विकासन्युज

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

गोरखा । ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवलाल पौडेलका अनुसार ६१ हजार ३०० लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजार जनाले रु ५० हजारका दरले पहिलो किस्ता पाइसकेको र १२ हजार ९२० जनाले दोस्रो किस्ता बुझ्नुका साथै चार हजार ५८५ जनाले तेस्रो किस्ता अनुदान पाएका छन् । सरकारले जग खन्नका लागि पहिलो किस्ता रु ५० हजार, घरको डिपिसी गरेपछि दोस्रो किस्ता रु एक लाख ५० हजार र घर निर्माण सकेपछि तेस्रो किस्ता रु एक लाख दिने नियम बनाएअनुसार किस्ताबन्दीमा भूकम्पपीडितलाई घर निर्माणमा सघाएको हो । पौडेलले भने, “प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राधिकरण, कोलेनिकालगायत कार्यालयका कर्मचारी खटिकाले एक साता अनुदान वितरण प्रभावित भएपनि बुधबारदेखि लाभग्राहीलाई पुनः अनुदान वितरण शुरु गरियो ।” कामदार, निर्माण सामग्री, मापदण्डको अन्यौल, बैंक नहुँदा अनुदान किस्ता लिन सास्तीलगायत बाधाव्यवधानका बीच भूकम्पपीडितले घर बनाएका छन् । चिसो बढ्दै गएको छ भने उत्तरी भेगमा हिउँ पर्न शुरु गरिसकेको छ । मर्मत गरेर बस्न मिल्ने घरलाई पनि सरकारले मर्मत खर्च दिने बताएको छ । एक लाख रुपैयाँ लिएर चर्किएका घरहरु मर्मत गर्न सकिन्छ । गोरखाका २०१९ जना भूकम्पपीडितको नामावली रु एक लाखका दरले अनुदान पाउने गरी प्रबलीकरण (मर्मत)मा निस्किएको भए पनि प्रबलीकरणको काम भने अझै शुरु भएको छैन । भूकम्पपीडितलाई छिटो अनुदान लिएर घर बनाउन सरकारले आग्रह गर्दै पनि भूकम्पपीडितले अनेक बहानामा घर बनाउन ढिलाइ गरेका छन् । रासस

समृद्धि र विकास लोकतन्त्रमा मात्रै सम्भव छ: विनोद चौधरी

काठमाडौं । उद्यमी विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्रै आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै आगामी चुनावमा कांग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् । बिहिबार हटौडा, सिराह, सप्तरी, सर्लाही र विरगंजमा आयोजित कांग्रेसको चुनावी आमसभामा बोल्दै उनले मुलुकमा राजनीतिक आन्दोलन सकिएर आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनु पर्ने समय भएकाले कांग्रेसले मात्रै त्यस्तो जिम्मेवारी पुरा गर्न सक्ने बताए । ‘यो मुलुकमा २०४६ सालपछि कांग्रेसकै उदारिकरणको नीतिका कारण हामीले अहिले स्वतन्त्रतापूर्वक पेशा र व्यवशाय गर्न पाएका हौ’ उनले भने, ‘तर लोकतान्त्रिक व्यवस्था बाहेक कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता रहदैन ।’ चौधरीले मुुलुकमा स्वदेशी र विदेश लगानी भित्राएर लाखौको रोजगारी सृजना गरि मुलुकलाई समृद्धितर्फ अधि बढाउन सक्ने पनि बताए । ‘उहाँका स्थानीय कच्चा पदार्थ र कृषिजन्य वस्तुहरुको वजारीकरण गरेर स्थानीय तहलाई आर्थिक रुपमा सवल बनाउन सकिन्छ’ चौधरीले भने । उनले २०४८ सालमा कांग्रेसको सरकारले सुरु गरेको क्रान्तिकारी आर्थिक सुधारकै आधारमामा अहिलेसम्म मुलुकलाई धानेर राखेको पनि बताएका छन् । ‘२० बर्षका राजनीतिक अस्थिरताका बावजुत पनि कांग्रेसकै नीतिका कारण मुलुकलाई आर्थिक रुपमा धान्न सम्भव भएको हो’ चौधरीले भने, ‘त्यो बेला कांग्रेसले खोलिएका ढोकाहरु सवल अर्थतन्त्रका लागि आजसम्म जारी छन’ उनले भने, ‘त्यसलाई नयाँ उर्जा दिनु आजको आवस्यकता हो । अव नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासको उचाई लिनेछ ।’ चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पुर्याउने भन्ने कांग्रेसले मात्रै खाका कोर्न सक्ने पनि बताएका छन् । ‘विकासलाई कसरी अघि बढाउने त्यसको खाका कोर्न यो चुनाव हाम्रा लागि ठूलो अवसर हो’ चौधरीले भने, ‘त्यसैले कांग्रेसलाई अत्याधिक मतले जिताउनुहोस ।’ उनले लोकतान्त्रिक पार्टीले मात्रै वलियो अर्थतन्त्र बनाउन सक्ने बताउँदै कांग्रेसका अवका रणनीतिहरु विकास केन्द्रीत हुने स्पष्ट पार्नुभयो । ‘म, राजनीति मात्रै गर्न कांग्रेससँग जोडिएको होईन’ चौधरीले भने, ‘आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ जोडिएको हो ।’

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ । बैंकले गत मंसिर १२ गते बैतडीको ठाटामा र १३ गते बझाङ्गको बित्थडमा क्रमशः ५१ औँ र ५२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैतडीको ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुनबहादुर कुवँरलाई र बझाङ्को बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नरबहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

लामखुट्टेले टोक्दा एड्स सर्छ कि सर्दैन ? यस्ता छन् एचआईभी सम्बन्धी तथ्यहरु

एड्स र एचआईभीको विषयमा मानिसमा निकै दुविधा हुने गरेको छ । यसको बारेमा जानकारी हुनु निकै आवश्यक छ । एचआईभी एउटा भाइरस हो जसको संक्रमण सिधै रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) मा पर्दछ । यदी यसको उपचार सही समयमा भएन भने मानिसको इम्युन सिस्टम पूर्णरुपमा खराब हुनसक्छ । यिनै मानिसमा एचआईभी फैलिनेबारेमा कति भ्रमहरु हुन्छन् । यस्तो गर्दा एचआईभी सर्दैन अंकमाल गर्दा, हात मिलाउदा, ट्वाइलेट साझेदारी गर्दा, सँगै खादाँ वा नजिकै मुख ल्याउदा तथा चुम्बन गर्दा एचआईभी सर्दैन । यसबाहेक लार, आँसु, पसीना (शरीरमा एचआईभी संक्रमित व्यक्तिको नमिसिएको), लामखुट्टे वा अन्य कुनै परजीवी प्राणीले रगत चुस्दा पनि एचआईभी सर्दैन । कसरी सर्छ एचआईभी एचआईभी विशेष किसिमको शरीरबाट निस्कने तरल पदार्थ, रगत, सीमेन, प्री-सेमिनल फ्लूइड, रेक्टल फ्ल्युड, वजाइनल फ्ल्युड्स या एचआईभी संक्रमित महिलाको स्तनबाट निस्किएको दुध बाट दोस्रो व्यक्तिको शरीरमा पुग्न सक्छ । अधिकांश मानिसमा एचआईभी असुरक्षित यौनसम्पर्क वा सिरिन्जमार्फत फैलन्छ । एचआईभी संक्रमित आमाले बच्चाहरुमा पनि यो संक्रमण फेलाउन सक्छ । एचआईभीका बारेमा केही तथ्य -एचआईभी एक भाइरस हो जसले इम्यून सिस्टममा आक्रमण गर्दछ । एचआईवी संक्रमणको अन्तिम चरणमा शरीरमा थुप्रै रोगको लक्षण देखापर्छ, जसालाई एड्स भनिन्छ । -एचआईभी संक्रमण भयो भने एड्स पनि लाग्छ । यद्यपी उपचार कति चाडो भयो, त्यसमा निर्भर गर्छ । -एचआईभीको संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय कन्डोमको प्रयोग हो । -ड्रग्सको प्रयोगका लागि सधै सफा नीडलको प्रयोग गर्नुपर्छ । (स्रोत – नवभारतटाइम्स)

