हुम्लाका २०० कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र
हुम्ला । दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए । “कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उनले भने । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताए । जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताए । “बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उनले भने । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् । रासस
स्थानीय तहले ७५३ गाडी किन्न मागे २ खर्ब, अर्थले भन्यो-दिन सकिन्न
काठमाडौं । स्थानीय तहहरुले कार्यलय प्रयोजनका लागि आवश्यक परेको भन्दै गाडी किन्नलाई २ खर्ब रुपैयाँ बजेट मागेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा गाडी खरिद किन्न बजेट माग भएको हो । कार र जीपदेखि ट्रक र बससम्म खरिदका लागि बजेट मागको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अत्यावश्यक भएको र बजेट पनि नभएकाले गाडी किन्न थप रकम आवश्यक भएको स्थानीय तहले बताएका छन् । बजेट माग गरेपनि अर्थ मन्त्रालयले गाडी किन्नलाई थप बजेट दिन नसक्न बताएको छ । स्थानीय विकास मन्त्रालयमार्फत गाडी किन्न प्रस्ताव आएको अर्थका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए । स्थानीय तहलाई बजेट पठाइसकेकाले गाडी किन्न थप बजेट दिन नसक्ने अवस्था रहेको उनले बताए । विकासन्युजसंग कुरा गर्दै उनले भने “स्थानीय तह आफै सरकार भएकाले गाडी किन्न अब केन्द्रबाट बजेट दिनु उचित हुदैन् ।” अधिकांश स्थानीय तह गाडी किन्नलाई आर्थिक रुपमा सक्षम भएको उनको दावी छ । “केही तहलाई समस्या भएको हुन सक्छ” उनले भने “यो वर्ष बजेट छैन भने अर्को वर्ष किने हुन्छ । अब गाडी किन्नलाई केन्द्रले दिन सक्दैन ।” भण्डारीले स्थानीय तहलाई बजेट विनियोजन गरेर पठाइसकेको जानकारी दिए । गाडी खरिदका लागि बजेट दिने विषयमा अर्थले कुनै निर्णय नगरेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा सरकारले पहिलाको ७४४ र पछि थप भएका समेत गरी ७५३ तहलाई समानिकरण अनुदान र सशर्त अनुदान गरी २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरी सम्बन्धित तहमा पठाइसकेको छ । पूर्व अर्थसचिव शान्तराज सुवेदी विभिन्न कारणले गर्दा संघीयता महंगो भएको बताउदै आएका छन् । उनले संघीयता व्यवस्थापन गर्न मात्रै १६ खर्ब रुपैयाँ लाग्ने बताएका छन् । स्थानीय तह, केन्द्र प्रदेशगरी तीन तहको निर्वाचन यो रकम लाग्ने उनको भनाई छ । अर्थका अनुसार स्थानीय तहको व्यवस्थापनका लागि मात्रै ८ खर्ब २० अर्ब रुपैयाँ बजेट लाग्ने छ । यस्तै प्रदेशसभा व्यवस्थापनका लागि पनि ठूलो धनराशी आवश्यक पर्ने मन्त्रालयको भनाई छ । स्थानीय तह र प्रदेशमा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिद तथा सुरुवाती वर्षका सेवा प्रवाहका लागि थप रकमको बजेट माग भएको छ ।
सेयर बजार निरन्तर ओरालो, ४२ करोडको कारोबार
काठमाडौं । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ०२ अंकले घटेर १५२६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १५९ कम्पनीको १० लाख ३१ हजार कित्ता सेयर ४२ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन उत्पादन मूलक समूह र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समुहको परिसूचक ४९ अंकले ओरालो लागेको छ । आजदेखि नै छुट्टिएका विकास बैंक र लघुवित्त समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन विकास बैंक समूह १३ र लघुवित्त समूह १२ अंकले ओरालो लागेका छन् । बजारमा राष्ट्रिय बीमा कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार उक्त सेयरको मूल्य प्रतिकित्ता १६ हजार ५१० रुपैयाँ रहेको छ । बुधबार मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । भार्गव विकास बैंकका लगानीकर्ताले भने ७ प्रतिशत गुमाएका छन् ।
दरबारमार्गका ८ ब्राण्डेड पसल सञ्चालक पक्राउ, ठगी गरेको अभियोगमा कालोबजार ऐनअन्तर्गत मुद्धा चलाइने
काठमाडौं । राजधानीको केन्द्र दरबारमार्ग क्षेत्रमा ब्राण्डेड सामानका नाममा उपभोक्ता ठगी गरेको भन्दै प्रहरीले ८ वटा पसलका सञ्चालकलाई पक्राउ गरेको छ । केही दिनयता फरार रहेका भनिएका ती व्यापारीलाई महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारवाही गरिने भएको छ । उपभोत्ता ठगि गरेको अभियोगमा पक्राउ परेका ८ जना व्यापारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको एसएपी रविन्द्र धानुकले बताए । प्रहरीले वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, लेवल्स स्टोरका सुवास महर्जन, दिपेन्द्र महर्जन, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, एडभेन्चर आउटडोरका रोशन ओडारी, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, लाइफ स्टाइल इन्टरप्राइजेजका श्रीकृष्ण महर्जन, प्लाटिनम ट्रेडका प्रवीन झा, रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारीलाई पक्राउ गरिएको छ ।पक्राउ पर्ने सबैलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । दरवारमार्गमा रहेका ब्राण्डेड पसलेले अकुत नाफा गरी उपभोत्ता गरेको पाइएपछि तत्कालिन वाणिज्यमन्त्री शिवकुमार मण्डल आफै अनुगमनमा गएका थिए ।
