विकासन्युज

सिनर्जी फाइनान्सको कात्तिक १७ गतेको वार्षिक साधारणसभा स्थगित

काठमाडौं । सिनर्जी फाइनान्सको आगामी कात्तिक १७ गतेको दिन बोलाइएको ९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । यस कम्पनीलाई बेष्ट फाइनान्स कम्पनीले प्राप्ती गर्ने प्रारम्भिक सहमति भई सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिएकोले कात्तिक १७ गते  गरिने सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, अर्को सूचना प्रकाशित नगरिएसम्मको लागि यस कम्पनीको साधारणसभा स्थगित गरिएको हो ।

नेसनल ट्रेडिङले १० करोड बचतमा राख्न बैंकसंग माग्यो प्रस्ताव

काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य बैंकमा सो रकम राख्ने जानकारी गराएको छ । नेसनलले आवश्यक परेको बेला झिक्न मिल्ने, ब्याज दर घटेमा १ महिनाअघि जानकारी दिनुपर्ने भनेको छ । प्रस्ताव पेश गर्ने अन्तिम मिति कात्तिक ८ गतेलाई तोकिएको छ ।

धनत्रयोदशीमा सुनचाँदीको कारोबार ह्वात्तै बढ्यो, एकैदिनमा २१ करोड ७० लाख मूल्य बराबरको धनतेरास बिक्री

काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । तिहारमा धनत्रयोदशीका दिन द्रव्य (धनतेरास) जोड्ने विश्वास भएकाले सुनचाँदीको माग बढेको हो । लक्ष्मीपुजाको एक साता अगाडीदेखि सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । मंगलबार एकैदिनमा २१ करोड ७० लाख रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् । मंगलबार करिब ४ करोड ७० लाख मूल्य बराबरको चाँदी र १७ करोड मूल्य बराबरको सुन कारोबार भएको महासंघको अनुमान छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले मंगलबार ४० किलो भन्दा बढी सुन तथा ७०० किलो भन्दा चाँदीको कारोबार भएको जानकारी दिएका छन् । धनत्रयोदशीमा सुन भन्दा पनि चाँदीको कारोबारमा शत प्रतिशतले बृद्धि भएको हो। शाक्यका अनुसार लक्ष्मी पुजाको एक साता अगाडीदेखि चाँदीको कारोबार बढिरहेको छ । सामान्य अवस्थामा चाँदी दैनिक १५० किलो बिक्री हुने गरेको चाँदी आज साढे चार गुणा बढी कारोबार भएको हो । सुन पनि सामान्य अवस्था भन्दा १५ किलो बढी कारोबार भएको शाक्यले जानकारी दिए। उनका अनुसार अरुबेला बढिमा दिनको २० देखि २५ किलोसम्म सुन कारोबार हुन्थ्यो। तिहारमा लक्ष्मीपुजा आउने एक साता अघिदेखि नै सुनचाँदीको कारोबार बढ्दै जाने गरेकोमा यसपाली भने ढिलो कारोबार बढेको उनले बताए । उनले भने, ’यसपाली सुनको कारोबार आइतबारदेखि मात्र बढ्न थालेको हो ।’ हिन्दु धर्मअनुसार लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो मानिन्छ । धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ । धनत्रयोशीमा सुनचाँदी खरिद गर्ने परम्परा भारतबाट सुरु भएको शाक्यले जानकारी दिए । ’करिब १५ वर्ष अगाडीदेखि नेपालमा भारतीय टिभी च्यानलले धनत्रयोदशीमा सुनचाँदी चढाउनुपर्छ भनेर प्रचारबाजी गर्न थाल्यो । त्यसैको प्रभाव स्वरुपमा नेपालीमा धनतेरास चढाउने प्रचलन सुरु भयो । पौराणिक मान्यता अनुसार पनि लक्ष्मीपुजामा पित्तलको भएपनि भाँडा चढाउँदा फलिफाप हुन्छ भन्ने छ ।’ आज सुन चाँदी पसलहरु विशेष तवरले झकीझकाउ बनाइएको छ । नयाँ सडक क्षेत्रका सबै गहना पसलमा बिहानैदेखि ग्राहकको घुइँचो लागेको थियो । साँझ पर्दै जाँदा किन्नेको भिडभाड अझ बढेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य समेत सस्तियो साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । साताको पहिलो तीन दिनमा सुनको भाउ २ सय रुपैयाँ सस्तिएको छ । आइतबार प्रति तोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ मंगलबार ५६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

तिहार तथा छठको अवसरमा टेलिकमले दियो ८ सेवामा विशेष छुट, कुन कुनमा के के दियो?

काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट दिएको छ । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५० रुपैयाँ, १०० रुपैयाँ, २०० रुपैयाँ, ५०० रुपैयाँ र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी, १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । यो अफर २०७४ कात्तिक १ देखि ३ गतेसम्म रहने छ । २. युट्युब डाटा प्याक: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने कम्पनीले जनाएको छ । ३. कम्बो प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ४. भ्वाइस प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ५. पीएसटीएन/सीडीएमए फिक्स्ड फोनमा बोनस: पीएसटीएन/सीडीएमए फिक्स्ड फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडीएसएल/एफटीटीएच/वाईम्याक्स अफर: कात्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भोलुम बेसड एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप गरिएको छ । त्यसैगरी सोही अवधिमा एफटीटीएच/वाईम्याक्स अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिने व्यवस्था गरिएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ । कम्पनीले यस अघि दशैंको अवसरमा असोज ५ देखि १९ गतेसम्म पनि यस्तै प्रकारका विभिन्न अफर उपलब्ध गराएको थियो ।

सेयर बजारमा उतारचढाव, नेप्से ५ अंकले ओर्लियो

काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । सोमबार ४६ अंकले उकालो लागेको नेप्से मंगलबार फेरि ५ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.७२ अंकले झरेर १५५९ अंकमा अडेको छ । मंगलबारको बजारमा पनि तीव्र उतारचढाव आएको छ । बजार खुलेको करिब पौने घन्टामै नेप्से करिब १६ अंकले ओरालो लागेर १५५२ अंकमा झरेको थियो । फेरी करिब साढे १२ बजे बजार बढेर १५७३ अंकमा पुगेको थियो । त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेर बजार बन्द हुँदा १५५९ अंकमा अडेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबारमा भने सामान्य वृद्धि भएको छ । मंगलबार १६२ कम्पनीको ६१ करोड २० हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । सोमबारको बजारमा भने ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । सो दिन हाइड्रो, ट्रेडिङ र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सोही दिन हिमालयन डिष्टीलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् ।

माओवादीले भन्योः हामी सरकार नछाड्ने भयौ

काठमाडौं । नेकपा माओवादी केन्द्र फेरी सरकार नछाड्ने भएको छ । “निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने भइयो” गृहमन्त्री जनार्दश शर्माले पत्रकार सम्मेलनमा भने “निर्वाचन सार्ने प्रपञ्च भएकाले आज छाड्ने भनेकोमा नछाड्ने भइयो ।” निर्वाचन आयोगबाट सूचना आएपछि सरकारबाट हट्ने विज्ञप्तिमा हस्ताक्षर हुँदै गर्दा स्थगित भएको उनले जानकारी दिए । “हामी सरकारमा बस्न लोभी छनौ” उनले भने “केहिबेरमा वास्तविक कुरा थाहा हुन्छ ।” उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट नहटे विनाविभागिय बनाउने चेतावनी दिएपछि अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट हट्ने मनस्थितिमा पुगेका थिए ।

फोहर व्यवस्थापन प्लाण्ट सहित योजना ल्याउने उद्योगले मात्र बैंकबाट कर्जा पाउने, राष्ट्र बैंकले नीतिगत व्यवस्था लागु गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले फोहर व्यवस्थापन प्लाण्ट जडान सहितको योजना ल्याउने उद्योगलाई मात्र कर्जा दिने नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्था लागु भएपछि फोहर प्रशोधनको बेग्लै प्लाण्ट जडान गर्न थप लगानी गर्नुपर्ने हुन्छ ।दातृ निकायहरुले यस विषयमा ध्यान दिन सुझाएपछि राष्ट्र बैंकले कार्यन्वयनमा ल्याउन हाल अध्ययन थालेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । यस विषयमा अध्ययन गर्न अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ हाल बंगलादेशमा रहेको उनले जानकारी दिए । विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले उद्योग व्यवसायलाई स्वच्छ वातावरण कायम राख्नका लागि नीतिगत व्यवस्थाका लागि काम अघि बढाउन सुझाएपछि प्रक्रिया अघि बढाइको उनको भनाई छ । विश्वका धेरै मुलुकमा फोहर व्यवस्थापन उद्योग आफैले गर्ने चलन रहेकाले नेपालमा पनि यसलाई लागु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । हाल अध्ययनका क्रममा रहेकाले निष्कर्ष आएपछि लागु गर्ने तयारी राष्ट्र बैंकको छ । नेपालमा सञ्चालित अधिकांश उद्योगले वस्तु उत्पादनपछि निष्कासन हुने फोहर सिधै खोला र नदीमा पठाउने गरेका छन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “अध्ययनको काम सुरु भइसकेकाले राष्ट्र बैंकले यस विषयमा केही गर्ने छ ।” उनले अध्ययनपछि मात्र यस विषयमा निर्णय लिइने बताए । हाल बढी फोहर निष्कासन गर्ने सिमेन्ट, डण्डी, छालाजन्य वस्तु उत्पादन, गलैचा, रंग, सावुन, कपडा, जुट लगायतका उद्योगबाट फोहर बस्तु र पानी निष्कासन हुने गरेको छ । यस्ता फोर प्रशोधन गर्न उद्योगसंग बेग्लै प्लाण्ट नहुँदा सिधै खोला तथा नदीमा मिसिने गर्दा प्रदुषण हुने गरेको छ । यसतर्फ सरकारले ध्यान दिएको छैन । उद्योगले वातावरणीय प्रदुषण बढाएपछि यसलाई नियन्त्रण गर्न नयाँ अवधारणा लागु गर्न लागिएको हो । अध्ययन गरेपछि यस विषयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि चाडै सर्कुलर ल्याउने जानकारी दिएको छ ।

एउटै गाउँबाट तीन करोडको माला बिक्री

भक्तपुर । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका- ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ । स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउँछन् । तिहारमा फूल बेचेर प्रत्येक परिवारले एक लाख रुपैयाँदेखि आठ लाखरुपैयाँसम्म कमाउने गरेका छन् । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताए । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताए । अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् । कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ । जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा रु ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।