विकासन्युज

राहुघाट आयोजनाको ठेक्का भारतको जयप्रकास एसोसियट्सले पायो, ४५ महिनामा बिजुली उत्पादन हुने

काठमाडौं । राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच बिहीबार ठेक्का सम्झौता भएको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो । ४० मेगावाट जडित क्षमता भएको आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजना ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको हो । आयोजनाको काम अगामी सन् २०२१ मा सम्पन्न हुने छ । भारतको निर्यात–आयात (एक्जिम) बैंकले सहमति दिएपछि ठेकेदार परिचालन हुने आयोजना प्रमुख श्रीरामप्रसाद पाण्डेले बताए । एक महिनाभित्र सहमति लिएर ढिलोमा माघदेखि ठेकेदार परिचालन हुने उनले जानकारी दिए । इलेक्ट्रोमेकानिकल प्याकेजका लागि छिट्टै ग्लोबल टेण्डर हुने पाण्डेले बताए । भारतको ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । भारतीय कम्पनीबीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै इलेक्ट्रोमेकानिकल प्याकेज पनि भारतीयबीच नै प्रतिस्पर्धा हुने छ । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको हो ।आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्क लगाइ निर्माण सुरु हुन लागेको हो । कार्यतालिकाअनुसार सम्झौताअनुसार आयोजना सन् २०७० सालमा आयोजनाको सकिनुपर्ने थियो । नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा संभाव्यताको अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ । आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ । जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा रहेको छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।  

११औँ वर्षमा प्रवेशको अवसरमा गरिमा विकास बैंकद्धारा विभिन्न ५ जिल्लामा न्यानो कपडा वितरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अतिविपन्नहरुलाई न्यानो कपडा वितरण गरेको हो । काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरुहरुलाई बैंकले एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो । त्यसैगरी, चितवन तथा तनहु जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बैंकले लत्ता कपडा वितरण गरेको छ । स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा वितरण गरेको हो । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले विपन्न वर्गलाई लत्ता कपडा बितरण गरेका थिए । देवघाट धाममा विकास बैंकका पुर्व संचालक सिद्ध कुमार श्रेष्ठ, राम्दीधाममा वालिङ्ग नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व अध्यक्ष दिलिप्रपताप खांण, पाखीचौर स्याङ्गजामा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा वेनी नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व संचालक हरिकुमार श्रेष्ठले न्यानो कपडा वितरणगरेका थिए । न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाएको छ । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताएका थिए । पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ ।

चमेलियाबाट विद्युत् उत्पादन शुरु

दार्चुला  । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ । आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तार लगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । एक सय १३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल ४१२ वटा टावर रहेका छन् । तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताउनुभयो । चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उनले बताए । सन् २००७ मा निर्माण शुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सो समयमा काम सम्पन्न हुन नसकेपछि उक्त समयसिमा सन् २०१७ को डिसेम्बर पुयाइएको थियो । चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको १० वर्षपछि बिजुली बलेको हो । चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत ८ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट शुरु गरिएको थियो । प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पाेरेशन (सिजिजिसी)ले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो । रासस

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, बिहीबार मात्रै ६८ करोडको सेयर किनबेच

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बुधबार सामान्य ८ अंकले उकालो लागेको नेप्से आज(बिहीबार) १३.०३ अंकले उकालो लागेर १४९३.२९ अंकमा पुगेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ६८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६५ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी साना किसान विकास बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ट्रेडिङ समूहको परिसूचक बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ४६ अंकले उकालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.६७ प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । उता, सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशत गुमाएका छन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो । ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् । यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।

