सेन्ट्रल फाइनान्सको पुस ४ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दै छ । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ७८ करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने, राप्तीभेरीका सेयरधनीले ६ प्रतिशत पाउने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रा(अर्थात २२ करोड ८ लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले ज्योति बैंकले हालै एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीलाई पनि गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले राप्तीभेरीका सेयरधनीलाई एक करोड ६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । ज्योति बैंकले गत कात्तिक ८ गते राप्तीभेरी विकास बैंकलाई एक्वायर गरी एकिकृत कारोबार शुरु गरेको थियो । बैंकको सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।
दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने
काठमाडौं । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिए । “वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महत्वका विषयमा प्रकाश पार्ने तयारी छ, विश्वविद्यालय भरभावातित् ध्यानका माध्यमबाट चेतनामा आधारित शिक्षा दिने विषयमा पनि छलफल भएको छ, यस सम्बन्धमा केही दिनमा संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुँदैछ”–उनले भने । वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको सो अवसरमा जानकारी गराइयो । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदान समेत हुनेछ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्व डीन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने विचार राखेका छन् । रासस
बोनस सेयर पछि गुडविल फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०.१९२८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
समानुपातिकमा एमाले र काँग्रेसको कडा टक्कर, कुन दलले कति पाए(सूचिसहित)
काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ । एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ सय ४१ मतले मात्रै अघि रहेको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत भने १ लाख ६८ हजार ९ सय ६३ रहेको छ । राष्ट्रिय जनता पार्र्टी नेपालले २४ हजार ९ सय ९ मत पाएको छ भने विवेकशिल साझा पार्टीले १७ हजार १ सय ५१ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले १४ हजार ६ सय २, संघिय समाजवादी फोरमले १४ हजार १ सय ३८, नयाँ शक्ति पार्टी नेपालले १२ हजार ५ सय ९९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४ सय ६१ मत र अन्य राजनीतिक दलहरुको २१ हजार ३ सय ५८ मत पाएका छन् ।
झापा-५ मा अध्यक्ष ओली भारी मतान्तरले विजयी
भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय, भद्र्रपुरले जनाएको छ । यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका छन् । प्रदेशसभाअन्तर्गत क्षेत्र नं ५ (क) मा वाम गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिलकुमार प्रसाईँले १८ हजार ६३६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका अर्जुन राईले ३० हजार ९७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनकुमार ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरेका छन्। रासस
प्रतिनिधिसभाका ९८ र प्रदेशसभाका २०९ क्षेत्रको मतगणना सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको जनाएको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज दिउँसो ४ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा तीनजना महिलासहित ९८ जना र प्रदेशसभा सदस्यतर्फ १० जना महिलासहित २०९ जना प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । रासस
माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीहरुले माछापुच्छ्रे बैंकको जुनसुकै शाखाबाट रकम पठाउन सक्ने बैंकले जनाएको छ । हाल यस बैंकले ६२ शाखा , ५००० भन्दा बढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट बैंकिङ् सेवा दिँदै आइरहेको छ । बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजालविस्तार गरेको छ ।