स्वीफ्ट ह्याकिङको बीमा नेपालमा छैन, साइबर क्राइम इन्स्योरेन्स गराउन बीमा समिति तात्दै
काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याकिङ गरी ह्याकरले ठूलो रकम चोरी गरेको घट्नाले नेपालको बैकिङ क्षेत्रमा साइवर क्राइम जोखिमको महशुस भएको छ । तर यस्तो जोखिमको बीमा भने नेपालमा छैन । सबै बैंक तथा वित्तीय संस्थाले बैंकको ढुकुटीमा रहेको नगददेखि कर्जा लगानीको लागि लिएको धितोको समेत जोखिम न्यूनिकरण गर्न बीमा गरेका हुन्छन् । तर स्वीफ्ट ह्याकिङ लगायत साइबर क्राइमका जोखिमको बीमा नभएको नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डित बताउँछन् । ‘नेपालमा अहिलेसम्म स्वीफ्ट ह्याकिङ जस्ता साइबर अपराध वापत हुने क्षतिको बीमा भएको छैन, अब भने हामीले पनि सोच्ने बेला भएको छ’, पण्डितले विकासन्युजसँग भने । एनआइसी एसिया बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि स्वीफ्ट ह्याकिङबाट उत्पन्न जोखिमको इन्स्योरेन्स नभएको स्पष्ट पारे । ‘स्वीफ्ट ह्याकिङमा कर्मचारीको संलग्नता रहेछ भने त्यसलाई इन्स्योरेन्सले कभर गर्छ, कर्मचारीको संलग्नता नभएको अवस्थामा बीमा कभर हुँदैन’ उनले भने-‘विदेशमा साइबर क्राइमको बीमा गरिन्छ, तर नेपालमा साइभर क्राइम बीमा पोलिसी नै छैन ।’ साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको तर नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न नसकेको पाईएको छ । ‘साइवर क्राइम बीमाको प्रस्ताव भारतीय कम्पनीबाट आएको थियो तर नेपाली कम्पनीले नेपालको बीमा कम्पनीसँग मात्र बीमा गर्न पाउने नीति रहेछ । नेपाली कम्पनीसँग भने यस्तो बीमा प्रडक्ट रहेनछ’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने । बैंकिङ कारोबारमा हुने साइबर आक्रमणलाई अहिलेसम्म इन्स्योरेन्स पोलिसीमा नसमेटिएको बीमा समितिको कानुन विभागका प्रमुख साम्भराज लामिछानेले बताए । इन्स्योरेन्स कन्सल्टेन्ट एसके टमोटले विदेशमा साइबर अपराधबाट हुने वित्तीय नोक्सानीको पनि बीमा गर्ने चलन रहेपनि नेपालमा भने अझै त्यस्तो व्यवस्था नरहेको बताए । ‘परम्परागत बैकिङ प्रणालीमा हुने जोखिमको बीमा गर्ने अभ्यास छ तर आधुनिक प्रविधिको प्रयोग विस्तारसँगै साइबर अपराधबाट हुने जोखिमको बीमा गरिदैन’, टमोटले भने । बैंकहरुले आफ्नो ढुकुटीमा भएको नगद देखि एक ठाउँबाट अर्काे ठाउँमा नगद स्थान्तरण गर्दासम्म त्यसमा हुने जोखिमको बीमा गरेका हुन्छन् । तर डिजिटल कारोबारमा हुने जोखिम वा साइबर क्राइममा हुने जोखिमको बीमा गरिएको हुँदैन । डिजिटल कारोबारमा आएको वृद्धि र त्यसभित्र हुने जोखिमलाई ध्यान दिदै त्यस्ता जोखिमको बीमा गर्ने समय आएको टमोट बताउँछन् । त्यसका लागि बीमा समिति, बीमा कम्पनीहरु र पुर्नबीमा कम्पनीहरु मिलेर काम थाल्नु पर्ने उनले बताए । नेपाल बैंकिङ इन्स्टिच्युट(एनबिआइ)का प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले पनि नेपालको बैंकिङ कारोबार साइबर क्राइमको जोखिममा रहेकाले बीमा गराउनेबारे तत्काल ठोस कदम चाल्नुपर्ने बताए । ‘नेपालको मुद्रा परिवत्र्य (कन्भर्टिबल करेन्सी) होइन, त्यसकारण यहाँ बाह्य साइबर आक्रमणको जोखिम कम देखिन्छ, नत्र अहिलेसम्म ठूलै समस्या आइसक्थ्यो । अब भने हाम्रो प्रविधिलाई बलियो बनाउने र जोखिमको इन्स्योरेन्स गर्नेबारे ठोस कदम चाल्नुपर्छ’, एनबिआईका प्रमुख कार्यकारी अधिकृत सुब्बाले भने । उनले बैंकिङ क्षेत्रमा ठूलो जोखिम आउनुअघि समस्या समाधानका लागि सोच्नुपर्ने सुझाव पनि दिए । ‘यो नेपालको विश्वसनिय क्षेत्र हो, यसमा ठूलो जोखिम आउनु र विश्वसनियतामा प्रश्न उठ्नु अघि नै सम्भावित जोखिमको निदान गर्नुपर्छ’, सुब्बाले भने । तात्यो बीमा समिति एनआईसी एसिया बैंकमा स्वीफ्ट ह्याकिङ भएपछि त्यस्तो क्षतिको बीमा गराउनेबारे बीमा समितिले गृहकार्य अघि बढाएको छ । समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर साइबर अपराध मार्फत वित्तीय क्षेत्रमा हुने क्षतिको बीमा गराउनेबारे छलफल गर्न लागेको हो । ‘समितिले बीमा कम्पनीका सिईओहरुलाई बोलाएर स्वीफ्ट ह्याकिङ जस्ता अपराधबाट वित्तीय क्षेत्रमा पुग्ने क्षतिको बीमा कसरी गराउन सकिन्छ, कसरी पोलिसी बनाउन सकिन्छ भनेर छलफल गर्न लागेको छ, केहि दिनभित्रै त्यस्तो छलफल आरम्भ हुन्छ’, समितिका कानुन विभागका प्रमुख लामिछानेले भने ।
