रौतहट ४ मा तुल्सी गिरी तेस्रो बिकल्प, माधब नेपाल काठमाडौ २ नम्बरबाट चुनाव लडने निश्चित
काठमाडौ । नेकपा एमाले रौतहटले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ मा तेस्रो विकल्प अघि सारेको छ । यसअघि जिल्ला कमिटीले पूर्ब प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधब नेपाल र निवर्तमान सान्सद रामकुमार भट्टराईको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो । मंगलबार बसेका जिल्ला कमिटी बैठकले भने तेस्रो विकल्पका रूपमा युवा नेता गिरिको नाम पनि थपेर अनुमोदन गरेको हो । वरिष्ठ नेता नेपालले काठमाडौ २ नम्बरबाट चुनाव लडने निश्चित भैसकेको छ । निवर्तमान सान्सद भट्टराईले चुनाव नलड्ने अवस्थामा अब रौतहट ४ नम्बरमा गिरी उम्मेदवार हुनेछन् । बाम गठबन्धनको क्षेत्र बाँडफाँटमा सो क्षेत्र एमालेको भागमा परेको छ । रौतहट एमालेको एक कार्यकाल सचीवको जिम्मेवारी सम्हालिसकेका गिरी युवा पुस्ताबिच लोकप्रिय मानिन्छन् । मत्स्य व्यवसायी संघको सस्थापक अध्यक्ष समेत रहेका गिरीलार्र्इ स्थानीय व्यवसायिले पनि सहयोग गर्ने आश्वासन दिएका छन् । निवर्तमान सान्सद रामकुमार भट्टराईले निर्वाचन नलडेमा गिरीको उम्मेदवारी पक्का भएको चर्चा रौतहटका एमाले कार्य्कर्तामाझ छ । भट्टराईले यसपाली निर्वाचन नलड्ने सोच बनाएको बताइन्छ ।
विपत्तिको उच्च जोखिममा २६ शहर, काठमाडौं पनि एक
काठमाडौं । भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया-प्रशान्त क्षेत्र रहेको पाइएको छ । साेमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया-प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा एसिया–प्रशान्त क्षेत्रका २६ शहर रहेको चेतावनी दिएको छ । इस्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले प्रतिवेदनका मुख्य बुँदा प्रस्तुत गर्दै काठमाडौं, नयाँदिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताए । प्राकृतिक तथा मानव सिर्जित विपत्तिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने वास्तविकता औँल्याउँदै उनले विश्वका अतिनिर्धन र अधिक जनसंख्या भएको एशिया–प्रशान्त क्षेत्रमा नै जोखिमको भय उच्च हुनु चिन्ताको विषय भएको बताए । प्राकृतिक विपत्तिका कारण विगत ४६ वर्षमा एशिया प्रशान्त क्षेत्रमा २० लाख मानिसले ज्यान गुमाएको र एक खर्ब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको तथ्यांक प्रस्तुत गर्दै प्रतिवेदनमा विपद् व्यवस्थापनको पूर्वतयारी, राष्ट्रराष्ट्रबीच सूचना आदानप्रदान तथा प्रविधि हस्तान्तरण, क्षेत्रीय क्षमता अभिवृद्धि र सहकार्यलाई विपत्तिबाट जोखिने उपायका रुपमा सुझाइएको छ । श्रीलंका, मालदिभ्स, बंगलादेश, म्यान्मा र भारतले सामुद्रिक एवं वायुमण्डलीय सूचना आदानप्रदान गर्दा चक्रवातजस्ता विपत्तिबाट बच्न र पूर्वतयारी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सन् १९७० मा बंगलादेशमा चक्रवातका कारण तीन लाख मानिसले ज्यान गुमाएका थिए भने विज्ञान, प्रविधि र सूचना आदानप्रदानको परिणामस्वरुप त्यस्तै विपत्तिबाट सोही मुलुकमा गत वर्ष नौ जनाको मात्र मृत्यु भएको दृष्टान्तसमेत प्रतिवेदनमा समेटिएको छ । रासस
सिक्लेस जलविद्युत आयोजना सम्पन्न, १३ मेगावाट विद्युत् जोडिदै
काठमाडौं । कास्कीको मादी गाउँपालिकामा रहेको १३ मेगावाटको सिक्लेस जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीले ३ वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादिन हुने विद्युत् आगामी तीन सातापछि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए । आयोजना केसी कन्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । २ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण विद्युत उत्पादन गरिरहेकोे छ । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बुढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ । नदीको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ७ रुपैयाँ र बर्खायाममा प्रतियुनिट ४ रुपैयाँका दरमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा विद्युत प्राधिकरणले साढे २ सय मेगावाट बिजुली थप हुने जानकारी दिएको छ । गत वर्ष ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली थप भएको थियो । हालसम्म १० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निर्माण गरेको चमेलिया मंसिरको दोस्रो साता र कुलेखानी माघको पहिलो साता सम्पन्न हुने छन् । –––
चिकित्सा शिक्षा अध्यादेश पेश भएको एक साता बितिसक्दा पनि राष्ट्रपतिबाट प्रमाणिकरण भएन्
काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेका एक साता बितिसक्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएको छैन। प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्नलाई सरकारले अध्यादेश पारित गरी ८ दिन अघि प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलय पठाएको थियो । संसदबाट पारित गरिएको विधेयक पेश भएको केही दिनभित्रै प्रमाणिकरण हुने गरेकोमा चिकित्सा विद्ययेक एकसाता बढी भइसक्दा पनि प्रमाणिक नभएकाले फिर्ता आउने संभावना बढेको छ । राष्ट्रपतिबाट अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ । अध्यादेश प्रमाणिकरण भएको ६ महिनामा संसदबाट पारित हुनुपर्छ । प्रस्तावित अध्यादेशमा निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न निषेध गरेको छ । अध्यादेशमा एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने कानूनी व्यवस्था गरेपछि सरकार स्वामित्वको त्रिभुवन र काठमाडौ विश्वविद्यालयले नपाउने भएका छन् । प्रस्तावित अध्यायदेशमा नयाँ मेडिकल कलेज खोल्नका लागि थुप्रै अड्चनहरु राखिएका छन् । विश्वविद्यालयले एक जिल्लामा एक भन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्था प्रस्तावित अध्यादेशमा गरिएको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृतिपत्र लिई आफ्नै अस्पताल पूर्णरुपमा सञ्चालन गरेको ३ वर्षको अवधि पूरा भएपछि मात्र मेडिकल कलेज सञ्चालनका लागि अनुमति पाइने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार मेडिकल कलेज खोल्ने लगानीकर्ताले पहिला अस्पताल सञ्चालन गरेपछि मात्र पाउने भएका छन् । काठमाडौं, ललितपुर र भत्तपुर जिल्लामा मेडिकल कलेज खोल्न प्रतिवन्ध लगाइएको छ । अध्यादेश कार्यन्वनमा आएको १० वर्षसम्म राजधानीको ३ जिल्लामा मेडिकल कलेज खोल्न सम्बन्धन नपाइने व्यवस्था गरिएको छ । १० वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा चिकित्सा शिक्षा सम्वन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना नहुने स्पष्ट व्यवस्था गरिएको छ । नयाँ मेडिकल कलेजले कम्तीमा ३ सय तथा डेन्टल र नर्सिङतर्फ १ सय शैयाको अस्पताल पूर्ण रूपमा सञ्चालन नगरेसम्म सम्बन्धित विषयको कुनै कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
विद्यासुन्दर शाक्यले भने- ‘पुरातत्वकै सल्लाहमा बागदरबार भवन भत्काउने निर्णय भयो’
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बागदरबार परिषरभित्रको भवन भत्काई नयाँ भवन बनाउने भएका छन् । शाक्यले पुरातत्व विभागकै सल्लाह अनुसार भवन निर्माणको प्रक्रिया अगाडी बढाइएको दाबी गरेका छन् । महानगरपालिकाले निर्माण गर्ने भनिएको भवन ‘ऐतिहासिक बागदरबार’ नभई बागदरबार परिसरभित्र रहेको ‘हरि भवन’ र ऐतिहासिक दरबार नभएको शाक्यले बताए । ‘यसमा प्रयोग गरिएका ईट्टाहरुमा श्री ३ जुद्द शमशेरले १९९१ लेखिएकाले यो भवन १९९० पछिनै बनेको प्रमाण छ,’ उनले भने, ‘हालको भवन ९० सालको भुकम्पपछि पुरानो दरबार रहेको जगमा नभई नयाँ स्थानमा निर्माण भएको छ ।’ पुरातत्व विभागले ‘महानगरपालिकाका प्रमुख कारबाही गर्ने’ भन्ने समाचार तथ्यहिन रहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले पुरातत्वकै सल्लाह अनुसार काम अघि बढाएका हौं । बाहिर आएका कुरा तथ्यहिन छन् ।’ महानगरपालिका आफ्नै भवन अभावमा जेडी कम्प्लेक्समा भाडाको कोठामा सञ्चालन गरिरहेको छ । स्थानिय तहलाई संविधानले प्रदान गरेको जिम्मेवारी पुरा गर्न सुविधा सम्पन्न र व्यवस्थित केन्द्रिय प्रशासनिक भवन बनाउनु अत्यन्त आवश्यक रहेको शाक्यले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम महानगरपालिका क्षेत्र भित्र प्रचलित मापदण्ड अनुसार भवन निर्माण गर्न अनुमती दिने अधिकार पनि स्वयम् काठमाडौं महानगरपालिकालाई दिइएको उनले प्रष्ट पारे । स्थानीय व्यवस्थापिकाको रुपमा रहेको नगर सभाले र कार्यकारीणि अंग नगर कार्यपालिकाले बागदरबारमा रहेको जिर्ण भवन भत्काई नयाँ भवन बनाउन सर्वसम्मतरुपले निर्णय गरी बजेट विनियोजन समेत गरेको उनले जानकारी दिए ।
“प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७” प्रतियोगिताका लागि आवेदन खुला, १८ देखि ३० वर्षका पुरुषले भाग लिन पाउने
काठमाडौं । प्रोस्टाइल र ग्रुपअफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ आयोजना गर्ने समझदारी भएको छ । प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको हाे । यो कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम मंसिर ८ गतेसम्ममा सुनधारास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइ सक्नुपर्नेछ । यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३० वर्षका नेपाली युवाहरू हुनुपर्नेछ जसको उचाइ ५ फिट १० इन्चभन्दा बढी र कम्तीमा स्नातकपास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले १४ पुस २०७४ मा हायत रिजेन्सीमा हुनेछ । विजेताले म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टर ग्लोबल २०१८ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१८ मा भाग लिनेछन् ।
काँग्रेसको महत्वकाँक्षी घोषणाः १० प्रतिशतको आर्थिक वृद्धि, १ सय खर्बको अर्थतन्त्र
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि १० वर्षमा मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने महत्वकाँक्षी योजनाकासाथ चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले घोषणापत्र सार्वजनिक गरेका छन् । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने चुनावी मुल नारा घोषणापत्रमा राखिएको छ । घोषणापत्र वाम गठबन्धनको चर्को आलोचना गरिएको छ । के के छन काँग्रेसको घोषणा पत्रमा ? पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस काँग्रेसले रोजगार, उर्जा, गरिवी न्युनिकरण, कृषि, पर्यटनको विकासलाई जोड दिएको छ । काँग्रेसले आगामी १० वर्षभित्र गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा सीमित गर्ने भनेको छ । हाल गरिवीको संख्या २१.६ प्रतिशत रहेकोमा यसलाई घटाएर आउदो १० वर्षमा ३ प्रतिशतमा सीमित गर्ने उल्लेख गरिएको छ । पार्टी निकट अर्थशास्त्रीहरुले घोषणापत्र तयार पारेका हुन् । गरिवी घटाउनका लागि अनुदान, न्युनतम रोजगारीको प्रत्याभूति, सुरक्षाका प्याकेज र आधारभूत आय निश्चित गर्ने घोषणापत्रमा उल्लेख छ । एक दशकमा औसत १० प्रतिशत आर्थिक वृद्धि हासिल गरी मध्यम आय भएको मुलुक बनाउने योजना रहेको घोषणापत्रमा छ । यस्तै कृषिको आधुनिकीकरण गरी उत्पादन दोब्बर बनाउने, तराइमा थप १ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने, पर्यटनको विकास गरी ३२ लाख विदेशी पर्यटक भित्राउने योजना घोषणापत्रमा समेटिएका छन् । आउदो १० वर्षमा थप ८ वटा केवलकार निर्माण, उद्योगको विस्तार गरी चुलिरहेको व्यापार घाटा कम गर्ने, यवालाई उद्यमशिलता बनाउन आफनै लगानी, अनुदान र सहुलियत ऋणको योजना ल्याउने योजना काँग्रेसको छ । घोषणापत्रमा २६ खर्ब रुपैयाँ रहेको नेपालको अर्थतन्त्रको आकारलाई बढाइ आउदो ५ वर्षमा ५० खर्ब र १० वर्षमा १ सय खर्ब रुपैयाँ पुर्याउने काँग्रेसको लक्ष्य रहेको छ । आगामी ५ वर्षमा प्रतिव्यक्ति आय हालको ९१ हजार रुपैयाँबाट बढाएर वार्षिक डेढलाख रुपैयाँ पुर्याउने योजना