उम्मेदवारले दिए पत्रकारलाई चुनावलगत्तै ‘ठिक पार्ने’ धम्की, पत्रकार महासंघ सप्तरीद्वारा भत्सर्ना
राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताएका छन् । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ । एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भने, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।” मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उनले भने । यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताएका छन् । पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको राससलाई बताए । यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । रासस
१ करोड २२ लाख जनाले मतदान गर्दै, निर्वाचन आयुक्तले कहाँ गरे मतदान ?
काठमाडौं । बिहीबार देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बाटै सुचारु भएको छ । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ । निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका छन् । यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको छ ।
झिलमिला ताल हेर्न ताराकाेटमा भ्यू टावर निर्माण हुँदै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ । भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त गरेको परामर्शदाताले सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल हेर्नका लागि पुग्ने पर्यटकलाई दृष्यावलोकन गर्न सहजता प्रदान गर्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको बताए । पर्यटकलाई दृष्य अवलोकनका लागि टावर निर्माण गर्न लागेका छौँ, नगर प्रमुख विष्टले भने “त्यसका लागि अहिले काठमाडौँको परामर्शदाताले प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु गरेको छ ।” सम्भाव्यता अध्ययनको कार्य पूरा भएपछि निर्माणको कार्य प्रारम्भ गरिने उनले बताए । भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको थियो । चुरेमा पर्ने झिलमिला तालमा आउने पर्यटक र भक्तजनलाइ लक्षित गरी भ्यू टावर बनाउन लागिएको हो । दिनभरि तीनथरि रङ बदल्ने झिलमिला ताल धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको छ । नगरपालिकाले यस वर्ष झिलमिला तालसम्म कालोपत्रे सडक निर्माणको कार्य समेत अघि बढाएको छ । नगरपालिकाको शहरी विकास कार्यक्रमअन्तर्गत सडक कालोपत्रेका लागि ठेक्का दिइएको छ । नगरप्रमुख विष्टले झिलमिलासम्म निर्माण हुने पक्की सडकले झिलमिलाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । भीमदत्त नगरपालिकाका अध्यक्ष राम नाथले झिलमिलासम्म पक्की सडक बनेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए ।
४५ जिल्लामा दोस्रो चरणको मतदान सुरु, शिर्ष नेताहरूले कहाँबाट भाेट हाल्दैछन् ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान सुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ । यसअघिको निर्वाचनमा भन्दा यसपटक बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ । त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको हो । प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु देउवा राणाले यस निर्वाचनमा डडेल्धुराको रुवाखोलास्थित शशिग्राम माविको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । त्यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने भएका छन् । रासस
कतारमाथिकाे नाकाबन्दीले साउदी अरब, बहराइन, इजिप्ट र यूएईलार्इ व्याकफायर
दोहा । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिए । उनले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाए । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये कतारमा विगतका वर्षहरूको तुलनामा नै यस वर्ष पनि सबैभन्दा धेरै आर्थिक वृद्धि भएको बताए । कतारका सरकारी समाचार संस्थाहरूले सो जानकारी दिएको पनि बताइएको छ । कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेलामा पनि यहाँको आर्थिक वृद्धिमा कुनै कमी नआएको उनलाई उद्धृत गर्दै दिइएको समाचारमा उल्लेख गरिएको छ । गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धि दर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए । आन्तरिक राजनीतिक विवादका कारण साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (यूएई) ले गएको जुन महिनादेखि नै कतारमाथी कूटनीतिक समस्या देखाएर नाकाबन्दी गरेका जारी राखेका छन् । तर त्यसका नकारात्मक असर कतारलार्इ भन्दा सम्बिन्धत देशहरूलार्इ हुन थालेकाे विज्ञहरूले अाैल्याउन थालेका छन् । कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप ती छिमेकी देशहरूको छ । नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । त्यसमा इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि उनीहरूको माग छ । तर ती १३ बुँदे शर्तमा कतारले सम्झौता नगरेपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । रासस/सिन्ह्वा –––
चिलिमे जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द, रसुवाकाे मतगणाना प्रभावित हुँदै
रसुवा । विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताए । रासस
निर्धक्क भई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आह्वान
काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन्। भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । “भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगले प्रारम्भिक अनुमान लगाएको छ” – पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले भने । पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् । डा यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन राजनीतिक दल र तिनका उम्मेदवारलाई पनि आह्वान गरे । मतदान गर्न जाँदा कारणवश मतदाता परिचयपत्र छुटेमा वा नष्ट भएमा त्यस्ता मतदाताको मताधिकार सुनिश्चित गरेको जानकारी पनि उनले दिए । प्रमुख निर्वाचन आयुक्त डा यादवले आयोगले अनुमति प्रदान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट निर्वाचन आचारसंहिता र नेपालको कानून पालना हुने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महत्वपूर्ण छ ।” उनले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरुपमा पुर्याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । “जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्णरुपमा मतदान गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्त डा यादवले भने । नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस, आर्य, थारु, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएकालाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले समृद्ध नेपाल बनाउने यात्रामा समाहित हुन सबैलाई अनुरोध गरेका छन् । रासस
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्धारा सदर
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो । यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो । यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार थिए । सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि बुधबारलाई बोलाएको थियो ।