विकासन्युज

एमाले कार्यकर्ताद्धारा भक्तपुरको बालकोटमा मतदानकेन्द्र नजिक तोड्फोड, मतदाता आतंकित

बालकोट। भक्तपुर जिल्लाको बालकोट स्थित गणेश आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् । नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विष्णु खत्रीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका मतदातालाई आतंकित गरेर मतदानकेन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरुको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताहरुले नियोजित रुपमा सो घट्ना गरेका हुन् । घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ । घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । मतदान केन्द्रमा अहिले तनाव छ । तर एमालेबाट प्रतिनिधिसभाकाे उम्मेदवार महेश बस्नेतले काँग्रेस कार्यकर्ताकाे उदण्डताका कारणा साे क्षेत्रमा तनाव भएकाे बताएका छन् ।

४५ जिल्लामा यातायात ठप्प, आन्तरिक उडान पनि सबै बन्द

काठमाडौ । निर्वाचनका करणा देशका ४५ जिल्लामा यातायात ठप्प भएकाे छ । निर्वाचन हुने जिल्लाहरूबाट बाँकी ३२ जिल्लामा जाने सवारी र फर्कले सवारी साधन पनि बन्द भएकाेले देशभर लामाे दुरीका सवारी ठप्प भएका छन् । त्यस्तै, निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ । निर्वाचनका बेला सवारीसाधन चलाउन नपाइने भएको र मतदान पनि परेकाले आज सीमित उडान रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता धनश्याम आचार्यले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र पोखरा, लुक्ला लगायतका स्थानमा पर्यटक ल्याउन र दुर्गमका केही जिल्लामा कार्गो उडान मात्र भइरहेको छ । आज आन्तरिक उडानतर्फ बढीमा ३० वटा उडान मात्र रहेका छन् । सामान्य अवस्थामा दैनिक १५० उडान हुँदैआएको छ । हाल होलिकोप्टरसहित १८ वटा निजी वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । यता अन्तर्राष्ट्रिय उडानतर्फ भने सामान्य अवस्थामा उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार आज आन्तरिककतर्फ ८० प्रतिशतसम्म उडान कटौती भएको छ । अहिले २८ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त

काठमाडौं । इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतमले गत मंगलबारदेखि नै सो कम्पनीको व्यवस्थापकीय नेतृत्व समालेका छन् । गौतम यसअघि माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । करिब ३० वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ । इक्रा नेपालले नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्दै आएको छ । पछिल्लो समय पब्लिक कम्पनीहरुले साधारण सेयर तथा हकप्रद सेयर निष्काशन गर्दा, एफपीओ जारी गर्दा, ऋणपत्र जारी गर्दा वा म्यूच्यल फण्ड जारी गर्दा सम्बन्धित कम्पनीले अनिवार्य क्रेडिट रेटिङ गर्नु पर्ने नीतिगत व्यवस्था भएकाले यस कम्पनीको भूमिका निकै महत्वपूर्ण रहेको छ । २०१२ देखि सञ्चालनमा आएको इक्रा नेपालको मुख्य लगानीकर्ता भारतको इक्रा कम्पनी हो । हाल क्रेडिट रेटिङ गर्ने इक्रा नेपाल एउटा मात्र कम्पनी हो भने निकट भविष्यमा नयाँ कम्पनी खुल्दैछ ।

बिहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान, कहाँ कहाँ हुँदैछ मतदान ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ । सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्‍चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ । कहाँ कहाँ हुदैछ मतदान ? दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी  (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान सुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

महतो निवास नजिकै बम विस्फोट गराउने राईन गिरफ्तार

जनकपुर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै वम विस्फोट गराउने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ । यही मंसिर ९ गते महतोको निवास नजिक रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराईएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले घटनामा संलग्न नेपाली कांग्रेसका सक्रिय सदस्य धनुषाधाम नगरपालीका वडा न ५ बस्ने ३४ वर्षको रहमत राइनलाई पक्रेको हो । पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

आफूलाई मत हाल्न नपाउने उम्मेदवारहरु: एमाले अध्यक्ष ओलीदेखि काँग्रेसका महामन्त्री सिटौलासम्म

झापा । झापामा उत्साहजनक रुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उहाँले झापाबाट मत खसाल्न नपाएका हुन् । यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न पाएनन् । वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बन्नुभएका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा (माओवादी केन्द्र)का नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। रासस

यी उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाए

ललितपुर। ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् । दोस्रो संविधानसभामा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदय शमशेर राणाले यस पटक भने आफूलाई भोट हालेका छन् । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका हुन् । उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थियो । वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् । क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे । प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गर्नुभएको छ । प्र्रदेशसभातर्फ, क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबाराही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन् । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे । क्षेत्र नं २ क र ख का उम्मेदवार पवनविक्रम थापाले इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन् । प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए । जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । रासस