एक सातामै ६ सय रुपैयाँले सस्तियो सुनको भाउ, सुन साढे ३ सातायताकै सस्तो

काठमाडौं । सुन साढे ३ सातायताकै सस्तिएको छ । साताभरमा सुनको भाउ ६ सय रुपैयाँले ओरालो लागेको छ । साताको दोस्रो दिन उकालो लागेपनि सुनको साताभरमा ६ सय रुपैयाँले घटेको हो । रोयटर्सका अनुसार डिसेम्बरको मसान्ततिर अमेरिकाको केन्द्रिय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर बढाउने अपेक्षा बढेपछि लगानीकर्ताले सुनमा लगानी घटाएका छन् । अन्तराष्ट्रिय बजारमा विहिबार प्रति औंस १२ सय ७४ अमेरिकी डलर रहेको सुनको भाउ शुक्रवार १२ सय ७० प्रति औंस पुगेको छ । अन्तराष्ट्रिय बजारको प्रभाव नेपाली सुन बजारमा परेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ सय रुपैयाँले सस्तिएको छ । विहिबार पनि तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि उती मूल्यमा सस्तिएको छ । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको १ सय रुपैयाँले बढेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ १ सय रुपैयाँले सस्तियो भने विहिबार फेरि घट्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५५ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५५ हजार ७ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आइतबार सुन तोलामा ५६ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुनको भाउ तोलाको ५६ हजार १ सय रुपैयाँ पुगेको थियो भने बुधबार ५६ हजार रुपैयाँ कायम भएको थियो। साता भरमा चाँदीको भाउ १० रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सगुनले शेयर खरिदको समय ७२ घण्टा थप्यो, डिसेम्बर ३ सम्म लगानी गर्न सकिने

काठमाडौं । सगुनले दोस्रो राउण्डको शेयर बिक्री म्याद थप गरेको छ । अमेरिकाको न्यूयोर्क समय अनुसार नोभेम्बर ३० तारिख मध्य रातमा सकिने समय सिमा तोकिए पनि विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैंक ट्रान्सफरमा समस्या देखिएकाले शेयर खरिदको समय ७२ घण्टा थप गरेको हो । अब अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्य रातसम्म लगानी खुल्ला रहनेछ । शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको सगुनले जानकारी दिएको छ । कम्पनीका अनुसार लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाटअत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएका छन् । अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन,  केही देशहरुमा वायर ट्रान्सफर देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराएको छ । सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो । सगुनकको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राबिधिक कठिनाइका कारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको हो । अष्ट्रेलिया,  भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न र हाम्रा लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको यो समय प्रयाप्त हुने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार शेयर विक्री कार्यक्रम न्यूयोर्क समय अनुसार नोभेम्बर ३० मध्य राती बाट जम्मा ७२ घण्टाको लागि थप गरिएको जानकारी छ । थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्य रात (न्युयोर्क समय)सम्म म्याद रहनेछ । शेयर लगानीको प्रकृयामा प्रवेश गर्ने र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय पर्याप्त हुने हाम्रो विश्वास छ । सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्न अनुरोध गर्दै यो भन्दा अरु समय थप नहुने पनि जानकारी गराएको छ ।

निष्क्रिय कर्जा घटाएर नाफा बढाउदै छौं -गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए । उनी गत जुलाईदेखि सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका छन् । बैंकको समग्र गतिविधिमा केन्द्रित रहेर सीईओ गुरुङसंग विकासन्युजले गरेका कुराकानीको अंशः गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक लिमिटेड अन्य बैंकको तुलनामा आजका दिनसम्म सिभिल कुन पोजिसनमा छ ? निक्षेप, कर्जा लगानी र नाफाको हिसाबले बैैकको पोजिसन राम्रो छ । सिभिल नयाँ बैक भएकाले निक्षेप लागत (कस्ट अफ फण्ड), पूँजी परिचालन लगायत विभिन्न तवरले अरु पुराना बैंकसँग तुलना गर्दा चुनौती बढी नै छ । यद्यपी हामी योजनावद्ध ढंगले अगाडी बढेका छौं । हाम्रो पूँजीवृद्धि योजना सफल रुपमा अघि बढेको छ । अहिले हामीसँग ५ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी छ । ४० प्रतिशत हकप्रद सेयर आइसकेको छ । आगामी पुस २७ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेका छौं । त्यसपछि हाम्रो पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । त्यसबाहेक हामीले पूँजीवृद्धिलाई नै ध्यानमा राखेर पाँचवटा संस्थासंग मर्जर र प्राप्ति (एक्विजिसन) समेत गरेका छौं । ३ वर्षअघि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तिय संस्थालाई मर्जर गरेका थियौं । राष्ट्र बैंकबाट पुँजी वृद्धिको सर्कुलर आएपछि हामीले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सियल कम्पनी लिमिटेड (आएलएफसीएल ) लाई मर्ज गर्‍यौं । युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई एक्वायर गर्यौ । त्यसपछि पुँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । आईएलएफसीएललाई गाभेपछि हामीसंग ५६ करोड २८ लाख रुपैयाँ संचित कोषमा थप भएको छ । गत असार मसान्तमा नाफा ३३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । ४० प्रतिशत हकप्रद सेयर निष्कासन, संचित कोषको रकम र असार मसान्तको खुद नाफा समेत जोडेर यो वर्ष पुँजी ८ अर्ब रुपैयाँ पुग्दैछ । यसरी हामी पूँजीगत क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढेका छौं । व्यवसायको आकारका हिसाबले पनि आज राम्रो स्थितिमा छौं । आजको दिनसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप परिचालन र करिब साढे ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौ । अहिलेको अवस्थामा हाम्रा लागि यो आकारको कारोबार राम्रो हो । लाभदायिकताको हिसाबले हेर्दा यो वर्षको पहिलो त्रैमासिकमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । उमेरमा