नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबै समूह हरिया
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिनको परिसूचक २५.१४ अंकले उकालो लागेर १५१६.०२ अंकमा पुगेको छ । बजारमा ७५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४ करोड रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ७१ करोडको सेयर किनबेच भएका थिए । त्यस्तै, मंगलबार कारोबारमा आएका १० वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स ५८, उत्पादनमूलक ५६, हाइड्रोपावर ५५, विकास बैंक २७, बैंकिङ २१ र होटल समूह १० अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८४ रुपैयाँ रहेको छ । सो दिन विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । इन्स्योरेन्सले यस वर्ष कत्ति पनि लाभांश नदिने घोषणा गरेपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।
गाडी धुने पूर्ण स्वचालित प्रविधि नेपाली बजारमा, ५ मिनेटमै एउटा गाडी धोइसक्ने
ललितपुर । उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधि नेपाली बजारमा भित्र्याएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले उक्त नयाँ प्रविधिको शुरु गरेका हुन् । नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधि सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधिको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुरु गरेको उनले जानकारी दिएका छन् । आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधि बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले बताए । यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।
सानिमा इक्विटी फण्डले एक अर्ब २० को म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सानिमा इक्विटी फण्डले एक अर्ब २० कराेड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । याे फण्डले सानिमा क्यापिटलले निष्काशन गर्न लागेकाे हाे ।
हरित जलवायु कोषको रकम नेपाल इन्भेष्टमेन्ट बैंक र नगर विकासले पाउने
काठमाडौं । हरित जलवायु कोष (जीसीएफ) को रकम उपयोग गर्न नेपालबाट दुई संस्था छनौट भएका छन् ।जीसीएफको रकम उपयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंक र नगर विकास कोष छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले राष्ट्रिय अनुकूलन योजना तर्जुमा गर्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिअन्तर्गतको जीसीएफ मार्फत रकम पाउने रकम परिचालन गर्न नगर विकास कोष र इन्भेष्टमेन्ट बैंकलाई छनौट गरेको हो । मन्त्रालयले प्रमाणिकरणका लागि दुई संस्थालाई कोषमा पठाउने भएको छ । कोषबाट पास भएपछि इन्भेष्टमेन्ट बैंक र नगर विकास कोषले रकम पाउने छन् । यसअघि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल प्रकृति संरक्षण कोष छनौट भएका थिए । कोषमा १० अर्ब डलरको ग्लोबल फन्डका लागि प्रतिवद्धता प्राप्त भएको छ । यही फन्डबाट बैंकले कोषको रकम पाउने भएका हुन् । जलवायु अनुकुलन र न्युनिकरणमा काम गर्नका लागि ग्लोबल फन्डबाट रकम उपलब्ध हुने छ । कोषको रकम संयुक्त राष्ट्रसंघका सदस्य मुलुक, विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)मार्फत पनि उपयोग भइरहेको छ । कोषले लैगिंक समानता, पारदर्शीता, हरितगृह ग्यास न्युनिकरण, कार्यशैलीलगायत, हरितगृह ग्यास न्युनिकरणमा गर्ने योगदान र प्रस्तुत योजना हेरेर रकम उपलब्ध गराउने छ । नेपाल पनि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिको साझेदार भएकाले प्रक्रिया सुरु गरेको हो । नेपालले यसमा हस्ताक्षर गरिसकेको छ । पेरिस घोषणापत्र अन्र्तगत यो कोष खडा भएको हो । जलवायु परिवर्तनले पारेको र पार्न सक्ने असर न्यून गर्न नेपालले अनुुकूलन कार्यक्रम आवश्यक पर्ने भन्दै त्यसका लागि कार्यक्रमको खाका तर्जुमा सुरु गरेको थियो । खाका बनाउन र भावी कार्यक्रमका लागि मन्त्रालयले अर्थमार्फत जीसीएफसमक्ष सहयोगको प्रस्ताव गरेको थियो । जीसीएफको कार्यालय कोरियामा छ । नेपालले आगामी दिनमा साना, मझौला र ठूला आयोजना सञ्चालनका लागि जीसीएफबाट सहयोग पाउन सक्छ । विकसित मुलुकहरूले सन् २०२० देखि प्रतिवर्ष १ खर्ब अमेरिकी डलर अति कम विकसित मुलुकहरूका लागि उपलब्ध गराउने घोषणा गरेको छ । अहिले अति कम विकसित मुलुकहरूले पाउनुपर्ने रकम राष्ट्रसंघीय र विभिन्न संस्थामार्फत अर्थात् घुमाउरो बाटोबाट मात्र प्राप्त हुँदै आएको छ । कम विकसित मुलुकले त्यो बाटो झन्झटिलो भएको भन्दै सरकारलाई नै सिधै प्राप्त हुनुपर्ने माग गर्दै आएका छन् ।
एसीसी यू-१९ एसिया कपः नेपालद्धारा मलेसिया आठ विकेटले पराजित
काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस
स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२४२ रुपैयाँ
काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।
पश्चिमसेती बनाउन विद्युत प्राधिकरण र थ्री गर्जेजबीच शुक्रबार सम्झौता हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) हुन भएको छ ।आउदो शुक्रबारसम्म दुई संस्थाबीच साढे ७ सय मेगावाट आयोजना संयुक्त लगानीमा बनाउने विषयमा जेभीए हुन लागेको हो । जेभीएका लागि थ्री गर्जेजको उच्चस्तरिय टोली बुधबार काठमाडौ आउदै छन् । बिहीबार वा शुक्रबारसम्ममा जेभीए भइसक्ने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । जेभीए भएपछि आयोजनाको काम अघि बढ्ने छ । यसअघि भएको जेभीए गर्ने प्रस्तावलाई प्राधिकरण र थ्री गर्जेजको बोर्ड बैठकले अनुमोदन गरिसकेको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) मा ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पुर्याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । पश्चिम सेतीमा लगानी ल्याउन चीन र नेपालबीच कानून बाझिएपछि चाइना थ्री गर्जेजलाई समस्या भएको छ । विदेशमा सत्प्रतिशत लगानी हुने परियोजनामा मात्र स्वीकृति लिनुनपर्ने र साझेदारीमा निर्माण हुनेमा चीन सरकारले आयोजना पास गर्नुपर्ने प्रावधान भएपछि उसलाई लगानी ल्याउन समस्या भएको हो । जलासययुक्त आयोजनाको विद्युत् खरिद दर (पीपीए), पुर्नबास, पुर्नस्थाना, जग्गा प्राप्तिको विषयमा उसले कानूनी स्पष्टता खोजेको छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
मंसिरदेखि मिदिमखोलाबाट ३ मेगावाट बिजुली उत्पादन हुदै
काठमाडौं । मिदिमखोला (करापु) जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । आउदो मंसिरदेखि ३ मेगावाटको मिदिम खोलाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने छ । युनियन हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको हो । हाल परीक्षण उत्पादनको काम सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए । मंसिरदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने उनले जानकारी दिए । आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय र लागत थप भएकाले आयोजना ६५ करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो । करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ । स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने युनियनले जनाएको छ ।