ठूला व्यवसायी किन उद्योग बन्द गरेर सेयर बजारमा लगानी गर्छन ? कसरी हुन्छ सेयरमा फाइदा ?
म पुँजी बजारमा प्रवेश गरेको छ वर्ष भयो । यसअघि ३५ वर्षसम्म गार्मेन्ट व्यवसाय गरेँ । मेरो उद्योगमा ४०० देखि ६०० कामदार हुन्थे । अरु धेरै गार्मेन्ट उद्योग बन्द हुँदा पनि मैले गर्मेन्ट उद्योग चलाईरहेको थिएँ । जब नेकपा माओवादी फुटेर प्रचण्ड पक्षधर र बैद्य पक्षधर माओवादी भए, तब ट्रेड यूनियनमा पनि विभाजन आयो । उनीहरुबीचको द्वन्द्वले उद्योग भित्र कामदारहरु आन्दोलित भए । निर्यातमुलक उद्योग भनेको कस्तो हो भने विदेशी खरिदकर्ताले १५ तारिकमा समान पाउने गरी अडर गरेको छ भने १५ तारिक भित्रै सामान पाउनुपर्छ । १५ गतेभित्र सामान पायो भने डलरमा भुक्तानी गर्छ । १६ तारिक सामान पुग्यो भने भुक्तानी दिन्न भनेर कागज आउँछ । सम्पूर्ण लगानी ढुब्छ । उद्योगभित्र ट्रेड यूनियनबीच द्वन्द्वले लाखौ डलरको सिपमेन्टहरु रद्द भए । उद्योग गम्भिर आर्थिक संकटमा पर्यो । मैले बाध्य भएर उद्योग बन्द गर्ने निर्णय गरेँ । साथीहरुसँग सापटी लिएर सबै कर्मचारीलाई दिनु पर्ने भुक्तानी दिएँ । पछि आफ्नो जग्गा जमिन बेचेर साथीहरुको पैसा फिर्ता दिएँ । उद्योग बन्द हुनुपूर्व म नेपाल उद्योग महासंघको रोजगारदाता परिषद्मा पनि थिएँ । उद्योग र रोजगारदाता सम्बन्धि सरकारले गठन गरेको विभिन्न समितिमा म थिएँ । ठूलो उद्योग चलाएको सफल व्यवसायी, अनुभवी व्यवसायी भएकोले पनि होला, समग्र उद्योग क्षेत्रको विकासमा साझा हितका कुरा प्रष्टसँग गर्ने भएकोले पनि होला, सामूहिक हितमा काम गर्ने फोरमहरुमा मलाई जिम्मेवारी दिइन्थ्यो । उद्योग व्यापारको क्षेत्रमा मेरो छुट्टै पहिचाहन थियो । मैले गार्मेन्ट उद्योग चलाएको ३५ वर्ष भएको थियो । विवाहसँगै मेरी श्रीमतीले पनि उद्योग चलाउन सघाउन थालिन् । उनले पनि २८ वर्ष सोही उद्योगमा काम गरिन् । हामी दुबै जनाल दैनिक १२ देखि १६ घण्टासम्म उद्योगमा काम गथ्र्यौ । जब उद्योग बन्द भयो, हामी खाली भयौ, कामविहिन भयौ । काम गर्न नपाउँदा धेरै छलपटी भयो । त्यतिबेला ठूली छोरी लण्डनमा थिइन् । हामी दुबै जना लण्डन गएर बस्यौ । त्यहाँ पनि मलाई छटपटी भयो । काम छैन, के गर्ने ? नेपालको ठूलो निर्यातकर्ता सबैसँग मेरो राम्रो सम्बन्ध थियो । लण्डनमा नै बसेर नेपाली सामानको व्यापार गर्ने योजना बनाएँ । नेपाल आएर पुराना साथीसँग भने–‘म पनि नेपाल छोड्ने भएँ, लण्डनमा व्यापार गर्न तयारीमा छु ।’ धेरै साथीहरु निरास हुनुभयो । एक जना साथीले सोधे–‘तिमी जन्मेको कहाँ ? हुर्केको कहाँ ? कर्मभूमी कहाँ ?’ मैले भने–‘यही हो, नेपाल ।’ उनले भने–‘तिमी नेपालमा नै जन्मियौ, नेपालमा नै पढ्यौ, नेपालमा नै जिन्दगीभर व्यवसाय गर्यौ । सबै साथी सर्कल यहि छन् । यो उमेरमा, मर्ने बेलामा किन लण्डन जान्छौ ?’ म झसङ्ग भएँ । त्यो साथीलाई धन्यवाद दिए । ‘यो उमेरमा मलाई गलत काम गर्नबाट रोक्यौ, म विदेश जान्न’–मैले भने । म नेपालमै बस्छु र नेपालमा नै मर्छु भन्ने अठौट लिएँ, विदेश नजाने भएँ । तर नेपालमा के गर्ने ? मेरो अगाडि चुनौतिको पहाड थियो । मसँग पुँजी थिएन । भएको कम्पनी बन्द । ठूलो उद्योग चलाईसकेको व्यक्ति, सानो पसल खोल्ने कुरा पनि भएन । फ्याक्ट्री बन्द गर्नुपर्ला भनेर मैले कुनै दिन सोचेको पनि थिइन । श्रीमती ठूली छोरीसँग लण्डनमा नै थिइन् । सानी छोरी र म काठमाडौंमा । काम केही छैन । घरमै बस्यो, खायो, टिभी हेर्यो । मलाई डिप्रेशन भयो । यूरिक एशिड बढेछ । यूरिक एसिड कम गर्न कम्तिमा हिडडूल गर्नुपर्यो भनेर वाकिङ गर्न थाले । स्वास्थ्यलाई पनि फाइदा हुन्छ, समय बिताउन पनि सजिलो हुन्छ, साथीहरुसँग भेटेर गफ गर्दा डिप्रेशन पनि कम हुने । हरेक दिन ताहाचलदेखि मखन, इन्द्रचोकसम्म जान थालेँ । दैनिकी वाकिङमा बित्दै थियो । एक दिन रञ्जना गल्लीमा हिड्दै थिए । साथी सालिकराम अधिकारीलाई त्यहाँ भेटेँ । त्यही २० नम्बरको ब्रोकर छ ‘सिप्ला’ । पवन अग्रवाल, सालिकराम अधिकारी मेरा पुराना साथीले चलाएको ब्रोकर कम्पनी हो त्यो । त्यसदिन अघिसम्म म त्यो कम्पनीमा छिरोको पनि थिइन । केही कम्पनीको साधारण सेयर (आईपीओ) लिएको थिए तर ब्रोकर कम्पनीमा गएर सेयर किनबेच गरेको थिइन । करिव ६ वर्षअघिको कुरा हो म पहिलो पटक ब्रोकर कम्पनीमा छिरेँ । लगानीकर्ताहरु न्याउरो मुख लगाईरहेको देखेँ। त्यतिबेला नेप्से परिसूचक ११७५ अंकबाट घटेर ३२० मा झरेको रहेछ । बैंकहरुले मार्जिन कल गरिरहेको, कति लगानीकर्ता मोवाईलको स्वीच अफ गरेर बसिरहेको, बजार दिन दिनै घटिरहेको, सेयर प्रमाणपत्र भनेको कागजको खोस्टो मात्र रहेछ भन्ने लगानीकर्तालाई परिसकेको रहेछ । जे रेट पायो त्यहि रेटमा बेच्ने मनस्थितिमा लगानीकर्ता रहेछन् । माओवादीको सरकार थियो । ब्रोकर अफिसमा मनिटरको स्कीनमा सेयर बजार मैले हेरेँ । एनएमबी भनेको के हो ? एसबीआई भनेको के हो ? इवीएल भनेको के हो ? मलाई केही थाहा थिएन । मैले केही बुझिन । सेयर किन्ने आँट पनि भएन । वास्तवमा भन्नुपर्दा सेयर किन्नको लागि पैसा पनि थिएन । पछि बुझ्दै गए । मलाई सेयर बजारमा लगानी गर्न मन लाग्यो । ५÷६ सय कर्मचारी राखेर उद्योग चलाएको र ट्रेड यूनियन आन्दोलन कै करण उद्योग बन्द गर्नु परेकोले धेरै कर्मचारी राख्नु पर्ने उद्योग लगाउँदै लगाउँदिन भन्ने मनमा थियो । दोस्रो, सेयर बजारमा जति लगानी गरेपनि आफ्नै अध्ययन, आफ्नै क्षमता, आफ्नै निर्णयको आधारमा काम गर्न सकिने भएकोले मलाई सेयरमा लगानी उपयुक्त लाग्यो । मैले अलिकति बैंकबाट कर्जा लिए । पहिलो पटक सिद्धार्थ बैंकको सेयर किने प्रतिकित्ता २५० रुपैयाँमा । पछि मूल्य घट्र २३० भयो । प्रतिकित्ता २० रुपैयाँ घट्दा मलाई २०० रुपैयाँ मूल्य घटेको जस्तो महसुश भयो । त्यसपछि पुँजी बजारको बारेमा थप अध्ययन गर्न थालेँ । मेरो निष्कर्ष के भयो भने यतिबेला सेयर बजारमा लगानी गर्न उपयुक्त समय हो । मैले आफ्नो घर धितो राखेर बैंकबाट थप कर्जा लिएर लगानी गरेँ । सेयरमा लगानी गर्न थालेको ७ महिना भएको थियो । मेरी श्रीमती लण्डनबाट फर्केर काठमाडौं आइन् । उनी आएकै दिन दुबै जना टिभी हेर्दै थियौं । सेयर बजार धराशाही भएको समाचार टेलिभिजनमा आयो । उनलाई मेरो भतिजले फोनबाट भनेको रहेछ कि मैले सेयर बजारमा लागेको छु । सेयर बजार धरासाही भएको बेलामा किन सेयरमा लगानी गरेको भनेर उनी मसँग रिसाईन् । मलाई भतिज र साथीहरुले पनि गलत समयमा सेयरमा लगानी गरेको भनेर गाली गरेका थिए । त्यतिबेला मैले करिब ३५ लाख रुपैयाँ घाटा खाईसकेको थिए । घर र फ्याक्ट्री वाहेक