हामी २८ औं कान्छो बैंक भए पनि नाफाको दृष्टिकोणबाट हेर्दा चार वटा बैंकभन्दा अगाडी अर्थात २४ औं स्थानमा पुगेका छौं । शाखा सञ्जालको कुरा गर्दा पूर्व मेचीदेखि महाकालीसम्म हामीसँग अहिले ५३ वटा शाखा, ९ वटा शाखारहित बैंकिङ सेवा तथा ३८ वटा एटिएम सेवा छ । यसपाली हामी २५ वटा थप शाखा विस्तार गर्दैछौं । बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पाटो नियन्त्रण र परिपालन नै हो । यसमा हाम्रो बैंक सहज ढंगले सञ्चालन भइरहेको छ । परिपालनमा हामी निकै जोड दिइरहेका छौं । संस्थागत सुशासनामा पनि हामीले सबै किसिमका जोखिमलाई कम गर्ने उद्येश्यका साथ कार्यक्रम अगाडी बढाइरहेका छौं । हाम्रा सम्बन्धित सञ्जाल पनि नेपालका ठुला पुराना बैंकहरु सरह छन् । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जनशक्ती पनि हो । अहिले हामीसँग ५३६ जना दक्ष जनशक्ती छन् । सबैको कार्य सम्पादन राम्रो छ । त्यसलाई अझ परिष्कृत गर्दै लैजानका लागि हामीले प्रशिक्षणमा बढी जोड दिएका छौं । यी सबै कारणले हाम्रो स्थिती राम्रो छ । भोलीका दिनमा अग्रणी बैंकका रुपमा अघि बढ्न यी आधारहरुले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा बढेको देखिन्छ । यसको कारण के होला ? यसपछाडी दुईवटा कारण छन् । पहिलो कारण हामीले पाँच वटा कम्पनी मर्ज गर्र्यौं । तिनै संस्थामा भएको निष्क्रिय कर्जाले गर्दा बढ्नमा योगदान पुगेको छ । त्यसमा पनि मर्जरबाट एक थरी निष्क्रय कर्जाको रुपमा आएका थिए । विकास बैंक र वाणिज्य बैंकको काम गर्ने तरिकाबीचको अन्तर अर्को कारण हो । स्थापनाकालदेखि सिभिलले कारोबार बढाउन पुराना बैंक तथा वित्तिय संस्था मर्ज गरेर ल्याउँदा केही खराब कर्जाहरु आएका छन् । प्रमुख कारण चाँही कारोबार बढाउने चाप नै हो । निष्क्रिय कर्जा अनुपात बढ्दा हाम्रो लाभदायिता पनि प्रभावित भएको छ । हिजोको दिनमा हामी २८ औं पोजिसनमा थियौं भने अहिले २४ औंमा पुगेका छौं । निष्क्रिय कर्जाको मार खेप्नु नपर्ने हो भने हामी अझैं अगाडी हुन्थ्यौं । यही त्रैमासिकको मात्र हेर्ने हो भने हामीले थप ३१ करोड रुपैयाँ प्रोभिजनिङ गर्यौं । ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा असुली गरेका थियौं । यद्यपी प्रोभिजनिङका कारण यसको सुविधा उपभोग गर्न पाएनौं । राइट ब्याकको उपभोग गर्न पाएको भए हामी निकै अगाडी बढ्थ्यौं । हामीले प्रोभिजनिङमा १ अर्ब ८६ करोड राख्या छौं । बैंकको रिजर्भमा मात्र पुरा रकम छ जसले एनपिएलाई पुर्णरुपमा थेग्न सक्छ । बैंकको समग्र वित्तिय पोजिसन अत्यन्तै राम्रो अवस्थामा छ । हामीले केन्द्रिय बैंकको मापदण्ड अनुसार हकप्रद सेयर पनि जारी गरेका छौं । आगामी असार मसान्तसम्ममा खराब कर्जा घटाएर कतिमा झार्दै हुनुहुन्छ ? गत असारसम्म यस्तो कर्जा ४ प्रतिशत मात्र थियो । यो त्रैमासिकमा बढेर ४.