विकासन्युज

कर्जा सुचना केन्द्रको साधारणसभा कात्तिक २३ मा, ५० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुदै

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस दिने प्रस्ताव आउदो कात्तिक २४ गते वस्ने १३ औं वार्षिक साधारणसभामा पेश हुने छ । चुक्तापुँजी बढाउन केन्द्रले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजीमा वृद्धि हुने भएपछि कम्पनीको प्रवन्धपत्र नियमावली परिमार्जन हुने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै बैंक, विकास बैंक र वित्त कम्पनीबाट प्रतिनिधित्व हुने गरी ४ जना सञ्चालक चयन हुने कार्यक्रम छ । केन्द्रमा बैंक तथा वित्तीय संस्थाको मात्र लगानी रहेको छ ।

ज्योति विकास बैंकले राप्तिलाई प्राप्ति, कात्तिक ८ गते एकिकृत कारोबार हुदै

काठमाडौं । ज्योति विकास बैंकले राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । चुक्तापुँजी बढाउन ज्योतिले नेपालगन्जमा केन्द्रीय कार्यलय रहेको राप्तिलाई प्राप्ति गरेको हो । राष्ट्रिय स्तरको विकास बैंक बन्न ज्योतिले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्छ । आउदो कात्तिक ८ गतेदेखि दुबै बैंकले ज्योति विकास बैंकको नाममा एकिकृत बैंकिङ करोबार गर्ने भएका छन् ।

उत्पादन बढाउन थप पुँजी नभएपछि हिमालयन ब्रुअरी र त्रिशक्ति डिस्टीलरीको ४९ प्रतिशत स्वामित्व बिक्री हुदै

काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो आधा स्वामित्व बिक्री गरेर नयाँ लगानीकर्ता भित्राई दुबै उद्योगको क्षमता बढाउन लागेको हो । दुबै कम्पनीलाई पुनसंरचना गरेर क्षमता विस्तार गर्न ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेको हिमालयन र त्रिशत्तिका अध्यक्ष अरविन जोशीले बताए । हिमालयनले आइसवर्ग, काठमाण्डु र कमाण्डो ब्राण्ड गरी ३ प्रकारको वियर उत्पादन तथा बिक्रीवितरण गर्दे आएको छ । यस्तै त्रिशत्तिले ३० युपीको एक्सिलेन्ट भोड्का, ४० युपीको मार्सल ह्विस्की र जिनलगायत ५० युपीका विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दे आएको छ । त्रिशक्तिले एक्सिलेन्ट भोड्का गत वर्ष बजारमा ल्याइएको हो । गत वर्ष दुई उद्योगले वीयर र ह्विस्कीलगायत अन्य ब्राण्डका १ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको जोशीले जानकारी दिए । उनका अनुसार ललितपुरको गोदावरीमा उद्योगको नाममा ६२ रोपनी जग्गा छ । जग्गा र दुबै उद्योगको सम्पत्ति र मदिराको ब्राण्ड मूल्य २ अर्ब रुपैयाँ निर्धारण गरिएको जोशीले जानकारी दिए । वीयर र ह्विस्की दुबैको बजारमा हिस्सा राम्रो रहेको बताउदै उनले भने “हामी अब आक्रमक रुपमा बजारमा उपस्थिति देखाउन चाहान्छौ । त्यसका लागि थप लगानी आवश्यक परेकाले ४९ प्रतिशतसम्म स्वामित्व बेच्न खोजेका हौं ।” जोशीकाअनुसार गत वर्ष कमाण्डो वीयर ६ लाख केस बढी बिक्री भएको थियो । यो वर्ष पनि कम्पनीको वीयर र ह्विस्की र अन्य ब्राण्डका मदिराको बिक्रीवितरण राम्रो भएको उनको दावी छ । थप पुँजी भएपछि कम्पनीले क्षमता विस्तार गरेर उत्पादन बढाउने रणनीति लिएको छ । साझेदारमा चासो देखाउने पार्टीसंग छलफलपछि मात्र कम्पनीको स्वामित्व र लगानीका बारेमा निश्चित हुने जोशी बताउछन् । उद्योगको नाममा रहेको कुल ६२ रोपनी जग्गा मध्ये आधा जग्गा रिसोर्ट सञ्चालनमा प्रयोगमा ल्याउन सकिने उनले जानकारी दिए । रिसोर्ट सञ्चालनलगायत अन्य विभिन्न विषयमा खुला छलफल हुने उनको भनाई छ । हाल कम्पनीमा ६ जना लगानीकर्ता छन् । उनले आद्या जग्गा रिसोर्ट बनाउने तयार समेत भइरहेको जोशीले जानकारी दिए । बन्द भएको दुई उद्योग ७ वर्षअघि २५ करोड रुपैयाँ थप लगानी गरेर सञ्चालनमा ल्याइएको उनले बताए । नयाँ व्यवस्थापनले उद्योगको स्वामत्विको खरिदका अतिरित्त वियर र ह्विस्की उत्पादनका लागि नयाँ उपकरण जडानमा लगानी गरेको थियो । ७ वर्षअघि बन्द अवस्थामा रहेको उद्योग सञ्चालनमा ल्याएर राम्रो बजार हिस्सा बढाउदै लगेको उनको दावी छ । दुबै मदिरा उद्योग राजपरिवारका सदस्यको स्वामित्वमा रहेको थियो । तत्कालिन कुमार मोहनबहादुर शाहीको स्वामित्वमा रहेको थियो । हिमालयन सन् १९८० मा स्थापना भएको हो । एक समयमा आइवर्ग ब्राण्डको वियर बजारमा लोकप्रिय थियो । सन् १९८३ देखि वियर उत्पादन थालेको हिमालयनलले भारतको मोहन मेकन लिमिटेडको साझेदारी र प्राविधिक सुपरिवेक्षणमा वियर उत्पादन हुदै आएको थियो । सन २०१० देखि उद्योगको स्वामित्व जोशी समूहले खरिद गरेको हो । सुरुवातीमा उद्योगले आइसवर्गका अतिरित्त आइवर्ग प्रिमियर गोल्डेन इगल लागर वियर र आइसवर्ग लागर वियर गरी हिमालयले सन् १९८९ सम्म वार्षिक ४० हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । त्यसबेला नेपालमा वियरको माग वार्षिक ८० हजार हिक्टोलिटर थियो । उत्पादन थालेको वर्ष उद्योगले वार्षिक १५ हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । हाल उद्योगले १० वर्षे योजना ल्याई पुनरसंरचना गरेर मदिरा उत्पादन विस्तार गरी बजारमा सशक्त उपस्थिती देखाउने तयारी थालेको छ ।

