विकासन्युज

तीन महिनामा परिणाम निकाल्नेछु : सीइअाे भुसाल

काठमाडौ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइअाे) युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन्। मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछी रासससँग कुरा गर्दै उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताए । भुसालले प्राधिकरणमा भइरहेका कामलाई दु्त गतिमा अगाडि बढाउने बताउँदै भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको सुनाए। “ राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ”, उनले भने । विसं २०३७ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गर्नुभएका भुसालले २०४३ सालमा सहायक सचिव हुँदै २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरे । विसं ०५४ मा सहसचिव भएपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एक वर्ष, अर्थ मन्त्रालको बजेट महाशाखामा चार वर्ष र परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाली महावाणिज्य दूतावास कोलकातामा तीन वर्ष महावाणिज्यदूत भई काम गरेको अनुभव छ । विसं २०६५ मा सचिव बन्नुभएका भुसालले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनःसंरचना आयोग, वन तथा भूसंरक्षण र अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा काम गरे । भुसाल विशेषगरी वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रीकरण, लैंगिक समानता, विकास योजना र गरिबी निवारणको क्षेत्रमा विशेष दख्खल राख्छन । उनले सदस्यसचिव हुँदा प्रशासन पुनःसंरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक बनेको छ ।

३३ बर्षपछि पारवहन कम्पनीले डाक्यो साधारणसभा, १४०० % भत्ता बढाउने ‘अवैध’ निर्णय पास होला ?