प्रुडेन्सियल इन्स्योरेन्सको कात्तिक १७ गतेदेखि बुक क्लोज
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आगामी कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस इन्स्योरेन्स आगामी मंसिर १ गते वार्षिक साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि कम्पनीले १५ दिनसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले मंसिर १ गते वार्षिक सधारणसभा बोलाएको हो ।
राधी विद्युत कम्पनीले ७ करोडको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति
काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीले ७ करोड ६४ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
सवारी साधन कारबाहीबाट ४४ लाख रुपैयाँ बढी राजश्व संकलन
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । गत साउनमा दुई हजार ५०० सवारी चालकलाई कारबाही गरी १२ लाख ३५ हजार रुपैयाँ, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए । उनका अनुसार असोजमा दुई हजार ६०० सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । रासस
तीन महिनामा २६३ पसल अनुगमन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो । अनुगमनका क्रममा कालोबजारी गर्ने एक पसलेविरुद्ध मुद्दा दर्ता गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सो क्रममा ६ वटा औषधि पसल, दुईवटा पाउरोटी उद्योग, चारवटा अमिलो उद्योग बन्द गराइएको थियो । म्याद नाघेका, अखाद्य बस्तु बिक्री गरेको, अनुमति नलिइ सञ्चालन गरेका कारण बन्द गराइएको उनले बताए । यस्तै पाँचवटा पसलको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको शर्माले बताए । अनुगमनका क्रममा ११२ बोतल तार्पिन तेल, ६७३ बोतल हल्का पेय पदार्थ र ८० प्याकेट बिस्कुट नष्ट गरिएको उनले बताए । तीन जनालाई सचेत गराइ छाडिएको शर्माले बताएका छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा २८५ वटा पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ५६ जनालाई सचेत गराइ छाडिएको थियो । कार्यालयकाअनुसार अहिले अघिल्लो आव र चालु आवका गरी ३५ वटा मुद्दा दर्ताको तयारी गरिएको छ । रासस
नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । साथै, सोही दिन कम्पनीको सञ्चालक समितिमा चार जना निर्वाचित भएका छन् । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँड निविरोध निर्वाचित भएका हुन् । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड रुपैयाँ र सेयरधनी कोष पनि १८ अर्ब ७० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर सञ्चालन मुनाफा कमाएको थियो । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुदनाफा पनि २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । हाल बैंकको निक्षेप एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा प्रधानमन्त्रीले गरे ४ करोड ५५ लाख खर्च
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा ४ करोड रुपैयाँ बढी खर्च भएको छ । प्रधानमन्त्री देउवा राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिकाको न्युयोर्क जादा ४ करोड ५५ लाख ४१ हजार ७४५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सो भ्रमण खर्च परराष्ट्र मन्त्रालयलमार्फत निकासा गरेको हो ।
प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९७३ रुपैयाँ मात्र
काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।