विकासन्युज

एभरेष्ट बैंकले शुरु गर्यो नयाँ भर्सनको इन्टरनेट बैंकिङ सेवा, कारोबार थप सुरक्षित हुने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सर्भिसलाई हटाएर नयाँ भर्सनको बैंकिङ्ग सर्भिस सेवा शुरु गरेको छ । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा इ बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आइरहेका कारणले बैंकले नयाँ भर्सनमा उक्त सेवा ल्याएको हो । यो नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने र पुरानो भन्दा थप सुरक्षित रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यो नयाँ भर्सनमा थप सुरक्षाका उपकरण थपिएका छन् । युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोग गर्न सक्ने बनाईएको छ । साथै, अब ग्राहकले आफ्नो युजर नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानु नपर्ने र बैंकले नै इमेल मार्फत यी सबै सुबिधा दिने जनाएको छ । त्यस्तै, बैंकले कर्पोरेट हाउसहरुलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाले व्यापार तथा कर्पोरेट हाउस सम्हाल्न र आन्तरिक रुपमा अकाउन्ट मिलाउन सहयोग पुर्याउने बैंकले बताएको छ । साथै, यसको प्रयोगले तलब, भुक्तानी बाँढेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने छ । बैंकले हालसम्म ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

पुरानो बसपार्कमा व्यापारीको अतिक्रमण: नगर प्रहरी भन्छन्, ‘हामी बेखबर छौं’

काठमाडौं । राजधानीका सार्वजनिक स्थानहरु मिचिने क्रम तीव्र बनेको छ । विशेषगरी मानिसहरु बढी भिडभाड हुने सार्वजनिक स्थानहरु अतिक्रमणको चपेटामा परेका छन् । काठमाडौं महानगरपालिकाको मुटुमा रहेको खुल्लामञ्चस्थित पुरानो बसपार्क त्यसको ज्वलन्त उदाहरण हो । उक्त बसपार्कमा ५० भन्दा बढी टहराले अनाधिकृत रुपमा सञ्चालनमा छन् । ती टहरामा महानगरपालिकाले स्वीकृत गरेको नक्सा विपरित पसलहरु सञ्चालन गरिएका छन् । तर, यसबारे नगर प्रहरी नै बेखबर छ । महानगरपालिका अन्तर्गत राजश्व विभागले बारम्बार निर्देशन दिदाँ पनि नगर प्रहरीले अतिक्रमण हटाउन कुनै पहल गरेको छैन । गत असोज २८ मा यथास्थितीमा बसपार्क सञ्चालन गर्दा आय घटेको भन्दै विभागले अनाधिकृत टहरा र फुटपाथ पसल हटाउन नगर प्रहरीलाई पत्राचार गरेको थियो । विभागका अनुसार गत आर्थिक वर्षमा महानगरले उक्त बसपार्कबाट करिब ४१ लाख रुपैयाँ बराबरको राजश्व असुलेको थियो । उक्त पत्र अनुसार प्रतिक्षालय भनिएका ठाँउमा बनाइएका टहरामा पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । त्यस्तै साइकल लगायत सोडा, ठेला गाडा प्रवेश निषेध गर्न केही दिनका लागि नगर प्रहरी विहानदेखि साझसम्म खटिनुपर्ने उक्त पत्रमा उल्लेख छ । राजश्व विभागका प्रमुख महेश काफ्ले भन्छन्, ‘हामीले क्यान्टिन, औषधी पसल, शौचालय र प्रतिक्षालय सञ्चालनका लागि मात्र स्वीकृती दिएका हौं । त्यहाँ अन्य ५० भन्दा बढी टहरामा पसलहरुर अनाधिकृतरुपमा चलिरहेका छन् ।’ उनका अनुसार महानगरपालिकाले अनुगमन गर्दा उक्त टहरा अतिक्रमण गरि सञ्चालनमा ल्याएको पाइएको थियो । अनाधिकृत पसलहरु हटाउन महानगरले नगर प्रहरी कार्यालयलाई पत्राचार गरिसकको उनले बताए । नगर प्रहरी विष्णु जोशी भने महानगरले दिएको ‘निर्देशन’ बारे जानकारी नभएको बताए । उनले भने, ‘जनप्रतिनिधी आउनु अगाडी तत्कालिन कार्यकारी निर्देशकले नक्सा अनुसार ‘के-के’ राख्ने भनेर तोकेको थियो । त्यसपछि हटाउनुपर्ने कुरा केही जानकारी आएको छैन ।’ अनाधिकृत टहरा हटाउनुपर्ने जिम्मेवारी नगर प्रहरीको रहेको काफ्लेको भनाई छ । उनले भने, ‘यदी नगर प्रहरीलाई साच्चै जानकारी नभएको हो भने २४ घण्टामा हटाउन अर्को पत्र पठाउन तयार छु ।’ गत वर्ष बैशाख २२ मा पुरानो बसपार्क रहेको स्थानमा टावर निर्माण गर्ने भन्दै बसपार्कलाई खुल्लामञ्च सारिएको थियो । महानगरपालिकाले तत्कालिन पुरानो बसपार्कको जग्गा खाली गराएर सम्पूर्ण सवारी साधनहरु त्यहा सारेको थियो ।

