विकासन्युज

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार…

लेखक कुनै बेला गायक कृष्णविक्रम थापाले गाएका थिए, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, र्मायो नि मायाले र्मायो..।’ यही गीतले चिनायो सिन्धुलीगढीलाई । सिन्धुलीगढी २२० बर्षदेखि वीरताको इतिहास बोकेर त्यतिकै ठिंग उभिइरहेको छ । एक छिन फर्कौं इतिहासतिर । विक्रम संवत् १८२४ सालमा अंग्रेज फौजलाई तत्कालीन बीर गोर्खाली फौजले हराएको थियो यस स्थलमा । कहिल्यै पराजित नभइ संसारमा साम्राज्य खडा गर्दै हिँडेको बेलायतलाई हराएको पनि यस बर्ष २५० बर्ष पुगेछ । इतिहास लेख्नेहरु भन्छन्, यस स्थलमा गोर्खालीले बलले भन्दा बुद्धिले लडाईं लडेका थिए । त्यसैले उनीहरुले कम्पतान किनलकको नेतृत्वको अंग्रेजी फौजलाई परास्त गर्न सके । महाभारत डाँडामा रहेको यो स्थल सामरिक दृष्टिले पनि महत्वपूर्ण छ । अंग्रेज फौज तराइ हुँदै आएका थिए । गोर्खाली सेना पहाडको टुप्पामा किल्ला जमाएर बसेका थिए । अंग्रेजहरु जसै उकालो अगाडि बढे, गोर्खालीले अरिंगालको गोलामा ढूंगा हानिदिए । ढुंगाले लागेर बिच्किएका अरिंगा अंग्रेजी फौजमाथि खनिए । त्यतिखेर त्यस भेगमा अल्लो, सिस्नु प्रसस्त पाइन्थ्यो, अहिले पनि पाइन्छ । त्यही सेउलाले अरिंगाललाई धपाउन खोज्दा अंग्रेज फौजलाई झन् पोल्यो । भनिन्छ, त्यतिखेर अंग्रेजी फौज ‘झिँगै (अरिंगाललाई सायद उनीहरुले फ्लाइ भने होलान्) बैरी, पातै (अल्लो सिस्नु) बैरी, मान्छेको त के कुरा गर्नु’ भन्दै लडाईं छाडेर भागेका थिए । त्यतिखेर किनलकको नेतृत्वमा आएको २४०० अंग्रेज फौजलाई गोर्खालीले परास्त गरेको इतिहास छ । गोर्खाली सेनाको नेतृत्व वंशु गुरुङले गरेका थिए । अंग्रेजी फौजको यो संसारमै पहिलो हार थियो । यस स्थलमा त्यतिखेर अंग्रेजी फौजलाई परास्त नगरेको भए अहिलेको नेपालको नक्साको आकार कस्तो हुन्थ्यो भनेर अनुमान मात्र गर्न सकिन्छ । सिन्धुलीगढी इतिहास बोकेको स्थल भएकाले आफैंमा हरेक नेपालीको गन्तब्य स्थल हुँदै हो, त्यसमा पनि यसको अवस्थिति, हावापानी, यातायातको सुगकमता र प्राकृतिक वातावरणले समेत यसलाई प्रदेश नम्बर ३ को एक मात्र गन्तब्य बन्न सक्ने सम्भावना छ । काठमाडौंबाट धुलिखेल हुँदै बिपी राजमार्ग भएर सिन्धुलीगढी पुग्न सकिन्छ । सुनकोशी तिरैतिर भएर जाने नागवेली सडक आफैंमा एउटा गन्तब्य हो । काठमाडौंबाट सार्बजनिक सवारी साधनमा ४ घन्टामा सिन्धुलीगढी पुग्न सकिन्छ । आफ्नै सवारी साधन हुनेहरु ३ घण्टामै पुग्न सक्छन् । पूर्वी तराईबाट आउँदा पूर्वपश्चिम राजमार्गको बर्दिबासबाट बढीमा दुई घन्टामा सिन्धुलीगढी पुग्न सकिन्छ । महाभारत डाँडमा रहेको यस स्थलबाट तराईका फाँट र उत्तरका हिमालको रमणीय दृश्य हेर्न सकिन्छ । गढी डाँडोमा पुग्ने बित्तिकै सबैको फुरुङ्ग हुन्छ । तराईमा चर्को गर्मी हुने बेला यहाँ आउनेहरु शितल अनुभूति गर्न सक्छन् । यहाँ कहिल्यै गर्मीको अनुभूति हुँदैन । चिसो, मन चंगा बनाउने हावाले पर्यटकलाई लोभ्याउँछ । गढीमा सधैं हुस्सुले लुकामारी खेलिरहेको हुन्छ । सिन्धुलीगढी वरपरका गाउँ जुनार उत्पादनका लागि प्रसिद्ध छन् । हिमालतिर फकिएका उच्च पहाडमा हुने रसिलो जुनारले सिन्धुली जिल्लालाई मुलुकमा मात्रै हैन विदेशमा समेत चिनाएको छ । जुनरको विकास र विस्तारमा जापान सरकारले समेत लगानी गरेको छ । सिन्धुलीगढी पुग्ने हरेक ब्यक्तिले खनियाँखर्क, सोलाभञ्ज्याङमा जुनार किन्न पाउँछन् । अलि पर घुम्न जानेहरुले चपौली, खनियाँखर्क लगायतका गाउँमा आफ्नै हातले जुनारसुन्तला टिपेर