लिएको छ । यस्तै ऊर्जाको विकास गर्नका लागि काँग्रेसले आउदो ३ वर्षमा ऊर्जा संकट समधान गर्ने लक्ष्य लिएको छ । आउदो ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ । १६ वर्षमाथिका सबै जनसंख्याको बैंक खाता हुने, ७५ प्रतिशत जनसंख्या आधुनिक सहरमा हुने उल्लेख छ । मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन वर्षिक ५ खर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने योजना काँग्रेसको छ । काँग्रेसले आउदो १० वर्षमा आर्थिक वृद्धि उच्च हुने अनुमान गरेको छ । वाम गठवन्धन प्रति निकै आक्रमक देखिएका काँग्रेसले यसलाई समृद्धिको वाधक भनेको छ । अस्थिर राजनीतिकको लाभ खोज्ने, वैचारिक विचलन र अवसरवादी पार्टी भनेर माओवादी केन्द्रलाई आरोप लगाएको छ । उसले मुलुकको अर्थतन्त्रको वृहत सुधार र वित्तीय अनुशासन ध्वस्त हुनुमा वामपन्थीको शासन प्रमुख कारण रहेको दावी गरेको छ । यस्तै काँग्रेसले मुलुकभर ५ वटा अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना समेटिएको छ ।
१५० करोड लागतमा यस्तो बन्दैछ महानगरपालिकाको हरिभवन, तयार भयो डिजाइन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरि भवन पुननिर्माण गर्ने भएको छ । मंगलबार महानगरपालिकाले हरि भवनको डिजाइन सहितको स्केच तयार पारेको छ । महानगरले ४२ महिनाभित्रै कार्य सम्पन्न हुने गरी निर्माण गर्ने तयारी गरेको छ । २ लाख वर्ग फुट क्षेत्रफलमा निर्माण हुने यो भवनको १ सय ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवनको डिजाइन मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । भवनको बाहिरी मोहडा तीनवटा मौलिकता झल्कने गरी डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आआफ्नै मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ बन्ने भवन पुरानो बागदरबारको आकारमा तीन तल्लाको मात्र हुनेछ । यसको एतिहासिक मौलिकता कायम गर्न खोजिएको र यो ब्लक भित्र फिनिसिङहरु पनि पौराणिक शैलीमा निर्माण गरिएको छ । मल्लकालिन चोकहरु भवनभित्र चार वटा मल्लकालिन परम्परागत शैलीका चोकहरु हुनेछन् । ती चोकहरुले काठमाडौमा लोप हुँन गइरहेको पुरातात्विक चोकहरुको पूर्ण स्वरुप झल्कने गरी डिजाइन गरिएको महानगरले जानकारी दिएको छ । मोहडाको दोस्रो भागमा लिच्छवीकालिन शैलीको डिजाइन अनुसार तयार पारिएको छ । यो भवन साढे ६ तल्लाको हुनेछ । त्यस्तै तेस्रो भागमा महानगरपालिकाको छुट्टै पहिचान दिने भ्यू टावर पनि निर्माण गरिएको छ । १५ तल्लाको माथिल्लो तल्लाबाट उपत्यका लगायतका विभिन्न हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने र विपद व्यवस्थापनका लागि बाइनाकुलर मार्फत महानगरपालिकाका घटनाक्रमहरु अवलोकन गरी विपद न्युनिकरण गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ । भवनभित्र सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन तयार पारिएको छ । डिजाइनमा प्रदर्शनी हल, पुस्तकालय, लिफ्टको पनि व्यवस्था गरिएको छ । नयाँ बन्ने भवन अपाङ्ग मैत्री रहेको छ । यसमा अपाङ्गमैत्री र्याम्प र पार्किङको पनि व्यवस्था छ । त्यस्तै दृष्टिविहिनहरुका लागि फ्लोरहरुमा सांकेतिक टाईलको व्यवस्था गरिने छ भने लाइब्रेरीमा ब्रेल लिपि पुस्तकहरुको पनि व्यवस्था गरिने महानगरपालिकाले जानकारी दिएको छ । पार्किङ महानगरपालिकाका अनुसार पार्किङका सम्बन्धमा भूमिगत तल्लामा १ सय वटा गाडी र १ सय वटा मोटरसाइकल अट्ने सुविधा राखिनेछ । जसमा भविष्यमा अर्को १ तल्ला गाडीको पार्किङ थप्न मिल्ने पनि व्यवस्था गरिनेछ । ग्राउण्डमा भने ५० वटा गाडी र करिब २ सय वटा मोटरसाइकल अट्न सक्ने पार्किङको पनि सुविधा रहनेछ । संग्राहलय भवनमा काठमाडौं महानगरपालिका भित्रका पौराणिक कालदेखि लोप हुँदै गएका सम्पदा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्राहलयको पनि व्यवस्था गरिनेछ। उक्त संग्राहलय सर्वसाधारणका लागि पनि खुला गरिने महानगरले जानकारी दिएको छ ।