काठमाडौं । सरकारको पूर्णस्वामित्वमा सञ्चालित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड(एनटिडब्लुसी)ले ३३ वर्षपछि वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको ५५४ औं बोर्ड बैठकले कात्तिक १४ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीमा सञ्चालकको मिलेमतोमा आर्थिक र नीतिगत अनियमितता गर्दै आएको खुलेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काल साधारणसभा गर्न निर्देशन दिएको थियो । प्राप्त जानकारी अनुसार सञ्चालकहरूले अनियमितरुपमा बैठक भत्ता तथा मासिक सञ्चार सुविधा लिई कम्पनीलाई नोक्सान पुर्‍याइरहेका थिए । कम्पनीको नियमावलीमा सञ्चालकले बैठक भत्ता बापत १ सय रुपैयाँ पाउने व्यवस्था छ । तर सञ्चालकले नियमविपरीत बैठक भत्ताबापत १ हजार पाँच सय रुपैयाँ लिँदै आएको पाइएको छ । त्यस्तै, मासिक सञ्चार सुविधाका नाममा सञ्चालकले थप ३ हजार पाँच सय रुपैयाँ लिने गरेका छन्, जुन कम्पनीको नियमावलीमा व्यवस्था गरिएको छैन । कम्पनीले आव २०४१।४२ देखिको आर्थिक विवरण पनि कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाएको छैन । आर्थिक विवरण तयार नहुँदा कम्पनीको ३३ वर्षयता साधारणसभा समेत सम्पन्न गरेको थिएन । कम्पनीले रजिष्ट्रारको कार्यालयमा विगत ३३ बर्षदेखिको कुनै पनि विवरण बुझाएको छैन । जानकारीमा आएअनुसार कम्पनीका महाप्रबन्धक कुमार केसीले प्रशासन प्रमुख प्रेमराज भण्डारीसँग मिलेमतो गरी आर्थिक तथा नीतिगत अनियमितता गर्दै आएका थिए । विगत लामो समयदेखि कम्पनीको साधारणसभा हुन नसकेको, साधारणसभाबाट अनुमोदन गर्नुपर्ने विषय सञ्चालक समिति र व्यवस्थापकिय निर्णयका आधारमा गर्दै आएकाले कम्पनीको प्रबन्धपत्र र नियमावली नै प्रचलित कानुनविपरीत रहेको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । कम्पनी ऐनले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै कारणले ६ महिना भित्र साधारण सभा गर्न नसकेमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिएर तीन महिना समय थप प्राप्त हुन्छ । सो अवधीमा समेत साधारण सभा गर्न नसके कारवाहीको व्यवस्था रहेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०४१/२०४२ देखि २०७२/७३ सम्मको वासलात सहितको नाफा नोक्सानको विवरण तथा ०७२/०७३ को नगद प्रवाहको विवरण पारित गर्ने कम्पनीले जानकारी दिएको छ । आव २०७२/७३ को लागि महालेखा परिक्षकको कार्यालयबाट नियुक्त लेखापरिक्षक तथा निजको पारिश्रमिक भुक्तानी भइसकेको छ । यसको समर्थनको लागि पेश गर्ने कम्पनीले जानकारी दिएको छ । गत असोज ८ गते कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सहित साधारण सभा डाक्ने निर्णय गरेको हो । अनियमितता गत फागुन १३ गते राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो अनुसन्धानबाट सो कम्पनीमा अनियमितता भएको पाएपछि वाणिज्य मन्त्रालयलाई सुझाव दिई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा फाइल पठाएको थियो । वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मन्त्रालयले आवश्यक कारबाहीका लागि कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्राचार गरेको जानकारी दिए । उनले भने,‘अर्को साताको बुधबार कम्पनीको साधारणसभा बैठक बस्दैछ । त्यसपछि आर्थिक विवरण खुल्नेछ ।’ कानुन विपरित कर्मचारी भर्ना कम्पनीमा सञ्चालकले अनियमितरुपमा कर्मचारी भर्ना गर्दै आएको खुलेको छ । कम्पनीको नियमावली तथा विनियमालीमा मौजुदा दरबन्दीमा नपरेको खास विशेषज्ञता हासिल गरेको व्यक्ति र तहविहीन लोडर पदमा कार्यरत हुने व्यक्तिबाहेक अन्य कुनै पदमा करारमा नियुक्ति गर्न नपाइने स्पष्ट उल्लेख रहेको छ । कम्पनीले भने करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने कुनै कानुनी व्यवस्था नरहेको अवस्थामा आव २०६२।६३ देखि नै प्रधान कार्यालय एवं शाखा कार्यालयहरूमा स्वीकृत दरबन्दीभित्र हुनेगरी सहायकस्तरका कर्मचारी कार्यकारी प्रमुखबाट करारमा नियुक्त गर्दै आएको तथा वर्तमान सञ्चालक समितिको निर्णयसमेतका आधारमा कर्मचारी करारमा नियुक्त गरी काममा लगाउँदै आएको जनाएको छ । तर खास विशेषज्ञता हासिल गरेको व्यक्ति र लोडरबाहेक पदमा करारमा नियुक्ति एवं म्याद थप सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय एवं व्यवस्थापनबाट गरिएको निर्णय कार्यान्वयन कार्य कानुनसम्मत नभएको अध्ययनको निष्कर्ष छ । मापदण्ड बिनै ईन्धन वितरण कम्पनीले कुनै मापदण्डबिना मासिक सवारी इन्धन बाँड्ने गरेको पाइएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा हाल उपलब्ध तीनवटा गाडीमध्ये अध्यक्ष पुरुषोत्तम ओझा र महाप्रबन्धक केसीले एक एकवटा कार प्रयोग गर्दै आएका छन् । कम्पनीबाट अध्यक्ष ओझाले मासिक १५० लिटर र महाप्रबन्धक केसीले १२० लिटर सवारी इन्धन लिने गरेका छन् । त्यस्तै कम्पनीले विभागीय प्रमुखहरूले प्रयोग गर्ने गाडीलाई १५० लिटर र दुइटा मोटरसाइकललाई १५।१५ लिटर इन्धन उपलब्ध गराउँदै आएको छ । काठमाडौंको मैतीदेवीमा प्रधान कार्यालय रहेको यो कम्पनीले आयात । निर्यात व्यापारमा पारवहनसम्बन्धी सुविधा उपलब्ध गराउने तथा गोदाम सञ्चालन गर्दै आएको छ । कम्पनीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, विरगन्ज, काँकडभिट्टा र भारतको कोलकातामा शाखा कार्यालय छन् ।