खान पाउँछन् । सिन्धुलीगढी जानेहरुलाई लक्षित गरेर खनियाँ खर्कमा केही होटल खुलेका छन् । समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्ड र सिन्धुली उद्योग बाणिज्य संघसँगको सहकार्यमा गढीवरपरका गाउँबस्तीमा होमस्टे संचालन गर्न तालिम दिएको छ । महोत्सवका बेलासम्म ती होमस्टेसमेत संचालनमा आउने छन् । गढीपरिसरमा सिद्धबाबाको मन्दिर दर्शन गर्न पाइन्छ । त्यहाँ रहेको ११२ वर्ष पुरानो घण्टी मदिन्दरको आकर्षण हो । गढीवरपर वनभोज स्थल बनाइएको छ । तराइबाट समेत यहाँ बनभोज खान धेरै ब्यक्ति आउँछन् । गढीको संरक्षणमा पछिल्लो समय निकै प्रयास भएको छ । मुलक संघीयतामा गएपछि सिन्धुलीगढी कमलामाइ नगरपालिकाको स्वामित्वमा आएको छ । नगरपालिकाले गढीको संरक्षणका लागि गुरुयोजना बनाउने तयारी गरेको छ । यसअघि वेवारिसेजस्तै रहेको गढीमा अहिले तारबार गर्ने तयारी भएको छ । वीपी राजमार्गको सोलाभञ्ज्याङबाट गढी पुग्ने बाटोलाई स्तरीकरण गरिएको छ । अहिले सिँढी उक्लिएर १० मिनटमा र आफ्नै सवारी साधन लिएर ५ मिनटमा गढी पुग्न सकिन्छ । गढी संरक्षणमा पछिल्लो समय नेपाली सेनाले समेत चासो देखाएको छ । सेनाले त्यस क्षेत्रको सरसफाइ गर्नुका साथै इतिहास झल्काउने विभिन्न सामग्रीलाई होर्डिङ बोर्ड बनाएर राखेको छ । विभिन्न ऐतिहासिक स्थलको जानकारी दिने साइनेज बनाएर ती ठाउमा राखिएको छ । सेनाले बनाएको ऐतिहासिक सिन्धुलीगढीबारेको बृत्तचित्र घुम्न आउनेहरुलाई दैनिक देखाउने ब्यवस्था मिलाइएको छ । यही स्थलमा हरेक बर्ष विजयको झण्डा फहर्याएको सम्झनामा गढीमा हर्षोल्लासपूर्वक विजयोत्सव मनाउने गरिएको छ । विजयोत्सव सुरु गर्दा कात्तिक २४ गतेलाई विजय हासिल गरेको दिन भनेर सुरु गरिएको थियो । पछि मिति भने केही फरक देखिएको छ । अंग्रेज फौजका केही सदस्यलाई रातु खोलाले बगाएको कुरा इतिहासमा पाइन्छ । त्यसैले त्यो मिति असोजतिर हुने अनुमान केही इतिहासकारको छ । अझै मिति भने यकिन हुन सकेको छैन । जे होस् विजयोत्सव मनाउन सुरु भएको छ । दशैं चैतमा पर्ने भनेर असोज–कात्तिकमा सारे जस्तै असोजमा चाडबाड पर्ने हुनाले सबै काम सकेर कात्तिक अन्तिममा बिजयोत्सव मनाउनु उपयुक्त छ । संयोगले यस बर्ष अंग्रेजलाई हराएको २५० बर्ष पूरा हुँदैछ । यस्तो अबसर न पहिले आएको थियो, न पछि आउने छ । त्यसैले यस बर्षको महोत्सवलाई भब्य बनाउने समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी साइकल यात्रा, कला शिविरलगायतका कार्यक्रम गर्दैछ । काठमाडौंलाई सिन्धुलीसम्म जोड्ने गरी अभियानले गत बर्षदेखि गर्दै आएको साइकल यात्रामा यस बर्ष १५० जनाभन्दा बढी सहभागी हुँदैछन् । साइकल यात्राको उद्घाटन उपराष्ट्रपछि नन्दबहादुर पुनले गर्नु हुनेछ । सिन्धुलीगढीमा हुने विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु हुनेछ । राष्ट्रप्रमुख र उपप्रमुखले ऐतिहासिक सिन्धुलीगढीमा हुने विजयोत्सवलाई महत्व दिएर सहभागिता जनाउने कुराले यसको गरिमालाई अझै बढाएको छ । हरेक नेपाली एक पटक आफ्नो पूर्खाले बीरता देखाएको इतिहास बुझ्न एक पटक सिन्धुलीगढी पूग्नै पर्छ । यस इतिहासलाई पर्यटनसँग जोड्न समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढीलाई ब्रान्डिङ गरेर एडभेन्चर यात्रामा रमाउने विदेशीलाई समेत सहभागी गराउने योजना बनाएको छ । गत बर्ष ८२ जना साइकल यात्री सहभागी भएकामा यस बर्ष ११० भन्दा बढीले सहभागीताका लागि नाम दर्ता गराउनुले यसको महत्व अझ बढेको छ । यस बर्ष ४ जना विदेशी समेत साइकल यात्रामा सहभागी हुनेछन् ।  

