ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण भएको छ । बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोबार संचालनमा ल्याइएको छ । उक्त शाखाको शुभारम्भ बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुन् । उक्त बैंकले यही कात्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सेञ्चुरी बैंकले ल्यायो थप तीन आधुनिक सेवा, नोक्सानी तथा नगद चोरी न्यूनिकरण गर्ने
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उक्त तीन सेवाको शुभारम्भ गरेका हुन् । बैंकले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा नै पहिलो पटक “मल्टी करेन्सी कार्ड”को शुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले एक्सिस बैंककै सहकार्यमा “इन्डो नेपाल इजी रेमिट” को शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस् बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुने बैंकको अपेक्षा रहेको छ । साथै, बैंकले मोबाइल बैंकिङको नाममा “मोबाइल एप्स” को शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा यूटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
मंसिर अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास, चीनले कालोपत्र गरिदिने
काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् । ‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री गिरीले बुधबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । बाहिरी चक्रपथ विकास आयोजनाले शिलान्यास भएको २ बर्षभित्रै जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न लागिएको हो । यसको अनमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।
ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, कसरी खोल्ने ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल विशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको हो । यस व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ । हालसम्म बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
निर्वाचन आयोगद्धारा ‘नमूना मतदान’ अभ्यास
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए। नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने बताउँदै उनले “पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छ,” भने । उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त डा यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग उच्चस्तरमा कुरा भइरहेको र यसलाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको पूर्ण प्रत्याुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको बताए । शुरुमा नमूना मतदान गर्नुभएका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको बताउँदै यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताए । उनले निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिवद्धता रहेको बताए। आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो । नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र (प्रतिनिधिसभाको) प्रदान गरिएको थियो । कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए । त्यसपछि दोस्रो कालो मतपत्र ९प्रदेशसभाको० दिइएको थियो । त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए । लगत्तै तेस्रो रातो मतपत्र (समानुपातिक) दिइएको थियो । उक्त मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो । कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए । नमूना मतपत्रका बारेमा आयोगका सूचना अधिकरी सूर्यप्रसाद अर्यालले जानकारी गराएका थिए । रासस
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । यस साताको शुरुवातदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.२३ अंकले झरेर १५०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ५९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिन(मंगलबार)को तुलनामा करिब १६ करोड रुपैयाँ घटि हो । मंगलबारको बजारमा ७५ करोडको सेयर किनबेच भएको थियो । बजारमा बीमा समूह सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यस समूह १०३ अंकले ओरालो लागेको हो । बुधबार तीन समूह(उत्पादनमूलक, होटल र अन्य समूह)बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५.४४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सो दिन चिलिमे हाइड्रोपावर, नेपाल बैंक र नेपाल दुरसञ्चार कम्पनीको तीन करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ: प्रकाशमान सिंह
काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभातर्फका नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले मुुलुकलाई आर्थिक समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरेको व्यवसायिक तथा बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् । उनले २०४६ सालमा लोकतन्त्रको पुनबहाली भएपछि आएको नेपाली कांग्रेसको बहुमतको सरकारले अबलम्बन गरेका आर्थिक उदारिकरणका कारण नेपालको औद्योगिक, व्यापारिक, जलविद्युत, सडक,शिक्षा,स्वास्थ्य हवाई यातायात, सञ्चार र पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए। उनले एमालेका सडक आन्दोलन र माओवादीका हिंसात्मक आन्दोलनका अवरोध नआएको भए नेपाली कांग्रेसले नेपालको विकास निकै माथिल्लो स्तरमा पुर्याइसकेको हुने पनि दावी गरेका छन् । उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुन पार्टीलाई सहज हुने पनि बताएका छन्। कांग्रेस नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलहरु जनताका प्रतिनिधिले बनाएको संविधानको मर्म विपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप पनि लगाए । नेता सिंहले मुलुकमा बढ्दै गएको भ्रष्टाचार जस्ता विकृति र विसंगति साना र नयाँ दलका प्रतिनिधिहरुले हटाउन नसक्ने जिकीर गर्दै भने,“ राजनीतिक परिवर्तन मात्रै होइन, नीतिगत परिवर्तन पनि साना र नयाँ पार्टीबाट संभव छैन। नारायणमान विजुक्छेजी २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गरिरहनुभएको छ, चित्रबहादुर के.