नुवाकोटका जनता पैसामा बिक्दैनन्, २५ लाख खर्च नगरी चुनाव जित्छुः नारायण खतिवडा

नारायण प्रसाद खतिवडा, बाम गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार, नुवाकोट २ चुनावी तयारी कस्तो चल्दैछ ? चुनावी तयार साह्रै राम्रो छ । मुलुकका दुई वटा ठुला बामपन्थी दलहरु मिलेकोमा मतदाताहरुमा ठुलो उत्साह छ । एमाले एक्लै पनि यहाँ प्रमुख प्रतिष्पर्धी थियो । अहिले माओवादी समेत जोडिएपछि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा हाम्रो विजय सुनिश्चित देखेका छौं । मतदाताहरुले तपाईलाई किन रोज्ने, किन मत दिने ? हामी संयुक्त बाम घोषणा पत्र लिएर चुनावी अभियानमा जुटेका छौं । राज्यले नागरिकका अधिकार राम्रोसँग सुनिश्चित गर्न नसक्दा विकास र समृद्धिको यात्राले गति लिन सकेन । नागरिकले आफु शासक भएको अनुभूति गर्न पाएनन् । राज्यको विभेदकारी चरित्रकै कारण जनताका पक्षमा निती निर्माण भएन । त्यसैले हामी बामपन्थीहरु एक जुट भएर निर्वाचनमा होमिएका हौं । हामीले स्थिर सरकार, समानतासहितको समृद्धिका लागि मत मागेका छौं । हामीले विगतमा पनि जनप्रतिनीधी भएर जनताका पक्षमा धेरै काम गरेका थियौं । त्यसैले पनि मतदाताहरु बामपन्थी गठबन्धनलाई मतदान गर्न उत्साहित भएका छन् । नुवाकोटलाई स्वदेश तथा विदेशमा परिचित गराउन, विकास र समृद्धिको उचाईमा पुर्याउन पनि हामीलाई नागरिकहरुलाई मत दिनुहुनेछ । हामी स्पष्ट योजनासहित मत मागिरहेका छौं । स्थानीय तहको भन्दा पनि राम्रो मत ल्याएर नुवाकोटमा बाम गठबन्धन विजयी हुनेछ । जिल्लामा तपाईका चुनावी एजेण्डा के के छन् ? म हिजो २०६४ सालमा स्थानीय निकायको निर्वाचित जन प्रतिनिधी थिएँ । त्यतिबेला मैले गरेका विकास निर्माणका कामबारे नागरिक जानकार छन् । अहिलेको निर्वाचन क्षेत्र नम्बर २ मा पहिले पनि धेरै काम गरेको छु । पहिले देखि नै जनताका सुख, दुःखमा सधै साथमै थिएँ र छुु पनि । अब कुरा रह्यो भावी विकास निर्माणका योजनाको । मुलुकलाई व्यक्तिले भन्दा पनि नीतिले अघि बढाउने हो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले अघि सारेका कुनै पनि जनपक्षिय कार्यक्रम त्यसपछिको अरु पार्टीका सरकारले खारेज गर्न सकेनन् । हामीले फेरी पनि त्यसरी नै योजना र काम गर्न चाहान्छौं । नुवाकोट भनेको सम्भावनै सम्भावना भएको जिल्ला हो । त्रिदेशिय राजमार्ग, जलविद्युतको ठुलो सम्भावना, कृषि र पर्यटनका थुप्रै केन्द्रहरु समेत रहेका छन् । त्रिदेशिय रेलमार्ग जोड्ने ठाउँ समेत रहेकाले पनि नुवाकोटको विकासमा हाम्रो ठुलो सपना छ । नुवाकोटे जनतालाई नुवाकोट भित्रै रोजगारी दिने हाम्रो योजना हो । आगामी पाँच बर्षभित्र हामी सबै नुवाकोटे नागरिकलाई रोजगारी दिन्छौं । नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने छौं । त्यसको आवाज उठाउने पहिलो व्यक्ति पनि मै हुँ । चुनाव भड्किलो र खर्चिलो भयो भन्ने आरोप छ, तपाईले कति खर्च गर्दैहुनुहुन्छ ? म त पैसा कमाउने व्यवसाय नगरेको मान्छे परेँ । सधै भरी जिल्लामै बसेर नागरिकका सुख, दुःखमा सहभागी भएको, समाजिक काम गरेको मान्छे हुँ । निर्वाचन आयोगले प्रतिनिधी सभाका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने भनेको छ । म त त्यति पनि खर्च नगरी निर्वाचन जित्दैछु । केहि मान्छेहरु जीवनभरी ठेकेदारी गर्छन्, विदेशीको दलाली गर्छन् । उनीहरु मत खरिद बिक्रिमा लागेको भन्ने हल्ला चलेको छ । स्वाभिमानी नुवाकोटका जनता पैसामा बिक्दैनन् । नागरिकले न्यायका पक्षमा मत जाहेर गर्छन् र बामपन्थी उम्मेदवारहरुलाई भारी मतले विजयी गराएर देश बनाउने अभियानमा योगदान दिनेछन् । प्रतिष्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ ? मेरा प्रतिष्पर्धीलाई जनताले सांसदका रुपमा धेरै पटक परिक्षण गरिसकेका छन् । पटक पटक मन्त्री भएका उनले नुवाकोटका लागि कुनै पनि काम गरेनन् । कैयौँ पटक चुनाव जितेका र कैंयौँ पटक हारेका एक जना वृद्ध मान्छे मेरो प्रतिष्पर्धामा छन् । यो देशमा नेपाली काँग्रेसको नीति नै फेल भैसकेको छ । नीति नै फेल भएको काँग्रेस पार्टीका वृद्ध नेतासँग मेरो प्रतिष्पर्धा नै हुँदैन । पटक पटक बहुमत ल्याएर पनि देश राम्रोसँग सञ्चालन गर्न नसकेको काँग्रेस र पटक पटक चुनाव जितेर पनि नुवाकोट विकासमा कुनै योगदान नदिएका नेताबाट नागरिकले यसपाली मुक्ति पाउनेछन् । यसपाली नुवाकोटका मतदाताले त्यस्ता उम्मेदवारहरुलाई पराजित गराउनेछन् । आफ्ना बाल बच्चाहरुको भविष्य सुनिश्चित गर्न पनि नागरिक उत्साहित भएर बाम गठबन्धनका पक्षमा अभिमत जाहेर गर्नेछन् ।