मदिरा पिउनुहुन्छ ? त्यसो भए ब्राण्ड होइन गुणस्तर हेर्नुस्, सरकारले ल्याउँदैछ यस्तो मापदण्ड

काठमाडौं । के तपाईं मदिरा (रक्सी) पिउनुहुन्छ ? यदि हो भने ख्याल गर्नुहोस् तपाईंले पिउने मदिरा कत्तिको स्वच्छ छ ? पहिले रक्सीको गुणस्तर, प्याकेजिङ र लेबल हेर्नुपर्छ । मदिरा आफैमा अस्वस्थ्यकर पेय पदार्थ हो । यद्यपी सरकारले मदिरामा स्वच्छता ल्याउन यसको मापदण्ड तयार पारेको छ । मिसावटयुक्त रक्सी सेवनले उपभोक्ताको स्वास्थ्यमा असर पुर्‍याउने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड जारी गर्न लागेको हो । बजारमा ‘ब्राण्ड’ र ‘लोकल’ भनेर थुप्रै मदिरा कम्पनीहरुले आफ्नो उत्पादन बिकाउन प्रचार गरिरहेका हुन्छन् । मिसावटका कारण रक्सी पिउने मानिस बिरामी हुनथालेपछि यसको मापदण्ड बनाइएको  विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । मादण्डको मस्यौदा तयार पारेर विभागले कृषि विकास मन्त्रालय पठाएको उनले जानकारी दिए । उनले भने, ‘सुरुमा यो मापदण्डमाथी सम्बन्धित मन्त्रालयमा छलफल हुन्छ । त्यसपछि यसलाई राजपत्रमा प्रकाशित गर्न सिफारिस गरिन्छ ।’ के छ रक्सीको मापदण्ड ? मुलभुतरुपमा सबै मदिराका लेबलमा स्वास्थ्यसम्बन्धी कुनै पनि भ्रामक कुरा दाबी गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै लेबलमा उत्पादन र उपभोग्य मिती खुलाउन अनिवार्य गरिएको छ । मदिरामा इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयातनको आधारमा, २० डिग्री सेल्सियस तापक्रममा) सम्म तोकिएको छ । लेबलमा उल्लेख गरिएभन्दा ३ प्रतिशत घटबढमा छुट दिइएको छ । मदिराको उत्पादन तथा कारोबार कोडेक्सले निर्धारण गरेको आचारसंहिताका प्रावधान अनुसार हुनुपर्छ । रक्सीको लेबलमा अन्य खाद्यान्न जस्तै उत्पादकको परिचय, दर्ता नम्बर, खूद परिमाण र उपभोग्य मिती अनिवार्य गरिएको छ । विभागले मदिरा अन्तर्गत ह्विस्की, रम, ब्राण्डी, भोड्का र जीनलाई राखेको छ । यी विभिन्न प्रकारका मदिराहरुलाई छुट्टाछुट्टै परिधी दिइएको छ । ह्विस्की कुनै पनि अन्न वा स्टार्चजन्य खाद्य पदार्थहरुलाई जीव रासायनिक प्रकृयाबाट किन्वन पछि डिस्टिलेसन गरि ह्विस्की तयार पारिन्छ । यसमा चारित्रिक स्वाद तथा बास्ना हुनुपर्नेछ । म्याचर्ड (परिपक्व) भनि लेखिएको ह्विस्कीलाई कम्तीमा १ वर्षसम्म ओकको भाडा भण्डारण गरिएको हुनुपर्छ । ह्विस्कीमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु बर्जित गरिएको छ । रम उखुको रस/उखुको अन्य उत्पादन, सुगर बिट वा सुगरबिट मोलासिसजन्य खाद्य पदार्थलाई किण्वन गरी डिस्टिलेसन प्रकृयाबाट रम तयार पारिन्छ । मापदण्डमा रम सब जिरो तापक्रमसमेतमा पनि थिग्रो वा कुनै पनि प्रकारका सस्पेन्डेड पदार्थ रहित हुनुपर्ने उल्लेख छ । म्याचर्ड (परिपक्व) भनि लेखिएको रमलाई कम्तीमा १ वर्षसम्म काठको भाडा भण्डारण गरिएको हुनुपर्छ । काठको भाडोमा परिपक्व गरिएको रममा काठको स्वभाविक रंग आउनुपर्छ । यसमा केरामेल बाहेक अन्य रंग प्रयोग गर्न पाइनेछैन । रममा कुनैपनि थिग्रेको वा तैरेको वस्तु हुनुहुदैन । रममा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु बर्जित गरिएको छ । भोड्का आलु, अन्न, मोलासिस वा किन्वन हुने कार्बोहाइड्रेटजन्य पदार्थलाई किण्वन गरी डिस्टिलेसनमार्फत न्यूट्रल स्पिरिटबाट भोड्का तयार पारिन्छ । यसमा पनि अन्य मदिराझैं क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु प्रतिबन्ध लगाइएको छ । ब्राण्डी अंगुर वा अन्य कुनै फलफुलको किण्वत रसलाई डिस्टिलेसन गरी ब्राण्डी तयार पारिन्छ । ब्राण्डी तीन प्रकारका छन् : अंगुरको ब्राण्डी, फलफुलको ब्राण्डी र ब्लेन्डेड ब्राण्डी । यसलाई १ हजार लिटर भन्दा कम क्षमता भएको ओकको भाडामा परिपक्व गरिएको ब्राण्डी कम्तीमा ६ महिना भण्डारण गरिएको अनिवार्य हुनुपर्दछ । यसमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरुको मिसावटलाई प्रतिबन्ध लगाइएको छ । जीन जुनिपर बेरीको वाष्पशील तत्वको स्वाद भएको न्यूट्रल स्प्रिटबाट जीन तयार गरिएको हुन्छ । यो संग्लो हुनुपर्छ र स्वच्छ पानीमा राख्दा धमिला हुनुहुदैन । यसमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरुको मिसावटलाई प्रतिबन्ध लगाइएको छ ।  

प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पुँजीको १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित भएको छ । साथै, कम्पनीको सो मात्राको बोनस पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनी सञ्चालक समितिको निर्णय पारित भएको छ । उक्त निर्णयलाई कात्तिक २१ गते बसको कम्पनीको २२ औं वार्षिक साधारण सभाले पारित गरेको छ । सभाले पारित गरे बमोजिम कम्पनीले १९.२० प्रतिशत बोनस पश्चात कायम हुने पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको पुँजी वृद्धिको लागि सो मात्राको बोनस र हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७३÷०७४ मा खुद मुनाफा १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले ८३ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

भूकम्प पीडितले अब निर्ब्याजी ३ लाख ऋण पाउने, ऋणको अवधी बढीमा ५ वर्ष हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई सामूहिक जमानिमा ३ लाख रुपैयाँ निर्ब्याजी कर्जा उलपब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मंगलबार निर्देशन जारी गरी भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानिमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बमोजिम काम गर्न भनेको छ । निब्र्याजी कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाले ऋणीसंग शुल्क लिन नपाउने, ऋणीले कर्जा सुरक्षा निगमबाट सुरक्षण गरेको हुनुपर्ने, निब्र्याजी कर्जाको भुत्तानी अवधि न्युनतम ३ वर्षदेखि ५ वर्षसम्म मात्र हुने राष्ट्र बैंकले जनाएको छ । भूकम्प पीडितलाई दिने निब्र्याजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले विपन्नमा गणना गर्न पाउने व्यवस्था गरेको छ । कर्जाको लागतमा २ प्रतिशत थप गरी ब्याज दर कायम गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ । मन्त्रिपरिषदले गत बैशाख २९ गते कार्यविधि स्वीकृत गरेको हो ।