६५ प्रतिशत पुगेको छ । त्यसैले गर्दा पनि प्रोभिजनिङ बढेको हो । आगामी असार मसान्तसम्ममा यसलाई २ प्रतिशतमा झार्ने योजना छ । निष्क्रिय कर्जा असुली लिगल मिटिगेसन सिस्टमबाट जाने भएकाले समय लाग्छ । आगामी वर्षसम्म बैंकको नाफा कति पुर्याउने लक्ष्य छ ? यसरी आधिकारिक रुपमा रणनीतिक कुरा भन्न सकिदैन । आन्तरिक बोर्डमा छलफल गर्ने पाटो फरक हो । तर गत वर्षको तुलनामा राम्रो गर्ने लक्ष्य लिएका छौं । सिभिल सेयरको मूल्य अन्य बैंकको भन्दा निकै कम छ । यस्तो कसरी हुन गएको हो ? कान्छो बैंक भएपछि पाउने प्रतिफल पनि कम हुन्छ, त्यसैले पनि सेयरको मूल्य कम भएको होला । एकातर्फ सेयर बजार घट्दो क्रममा रहेको अवस्था छ । सेयरमा विश्वास कम भएर वा लगानी कम भएर सेयरको परिसुचक नै तल छ । भर्खरै मात्र हामीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका कारण सेयर मूल्य समायोजन (एडजस्टमेन्ट) हुँदा सेयरको मुल्य घटेको हो । हकप्रद निष्कासन गर्नुअघि सेयरको मूल्य २३० रुपैया थियो । अहिले धेरै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री नभएर लिलाममा गइरहेको छ । सिभिल बैंकको पनि लिलामी गर्नुपर्ने संभावना कतिको छ ? सबै बैंकको केही सेयर लिलाममा गइरहेकै छन् । यसमा दुईवटा कारण छन् । पहिलो रकम नपुगेर हकप्रद सेयर हाल्ने कमै छन् । हाम्रो ६० हजार भन्दा बढी सेयर सदस्य छन् । पैसा हाल्ने ईच्छा हुँदाहुँदै पनि थाहा नपाएर हकप्रद खरिद गर्न नपाउने धेरै छन् । हामीले पनि लिलाममा जानुपर्छ की भन्ने आँकलन चाँही गरेका छौं । हकप्रद किन्नेले बोनस सेयर पाउछन ? हकप्रद सेयर किन्नेले बोनस अवश्य नै पाउँछ । किनभने हामीले राष्ट्र बैंकमा वित्तीय विवरण पठाइसकेका छौं । अहिले त्यो विचाराधिन छ । हकप्रद सेयर बन्द गरेपछि बल्ल हाम्रो वार्षिक साधारणसभा आउँछ । यसको अर्थ जो जसले हकप्रद सेयर हालेका छन् उनीहरुले बोनस पाउने निश्चित नै छ । सेयर संख्या बढिरहे पनि बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी पनि घट्दै गएको छ । आगामी दिनेमा तपाईलाई चुनौती छैन र ? सिभिल बैंक इपिएस बढ्नेमा सबैभन्दा अगाडी रहेको छ । यो एउटा मोमेन्टम तयार भएको छ । यसलाई व्यवस्थापन गर्दै दिगो रुपमा अगाडी बढाउनुपर्ने चुनौती त छँदै छ । कारोबार यही हिसाबले बढ्दै गयो भने यसले इपिएसलाई पनि दिगोरुप बढाउँदै जानेछ । गत साल यही समयमा ‘तरलता अभाव’ सुरु भइसकेको थियो । यसपालीको अवस्था के छ ? आजका दिनसम्म त यस्तो समस्या छैन । चुनावसम्म त्यती समस्या नदेखिने हामीले अनुमान गरेका छौं । २र३ अर्ब पूँजी पनि बढेकै छ । मुद्रास्फिती कम हुनु, सरकारको खर्च तथा आय स्थिर भएको र घरायसी आम्दानी बढ्नु नै कारण हो । त्यस्तै चुनावमा अनौपचारिक माध्यमबाट आउने रकम पनि बैंकिङ च्यानलबाट आउने सम्भावना छ । स्थानीय तहका लागि २३८ अर्ब रूपैयाँ बजेट छुट्याए अनुसार खर्च हुन लागेको छ । यसले गर्दा वित्तिय प्रणालीमा त्यो पैसा पनि आउछ । यी सबै कारणले गर्दा तरलता माघसम्म सहज हुन्छ । त्यसपछि प्रादेशिक सरकार बन्ने क्रम सुरु हुन्छ, जुन हाम्रा लागि थप अवसर हो । किनभने चालु आर्थिक वर्षमा विकास निर्माण शिर्षकमा ३ खर्ब ३५ अर्ब रुपैयाँ विकास खर्चलाई विनियोजन गरिएको छ । अहिले जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ । २४१ अर्ब चाँही सरकारकै ढुकुटीमा थन्किरहेको छ । यो रकम बढ्दै गएर समयमा नै सरकार नबन्ने र बनेपछि