मेरो सम्पत्ति केही थिएन । फ्याक्ट्र बन्द भयो । घर पनि बन्दकी राखेर कर्जा लिएर लगानी गरेको थिए । ‘हामी अब सडकमा पुग्ने भयौ’ भनेर उनी चिन्तित भईन । मैले भने ‘हेरा गायत्री, गार्मेन्ट फ्याक्टी चलाएर हामीले देशभर आफूलाई चिनाएका थियौं । यो उद्योगमा मैले ३५ वर्ष बिताए । तिमीले पनि २८ वर्षसम्म साथ थियो । तिम्रो मिहेनत र सहयोगप्रति म आभारी छु । आज हामीसँग उद्योग छैन तर हाम्रो इज्जत छ । उद्योग बन्द गर्दा पनि सबै कर्मचारीलाई खुशी बनाएर विदा गर्यो । कसैको कुभलो गरेको छैनौं । मेरो लाइफको पहिलो इन्डिङ गार्मेन्ट उद्योगमा भयो । अब म पुँजी बजारमा लागेँ । २/३ वर्षमा पुँजीबजारबाट मैले आम्दानी पनि गर्ने छु, यहि क्षेत्रमा नाम पनि कमाउने छु । नराम्रो तरिकाबाट होइन, राम्रो तरिकाबाट ।’ पुँजी बजारबारे अध्ययन गर्दै गएँ । लगानी बढाउँदै गएँ । पुँजीबजार बारे अहिले जस्तो प्राविधिक विश्लेषण, सेयर बजारबारे राम्रो विश्लेषण प्रकाशन हुने थिएन । नेप्से किन ११९५ पुग्यो, फेरी किन २९३ मा झर्यो ? स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य किन ९ हजार पुग्यो र ९ सय रुपैयाँमा झर्यो ? नविलको सेयर किन ६ हजार ६०० पुग्यो र ६०० रुपैयाँमा भर्यो ? त्यतिबेला सबै नेपालीले हचुवाको भरमा लगानी गरेका रहेछन् । इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य २००० बाट झरेर ५६ रुपैयाँमा पुगेको थियो । धेरै कम्पनीको सेयर १०० रुपैयाँ भन्दा कम भयो । मैले के निष्कर्ष निकाले भने नेप्से ५०० भन्दा तल आउनु भनेको सेयरको मूल्य न्यूनतम भन्दा पनि कम हो । मैले त्यतिबेलाको राम्रो २८ वटा कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गरेँ । त्यसमा राम्रा १० कम्पनीहरुमा सेयरमा लगानी थपेँ । सेयरकर्जाको व्याज पनि १४/१५ प्रतिशतबाट झरेर ७/८ प्रतिशतमा आयो । त्यतिबेला मेरो लगानीको बुक भ्यालु ४० लाख भन्दा बढी नाफामा देखिएको थियो । मैले सम्भव भएसम्म बैंकबाट कर्जा लिएर लगानी विस्तार गरेँ । अहिलेसम्म मैले सेयर बेचेको छैन । किनकी आगामी वर्षहरुमा सेयर बजारको विकास धेरै राम्रोसँग हुँदैछ । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड लगायत नियामक निकायले सुधारका नीतिहरु लिएका छन् । यसको लाभ लगानीकर्ताले नै पाउने हो । क्रमशः
घरेलु उद्योग दर्ता गर्ने स्थानीय तहको अधिकार खोसियो
काठमाडौं । अधिकार सम्पन्न भनिएको स्थानीय तहले घरेलु तथा साना उद्योग दर्ता गर्ने अधिकार भने गुमाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ निर्माणका क्रममा सम्बद्ध पक्षहरुले ध्यान नदिँदा घरेलु तथा साना उद्योग दर्ता गर्ने अधिकारबाट स्थानीय तह बञ्चित भएको हो । ‘स्थानीय विकास मन्त्रालयले पनि मस्यौदामा ध्यान दिएको रहेनछ, हाम्रा माननियले पनि कुरा उठाउनु भएन, हामी संसदका कर्मचारीले कुरा उठाउँदा धेरै ठिला भैसकेको थियो’, विकास समितिका कर्मचारी एकराम गिरीले विकासन्युजसँग भने । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई थुप्रै अधिकारहरु दिएको छ तर उद्योग दर्ता गरेर राजश्व संकलनको दिर्घकालिन श्रोत जुटाउने अवसर भने गुमाउन पुगेको छ । सो ऐन संसदले पास गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण समेत गरिसकेकी छिन् । तत्कालै अन्य थुप्रै ऐनहरु आउनुपर्ने भएकाले सो ऐन संसोधनको प्रक्रिया अघि बढाउन सम्भावना पनि देखिन्न । हाल घरेलु तथा साना उद्योगहरुको दर्ता तथा नियमन र रेखदेख गर्ने काम घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले गर्दै आएका छन् । अब पनि यीनै निकायहरुले सो त्यस्ता उद्योगहरु दर्ता तथा रेखदेख र नियमनको काम गर्नेछन् ।
उपभोक्ता ‘ठगी’ गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर, खाद्यान्नमा मिसावट बढ्यो
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका ६ खाद्यान्न उत्पादक तथा बिक्रेता विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुले उपभोक्तालाई प्रतिकुल असर पार्ने खाद्यान्न उत्पादन तथा बिक्री गरेको विभागको दाबी छ । विभागका अनुसार ती उद्योग तथा पसल कम्पनीहरु प्रशोधित पानी, मिठाई, दुध तथा दानासँग सम्बन्धित छन् । विभागले जल प्योर ड्रिंकिङ वाटर प्रालि, नन्द मिठाई भण्डार, भक्तपुर शंखधर मिठाई पसल, मिल्क माण्डु डेरी प्रालि, नेपाल डेरी प्रलि र किसान दाना उद्योग विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ । कसुर विभागले नमुनापरिक्षणमा ती कम्पनी तथा पसलका खाद्यान्न खाद्यान्न तथा वस्तु न्युनगुणस्तर तथा दुषित रहेको जानकारी दिएको छ । मिल्क माण्डु र नेपाल डेरीले बिक्री गर्ने दुधमा लेबलमा तलमाथी गरेको पाइएको छ । विभागले गत भदौ १९ गतेसम्ममा मुद्दा दायर गरेको थियो । खाद्य पदार्थमा मिसावट बढीरहेको विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंले जानकारी दिए । ‘खाद्यान्नमा मिसावट बढेको देखिएको छ । १ सय ५८ वस्तुको नमुना परिक्षण गर्दा केहि वस्तु कमसल देखिएकोले मुद्दा दयार गरिएको हो,’ उनले भने । विभागले विगत तीन महिनामा ४४ खाद्य उद्योग निरिक्षण समेत गरेको थियो । ‘पिउने पानी, दुध, खाने तेल र मिठाईंमा बढि समस्या छ । विगत केही वर्षदेखि यो समस्या निरन्तर देखिदै आएको हो,’ चापागाईंले भने । मिसावट र गुणस्तर कमसल पाइएका खाद्य उत्पादक र बिक्रेतालाई बयान लिने र मुद्दा दायर गर्ने काम अगाडि बढिरहेको उनले बताए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभागले १११ पटक खाद्यान्न बजार, उद्योग, दाना उद्योग तथा होटल रेष्टुरेन्टमा अनुगमन र १५८ वटा खाद्य बजारबाट अनुगमन गरी नमुना परिक्षण गरेको थियो । गत आर्थिक वर्षमा विभागले १२.७४ प्रतिशत खाद्य पदार्थ प्रतिकुल पाइएको थियो । के हुन्छ कारबाही ? खाद्यान्नमा रोग लाग्ने जिवाणु भेटिएमा त्यसलाई दूषित खाद्य मानिन्छ भने त्यसमा पोषक तत्वको कमी पाइएमा न्युन गुणस्तरको मानिने चापागाईंले जानकारी दिए । न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई एक हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महीनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने खाद्य ऐनमा उल्लेख छ । दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँ देखि दस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने चापागाईंले जानकारी दिए । संस्थाको हकमा संस्थाको मुख्य प्रशासकिय जिम्मेवार हुने उनले बताए । मिठाई पसलमा व्यापक अनुगमन तिहारको एक साता अगाडीदेखि विभागले उपत्यकाका २३ वटा मिठाई उद्योग तथा पसलमा अनुगमन गरेको छ । चाडपर्वको मौका पारेर उद्योगी तथा बिक्रेताले उपभोक्तालाई बढी ठग्ने गरेको चापागाईंले जानकारी दिए । अधिकांश मिठाई पसलमा सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरिएको र शंकास्पद खाद्यान्नलाई नमुना परिक्षणका लागि संकलन गरिएको उनले बताए । उनले भने, ‘नमुना परिक्षणपछि जे प्रतिफल आउछ, त्यसैको आधारमा कारबाही अगाडी बढाउछौं ।’
तिहारलाई रोमाञ्चक कसरी बनाउन सकिन्छ ? यस्तो छ टिप्स
काठमाडौं । देउसीभैलो, झिलीमिली बत्ती, दाजुभाई दिदी बहिनीबीचको आत्मीयताको विकास प्रमुख विशेषता हो तिहारको । तिहारमा तास खेल्ने पुरानो परम्परा रहेकाले परिवारसँग तास खेलेर मनोरञ्जन लिन सकिन्छ । तर यो तिहारलाई तासमा मात्र सीमित नराखौं । तिहारमा ठुलो पार्टीको आयोजना गर्न सकिन्छ । तर कसरी ? पार्टी गर्नका लागि ठूलै खर्च गर्नुपर्ने आवश्यकता छैन । मात्र केहि साधारण कुरामा ध्यान पुर्याहउनु आवश्यक छ, जसले तपाईंको तिहार यादगार हुनेछ । यस्तो पार्टीका लागि तीन साता अगाडीदेखि तयारी गर्नुपर्छ । यदी तपाईंलाई धेरै ठूलो पार्टी मनाउनु छैन भने एक दिनको तयारी पनि गर्न सकिन्छ । सबैभन्दा अगाडी निम्तो गर्ने पाहुनाहरुको सूची तयार गर्नुपर्छ । सूची धेरै लामोपनि बनाउनु हुँदैन, नत्र पार्टीको व्यवस्थापन गर्न सकिदैन । ४० भन्दा बढी पाहुनालाई राख्नुहुदैन । आफ्नो पार्टीका लागि पहिले नै थीम बनाउनुपर्छ । सजावटमा ताससँग मिल्दोजुल्दो रंग वा डिजाइनको प्रयोग गर्न सकिन्छ । तिहारमा बत्तीको आकर्षण हुने भएकोले तडक भडक हुने किसिमका झिलमिली रंगको प्रयोग गर्न सकिन्छ । तिहारमा निलो, पर्पल, गुलाबी र सुनौलो रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाहेक सजावटमा फेयरी लाइट, दियो र सानो सानो क्याण्डलको प्रयोग गर्न सकिन्छ । यदी फुलको सजावट गर्ने सोचमा हुनुहुन्छ भने पार्टी नसकिदै फुल मुर्झाउन पनि सक्छ । त्यसैले नक्कली फुलको पनि प्रयोग गर्न सकिन्छ । तिहारमा तस्विरले हाम्रो रमणिय पललाई अझ यादगार बनाइदिन्छ । त्यसैले फोटोग्राफरलाई हायर गर्नु उपयुक्त हुन्छ । यदी मोबाइलबाटै काम चलाउने विचारमा हुनुहुन्छ भने मोबाइलबाट लिएको तस्विर क्यामरा जतिको राम्रो रिजोलुसनको हुदैन । गिफ्टले तपाईंको तिहारलाई अझ रोमाञ्चक बनाइदिन्छ । गिफ्टमा हातैले बनाएको तोरण, क्यान्डल्स र नयाँ हस्तकलाका सामग्री दिन सकिन्छ । मिठाई वा चकलेट दिने चलन सबैभन्दा बढी चलेको छ । पार्टीमा सबैले रुचाउने विषय भनेको खानपिन हो । त्यसैले पार्टीमा खाजा, फास्ट फुड वा सेलरोटीको पनि व्यवस्था गर्न सकिन्छ । खादैं तास खेल्दा छुट्टै मनोरञ्जन प्राप्त हुन्छ । यस्तोमा स्वस्थवर्धक खाना र डाइट कन्सस व्यक्तिलाई मध्यनजर गर्नु आवश्यक छ । (नवभारतटाइम्सको अनलाइन संस्करणबाट भावानुवाद गरिएको)
वर्षकै उच्च माग हुने दिन पनि विजुली आपूर्ति नियमित, एक दशकदेखिको लोडसेडिङ अन्त्य
काठमाडौं । वर्षकै सबैभन्दा बढी विजुली माग हुने लक्ष्मी पूजाको दिने १४९९ मेगावाट खपत भएको छ । यस वर्षको लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विजुलीको माग ६ बजेर ३५ मिनेटमा भएको थियो । उक्त समयमा १४९९ मेगावाट विजुली खपत भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । लक्ष्मी पूजाको दिन अधिक विजुलीको खपत ६ बजेदेखि ६ः३५ बजेसम्म भएको थियो । गत वर्ष लक्ष्मी पूजाको दिन बढीमा १४४४ मेगावटा विजुली खपत भएको थियो । वर्षेनी १०० मेगावाट विजुलीको माग बढ्ने गरेको र यस वर्ष १५५० मेगावाट विजुली माग हुने अनुमान सहित प्राधिकरणले लक्ष्मी पूजाको दिन लोडसेडिङ हुन नदिन विशेष तयारी गरेको थियो । अधिक माग हुने समयमा प्राधिकरणले उद्योगहरु बन्द गर्न र ठूला होटलहरुलाई डिजेल जेनेरेटर चलाउन आग्रह गरेको थियो । ‘उद्योगभित्र पनि बत्ती बालेर पूजा गर्न विजुल िआपूर्ति नियमित गरेका थियौं, पूजाको समयमा उद्योग नचलाउन भनिएको थियौ । राजधानीको ठूला होटललाई जेनेरेटर चलाउन आग्रह गर्यौ । सबैको सहयोग पनि भयो’ अधिकारीले भने–‘गत वर्ष लक्ष्मी पूजाको दिन काठमाडौंमा मात्र लोडसेडिङ भएको थिएन, यस पटक देशभर नै हामी देशभर नै लोडसेडिङ हटाउन सफल भयौं ।’ पूरा क्षमता प्रयोग भएन लक्ष्मी पूजाको दिन भारतबाट ४१५ मेगावाट विजुली आयात गर्ने योजना थियो । तर माग कम भएपछि प्राधिकरणले भारतबाट ३५५ मेगावाट मात्र आयात गरेको अधिकारीले बताए । त्यस्तै कुलेखानी जलविद्युत आयोजनाबाट ९्२ मेगावाट विजुली उत्पादन गर्ने योजना बनाएकोमा ५६ मेगावाट मात्र उत्पादन गरिएको थियो । लक्ष्मी पूजाको दिन लोडसेडिङ हुनु नदिन प्रतिवद्ध प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसहितमा उच्च व्यवस्थापकहरु राती ११ बजेसम्म फिल्डमा खटिएका थिए । सम्भावित प्राविधिक गडबढीलाई तत्काल समाधान गर्न प्राधिकरणका सबै प्राविधिकहरु आ–आफ्नो क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको थियो । एक दशकसम्म दैनिक १२ देखि १८ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीहरुको लागि लोडसेडिङ नहुनु भनेको ठूलो समस्याबाट उन्मुक्ति पाउनु हो, अध्यारो हटेर उज्यालो फैलनु हो । तिहारमा लोडसेडिङ नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने संकेतको रुपमा हेरिएको छ । लोडसेडिङ नहुँदा आर्थिक वृद्धिमा समेत उल्लेख्य योगदान मिल्ने छ ।
बैंकिङ प्रणालीमा तरलता बढेर ६३ अर्ब पुग्यो
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता बुधबार पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा तरलता बढेपछि बुधार नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ उठाएको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता अधिकारीले बताइन् । विकास न्युजसंग कुरा गर्दे उनले दशैको पैसा बजारमा आएको र केही समयअघि राष्ट्र बैंकले एक महिने निक्षेप उपकरणमार्फत उठाएको मध्ये १२ अर्ब रुपैयाँ परिपक्व भई पैसा बजारमा गएपछि तरलता बढेको जानकारी दिइन् । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको ब्याज दर पनि घटाउदै गएका छन् ।
लक्ष्मी पूजामा देशभर झिलिमिलि, लोडसेडिङ नभएको प्राधिकरणको भनाई
