विकासन्युज

मेलम्चीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनालाई कारवाही गर्ने चेतावनी दिएको छ । अनुमति बिना फुटपाथ भत्काएको भन्दै महानगरपालिकाले बिहिबार विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्ती अनुसार -‘आगामी दिनमा महानगर क्षेत्रभित्र विकास निर्माण, कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा महानगरपालिकासँग समन्वय गर्नुहुन, सहरी पूर्वाधार विकास एवं सहरी सेवा सुविधा वितरणमा काम गर्ने विषयगत साझेदार कार्यालयहरुलाई पुनः अनुरोध गर्दछौं । आगामी दिनमा यसो हुन नसकेमा, महानगरबासीको हितलाई ध्यानमा राखी आवश्यक कारवाही गर्न महानगरपालिका वाध्य हुने सम्बद्ध सबैमा जानकारी गराउन चाहन्छौं ।’ महानगरपालिकाले आफ्नो धुलो मुक्त काठमाडौं अभियान चलिरहेका बेला अनुमति बिनै फुटपाथ खन्ने काम गरेको भन्दै आपत्ती जनाएको हो । ‘हामीले अघिल्लो दिन फुटपाथ बनायौं, तर भोली पल्टै हामीलाई नसोधी फुटपाथ खन्ने काम भएको छ, अब त्यस्तो काम नहोस भन्ने हाम्रो अनुरोध छ’, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्माले भने । महानगरपालिकाको क्षेत्राधिकार भित्रका सञ्चालन हुने कुनै पनि विकास निर्माणका काममा आफुसँग समन्वय गर्न पनि अनुरोध गरेको छ । मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका विकास प्राधिकरणले आफुसँग समन्वय नगरेको भन्दै महानगरपालिकाले आपत्ती पनि जनाएको छ । स्थानीय निकायको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधीले नागरिकको काम गरिहेको अवस्थामा विकास निर्माणका काम गर्दा आवश्यक समन्वय हुनु आवश्यक रहेको पनि महानगरले जनाएको छ । महानगरपालिकाले बिहिबार विज्ञप्ति नै निकालेर महानरपालिका भित्र विकास निर्माणका काम गर्दा आवश्यक समन्वय गर्न भनेको हो । ‘सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृत्ति देखिएको छ ।यस कार्यको सुधारकालागि महानगरपालिकाबाट पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत आफू खुशी काम गर्ने प्रवृत्ति रोकिएको छैन । यसमा महानगरको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

११ महिनामा १ हजार कसरी बन्यो ११ हजार ? यस्तो छ भर्चुअल मुद्राको रहस्य

काठमाडौं । पछिल्लो केही महिनामा धेरैपटक बिटक्वाइन चर्चा साम्य हुने कुरा चलिरहेको छ । तर, भर्चुअल मुद्रा बिटक्वाइनको भाउ घट्ने संकेत समेत देखिएको छैन । सन् २०१७ को अहिले ११ महिनाबितिसकेको छ । एउटा बिटक्वाइनको मूल्य ११ हजार अमेरिकी डलरसम्म पुगेको छ । ठिक एक वर्ष अघि बिटक्वाइनको भाउ ७ सय ५३ डलर पुगेको थियो । एक वर्षमा यसमा करिब १ हजार तीन सय प्रतिशतले उछालिएको छ । लक्जमबर्गमा आधारित बिटक्वाइन एक्सचेञ्जका अनुसार बिटक्वाइनले यो वर्ष आफ्नो यात्रा १ हजार डलरबाट सुरु गरेको थियो । अर्थात जनवरीको सुरुवातमा १ बिटक्वाइनको मूल्य १ हजार डलरमा पाइन्थ्यो । सन् २००९ मा सार्वजनिक भएपछि यो भर्चुअल मुद्राको भाउमा ठुलो उतारचढाव आइरहेको छ । प्रत्यक्षरुपमा अस्तित्वमा नभएको मुद्राको भाउ कसरी दिन प्रतिदिन बढिरहेको छ ? यसमा लगानी कसले गरिरहेको छ ? रिसर्च फर्म अटोनोमस नेक्स्टले यसको पत्ता लगाउने कोसिस गरेको छ । यसको पछाडी हेज फण्ड्सको खेल रहेको दाबी गरिएको छ । जो सेयर किन्दै त्यसलाई फेरि मूनाफामा बेच्ने गर्छ । फाइनान्सियल मार्केटमा हेज फण्डको लगानीका लागि छुट्टै वैकल्पिक कोष खडा गरिएको छ । जसको प्रयोग राम्रो मुनाफा लिनका लागिगरिन्छ । यो फण्डले एकैचोटी लगानीका लागि थुप्रो रणनीतिहरु अपनाउछ । जसले मुनाफा सुनिश्चित गर्दछ । अटोनोमस नेक्स्टका अनुसार यो वर्ष बिटक्वाइनको खरीद-बिक्रीमा हेज फण्ड्सको साझेदारी ३० बाट बढेर १ सय ३० सम्म पुगेको छ । यसका कारण बिटक्वाइनले ठुलै मुनाफा दिएको छ । यसको मुनाफा संसारमा सबैभन्दा बढी मुनाफा दिने कम्पनी डिज्नी, आईबीएम वा म्याकडोनल्डको भन्दा बढी छ । विश्लेषक नाथनियल पपरले यही कुरालाई अघि बढाउँदै बिटक्वाइनको खरीदकर्ताहरु संसारभरमा में फैलिएका छन् । न्यूयोर्क टाइम्समा लेखिएको एक लेखमा पपरले लेखेका छन्, “सुनसँग प्रतिस्पर्धा गर्नसक्ने लगानीको क्षेत्र भेटिएको उनी स्विकार्छन् । यो यस्तो लगानीको क्षेत्र हो जसमा कम्पनीहरुको अधिकार छैन र यसमा सरकारको पनि नियन्त्रण छैन ।” बिटक्वाइन के हो ? बिटक्वाइन एउटा भर्चुअल मुद्रा हो जसमा कुनै सरकारी नियन्त्रण छैन । यो मुद्रालाई संसारको कुनै बैंकले पनि जारी गरेको छैन । किनभने यो कुनैपनि देशको मुद्रा होइन । त्यसैले यसमा कुनै पनि ट्याक्स लगाइएको छैन । बिटक्वाइन पूर्णरुपमा गुप्त मुद्रा हो । यसलाई सरकारबाट लुकाएर राखिएको हुन्छ ।