४२ वटा कम्पनी नेप्सेमा नविकरण भएनन्, २३ वटा कम्पनीको सेयर कारोबार अाजदेखि बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो भने १ गतेदेखि थप २३ वटा कम्पनीहरुको सेयर कारोबार बन्द हुने भएको छ । धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष २०७४/७५का लागि वार्षिक सूचिकरण नविकरण शुल्क नेप्सेलाई नबुझाएको कारणले उनीहरुको सेयर कारोबार रोकिने भएको हो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो । तोकिएको बुझाएर सूचिकरण नविकरण गर्ने म्याद असोज ३१ गते साँझ सकिएको र ४२ वटा कम्पनीहरु नेप्सेमा सूचिकरण नविकरण गर्न नआएको नेप्सेले जनाएको छ । ‘आज साँझसम्म सूचिकरण नविकरण नगर्ने कम्पनीको सेयर कारोबार भोलिदेखि रोक्का गर्न सम्बन्धि विभागलाई निर्देशन दिएका छौं, ती कम्पनीको सेयर कोरोबार सूचिकरण नविकरण नभएसम्म रोकिन्छ’ नेप्सेका उच्च अधिकारीले मंगलबार साँझ भने । नेपाल स्टक एक्सचेञ्जबाट मंगलबार साँझ प्राप्त विवरण अनुसार शुल्क नतिर्नेमा ४२ वटा नयाँ कम्पनी छन् । यस वर्ष बोटलर्स नेपाल बलाजु, बोटलर्स नेपाल तराई, यूनिलिभर नेपाल जस्तो बजारमा राम्रो ख्याती कमाएका कम्पनीहरु पनि नेप्सेलाई नविकरण शुल्क बुझाएका छैनन् । त्यस्तै, दिव्यशोरी हाइड्रोपावर, सेती फाइनान्स, यूनियन फाइनान्स, कुबेर मचेन्ट फाइनान्स, ललितपुर फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कावेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णली विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेशनल फाइक्रो फाइनान्स वित्तीय संस्था, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक, समता फाइक्रो फाइनान्स रहेका छन् । उल्लेखित विकास बैंक, फाइनान्स तथा लघुवित्त मध्ये ५ वटा बैंक तथा वित्तीइ मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेकाले यसअघि नै सेयर कारोबार रोकिएको छ । १९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटवाल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् । ‘हामीले सबै कम्पनीलाई पत्र लेखेका छौ, फोन र इमेलबाट पटक पटक सम्झाएका छौं, सार्वजनिक सूचना प्रकाशित पनि गरेका छौं’ नेप्सेका ती अधिकारीले भने–‘बोटलर्स नेपालले भूलबस छुट्यो, भोलि नै शुल्क तिरेर नविकरण गर्छौ भनेर फोन गरेको छ । कारोबार शुरु हुनुभन्दा अघि नै शुल्क बुझाए भने बोटलर्सको सेयर कारोबार बन्द नहुन पनि सक्छ ।’