पनि प्रभावकारी ढंगले खर्च गर्न नसक्ने अवस्था रह्यो भने चाँही ितरलता अभाव जटिल नबन्ला भन्न सकिदैन । सिभिलको पूँजी पर्याप्तता १९ प्रतिशत हारहारीमा छ । परिचालनतर्फ बैंकले किन ध्यान दिदैन ? पूँजी ४०० प्रतिशतले बढ्ने र कारोबार नबढ्ने समस्या छ । हाम्रो ८ अर्ब रुपैयाँ पूँजीलाई हेरेर नाफा बढाउन ८० अर्ब रुपैयाँको कर्जा लगानी हुनुपर्छ । यसमा पनि कतै १५० प्रतिशत पूँजी आवश्यक होला भने कतै ६० प्रतिशत होला । तर सरदरमा ८० अर्ब रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । अब ३२ अर्ब रुपैयाँ कारोबार गरिरहेको बैंकले तत्काल कारोबार बढाएर ८० अर्ब रुपैयाँको पुर्याउन सक्दैन् । यो क्रमिकरुपमा बढ्दै जान्छ । अन्य बैंक भन्दा सिभिलले आफना ग्राहकलाई दिने फरक सुविधा के हो ? सिभिलको मुख्य पहल सेवामा नै केन्द्रित छ । सिभिलले चुस्त र दूरुस्त रुपमा सेवा दिन्छ । अर्को कुरा हामी नयाँ बैंक भएकाले डिपोजिट बढाउनका लागि अधिकतम लाभ दिइरहेका छौं । आजको दिनमा तपाईले हेर्नुभयो सिभिलको सेभिङ रेट उच्च छ । हामीले कम मार्जिनमा काम गरेर डिपोजिटरलाई अधिकतम लाभ दिइरहेका छौं । हामीले क्रेडिटलाई पनि डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेका छौं । हामीले मास्टर कार्डमा क्रेडिटको सुविधालाई समेटेका छौं । हामी अन्य सेवालाई पनि प्रविधि मार्फत प्रदान गरिरहेका छौं । अरु बैंकमा जानुपर्यो भने छुट्टै क्रेडिट कार्ड लिनुपर्ने बाध्यता छ । तर सिभिल बैंकमा एउटै कार्डलाई डेबिट र क्रेडिट दुवै कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । आधार ब्याजदर यहाँहरु ११.५५ प्रतिशतमा देखिएको छ । यहाँहरुले पाउने कर्जा धेरै महंगो छ । कहिलेदेखि घट्छ ? निक्षेमा उच्च ब्याजदर दिएको कारण आधार ब्याजदर बढी देखिएको हो । आजको दिनमा हाम्रो निक्षेप लागत भनेको सवा ८ प्रतिशतको हाराहारीमा छ । यसकारण आधार दर बढी भएको हो । कर्जा लिने ग्राहकलाई यसले मार पारेको छ । तर कर्जा पनि प्रतिस्पर्धी ढंगले गइरहेका छौं । महंगो भनेर धेरै महंगो पनि छैन । कहिलेदेखि सेवाग्राहीले सस्तोमा कर्जा पाउलान् त ? यसका लागि त हाम्रो निक्षेप लागत घट्नुपर्छ । जसका लागि हामीले बचतमा नै जोड दिइरहेका छौं । त्यो हुँदै गएपछि स्वचालित ढंगले कर्जाको दर चाँही घट्दै जान्छ । त्यसबाहेक हाम्रो सञ्चालन खर्च गर्नुपर्ने कुरा पनि छ । यसको एउटै उपाय भनेको कारोबार बढाउनुपर्ने हो । यसले सम्पूर्ण सञ्चालन खर्चलाई घटाउदै लैजान्छ । यद्यपी यो तुरुन्तै हुने कुरा होइन । आगामी वर्ष बैंकले सेयरधनीलाई दिने प्रतिफल कतिसम्म बढ्ला ? ठ्याक्कै यतिउती भन्न मिल्दैन । तर पुँजी बढेकाले गर्दा सबै बैंकको चाँही प्रतिफल विगतका तुलनामा कम नै हुने देखिन्छ । सेयर पनि घटिरहेको छ । ठुलो बैंकको कुरा गर्दा पनि २ अर्ब कमाउँदा २ अर्ब पुँजीलाई नै बाड्नुपर्ने देखिन्छ । त्यसकारण प्रतिशतका हिसाबले घट्छ नै । हामी जस्तो नयाँ बैंकको चाँही बढ्न पनि सक्छ । हाम्रो क्यापिटल बढेकाले त्यही अनुपातमा त नबढ्ला । सिईओ भएपछि कतिको तनाव बेहोर्नुपरेको छ ? सिईओ भएपछि स्वभाविकरुपमा तनाव त हुने नै भयो । त्यही