शिखर क्रेजी मेला कात्तिक ६ देखि शुरु, जुत्ता खरिदमा ७० प्रतिशत सम्मको छुट

काठमाडौं । शिखर शुजले आज अर्थात कात्तिक ६ गतेदेखि क्रेजी मेला शुरु गरेको छ । कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त मेला शुरु गरेको हो । उक्त मेला भु.पु स्वास्थ्य मन्त्री गगन थापा र उध्योग वाणिज्य माहाँसघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुरु भएको हो । उक्त मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाइनेछ । यो मेला करिब २० दिनसम्म लाग्ने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताएका छन् । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिँदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

बैंकर्स झपट बोहरा राजनीतिक दौडमा, अछाम जिल्लाबाट चुनाव लड्दै

काठमाडौं । बैकिङ क्षेत्रका चर्चित व्यक्ति झपट बोहरा राजनीतिमा होमिएका छन् । विगत लामो समयदेखि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध बोहरा आछाम जिल्लाबाट प्रदेश सभामा सदस्यको लागि सिफारिस भएका छन् । पाटीले अछाम जिल्ला प्रदेश १ का लागि बोहरासहित खगेन्द्र रोक्का र दीपक साउदको नाम सिफारिस गरेको छ । सुदुरपश्चिम क्षेत्रबाट बैकिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका बोहरा राजनीतिको साथै आर्थिक विकासको बारेमा राम्रो ज्ञान भएका, प्रष्ट विचार राख्ने र नेतृत्व खुबी भएका व्यक्तिको रुपमा परिचित छन् । सुदुरपश्चिमका सफल व्यवसायी बैंकिङ सेवा काठमाडौंमा मात्र केन्द्रीत रहेको समयमा झपट बोहराले सुदुर पश्चिम क्षेत्रमा पहिलो पटक मालिका विकास बैंक स्थापना गर्ने कार्यको अगुवाई गरेको थिए । धनगढीमा स्थापना भएको सो बैंकमा उनी कार्यकारी अध्यक्ष भएर ११ वर्षसम्म काम गरेका थिए । उनीको नेतृत्वमा स्थापना भएको मालिका विकास बैंक मोफसलको उत्कृष्ट बैंकको रुपमा स्थापित भयो । नेपाल विकास बैंकर्स संघको अध्यक्ष समेत भएर उनले सफल नेतृत्व गरेका थिए । पछि उनको नेतृत्वमा साझा विकास बैंक स्थापना भयो । बोहरा मालिका र साझा दुबै विकास बैंकमा उनी संस्थापक अध्यक्ष हुन् । बैकिङ सेवाबाट सफलता हासिल गर्दै उनी पुँजी बजार र बीमा क्षेत्रमा प्रबेश गरे । उनले काठमाडौंमा ग्रोमर मर्चेन्ट बैकिङ लिमिटेडमा स्थापना गरे र सो संस्थामा ८ वर्षसम्म अध्यक्षको भूमिका निर्वाह गरे । १० वर्षअघि उनकै नेतृत्वमा स्थापना भएको नेपाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा कारोबारको लागि बीमा समितिबाट अनुमतिको प्रतिक्षामा रहेको छ । पछिल्लो समय उनी सिनर्जी फाइनान्स लिमिटेडमा अध्यक्ष भएका थिए । सिनर्जीमा २ वर्ष अध्यक्ष भएका बोहरा करिब १ महिनाअघि सो पदबाट राजीनामा गरेर निर्वाचनको तयारीमा जुटेका छन् । देशको समग्र आर्थिक विकासमा जोड दिने बोहराले सुदुर पश्चिम क्षेत्रको विकासलाई राज्यले बढी प्राथमिकता दिनु पर्ने माग गर्दै आएका छन् । ‘पद मेरो प्राथमिकता होइन, देशको आर्थिक विकास राज्यको पहिलो प्राथमिकता हुनुपर्छ’ विकासन्यूजसँग कुरा गर्दै बोहराले भने-‘भौगोलिक क्षेत्रको आधारमा सुदुर पश्चिम क्षेत्र निकै पछाडि परेको छ, यस क्षेत्रको विकासमा मैले विशेष जोड दिन्छु ।’ नागरिक स्तरदेखि पार्टी नेतृत्वसम्म सबैको विश्वास र सहयोग लिएर निर्वाचनको प्रतिस्पर्धामा भाग लिन लागेको उनले बताए ।

