विकासन्युज

माहुली सामुदायिक लघुवित्तको कात्तिक २६ गतेदेखि १४ दिन बुक क्लोज

काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको कात्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि उक्त दिन संस्थाको दर्ता पुस्तिका बन्द गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर ९ गते हुने भएको छ । सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र १० प्रतिशत नगद लभांश) दिने प्रस्ताव लैजाँदै छ । साथै, सभाले सो मात्राको बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । उक्त बोनस र हकप्रद सेयर पश्चात कम्पनीको पुँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौता

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बीच ब्याकान्स्योरेन्स सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पर्शुराम कुवंर क्षेत्रीले तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत इन्स्योरेन्सले जनता बैंक नेपालले बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचँ बिस्तार गर्ने कम्पनीले जनाएको छ । साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ७ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । जस मध्ये “रिलायबल धनपति बीमा योजना” एक हो । यो योजना मार्फत सानो सानो बचतबाट बीमित करोडपति बन्न सक्ने कम्पनीको विश्वास रहेको छ ।

जनता बैंकको लिलामीमा परेको सेयर किन्न आवेदन दिएका ७ सय लगानीकर्ताको पैसा फिर्ता हुने

काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि आवेदकले खरिद गर्न जम्मा गरेको पैसा फिर्ता पाउने भएका छन् । मुद्धा लम्बिन सक्ने संभावना भएपछि आवेदकले जम्मा गरेको रकम सेयर बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटडले फिर्ता दिने भएको हो । धितोपत्र बोर्डसंग सल्लाह गरेर जम्मा भएको रकम फिर्ता दिने बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए । छलफल गरेर यस विषयमा निर्णय लिने उनले जानकारी दिए । “लगानीकर्ताको पैसा धेरै दिन राख्न मिल्दैन” उनले भने “प्रक्रिया मिलाएर हामी आवेदकको पैसा केही दिनभित्रै फिर्ता दिने छौ ।” बैंकले गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो । गुरु न्यौपानेले सेयर जफतको विरुद्धमा रिट हालेपछि उच्च अदालत पाटनले तत्कालका लागि सेयर लिलामी रोक्न मंगलबार प्रारम्भीक आदेश दिएको छ । काठमाडौं क्यापिटलले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी गराइसकेको छ । बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा ठुलो परिमाणमा भित्री रुपमा सेयर किनेको (इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमति सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।

नेपालमा रेलको सम्भावना खोज्दै चिनियाँ उपमन्त्री ‘फिल्ड भिजिट’मा

काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलको सम्भावना खोज्दै स्थलगत अध्ययन गरिरहेको छ । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले चिनियाँ सहयोगमा निर्माण हुने रेलमार्गको सम्भावनाबारे स्थलगत अध्ययन गरेको हो । सो टोलीले मंगलबार काठमाडौं–केरुङ रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । बुधबार पोखरा पुगेको चिनियाँ टोलीले बिहिबार लुम्बिनी खण्डको सम्भाव्यताबारे अध्ययन गर्नेछ । ‘हामी काठमाडौं–केरुङ खण्डको स्थलगत अवलोकन गरेर अहिले काठमाडौं–पोखरा खण्डको अवलोकनमा आइपुगेका छौं, बिहिबार काठमाडौं–लुम्बिनी खण्डको अध्ययन गरिनेछ’, रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । २३ सदस्यिय उच्चस्तरिय चिनियाँ टोलीमा रेलवे सेवाका प्राबिधिक, वित्तिय फाँटका प्रतिनिधी, प्रशासनका प्रतिनिधी लगायतका सहभागीता रहेको छ । नेपाल र चीनबिच केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार नेपालको भौगोलिक अवस्थितीति, वित्तिय व्यवस्थापन, प्रशासनिक सहजता, रेलका लागि आवश्यक पर्ने प्रबिधीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको हो ।

प्रभु बैंकको नाफा २५ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ करोड नाफा कमाएको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा भने २८ करोड नाफा कमाएको थियो । प्रभु बैंकले पहिलो त्रैमासिकमा ८२ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३४ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड रहेको छ । खराब कर्जा ४.२३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट १३ करोड प्राप्त गरेको छ भने ११ करोड प्रोभिजन गरेको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंककाे नाफा ३८ प्रतिशतले वृद्धि, ईपीएस पनि बढ्यो

