्धि भएका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । सो दिन न्याङ्दी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ५.२२ र ५.०३ प्रतिशत बढेको छ । बुधबार बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।
उपभोक्ता रुवाउने प्याजको भाउ दुई सातामा ४७ प्रतिशतले महंगियो, हरियो तरकारी पनि छोइनसक्नु
काठमाडौं । भान्सामा सबैभन्दा बढी उपभोग हुने प्याजको भाउ बढेको छ । भारतबाट पर्याप्त मात्रामा प्याज नआएपछि यसको मूल्य ४७ प्रतिशतले बढेको हो । समितिका अनुसार अहिले बजारमा प्याज प्रति किलो ५९ रुपैयाँमा किनबेच भइरहेको छ । दुई साताअघि यसको भाउ प्रति किलो ४१ रुपैयाँ थियो ।प्याजमा नेपाल भारतमै निर्भर रहेकाले यसको मूल्यलाई आन्तरिक उत्पादनले प्रभाव नपार्ने डंगोलले बताए । उनले भने, ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । अहिले भारतबाट प्याज निकै कम मात्रामा आइरहेको छ । व्यापारीले कोल्ड स्टोरमा भएका प्याजलाई बिक्री गरिरहेका छन् । उपत्यका भित्रिने तरकारी मध्ये ५० प्रतिशत भारतबाट आयात हुने गरेको समितिले जानकारी दिएको छ । बजारमा पाइने तरकारीको आधा मात्र नेपालमा उत्पादन हुने गरेको डंगोलले बताए । आलु, प्याज तथा परवरमा नेपाल भारतमै निर्भर रहेको उनले बताए । कालिमाटी आउने तरकारीहरु उपत्यकाको छिमेकी जिल्ला धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्दुली तथा तराईका जिल्लामा उत्पादन हुन्छन् । हरियो तरकारी पनि महंगियो तिहार नजिकीदै गर्दा अन्य हरियो तरकारीको भाउ पनि आकाशिएको छ । चाडपर्वमा तरकारीको खपत बढ्ने भएकाले तरकारीको भाउ बढेको हो ।दुई सातामा तरकारीको भाउ १६३ प्रतिशतसम्मले बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । चाडपर्वमा उपभोक्ताको माग बढ्ने र आपुर्ति कम हुनेभएकाले तरकारीको भाउ बढ्दै गएको समितिका योजना अधिकृत रमेश डंगोलले बताए । उनले भने, ‘चाडपर्वमा तरकारीको उपभोग उल्लेखनिय रुपमा बढ्छ । आपूर्तिभन्दा तरकारीको मागबढेकाले तरकारीको भाउ बढ्न गएको हो ।‘कालिमाटीमा दैनिक ७०० टन बराबर तरकारी आयात भइरहेको उनले जानकारी दिए । चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारी चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारीले तोकिएको भन्दा बढी मूल्य लिन भएकाले तरकारी भाउ महंगीने गरेको छ । चाडपर्वमा तरकारीको माग बढ्ने भएकाले खुद्रा व्यापारीले यसको फाइदा उठाउने गरेका छन् । थोक बजारमा पाइने तरकारीलाई उपभोक्ताले खुद्रा ४० देखि ६० प्रतिशतभन्दा बढी मूल्य तिर्दै आएको डंगोलले बताए । कुनमा कति बढ्यो ? अहिलेका सिजनका तरकारी काउली, बन्दा, मटरकोसा लगायतका रहेका छन् । कागतीको मुल्य िकलाेकाे ६ सय रुपैयाँ भन्दा माथि पुगेको छ भने कुरिलोको मुल्य ४ सय भन्दा माथि तथा गुन्द्रुको मुल्य २ सय रुपैयाँबाट नाघेको छ त्यसैगरी, काउली सिजनको तरकारी भएर पनि दुई हप्ताको तुलना गर्दा स्थानीय काउलीको थोक मुल्य ५० प्रतिशतले वृद्धि भएको छ । प्रतिकिलो ५२ रुपैयाँ थियो भने अहिले ७८ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । सेतो मुलाको थोक मुल्य प्रति किलो २२ रुपैयाँ थियो अहिले ३३ रुपैयाँ भएको छ । दुई हप्ताको तुलनात्मक तथ्यांक हेर्दा यसमा ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ठुलो गोल्भेडाको भाउ प्रति किलो ४७ रुपैयाँबाट बढेर ६२ रुपैयाँ पुगेको छ । यसमा ३१.९१ प्रतिशतले वृद्धि भएको छ । सानो गोल्भेडाको भाउ २२ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । यसमा १६३.६४ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्याजको भाउ बढेर प्रतिकीलो ४१ रुपैयाँबाट ५९ रुपैयाँ पुगेको छ । यो ४३.९० प्रशितले बढेको छ । रातो आलुको भाउ भने स्थिर अवस्थामा प्रति किलो ३९ रुपैयाँ रहेको छ भने सेतो आलुको भाउ घटेर २९ रुपैयाँबाट २८ रुपैयाँमा झरेको छ । यो ३.४५ प्रतिशतले सस्तो हुन गएको छ । घिउ सिमी, भन्टा लाम्चो, भटमासकोशा, तितो करेला लगायतका तरकारीमा भाउ बढेको छ । अहिलेको सिजनका तरकारीमा स्कुसको भाउ घटेर प्रतिकीलो १३ रुपैयाँबाट ९ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य घटेको छ । च्याउ प्रतिकीलो १४५ रुपैयाँबाट १२५ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य तल झरेको छ । त्यसैगरी, बरेला प्रतिकीलो ७८ रुपैयाँबाट ४८ रुपैयाँ भएको छ । यसमा ३८.४६ प्रतिशतले मुल्य घटेको छ ।