सिन्धुलीगढीको २५० औं विजयोत्सव मनाउने तयारी

काठमाडौं । इस्टइन्डिया कम्पनीबिरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको एतिहासिक २५० औँ विजयोत्सव भब्यरुपमा मनाइने भएको छ । समृद्ध सिन्धुली अभियानद्वारा सोमबार सिन्धुलीमाढीमा आयोजित छलफलमा कात्तिक २४ गते नेपालीले विजय हासिल गरेको दिने उत्सवको रुपमा मनाइने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुलीगढीको ऐतिहासिक तथा पर्यटकीय महत्वमाथि चर्चा गर्दै पर्यटकीय केन्द्रको रुपमा गढीलाई विकास गर्न सबैको सहयोग आवश्यक हुने बताए ।‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सिन्धुलीगढीको प्रवद्र्धनले जिल्लावासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको गुरुयोजना बनाउने आफ्नो पहिलो कार्ययोजना भएको चर्चा गर्दै गढी प्रवेशलाई व्यवस्थित गरिने बताए । यसैगरी, नेपाली सेना ९ नम्बर बाहिनीपति सुरेशकुमार कार्कीले २५० औँ विजयोत्सवलाई विशेष महत्वको बनाउन नेपाली सेनाको तर्फबाट तयारी थालेको जानकारी दिए । उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अमरेशचन्द्र बैदारले सिन्धुलीमाढीमा हुने विजयोत्सव साङ्गीतिक साँझको तयारीबारे जानकारी दिँदै साइकलयात्रीका साथै विजयोत्सवमा आउने पर्यटकलाई अविस्मरणीय सम्झनायुक्त साङ्गीतिक साँझ हुने बताए । समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अभियानको बारेमा जानकारी दिदै सिन्धुलीगढी, जुनार र नागबेली सडकको प्रवद्र्धनले सिन्धुलीको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै, अर्का अभियन्ता सौरभ ढकालले ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राको तयारीबारे जानकारी दिए । यसपटक साइकल यात्रीले काठमाडौँदेखि सिन्धुलीमाढीसम्म १५३ किलोमिटरको दुरी पूरा गर्नेछन् । यसपटक करिव २५० साइकल यात्री सहभागी हुने जनाइएको छ ।      

एभरेष्ट बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । बैंकले आफ्नो मुख्य शाखा सहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो । बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रोग्रेशिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो ।  बोर्डको अनुमति पाए पश्चात कम्पनीले सनराइज क्यापिटल मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको छ ।

मंसिर ६ गते नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ८.५० प्रतिशत ब्याज दिने

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र खरिद गर्न पाउने सीमा घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर पाउने राष्ट्र बैंकले जनाकारी दिएको छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने व्यवस्था गरिएको छ । कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म बिक्री खुला गरी मंसिर ६ गते बचतपत्र निष्कासन हुने छ । बचतपत्रको साँवा भुक्तानी ०७९ मंसिर ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । चालु आवमा सरकारले नागरिक बचतपत्र उपकरणबाट ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।