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले चालु अार्थिक वर्षमा ३८ प्रतिशतले नाफा वृद्धि  गरेकाे छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ४८ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सकरात्मक देखिएको छ ।  बैंकको खराब कर्जा अनुपात ०.१८, कर्जा निक्षेप अनुपात ६४.९०, आधार ब्याजदर ६.७ पैसा र कर्जा निक्षेपबीच ब्याजदर अन्तर ५.७३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) असारको तुलनामा बढेर ४८ रुपैयाँ १८ पैसा पुगेको छ । गत असारमा ईपीएस ३४.५० पैसा थियो । गत असोजसम्म बैंकको निक्षेप परिचालन ८ अर्ब बढेर ७१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ६३ अर्ब ३८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि सामान्य बढेर ३९ अर्ब ८५ करोड पुगेको छ । गत असारमा बैंकके कर्जा लगानी ३९ अर्ब २० करोड रुपैयाँ थियो । चुत्तापुँजी ४ अर्ब रुपैयाँ मात्र रहेको बैंककाे संचित कोषमा ८ अर्ब ५५करोड रूपैयाँ छ ।  

गुरु न्यौपानेबाट जफत सेयर लिलामी प्रक्रिया अघि नबढाउन उच्च अदालत पाटनको आदेश

  काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत गरिएको साधारण सेयर लिलामी नगर्ने जनता बैंक नेपाललाई आदेश दिएको छ । उच्च अदालतले मंगलबार प्रारम्भिक सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलालीको काम यथास्थानमा राख्न आदेश दिएको हो ।   अदालतको आदेशपछि जनता बैंककाे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी दिएको छ । बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमती सावित्रादेवी न्यौपाने नाममा ठूलो परिमाणमा भित्री रुपमा सेयर किनेबेच(इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमती सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । उक्त सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ । राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नामबाट सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति मंगलबारसम्म तोकिएको थियो । सेयर खरिदलाई वैध बनाउन गुरुले श्रीमतीसंग गरे नक्कली डिभोर्स सम्पत्ति जोगाउन मान्छेले केसम्म गर्दोरहेछ भन्ने कुरा गुरुले श्रीमती सावित्रासंग गरेको नक्कली सम्बन्ध विच्छेदले प्रमाणित गरेको छ । गुरुले श्रीमतीसंग नक्कली डिभोर्सको कागजात तयार पारेको बुझिएको छ । अवैध सेयर कारोबारलाई वैध बनाउन गुरुले श्रीमती सावित्रीदेवीसंग सम्बन्ध बिच्छेदको नक्कली कागजात बनाएर सेयर खरिदलाई वैधता दिने घृणित काम समेत गरेको पाईएको छ । उनले श्रीमतीसंग सम्बन्ध विच्छेद भएको कागजात बनाएर जफत सेयर फिर्ता गराउने तयारी गरेका छन् । एकघर परिवारले बैंक सञ्चालक भएको अवस्थामा सेयर किन्न नपाउने कानूनी व्यवस्था भएपछि उनले श्रीमतीसंग नक्कली सम्वन्धबिच्छेदको कागजात तयार गरी उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । कानूनी रुपमा तल परेपछि उनीले अन्तिम विकल्पको रुपमा श्रीमतीसंग नक्कली डिभोर्स कागजात तयार पारेका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ ।

नेशनल मेडिकल कलेज सम्बन्धनको अन्तरिम आदेश रद्द गराउन शिक्षा मन्त्रालयको निवेदन

काठमाडौं । शिक्षा मन्त्रालयले नेशनल मेडिकल कलेजको सम्बन्धनका सम्बन्धमा सर्वाेच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराई पाउन आज निवेदन दर्ता भएको छ । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको हो । सर्वाेच्च अदालतबाट यही कात्तिक ८ मा भएको अन्तरिम आदेशअनुसार सो कलेजको सम्बन्धन रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न उल्लेख थियो । उक्त कलेज सम्बन्धनका लागि योग्य नभएको भनी चिकित्सक डा गोविन्द केसीलगायतले विरोध गरेपछि त्रिविले सरकारको निर्देशनमा सम्बन्धन दिने निर्णय स्थगन गरेको थियो । रासस