चितवनका बाढीपीडितलाई जर्मनीबाट आर्थिक सहयोग
चितवन । चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट चार लाख ४० हजार रुपैयाँ सहयोग भएको छ । रत्ननगर नगरपालिका-८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो । गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो । विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिए । नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई खुशी लागेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। जर्मनीका प्राध्यापक डा दाउसको नेतृत्वमा स्थापना भएको अफ्रिका-लुज द-इचलान नामक संस्थाले अफ्रिका र नेपालमा निःशुल्क आँखा शिविर र आँखाको शल्यक्रियासमेत गर्दै आएको छ । नेपालमा ग्रिन सोसाइटी सौराहाको विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उक्त संस्थाले यसअघि भूकम्पपीडितलाई समेत सहयोग गरेको उपाध्यक्ष बेर्नाले जानकारी दिएका छन् । उक्त संस्थाकी व्यवस्थापक इसावेल हाउसटाइनले यो सहयोगले बाढी प्रभावितलाई केही भने पनि राहत मिल्ने उल्लेख गरे । उनीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर आज सहयोग हस्तान्तरण गरेका थिए । साउन २८ गते आएको बाढीले चितवनका सौराहा क्षेत्र बढी प्रभावित बनाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका-८ का वडाध्यक्ष विनोद बस्नेतले विदेशबाट आएर राहत सहयोग गर्नु महत्वपूर्ण कुरा भएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । रासस
बैंक खातामै नगद लाभांशः लगानीकर्ताले रुचाएनन् कि नियामकले चाहेनन् ?
काठमाडौं । ‘धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको बैंक खातामै नगद लाभांश दिने व्यवस्था मिलाउन भनेको धेरै समय बित्यो तर अझै अधिकांश लगानीकर्ता नगद लाभांश चेक मै माग्दै आउँछन्’, यो भनाई हो एनआइबिएल क्यापिटलका जनरल मेनेजर मेखबहादुर थापाको । थापाका अनुसार नियामकको कमजोर निर्देशन र बैंक खातामै नगद दिने व्यवस्था प्रति लगानीकर्तामा विश्वास बढाउन नसक्दा त्यस्तो भएको हो । ‘डिम्याट खाता अनिवार्य गर्न भनियो, लगानी कर्ता पनि ताते, हामीले पनि काम गर्यौ, तर बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक भएन, त्यसैले लगानीकर्ताले पनि खासै चासो देखाएन र हामीले पनि सोचे जस्तो काम गर्न सकेनौं’, एनआइबिएल क्यापिटलका जनरल मेनेजर थापाले विकासन्युजसँग भने । एनआइबिएलबाट हालसम्म १५ प्रतिशत जति लगानीकर्ताले नगद लाभांश बैंक खातामै पाईरहेका छन् । बाँकी लगानीकर्ता भने अझै पनि नगद लाभांशका लागि चेक माग्दै आउने गरेको उनले जानकारी दिए । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक नभएको बताए । ‘बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक होइन, पुराना डिम्याट खाताहरु पनि धेरै छन, त्यसैले अभ्यास गर्दै जानुपर्छ भनेर नरम खालको निर्देशन दिएका हौं’, प्रवक्ता गिरीले भने । सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि पुराना डिम्याट खातावालहरुले न्युन मात्रामा बैंक खाता अद्यावधिक गरेको बताए । ‘नयाँ डिम्याट खाताका लागि बैंक खाता अनिवार्य गरेका छौं तर पुराना खातावालहरुले बैंक खाता अद्यावधिक गर्न खासै रुचि देखाएका छैनन्’, सिडिएसका सिइओ गुप्ताले भने । कसले कहिले के भन्यो बैंक खातामै नगद लाभांश बारे ? नेपाल धितोपत्र बोर्डले २०७३ साल भदौ ७ गते नै लगानीकर्तालाई नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको थियो । सिडिएसले २०७३ चैत मसान्त भित्र पुराना डिम्याट खातावालाहरुलाई बैंक खाता उपलब्ध गराउन भनेको थियो । २०७३ साल पुस १२ गतेपछि खोलिएको डिम्याट खाताहरुमा बैंक खाता अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७३ मार्फत नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न भनेको थियो । के गर्नुपर्छ बैंक खातामै नगद लाभांश पाउन ? लगानीकर्ताले बैंक खातामै नगद लाभांश प्राप्त गर्नका लागि डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्नुपर्छ । अर्थात २०७३ साल पुस १२ गते अघि नै खोलिएका डिम्याट खाता धनीहरुले बैंक खाता उपलब्ध गराउनु पर्छ । नयाँ डिम्याट खाता भने बैंक अकाउण्ट बिना खोल्नै नपाउने व्यवस्था छ । धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको नरम निर्देशन र बैंक खातामै नगद लाभांश पाइने तथ्यमा लगानीकर्ता विश्वस्त नहुदा योजना अपेक्षाकृत रुपले सफल नभएको हो ।
बुधबार मात्रै सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबार सिद्धार्थ इन्स्योरेन्सको बोनस र भार्गव विकास बैंकको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । त्यस्तै, भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस बैंकको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँ रहेको छ ।
हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक १४ गते बसेको कम्पनीको ३४९औँ संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब ११ करोड रुपैयाँ नाघ्ने छ ।