बैंकिङ प्रणालीमा ५१ अर्ब तरलता, बुधबार राष्ट्र बैंकले ५ अर्ब उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता तिहारअघि पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको थियो । तिहाललगतै बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको अधिकारीको भनाई छ । राष्ट्र बैंकले एक साताका लागि तरलता प्रशोचन गर्न लागेको हो । कात्तिक १५ गते परिपक्व हुने छ । तिहारअघि प्रशोचन गरेको ५ अर्ब रुपैयाँ बुधबार परिपक्व भएर पुनः बैकिङ प्रणालीमा जाने भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । यो समेत गरी केन्द्रीय बैंकले २१ अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।
सिद्धार्थ इन्स्योरेन्सको कात्तिक १५ गतेदेखि १५ दिन बुक क्लोज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।
माउण्ट मकालुले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, कात्तिक १७ गते बुक क्लोज
काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी कात्तिक १७ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ ।
तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । पहिलो चरणको निर्वाचनको लागि ३२ जिल्लामा मनोनयन समेत दर्ता भैसकेको छ । तर अधिकांश नागरिकलाई आफ्नो गाउँ/शहर प्रदेश सभाको कति नम्बर निर्वाचन क्षेत्रमा पर्छ भन्ने समेत जानकारी छैन। राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपछि मत माग्न गरेको प्रचार प्रसारमा प्रदेश सभा क र ख भनिरहेका छन् । एउटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहने प्रावधान छ । (तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ) तर निर्वाचन क्षेत्र निर्धारण आयोगले सार्वजनिक गरेको सूचिमा भने प्रदेश सभामा पनि एक नम्बर र २ नम्बर नै उल्लेख गरिएको छ । निर्वाचन आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा भने क र ख उल्लेख गरेको छ ।‘आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा निर्वाचन क्षेत्र क र ख भनेको छ, एक र २ नम्बर भन्दा नागरिकलाई बुझाउन कठिन हुने भएकाले क र ख भनेका हौं’, निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले विकासन्युजसँग भने । उता, निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य माधव अधिकारीले प्रदेश सभा निर्वाचन क्षेत्रमा आयोगले १ र २ नम्बर गरि विभाजन गरेको बताए । उनले पुर्वी क्षेत्रलाई १ र पश्चिम क्षेत्रलाई २ नम्बर बनाउने सिद्धान्त अनुसार अधिकांश निर्वाचन क्षेत्र निर्धारण गरिएको जानकारी दिए । ‘हामीले १ र २ गरेका हौं, आयोगले क र ख गरेको छ । प्रतिनिधी सभालाई संघिय भनेका छौं, प्रदेशको लागि प्रादेशिक सभा निर्वाचन क्षेत्र भनेका छौं । नम्बर राख्ने बेलामा सुर्य उदाउने तिर एक नम्बर र घाम अस्ताउने तिर २ नम्बर भनेका छौं’, अधिकारीले भने ।
५ कम्पनीले नविकरण शुल्क बुझाएनन, सेयर कारोबार रोक्का
काठमाडौं । विभिन्न ५ कम्पनीले वार्षिक सुचिकरण नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचिकृत मध्ये ५ कम्पनीको कारोबार एक सातादेखि रोक्का गरेको छ । कारोबार रोक्का भएका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, महिला सहयात्र माइक्रोफाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक र साझा विकास बैंकले शुल्क नबुझाएपछि कारोबार रोक्का गरिएको हो । शुल्क नबुझाएसम्म कारोबार रोक्का हुने नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले जानकारी दिए । शुल्क नबुझाएपछि नेप्सेले ४२ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । त्यसमध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।१९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, हिमालयन फाइनान्स लिमिटेड, अरुण बनस्पती उद्योग लिमिटेड, विराट शुज लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, फ्यूर हिमालयन लिमिटेड, गोरखकाली रवर उद्योग लिमिटेड, हरिसिद्धि ईटा तथा टायल कारखाना लिमिटेड, ज्योति स्पीनिङ मिल्स लिमिटेड, नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेड, भृकुटी कागज उद्योग लिमिटेड, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी लिमिटेड रहेका छन् ।
के तपाईँ इलेक्ट्रिक भेइकल चलाउनु हुन्छ ? विद्युत प्राधिकरणले बनाउँदै छ ‘हाइ भोल्टेज चार्जिङ स्टेशन’
काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर आएको छ । आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य हुँदैछ, किन की नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउने भएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको हो । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा धमाधम लेखिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयार गरेको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । यसका लागि प्रारम्भिक गृहकार्य सुरु भइसकेको उनले जानकारी दिए । केही वर्षपछि पर्याप्त ऊर्जा उत्पादन हुने भएकाले त्यसको सदुपयोग विद्युतीय परिवहनमा गर्न लागेको उनको भनाई छ । प्राधिकरणले पहिलो चरणमा आफनो कार्यलयमा चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ । प्राधिकरणले आफना कर्मचारीलाई विद्युतीय सवारीसाधन खरिद गर्ने सिल्वालले जानकारी दिए । विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । “भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ” उनले भने “नेपालले पनि यसमा ढिलाइ गर्नु हुन्न भन्ने हो ।” विद्युत प्राधिकरणले मात्र यो काम गर्न नसक्ने भन्दै उनले यसका लागि राज्यले पनि लगानी गर्नुपर्ने बताए । सिल्वालले काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो । हाइभोल्टेज चार्जरले बढीमा आधा घण्टामा चार्ज गर्न सकिने छ । वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।
नेपाल हाइड्रो डेभलपर्सले ६.८ मेगावाटको चर्नावती आयोजना बनाउने
काठमाडौं । सर्वसाधारणको सेयर लगानी रहेको नेपाल हाइड्रो डेभलपर लिमिटेडले अर्को ६.८ मेगावाटको तल्लो चर्नावति आयोजना निर्माण गर्ने भएको छ । साढे ३ मेगावाटको चर्नावती आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको नेपाल हाइड्रोले सोही खोलामा अर्को आयोजना निर्माण गर्न लागेको हो । नदीको बहावमा आधारित (रन अफ दी रिभर ) आयोजना निर्माणका लागि कम्पनीले पहिलो चरणमा प्रारम्भीक वातावरणीय परीक्षण अध्ययन सुरु गर्न लागेको छ । आयोजना दोलखाको भिमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा पर्छ । आयोजनाको बाँध भिमेश्वर र सैलुङमा पर्छ । आयोजनामा हाइड्रो सलुसन्स समूह, केएल दुगड ग्रुप, मुरारका समूह र देवेन्द्र समूहको लगानी रहेको छ । कम्पनीले ३ लाख ९० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरिसेको छ । कम्पनीको चूक्तापूँजी २६ करोड रुपैयाँ छ । यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी गरिसकेको छ ।
सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ मात्र
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकले मंगलबार चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्दे नाफा घटेको जानकारी दिएको हो । असोजसम्म बैंकले ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप परिचालन ५० अर्ब ३१ करोड रुपैयाँ थियो । गत आवको सोही अवधिको तुलनामा यो वर्ष बैंकको निक्षेप परिचालन ४ अर्ब रुपैयाँ बढेको जानकारी दिएको छ । चालु आवको असोजमा बैंकले ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४३ अर्ब ७३ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा चालु आवमा बैंकको कर्जा लगानी ७ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.९९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १.७३ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । गत आवको सोही अवधिमा बैंकको पुँजीगत लागत ४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.६२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ । संचित वचत १ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघेको छ ।