२५ करोड फिर्ता पाउने भएपछि युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सिजी इलोट्रोनिक्सले दावी वापत लगेको २५ करोड रुपैयाँ फिर्ता हुने भएपछि युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मुल्य करिब १०(अर्थात ९.९६) प्रतिशतले बढेको छ । बिहीबार युनाइटेडको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ बढेर १ हजार ३४७ रुपैयाँ पुगेको छ । बिहीबार युनाइटेडको ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो । सेयर मूल्य बढेपछि युनाइटेडका लगानीकर्ताले एकै दिन १२२ रुपैयाँ कमाएका छन् । सीजी र युनाइटेड दुबै चौधरी ग्रुप अन्र्तगतका कम्पनी हुन् । सीजीले ४ वटा गोदाममा आगलागी भएपछि तत्काल युनाइटेडबाट २५ करोड रुपैयाँ दावी भुक्तानी पाएको थियो । पाटन उच्च अदालतले दावी रकम फिर्ता गर्न सीजीलाई आदेश दिएपछि यसको असर बजारमा परेको हो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । चारवटा बिमा पोलिसीअन्तर्गत करिब ८५ करोड रुपैयाँ बराबरको सम्पत्तिमा भएको आगलागी पछि बीमा सर्भेयरले ५८ करोड रुपैयाँ क्षति भएको प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार युनाइटेडले सीजीलाई आंशिक रुपमा २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । उच्च अदालतको आदेश विरुद्धमा चौधरी ग्रुप सर्वोच्च अदालतमा जाने तयारी गरेको छ । युनाइटेडमा चौधरीका विभिन्न कम्पनीको नाममा १६ प्रतिशत लगानी छ ।

सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले उकालो

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुल्नासाथ उकालो लागेर १५४० अंकमा पुगको नेप्से करिब २ घण्टामा ओरालो लागेर १५२७ अंकमा झरेको थियो । त्यसपछिको बजारमा भने नेप्सेलाई केही टेवा पुगेको देखिन्छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य १.५५ अंकले उकालो लागेर १५३७.६७ अंकमा पुगेको छ । बुधबारको तुलनामा नेप्सेमा सामान्य सुधार भएता पनि कारोबार रकमा भने भारी गिरावट आएको छ । बुधबार एक अर्ब बढी रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त रकम अघिल्लो दिनको तुलनामा करिब २५ करोड रुपैयाँ घटी हो । बिहीबारको बजारमा जम्मा १६४ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् । साताको अन्तिम कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक २५ अंकले बढेको छ । त्यस्तै, हाइड्रो समूहको परिसूचक २१ र बीमाको २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले झरेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