एनआईसी एशिया बैंकको थप दुई शाखा जोशीपुर र जाजरकोटमा

काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई नयाँ शाखाहरु जोशीपुर र जाजरकोटमा विस्तार भएको छ । मंगलबार बैंकले एक समारोहकाबीच उक्त दुई शाखाको उद्घाटन गरेको छ । जोशीपुर शाखाको उद्घाटन गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीले समग्र रुपमा गरेका हुन् । त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जाजरकोट शाखाको उद्घाटन गरेका हुन् । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि बुक क्लोज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको कात्तिक २८ गतेदेखि मंसिर १५ बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी मंसिर १५ गते आफ्नो १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले ३१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव लैजाँदै छ ।

अनलाइन सेयर कारोबार २०७५ साल जेठपछि मात्रै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन सेयर कारोबार २०७५ साल जेठबाट मात्रै आरम्भ हुने स्पष्ट पारेको छ । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँदले मंगलबार पत्रकार सम्मेलन मार्फत २०७५ जेठ अघि अनलाईन सेयर कारोबार सम्भव नभएको स्पष्ट पारेका हुन् । ‘यो अन्त्यन्तै प्राबिधिक र जटिल काम हो, केहि समय अदालतको मुद्धा मामिलाले पनि अड्कायो, अब २०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परिक्षण आरम्भ हुन्छ’, साउनले पत्रकार सम्मेलनमा भने । यस अघिका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले आज अर्थात कात्तिक २१ देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए । अदालतले मुद्धा टुंगो लगाएपछि नेप्से सञ्चालक समितिले २०७४ साल बैशाख ६ गतेदेखि लागु हुनेगरि १४ महिनाभित्र अनलाइन सेयर कारोबारको सिस्टम उपलब्ध गराउनुपर्ने समझौता वाइसिओ प्रालीसँग गरेको थियो । सो सम्झौता अनुसार भारतीय कम्पनीले आगामी जेठ महिनाभित्रै अनलाइन सेयर कारोबारको प्रणाली उपलब्ध गराउनेछ भने नेप्सेले परिक्षण कारोबार आरम्भ गर्नेछ । अनलाइन सेयर कारोबारका लागि नेप्सेले सफ्टवेयर निर्माण कर्ता कम्पनीलाई १६ वटा मोडलको सूचि उपलब्ध तयार पारेको छ । सोमध्ये हालसम्म् ६ वटा मोडलको सूचि दिईसकिएको नेप्सेले जानकारी दिएको छ । बाँकी १० वटा मोडल भने केहि समय भित्रै क्रमशः उपलब्ध गराउँदै जाने र सोही अनुसार सफ्टवेयर निर्मार्ता कम्पनीले तयार पर्ने बताईएको छ । नेप्सेले अनलाइन सेयर कारोबारका लागि आवश्यक पर्ने हार्डवेयर भने प्राप्त गरिसकेको छ । नेप्सेले गैर आवासिय नेपालीहरुलाई सेयरमा लगानी गर्ने वातावरण बनाउने, मार्जिन कारोबारका लागि सहजीकरण गर्ने, समयमै साधारण सभा नगर्ने सूचिकृत कम्पनीहरुलाई साधारण सभा गर्न लगाउने लगायतका योजना अघि सारेको छ । त्यस्तै, निर्जिवन बीमा र जीवन बीमा कम्पनीको परिसूचक छुट्याउने योजना बनिरहेको पनि प्रमुख कार्यकारी अधिकृत साउँदले जानकारी दिए । नेप्सेले केहि दिन अघि मात्रै विकास बैंक समुहबाट लघुवित्त कम्पनीहरुलाई अलग गरेर छुट्टै परिसूचक बनाएको थियो ।

सिटिजन्स बैंकको ६६औं शाखा महोत्तरीको औरहीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । मंगलबार यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोबारको सुरुवात गरेका हुन् । हाल यस बैंकको ६६ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका छन् ।