५ वर्षपछि बुटवल पावर कम्पनी सेयरधनी मालमाल हुँदै, कसरी ?

काठमाडौं । आगामी पाँच वर्षपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) का लगानीकर्ता मालमाल हुने भएका छन् । चीनियाँ कम्पनीसंगको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न संयुक्त लगानीमा होल्डिङस कम्पनी स्थापना भएसँगै आगामी ५ वर्षपछि बीपीसीका लगानी कर्ता मालामाल हुने देखिएको हो । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ । यस्तै आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदैछन् । यस्तै चीनियाँ लगानी ल्याउने भएपछि बीपीसीका आर्थिक अवस्था मजवुत भई लगानीकर्ताले राम्रो प्रतिफल पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् । बीपीसीले सहायक कम्पनीमार्फत धेरै आयोजना निर्माण गर्ने भएकाले दीर्र्घकालमा लगानीकर्ताले अझ राम्रो प्रतिफल प्राप्त गर्ने उनको भनाई छ । हाल बीपीसीले २८ देखि ३० प्रतिशत हारहारीमा लाभांश दिदै आएकोमा कावेली, न्यादी र अन्य पाइपलाइनमा भएका आयोजना सम्पन्न भएपछि सेयरधनीको प्रतिफल बढ्ने उनको तर्क छ । यो वर्षपनि २५ देखि २८ प्रतिशतको हारहारीमा सेयरधनीलाई लाभांश दिदै छ । बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ ।  होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडले नेपालमा होल्डिङ कम्पनी स्थापना गरेका हुन् । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको एसजीआईको ६५ र १५ प्रतिशत क्युवाईईसी बेटरसिटीका स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ । यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ । नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ । यो वर्ष पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिने सीइओ श्रेष्ठ बताउछन् । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

युनाईटेड मोदीले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने भएको छ । यस हाइड्रोले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने कर सहित सोे मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर ७ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लभांश दिने प्रस्ताव राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ ।