विकासन्युज

साऊदीका भ्रष्टाचार अरोपितलाई उन्मुक्ती दिने प्रयास, कति रकम धरौटीमा छुट्लान् राजकुमार ?

बिबिसी । साऊदी अरबमा भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएका अधिकांश राजकुमारहरु, मन्त्री तथा व्यवासायीलाई उन्मुक्ति दिन खोजिएको छ । साऊदीका महान्यायधिवक्ता अनुसार भ्रष्टाचार निरोधक अभियानमा गिरफ्तार भएका धेरै अभियुक्तहरु माफीका लागि सरकारसँग सम्झौता गर्न तयार छन् । पछिल्लो महिनामा यो अभियान अन्तर्गत राजकुमार, मन्त्री तथा व्यापारीहरुलाई हिरासतमा लिइएको थियो । एक बयानमा ३२० मानिसहरुलाई पुछताछका लागि बोलाइएको थियो, जबकी १५० अहिले पनि हिरासतमा छन् । जसले सम्झौता गर्न मान्दैन, उसले मुद्दा झेल्नुपर्नेछ । हिरासतमा लिइएका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपी गत सातामात्रै राजकुमार मितब बिन अब्दुल्लाहलाई “स्वीकार्य समझौता” का आधारमा रिहा गरिएको थियो । ६ सय ४४ करोड भारतीय रुपैयाँ बराबरको धरौटी रकम बुझाएपछि उनलाई जमानत दिइएको थियो । राजकुमार मितब बिल अब्दुल्लाहलाई पनि सिंहासनको दाबेदार मानिन्छ । के होला कारबाही ? महान्यायधिवक्ताका अनुसार भ्रष्टाचार मुद्दममा अपराधीलाई “अन्तर्राष्ट्रीय स्तरमा हुने कारबाही”लाई पालना गरिनेछ । हिरासतमा लिइएका अभियुक्तलाई राजधानी रियादको एक शाही होटलमा राखिएको छ । साऊदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमानले त्यो कुरालाई “हास्यास्पद” बताएर पन्छिन खोजेका छन्, जसमा उक्त अभियानलाई सत्ता हडप्ने रणनीति बताइएको थियो । के भएको थियो ? नोभेम्बरको पहिलो सातामा अरबको भ्रष्टाचार निरोधक कमेटीले ११ राजकुमारहरु, चार मन्त्री तथा दर्जनौं पूर्व मन्त्रिहरुलाई हिरासतमा लिएको थियो । त्यससमयमा साऊदी ब्रोडकास्टर अल-अरेबियाले २००९मा जेद्दाहमा आएको बाढी तथा २०१२ मा मर्स भाइरसको संक्रमण फैलिएको विषयमा जाँच नयाँ तरिकाबाट सुरु गरेको थियो। नयाँ भ्रष्टाचार निरोधक कमेटीको गठन भएको चार घण्टापछि यी व्यक्तिहरुलाई हिरासतमा लिइएको थियो । क्राउन प्रिन्स नै जाँच कमिटीको अध्यक्षमा साऊदी अरबको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार, भ्रष्टाचार निरोधक कमेटीको अध्यक्षता क्राउन प्रिंस मोहम्मद बिन सलमानले गरिरहेका छन् । उनलाई गिरफ्तार गर्ने र यात्रामा प्रतिबन्ध लगाउनेसम्मको अधिकार छ । त्यसैबेला प्रिंस सलमानले साऊदी नेशनल गार्ड तथा ९ सेना प्रमुखहरुलाई पनि बदलेका थिए । एसपीएका अनुसार, किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिंस मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल-सुल्तानलाई पनि बर्खास्त गरेका छन् । आधिकारिक रूपमा तिनीहरुलाई हटाउनुपर्ने कुनै कारण नदेखिएको बताइएको छ ।

मुक्तिनाथ विकास बैंकको पुस ७ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आगामी पुस ७ गतेदेखि १९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ । उक्त सभाले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

चार स्थानीय तहमा बैंक शाखा विस्तार

म्याग्दी । जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकाम धाउनुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, व्यापार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गरिमा विकास बैंकको शाखा स्थापना गरिएको छ । यसअघि सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुँदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । गरिमाले सदरमुकाम बेनीसँगै मालिका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ । जिल्लाका ६ वटा मध्ये अब चारवटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धौलागिरि गाउँपालिकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले द्वन्द्वकालमा दरवाङ बजारबाट हटाएको शाखा पुनःस्थापनाको तयारी गरेको छ । रासस

तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ रहेको थियो ।

स्पर्स लघुवित्तको शाखा प्रबन्धकहरुको लागि ३ दिने तालिम सम्पत्र

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि ३ दिने सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न गरेको छ । लघुवित्त कार्यक्रम संचालन सम्बन्धी समस्याहरु निराकरण गर्ने, सफ्टवेयरको समस्यामा सहजिकरण गर्ने तथा त्रैमासिक लक्ष्य र प्रगती सम्बन्धमा समिक्षा गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । तालिममा वित्तीय संस्थाका संचालकहरु राम बहादुर क्षेत्री, राजुराम अधिकारी, रविन सुवेदी, सुरेन्द्र न्यौपाने लगायतले वित्तीय संस्थाको स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै शाखा प्रबन्धकहरुलाई उत्प्रेरित गर्न विभिन्न भनाईहरु राखेका थिए । कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले नेपालमा हाल ५३ वटा लघुवित्त संचालनमा रहेको, २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम गरेको, करिब १० वटा जति अन्तिम स्वीकृति पाउने पर्खाइमा रहेको बताए । साथै, राष्ट्र बैंकले पुनः अरु ६० वटा लघुवित्तहरुलाई लाइसेन्स प्रक्रिया खोल्ने तयारी गरिरहेको उनले बताए । त्यस्तै, हरेक क्षेत्रमा चुनौती रहेको र चुनौती सँगै जहिले पनि अवसर जोडिएर आउने भएकोले चुनौतीलाई होसीयारी पुर्वक स्वीकार गर्दै अवसरको सदुपयोग गर्न अध्यक्ष माथेमाले सुझाव दिएका छन् । कार्यक्रमको दोश्रो दिन कर्जा तथा अनुगमन विभाग प्रमुख हरिशरण गिरीले शाखाहरुको लक्ष्य तथा प्रगती समिक्षा संचालन गरेका थिए भने सिनर्जीटेक सफ्टवेयरका प्रमुख सुदय महर्जनले सफ्टवेयर सँग सम्बन्धित सम्पुर्ण समस्याहरुमा दिनभरी सहजीकरण गरेका थिए । त्यस्तैगरी, कार्यक्रमको तेश्रो दिन वित्तीय संस्थाका विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पबन बराल र बिनोद पराजुलीले आफ्नो आफ्नो विभागसँग सम्बन्धित प्रस्तुतीहरु दिएका थिए ।  

महिला सशक्तीकरणमा जनप्रतिनिधि केवटको कदम: छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन । जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ । गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउछन् । छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने सोचमा उनी र गाउँपालिकाको टिमको थियो । त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने वित्तिकै छोरीका नाममा २० हजार रुपैयाँ बैंकमा जम्मा गराउने निर्णय गर्‍यो । गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो । अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै तीन लाख रुपैयाँ पुग्छ । सो कार्यका लागि एक करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ । सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए । नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ । अध्यक्ष केवटले भने, ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौं ।’ यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ । गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन् । उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थिन् । सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताइन् । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सवैले उक्त निर्णयको स्वागत गरेका उनले बताए । सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषको भन्दा बढी छ । उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो । गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्‍याइने बताए । गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउछन् । उले भने– “बीस वर्षसम्म छोरीको नाममा राखिएको रकम रु तीन लाखसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ ।” गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति रु १५ हजारसम्म सहयोग उपलव्ध गराउन शुरु गरेको छ । रासस

मतदाता पत्र छैन ? अब जुनसुकै परिचयपत्रबाट पनि भोट हाल्न पाइने !

काठमाडौं । निर्वाचन आयोगले  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगले गरेको यस किसिमको व्यवस्था अनुसार, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । यस्ता मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई यही मङ्सिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउनुहुने छ ।

ट्रम्पको कर कटौती विधेयक पास भएपछि सुनको भाउ निरन्तर ओरालो, १ सातामा ५ सय रुपैयाँले घट्ने अनुमान

काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो । गत शनिबार अमेरिकी सिनेटरहरुले कर कटौती सम्बन्धी विधेयक पास गरेको थियो । राष्ट्रपति बनेयता ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित मानिएको छ । उक्त विधेयक पास भएयता अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । मंगलबार अन्तराष्ट्रिय बजारमा प्रति औंस १२ सय ८० अमेरिकी डलर रहेको सुनको भाउ बुधबार घटेर १२ सय ६६ डलर प्रति औंस पुगेको छ । नयाँ योजना अनुसार, कम्पनीहरुले तिर्नुपर्ने करमा व्यापक कटौती हुनेभएपछि विश्वमा लगानीकर्ताहरुले सुन बेचेर बिक्री गर्न थालेको रोयटर्सले जानकारी दिएको छ । विधेयकले ठुला व्यवसायी तथा उद्योगीहरुमाथी लाग्दै आएको कर कटौती गर्ने परिकल्पना गरेको छ । ठुलो करसम्बन्धी फेरबदलले लगानीकर्ताहरुमा उत्साह बढेको छ । अब लगानीकर्ताहरु स्टक बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । जसकारण लगानीको क्षेत्रमा ‘सेफ हेभन’ मानिएको सुन बजारबाट लगानी झिकेर अन्य क्षेत्रमा लगानी बढाइरहेका छन् । विश्वमा सन् १९७० पछि अर्थतन्त्रको प्रमुख माध्यम सुन बनेको छ। लगानीकर्ताका दृष्टिकोणबाट आर्थिक कारोबारमा स्टक,तेल,डलर, रियलस्टेट व्यवसायपछि लगानी सुरक्षित गर्ने अन्तिम र भरपर्दो क्षेत्र मानिन्छ । पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंक फेडेरल बैंकले ब्याजदर बढाउने तयारीमा रहेको जानकारीमा आएपछि सुनको भाउ घटिरहेको छ । फेडेरल बैंकले ब्याजदर बढाउने बितिकै सुनमा लगानी घट्ने सम्भावना बढी हुन्छ । हाल फेडेरल बैंकले ०.५ प्रतिशत ब्याजदर राखेको छ । बैंकले ब्याजदर बढाएर ०.७५ प्रतिशतसम्म पुर्‍याउनेमा लगानीकर्ताहरु आशावादी छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ डिसेम्बरसम्ममा १२ सय ५० डलरसम्म पुग्ने अनुमान गरेका छन् । नेपाली बजारमा सुनको भाउ ५४ हजार ६ सय सम्म पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । महासंघका अनुसार गत आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।