तनाव लिएर सबै सेयरहोल्डरलाई राम्रो प्रतिफल दिनुपर्छ भनेर नै यो पोजिसनमा आएको छु । प्रोफेसनल तनाव भन्दा पनि बजारले पार्ने प्रभावका कारण बढी तनाव दिएको हुन्छ । जस्तो सरकारले समयमा बजेट खर्च गरेन भने अर्को समस्या देखिन्छ । जुन मेरो नियन्त्रणभन्दा बाहिरको कुरा भयो । मलाई व्यवस्थापन नै गर्न गाह्रो हुन्छ । त्यसपछि मैले कि त कारोबार वा कर्जा लगानी खुम्च्याउनुपर्ने हुन्छ । कर्जा खुम्च्याउदा लक्ष्य नपुग्ने हुन्छ । बाहिरी कारणले गर्दा आउने समस्याले बढी प्रभाव पर्छ । त्यो सबै सिईओमा लागू हुने कुरा हो । त्यस्तै अन्तराष्ट्रिय व्यापारमा अवरोध आयो भने पनि समस्या देखापर्छ । हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरामा व्यवस्थापन मात्र गर्न सकिन्छ । त्यसलाई परिवर्तन गर्न भने सकिदैन । व्यवस्थापन गर्नका लागि नै हामी बसेका छौं ।

माग व्यवस्थापन गर्न पूर्वबाट ३० मेगावाट बिजुली ल्याउने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग व्यवस्थापन गर्न कोसीपुर्वको बिजुली पश्चिमतर्फ ल्याउने तयारी थालेको छ । पूर्वक्षेत्रमा बिजुली बढी भएपछि कोसी पश्चिममा आपूर्ति गर्ने प्राधिकरणले तयारी थालेको हो । सबैभन्दा बढी बिजुली खपत मध्यक्षेत्रमा हुने गरेको छ । पूर्वको बिजुली पश्चिममा ल्याउन प्राविधिक अध्ययन भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्ण श्रेष्ठले बताए । प्रसारणलाइनमा केही सुधारको काम गरे पूर्वबाट थप ३० मेगावाट बिजुली आपूर्ति गर्न सकिने उनको भनाई छ । प्रसारणलाइन सानो क्षमताको भएकाले पूर्वबाट पश्चिम धेरै बिजुली आपूर्ति हुन सकेको छैन् । हाल पूर्वक्षेत्रमा भारतबाट १२५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । यस्तै सानिमामाई, हेवाखोलालगायत अन्य साना आयोजनाबाट बिजुली आपूर्ति भइरहेकाले  बढी हुने बिजुली पश्चिमतर्फ ल्याउन तयारी थालिएको श्रेष्ठले जानकारी दिए । उनले विद्युतभार कटौती (लोडसेडिङ) हुन नदिनका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको उनले जानकारी दिए । प्राधिकरणले शुक्रबारदेखि औद्योगिक क्षेत्रमा साँझ ५ देखि राती ८ बजेसम्म लोडसेडिङ गर्न लागेको छ । यसअघि साँझ साढे ५ देखि राती साढे ८ सम्म लोडसेडिङ हुदै आएको छ । बढी बिजुलीको माग हुने समय साँझमा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा लोडसेडिङ गर्दै आएको छ । पहिलाको भन्दा आधघण्टा अघि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने भएको छ । आन्तरिक उत्पादन घट्न थाल्यो सुख्खायाम सुरु भएपछि नदीमा जलप्रवाहमा कमी आएपछि बिजुली उत्पादन पनि क्रमश कम हुदै गएको छ । अहिले प्राधिकरणका आयोजनाबाट दैनिक २८० र निजी क्षेत्रबाट २९० मेगावाटको हारहारीमा बिजुली आपूर्ति भइरहेको श्रेष्ठले जानकारी दिए । यस्तै कुलेखानी कहिलेकाही आवश्यकता अनुसार मात्र सञ्चालन हुने गरेको छ । भारतबाट ३२५ मेगावाटसम्म आपूर्ति भइरहेको छ । १४४ मेगावाटको कालिगण्डकी ९८, ७० मेगावाटको मध्यमस्र्याङदी ४८, ६९ मेगावाटको मस्र्याङदी ५२ र ६० मेगावाटको खिम्ती ५४ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।