सी. पनि दुईपटक आइसक्नुभयो, उनीहरुले कुनै सुधार गर्न सकेका छैनन् । सुधारको कुरालाई पार लगाउन पनि ठूलै पार्टी चाहिन्छ ।” पूर्व उपप्रधानमन्त्री सिंहले आफू निर्वाचित भएर गएपछि यस क्षेत्रका मतदाताहरुको इमान्दारीपूर्वक सेवा गरेको पनि दावी गरेका छन् । उनले संविधान निर्माणको नेतृत्व गर्ने सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै राजधानीको पहिलो नम्बरको निर्वाचन क्षेत्रलाई विकसित, सुन्दर र नमूना बनाउने संकल्प लिएर आएको बताए। उनले निर्वाचन अभियान र घरदैलोको क्रममा १०७ बर्षीय आमाको समेत आशिर्वाद पाएकोले यो निर्वाचनमा अलग्गै उत्साह थपिएको उल्लेख गरेका छन् । कार्यक्रममा क्षेत्र नं १ को प्रदेशसभा ९क० का नेपाली कांग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र (ख)का उम्मेद्वार सुरज लामिछानेले नेपाली कांग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास,आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चूडाराज उप्रेतीले १० बर्षभित्र साम्यवादी शासन स्थापना गर्ने प्रचण्डको अभिव्यक्ति डरलाग्दो भएकोले यो निर्वाचनमा जसरी पनि नेपाली कांग्रेसलाई बहुमतमा पुर्याउन बुद्धिजीवीहरुले खट्न पर्ने बताए । शान्ति,सुशासन,विकास र समृद्धि नेपाली कांग्रेसबाहेक अरुले दिन नसक्ने भएकोले नेपाली कांग्रेसलाई जिताउनुपर्ने तर्क राखेका छन् । अन्य कुराले जनतालाई आकर्षित गर्न नसकेपछि कम्युनिष्टहरुले नक्कली राष्ट्रवादको विषय उचालेको उल्लेख गर्दै प्रतिप्रश्न गरे,“ सार्वभौमसत्ता सम्पन्न जनतालाई दुःख दिएर पनि राष्ट्र बलियो हुन्छ ?” उनले विदेशसंग सुहार्द सम्बन्ध बनाउने काम सरकारको कर्तव्यभित्रै पर्ने उल्लेख गर्दै जनताले पाएको दुःखमा रमाउने नेताहरु राष्ट्रवादी हुन नसक्ने बताए । कार्यक्रममा प्राध्यापक गुणनिधि न्यौपानेले लामो समय बामपन्थी रहनु भएका प्रा चैतन्य मिश्रले एक लेखमार्फत “साह्रै नै माओवादी भइएछ,सोभियतवादी भइएछ, माक्र्सबाद पढिएछ र गाँजा खाइएछ” भनेर पश्चातापपूर्ण अभिव्यक्ति दिएकोले कम्युनिष्टहरुको नाराको पछाडि नलाग्न बुद्धिजीवीहरुसंग आग्रह गरेका छन् । कार्यक्रममा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष केशवानन्द गिरीले सिंह जत्तिको इतिहास भएको, राजनीतिमा खारिएको,अनुभवी र योग्य उम्मेद्वार पाउनु काठमाडौं क्षेत्र नं १ को सौभाग्य हो भन्दै उनलाई विजयी गराउन आग्रह गरेका छन्। भेलालाई संबोधन गर्दै नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाले विभिन्न जातजाति र भूगोलमा बसेको नेपालीलाई भड्काउने दलहरु राष्ट्रवादी हुन नसक्ने बताउँदै भने,“राष्ट्रलाई कमजोर बनाउने पार्टी र तिनका नेताहरु राष्ट्रवादी हुन सक्दैनन।” कार्यक्रममा नेपाल वार एशोसियसनका अध्यक्ष शेरबहादुर के।सी।ले कम्युनिष्टका विरुद्धमा लोकतन्त्रवादीहरु एक हुनु पर्ने बताउँदै यो निर्वाचन पछि कम्युनिष्टहरुको पतनको दिन आउने भविष्यवाणी गरेका छन् । कार्यक्रममा प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल, नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ति श्रेष्ठ र नेपाल प्राध्यापक संघका खुमा शर्माले पनि यो निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुको बीचको जनमतसंग्रहको रुपमा आएकोले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन आग्रह गरेका थिए । प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राजेन्द्र गौतमले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जनक मल्लले गरेका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । मंगलबार साँझ नयाँवानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेल र केसीको बयानका आधारमा महानिर्देशक पाण्डेलाई अख्तियारले बुधबार बिहान निवासबाटै पक्राउ गरको हो । अधिकृत पौडेल र नायव सुब्बा केसीलाई मंगलबार साँझ पक्राउ गरेको विभागका सुचना अधिकृत तथा निर्देशक मोहन अधिकारीले बताए । विकास न्युजसंग कुरा गर्दै अधिकारीले भने “पाण्डे सर आज कार्यलय आउनु भएको छैन, मैले पनि पक्राउ परेको सुनेको छु ।” म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता समेत विभागबाट रोक्का राखेकोमा सर्वोच्च अदालतबाट रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनि आदेश भईसकेको अवस्थामा शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीले रोक्का फुकुवा नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा १० लाख रुपैयाँ घुस लिदालिदै पक्रिएको अख्तियारले जनाएको छ । घुस लेनदेन सम्बन्धी विषयमा विभागका महानिर्देशक पाण्डेको समेत संलग्नता प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको आधारमा हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । महानिर्देशक पाण्डलेले मंसिरदेखि अवकास पाउदै थिए ।