महालक्ष्मी विकास बैंकद्धारा ‘नेपाल हुम्यान सभिर्स अर्गनाजेसन’लाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “नेपाल हुम्यान सभिर्स अर्गनाजेसन” लाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १७ जना टुहुरा तथा असहय बालबालिकाहरुलाई हेरचाह गरेर बसेको गोंगबुको उक्त संस्थालाई सहयोग स्वरुप ३५ हजार रुपैयाँ बराबरको तल्ले खाट उपलब्ध गराएको छ । बैंकले “आजका बालबालिका भोलिका कर्णधार”भन्ने नारालाई आत्मसाथ गर्दैे उक्त सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको यस विकास बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

ज्योति विकास बैंकको नयाँ शाखा नेपालटारमा, नगरपालिकाका कै पहिलो बैंक बन्न सफल

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो नयाँ शाखा नेपालटारमा सञ्चालन गरेको छ । बैंकले सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो नेपालटार शाखाले आफ्नो कारोबार संचालनमा ल्याएको हो । गत सातभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्ला कै हेटौंडा बजार, र महोत्तरी जिल्लाको रामगोपालपुरमा नँया शाखा संचालनमा ल्याएको थियो ।  

टुरिजम् डेभेलपमेण्ट बैंकसँग स्वाप रेसियो विवादले मेगाको विशेष साधारणसभा भाँडियो, अब के हुन्छ ?

काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि बोलाइएको मेगा बैंकको विशेष साधारणसभा स्थगित भएको छ । यता टुरिजम् डेभेलपमेण्ट बैंकको साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । मेगाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित नगरी स्थगित गरेपछि लगानीकर्तामा अन्यौलता देखिएका छन् । मर्जरमा जाने सम्झौता गरेपछि झण्डै १ वर्षदेखि दुबै बैंकको सेयर कारोबार बन्द छ । सेयर कारोबार नहुदा लगानीकर्ता मारमा परेका छन् । टुरिजम मेगामा मर्ज भएपछि स्वाप रेसियो ९५ हुने गत माघमा सम्झौता भएको थियो । तर सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) गर्दा टुरिजमको मेगामा ९१.९७ हुने प्रतिवेदन आएपछि विवाद भई सोमबारको विशेष साधारणसभा रोकिएको हो । दुबै संस्थाको चुक्तापुँजी पुगेकाले मर्जरमा जान आवश्यक नभएको तर्क सेयरधनीले उठाएका थिए । हकप्रद सेयर बिक्रीपछि मेगाको चुक्तापुँजी ७ अर्ब ५६ करोड र गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि मर्जरमा जानुनपर्ने तर्क सभामा उठेको थियो । टुरिजमले पनि चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पर्याउने भएको छ । यता मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मर्जरमा जादा संस्था बलियो हुने तर्क गर्दे मर्जरमा जाने प्रस्ताव पारित गर्न आग्रह गरेका थिए । अध्यक्ष र सीईओको डीडीएको प्रतिवेदन जे जस्तो आएपनि सम्झौताअनुसार मर्जरमा जानुपर्ने अडान लिएपछि ठुलो विवाद भएको थियो । अर्को साधारणसभाको मिति एक सातामै तोकिने छ : सीईओ शाह विवाद भन्दा पनि गणपुरक संख्या नपुगेर मेगाको विशेष साधारणसभा रोकिएको सीईओ शाहले बताए । विकास न्युजसंग कुरा गर्दै उनले अन्य कुनै कारण नभई गणकपुरक संख्या नपुगेकाले साधारणसभा रोकिएको बताए । “५१ प्रतिशत सेयरसदस्यको प्रतिनिधित्व नपुगेकाले रोकिएको हो उनले भने अब छिट्टै सभा हुने छ ।” अर्कोपटक २५ प्रतिशत गणपुरक संख्या भएपनि सभा हुने शाहाले जानकारी दिए ।  स्वाप रेसियोमा विवाद भएको उनले स्वीकार गरे । “अधिकाँश सेयरधनी टुरिजमसंग मर्जरमा जाने प्रस्ताव पारित गर्ने पक्षमा भएपनि गणपुरक संख्या नपुगेकाले आज रोकिएको हो” उनले भने । मेगाले प्रेश विज्ञप्ति जारी गरी टुरिजमसँग मर्जरको निर्णय लिन विशेष साधारण सभा फेरि बोलाइने जानकारी दिएको छ । दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारणसभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको बैंकले जनाएको छ । अब साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । मर्जरपछि मेगाका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने छन् । मेगा र टुरिजमबीचको मर्जरले ४८ जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने छ ।          