सवारी लाइसेन्स वितरण र नविकरण गर्ने सबै काम बन्द

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयका कर्मचारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएपछि सवारी अनुमतीपत्र (लाइसेन्स) वितरण सेवा स्थगित भएको छ । यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी चुनावका लागि मतदान स्थल  र केन्द्रमा खटिएपछि त्यसको प्रभाव हजारौं सेवाग्राहीमा परेको छ। लाइसेन्सका लागि दिन यातायात कार्यालय पुगेका सेवाग्राही ट्रायल नदिई फर्कन बाध्य छन् । देशैभर विभाग अन्तर्गत २३ वटा यातायात व्यवस्था कार्यालयहरु छन् । यातायात व्यवस्था कार्यालयहरुमा कार्यरत ९० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएको यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘देशकै ठुलो पर्वजस्तो बेलामा कर्मचारी खट्नु स्वभाविक पनि हो,’ उनले भने, ‘ लिखित परीक्षा लिने कर्मचारीदेखि ट्राफिक प्रहरीसम्म चुनावमा खटिएका छन् । कोही कर्मचारी नभएपछि चुनावसम्मका लागि लाइसेन्सको काम स्थगित गरेका छौं ।’ पुरानो लाइसेन्स नविकरणको काम भइरहेको भट्टराईले बताए । उनका अनुसार शुक्रबारदेखि नविकरणको काम पनि बन्द हुनेछ भने आइतबारदेखि राजश्व उठाउने काम पनि स्थगित गरिनेछ । उनले भने, ‘आउदो आइतबारदेखि सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण सेवा स्थगित गर्नेछौं ।’ निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल  मंसिर २१ गते सम्मको लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अधिकांश कर्मचारी चुनावमा खटिएकाले सेवा केही हदसम्म प्रभावित भएको भट्टराईले बताए। ‘चुनावमा कर्मचारी खटिँदा केही समस्या परे पनि विभागले सेवा दिइरहेको छ’, उनले भने, ‘यद्यपी आइतबारदेखि कर्मचारी नहुँदा स्थगित नै गर्नुपर्ने बाध्यता छ।’

इटहरीको भलाद्मी टोलमा बम विष्फोट, नाबालक सहित तीन घाईते

इटहरी । सुनसरी क्षेत्र नं ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाई लक्षित गरी राखेको बम बिष्फोट हुदा इटहरीमा तिन जना घाइते भएका छन् । विष्फोटमा परी एक नावालक सहित ३ जना घाईते भएका छन । स्थानीय धनबहादुर श्रेष्ठ, सम्रिना अधिकारी र नावबलक योवन न्यौपाने घाईते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरन्जिबी दाहालले बताएका छन् । इटहरी ९ मा रहेको भलाद्मी टोलमा रहेको कार्यक्रममा उपप्रधानमन्त्री तथा क्षेत्र नं ३ का उम्मेदवार विजय गच्छदारको श्रीमती निर्मला गच्छदार, क्षेत्रनम्वर ३ क का उम्मेदवार कुमार थापाको श्रीमती शान्ता थापा, राज्यमन्त्री सुमित्रा विस्वास र पूर्व संसद कल्पना चौधरी लगायत सहभागी हुने कार्यक्रम थियो । नेपाली काग्रेसका महिलाहरुले चुनावी सभा आयोजना गरेका थिए । त्यो सभामा बिजय गच्छदार आउने अनुमानले बम राखिएको हुनसक्ने आशंका गरिएको छ । कार्यक्रमस्थल नजिकै वम विष्फोट भएको हो । बमको छर्राले नेपाली काग्रेसका जिल्ला सदस्य दिपक ढकालको आखामा पनि चोट लागेको छ । अस्ती पनि इटहरी १२ को खनार चौकमा आयोजित बिजय गच्छदार सहभागि कार्यक्रममा बम भेटिएको थियो । त्यस बेला सुरक्षाकर्मीले बम डिष्पोज गरेर मानबीय क्षति हुनबाट जोगाएका थिए । बुधबार मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षीत गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएका थिए।

आजदेखि बाघको गणना सुरु, कति छन् त नेपालमा बाघ ?

रत्ननगर । दुर्लभ जातका रोयल बंगाली बाघको गणना आजदेखि सुरु भएको छ । भारत र नेपालमा एकैचोटी बाघको गणना सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । उक्त गणना दुई दक्षिण एशियाली मुलुकबीचका तराई भेग अन्तर्गतका दर्जनौं जंगलहरुमा गरिनेछ । यो परियोजनाले रोयल बेंगल बाघहरुको संख्या पत्ता लगाउनेछ । ९ सय ५० किलोमिटर क्षेत्रफलमा फैलिएको तराई भेग भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्ड र नेपालको दक्षिण भेगमा अवस्थित छ । उक्त क्षेत्रमा संसारकै बाक्लो ५००को हाराहारीमा बाघहरु रहेको वर्ल्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) को तथ्यांकले देखाएको छ । विभागका अनुसार क्यामराको सहायतबाट बाघको गणना गरिदैछ । बाघ हिड्ने बाटोहरुमा क्यामरा राखिएको हुन्छ । सोही क्यामरा मार्फत कति बाघ छन् तथ्यांक संकलन गरिने विभाले जानकारी दिएको छ । विभागका कार्यकारी निर्देशक गोपाल प्रसाद भट्टराईले १५० वटा क्यामरा सहित करिब २ सय जनशक्तीको सहायताबाट बाघको संख्या आकन गर्ने बताए । क्रमिक रुपमा गरिने गणनाबाट एउटै बाघ दोहोरिने सम्भावन कम हुने उनले बताए । सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ वटा थियो । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, सुख्लाफाँटमा १७, पर्सामा ७ र बांकेमा चारवटा थिए ।

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ । मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइटमा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाए । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ । रासस