केन्द्र र प्रदेशको निर्वाचनमा अलग मत्रपत्र नचाहिने सर्वोच्चको फैसला, निर्वाचन गर्न बाधा नहुने
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र आवश्यक नभएको ठहर गरेको छ । सर्वोच्चको अन्तरिम आदेशले निर्वाचन हुने आशंकाको अन्त्य गरेको छ । न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि मंसिर १० र २१ को निर्वाचन गर्न बाधा नहुने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट र एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण(रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यी दुई संस्थाबीच बुधबार सम्झौता भएको हो । उक्त सम्झौता अनुसार भारतमा रहेका नेपाली ग्राहकले नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा ‘पृथ्वी रेमिट’ मार्फत भुक्तानी गर्न सक्ने छन् । नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन् । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सेस बैंकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको रेमिट्यान्स सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सक्ने इन्भेष्टमेन्ट बैंकले जनाएको छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने बैंकको विश्वास छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकले देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटीएम मार्फत आफ्नो सेवा दिइरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र भारत स्थित एक्सेस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्न सक्ने छन् ।
पहिलो त्रैमाशमा सरकारले १ खर्ब ७८ अर्बको चेक काट्यो, पुँजीगत खर्च साढे १५ अर्ब मात्र
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म सरकारले कुल बजेटको १४ प्रतिशत मात्र खर्च गरेको छ । असोज ३१ गतेसम्म सरकारले १ खर्ब ७८ अर्ब ४४ करोड २४ लाख रुपैयाँको चेक काटेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ । कुल खर्च मध्ये १९.९१ प्रतिशत अर्थात १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ चालु खर्च भएको छ । ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएको छ । यस्तै पुँजीगत खर्च धेरै कम भएको छ । असोजसम्म ४.६४ प्रतिशत अर्थात १५ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । सरकारले चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ । यस्तै सापटी फिर्ता र लगानीतर्फ २ प्रतिशत अर्थात २ अर्ब ९१ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । चालु आवमा १ अर्ब ४० करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । आउदो कार्तिकसम्म कुल विनियोजन गरेको १२ खर्ब ७९ करोड रुपैयाँ मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । यो लक्ष्य पुरा गर्न सरकारले कात्तिकमा मात्र ९८ अर्ब रुपैयाँ बढी खर्च गर्नुपर्ने छ । एक महिनामा यो रकम खर्च हुने संभावना कम छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने छ । दोस्रो चौमासमा सबैभन्दा बढी बजेट खर्च गर्नुपर्ने छ । तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । सरकारले साउन १ गतेदेखि बजेट खर्चको अख्तियारी दिए पनि पुँजीगत खर्चको अवस्थामा सुधार नभएको महालेखाको तथ्याँकले देखाउछ ।
सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर दिने, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि सो मात्राको बोनस सेयर वितरण गर्न लागेको हो । गत असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्राको बोनस दिने प्रस्ताव राखेको हो । सञ्चालक समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा कात्तिक ३० गते हुने भएको छ । साभामा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आगामी कात्तिक १३ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको छ । त्यसैगरी, कात्तिक १२ गतेसम्म कारोबार गरेका सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् । त्यस्तै, सभामा संस्थागत सेयरधनी समूह ‘क’ को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने कुल तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब १५ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । मंगबलार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा करोबार भएको थियो ।
वोमी माइक्रोफाइनान्सको कात्तिक १६ गतेदेखि बुक क्लोज
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनी आगामी कात्तिक ३० गते आफ्नो छैटौँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीको कात्तिक १६ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुन लागेको हो । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको बैठकलाई पारित गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.१०८ प्रतिशत नगद लभांश दिने भएको छ । त्यस्तै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम भएको पुँजीमा ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी करिब १० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको थियो ।
दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशत अनुदान लिन बोलायो सरकारले, ठुला किसानलाई राहत
काठमाडौं । के तपाईको गाई वा भैसीको फार्म छ ? यदि त्यस्तो हो भने दुग्ध प्रसोधन मेसिन किन्न सरकारले तपाईलाई ५० प्रतिशत अनुदान लिन बोलाएको छ । तर तपाईको फार्ममा २० वटा भन्दा बढि गाई वा भैसी भने हुनुपर्नेछ । २० भन्दा बढि गाई भैसी पालेका व्यवसायीक किसानले अब दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशतसम्म अनुदान पाउनेछन् । सरकारी निकायमा दर्ता भएका व्यवसायीक गाईभैसी फार्म, कृषि सहकारी, दुग्ध उत्पादक सहकारीलाई मिल्किङ मेशिन खरिदमा ५० प्रतिशत अनुदान लिन बोलाएको हो । पशु उत्पादन निर्देशनालयले ७५ ओटै जिल्लामा रहेका दुग्ध उत्पादन गरिरहेका किसान समूह र संस्थाबाट अनुदान प्रस्ताव मागेको छ । निर्देशनालयले १ महिनाभित्र अनुदान प्रस्ताव पेश गर्न भनेको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार व्यवसायीक रुपमा दुध उत्पादन गर्ने किसान र संस्थालाई अनुदान दिने नीतिगत व्यवस्था गरेको छ । प्रस्तावमा कृषि सहकारी, कमपनी र समितिको अनुमानित लागत सहितको कार्यक्रम सञ्चालनका लागि स्वीकृत अनुसुची २ बमोजिम जिल्ला पशुसेवा कार्यलयमा पेश गर्न भनेको छ । ५० प्रतिशत अनुदान लिने संस्थाले पशुबीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । प्रतिस्पर्धी दरमा तोकिएको गुणस्तर भएको उपकरण खरिदमा मात्र सरकारले अनुदान दिने भएको छ । दुध प्रशोधन गर्न मेशिन खरिद गर्न पुँजी नभएको गुनासको कृषि फार्मबाट आएपछि सरकारले यसमा अनुदान दिएको हो । यस्तै निर्देशनालयले नमुनाको रुपमा ५ स्थानमा मिल्किङ पार्लरको स्थापना र सञ्चालन गर्ने भएको छ । यसका लागि किसान फार्मबाट प्रस्ताव आब्हान समेत गरेको छ । ३५ दिनभित्र प्रस्तावे पेश गर्न निर्देशनालयले फार्महरुलाई भनेको छ । यसका लागि न्युनतम ५० उन्नतजातका दुहुना गाईभैंसी पालेको प्रमाणपत्र, पशुबीमाको प्रमाण पार्लर स्थापनाका लागि उचित स्थानको पुर्वाधारको डिजाइन ५० प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता जनाएको स्वघोषणापत्र र फार्ममा जैविक सुरक्षा सम्बन्धित नियम लागु भएको हुनुपर्ने कार्यलयले जनाएको छ ।