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको सञ्चालन समितिले पराजुलीलाई सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको छ । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पराजुली करिब दुई महिनामछि मात्र रिलायन्समा जिम्मेवारी समाल्ने भएको छन् । उनी नेपाल मर्चेन्ट बैंक संघको संस्थापक र वर्तमान अध्यक्ष पनि हुन् । बैंकिङ र पुँजी बजारको राम्रो ज्ञान र अनुभव भएका पराजुलीको लागि बीमा क्षेत्र भने नयाँ हो । तर अध्ययन, व्यवस्थापकिय कुशलता र जनसम्मर्क अत्यान्तै राम्रो भएको, युवा जोश जाँगर भएकोले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी स्रोतले बतायो । हाल यस कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । उनीसँग स्ट्याण्डर्ड चार्टर्डलगायतका बैङ्कमा १२ वर्षसम्म काम गरेको अनुभाव छ । यस्तै, कम्पनीको महाप्रवन्धकमा यस.के. तमोट रहेका छन् । उनीसँग बीमाक्षेत्रमा विगत ५० वर्षदेखि अनुभव छ । उनले यसअघि सिद्धार्थ इन्स्योरेन्समा महाप्रबन्धकमा दुई कार्यकाल काम गरेका थिए । कम्पनीका अध्यक्षमा ताराचन्द केडिया छन् भने सञ्चालकहरुमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् । दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ । यस कम्पनीमा सिद्धार्थ बैंक, केडिया अर्गनाईजेशन, शिवशक्ति ग्रुप, बेगानी ग्रुप, रिलाईन्स ग्रुप, अग्नी होल्डिङ, शंकर ग्रुप लगायत संस्थागत सहित १ सय १३ जना प्रवर्धक रहेका छन् । बीमा समितिबाट गत कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको एक कम्पनीले यस कम्पनीले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ ।

कोटेश्वरमा वृद्धवृद्धाले माधव नेपाललाई भने-अझै राम्रो काम गर्नु

काठमाडौं । कोटेश्वरका वृद्धवृद्धाहरुले पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाललाइृ अझै राम्रो काम गर्दै जान आशिर्वाद दिएका छन् । कोटेश्वरको महादेवस्थान आसपासका मतदातासँग भेटघाट गर्दै घर दैलो कार्यक्रममा हिडेका नेता नेपाललाई वृद्ध वृद्धाहरुले जनताका पक्षमा अझै राम्रा काम गर्नु भनि आशिर्वाद दिएका हुन् । तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारको हर्ताकर्ताका रुपमा वृद्ध भत्ता जस्तो असल कामको सुरुवात गराएको भन्दै वृद्ध वृद्धाहरुले नेता नेपाललाई जितको शुभकामना दिँदै थप राम्रा काम गर्न सुझाव दिएका थिए । ‘मनमोहन अधिकारीको सरकारले हामीलाई वृद्ध भत्ता दियो, यस्तै राम्रा कामहरु ऋझै धेरै गर्दै जानु, तपाईलाई जितको शुभकामना छ, हामी सधै तपाईकै साथमा छौं’, नेता नेपाललाई टिका लगाएर आशिर्वाद दिँदै एक वृद्ध महिलाले भनिन् । नेता नेपालले पनि आफु जनताको सुख, दुःखको साथी भएको बताउँदै देशको सेवाकै लागि सम्पुर्ण जिवन बिताउन चाहेको बताए । उनको घर दैलो कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको पनि सहभागीता रहेको थियो । महानगरपालिकाको ३२ नम्बर वडाका एमाले कार्यकर्ता, सुभेच्छुकहरुको बिशाल जुलुस लिएर नेता नेपालले घर दैलो कार्यक्रम अघि बढाएका थिए । हजारौं मतदाताहरुलाई लिएर घर दैलो अभियानमा निस्केका नेता नेपालले आफ्नो जित सुनिश्चित भएको बताएका थिए ।  

सामसङ मोबाइलको नयाँ सर्भिस सेन्टर झापाको विर्तामोडमा

विर्तामोड । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । कम्पनीले बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो नयाँ सर्भिस् सेन्टर झापामा खोलेको हो । विर्तामोडमा शरु गरिएको यो पहिलो सर्भिस सेन्टरबाट झापा, इलाम, फिदिम, ताप्लेजुङ्ग एवं दमक तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टरबाट सबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, र बुटबलमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।