सेयरमा लगानी गर्न चाहनेलाई सम्पुर्ण जानकारी दिने सफ्टवेयर सार्वजनिक

काठमाडौं । सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो । एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ । उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए । तर उक्त सफ्टवेयर भने लगानीकर्ताले ३  हजार ५०० मा खरिद गर्नुपर्ने हुन्छ । उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरे । अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गरे। धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए । उनले गैरआवसीय नेपालीले गर्ने लगानीको सीमा, मुनाफा फिर्ता लैजानेलगायतका विषय टुङ्याउन बाँकी रहेकाले यसले मूर्तरुप लिन नसकेको बताए । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्याएर बेग्लाबेग्लै बनाउन लागिएको जानकारी दिँदै अनलाइन कारोबार छिटो सञ्चालनका लागि आफूले कार्यभार सम्हालेदेखि नै प्रयास थालेको बताए । विगत १० वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको मेरो लगानी डटकम दशौँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सफ्टवेयर सार्वजनिक गरिएको हो । यस्तै उक्त अनलाइनले नेपाल जर्नल डट कमसमेत सञ्चालनमा ल्याएको छ ।

गोल्डस्टार जुत्ताको नयाँ सोरुम अब सिभिल मल र जमलमा

काठमाडौं । गोल्डस्टार जुत्ताको पहिलो सोरुम अब सिभिल मल र जमलमा सञ्चालन भएको छ । यस जुत्ताको आधिकारीक उत्पादक किरण सुज म्यानुफ्याक्चरले मंगलबार आफनो पहिलो सोरुम सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज सोरुम जमल स्थित ज्योती मल नजिक उद्घाटन गरेको हाे । सो सोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गर्नेछ । सिभिल मल स्थित सोरुम चौथौँ तलामा अवस्थित छ भने जमल स्थित फ्रयानचाईज सोरुम, ज्योति मल नजिकै अवस्थित छ । कम्पनीका बजार निर्देशक वीदुशी राणले ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको जानकारी दिए । साथै, आगामी दिनहरुमा कम्पनीले अधिराज्यभर सोरुम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । सोरुम फ्रयानचाईजका लागि ईच्छुक फर्म वा व्यक्तिले कम्पनीमा सम्पर्क राख्न सक्नेछन् । किरण सुज म्यानुफ्याक्चरले गोल्डस्टारका लागि विभिन्न थरिका जुत्ताहरु उत्पादन गर्दै आएको छ ।

सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले १७ माओवादी मन्त्रीलाई बनाए विनाविभागीय

काठमाडौं । सरकार नछाडने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १७ जना माओवादी मन्त्रीलाई जिम्मेबारीबाट हटाएर विनाविभागीय बनाएका छन् । उनले मन्त्रालयको जिम्मेबार हेरफेर गरेका छन् । विनाविभागीय भएका मन्त्रीहरुमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, प्रभु शाह, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु विनाविभागीय भएका छन् । यस्तै मओवादीबाट नियुत्त राज्यमन्त्री पनि स्वत विनाविभागीय भएका हुन् । गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । यस्तै उपप्रधान तथा ऊर्जामन्त्रीमा कमल थापा नियुत्त भएका छन् । मंगलबार दिउसो तत्कालिन गृहमन्त्री शर्माले निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने जानकारी गराएका थिए । उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ ।  

गोपालबहादुर खड्कालाई कारबाही गर्न निर्वाचन आयोगले बाटो खोल्यो, मन्त्रालय झिकाइने

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई मन्त्रालय झिकाउने भएको छ । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै मन्त्रालय झिकाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालका अनुसार निर्वाचन आयोगले खड्कालाई मन्त्रालय झिकाउनका लागि सहमती प्रदान गरेको छ । उनले भने, ‘करिब दुई साता अगाडी हामीले खड्कालाई मन्त्रालय झिकाई काममा लगाउन सहमती जनाउन निर्वाचन आयोगसँग माग गरेका थियौं ।’ मंगलबार निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई उक्त मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । गत असोज २२ गते सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । मन्त्रीपरिषध कार्यालयले खड्कालाई बर्खास्त गरेपछि उनी सर्वोच्च पुगेका थिए । आपूर्ति मन्त्रालयले असोज २६ गतेको पत्रबाट कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाई काममा लगाउन भनी सहमति माग गरेको थियो । आयोगको आचारसंहितासँग सम्बन्धित मिति ३० गते बसेको बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।