काठमाडौं । आज लक्ष्मी पूजाको दिन । साँझ देशभरी झिलिमिलि बत्ती बालिन्छ र खुशीयाली मनाईन्छ । लक्ष्मी पूजाको समयमा झिलिमिलि उज्यालो बाँढ्न र नेपालीहरुको खुशीयालीमा साथ दिन नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु खटिरहेका छन् । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा लोडसेडिङ हुन नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने शुभ संकेतको रुपमा पनि लिइन्छ । प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठका अनुसार आज लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावाट पुग्ने अनुमान गरिएको छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति भईरहेको छ । उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेर देशभर सर्बसाधारणको घरमा विजुली आपूर्ति गर्ने विधि प्राधिकरणले अपनाएको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेर सर्वसाधारणको घरमा विजुली पठाइएको प्राधिकरणले जनाएको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पूर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहार भर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडौं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएको थियो । यस वर्षभने देशभर नै लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उच्च तहका प्राविधिकहरु लक्ष्मी पूजाको दिन विद्युत आपूर्ति नियमित गर्ने उदेश्यका साथ फिल्डमा खटिनु भएको छ, प्राविधिक समस्या आएका ठाउँमा बाहेक अन्त लोडसेडिङ हुँदैन’ श्रेष्ठले विकासन्युजसँग भने । आज भक्तपुर जिल्लामा भने प्राविधिक गडबढीका कारण ठाउँगाउँमा विद्युत आपूर्ति हुन नसकेको बताइएकाे छ ।
झापामा फूल नफुल्दा अभाव, एक करोड रुपैयाँको आयात
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि एक करोड रुपैयाँको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक एक करोड रुपैयाँ बराबरको फूल आयात हुने जानकारी दिए । “झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, उनले भने, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उनले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड दिए । त्यस्तै, जिल्लामा तिहारको प्रयोजनका लागि १० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको केन्द्रीय सदस्य डालमियाले जानकारी दिए। “चीनबाट एलइडी बल्ब भएको झिलिमिली बत्ती बढी आयात हुने गरेको छ”, उनले भनिन्, “यसको माग बजारमा बढी छ, यो ‘युज एण्ड थ्रो’ किसिमको हुन्छ ।” भारतबाट पनि अत्यधिक मात्रामा झिलिमिली बत्ती आयात हुने गरेको छ । नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल र झिलिमिली बत्ती किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरु किनमेलका लागि त्यता जाने गरेका हुन् । यता, फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ । भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताए । “लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन”, उनले भनिन्, “बजारमा पनि फूलको मूल्य बढेको छ । घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बताइन् । “घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो”, उनले भनिन्, “यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।” अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् । बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताए । रासस