स्वेच्छिक बीमा गर्ने संस्कार वृद्धि नहुनुमा बीमा कम्पनीहरु जिम्मेवार छन्-विरेन्द्र बैद्यवार क्षेत्री
विरेन्द्र बैद्यवार क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । बीमा बजारको प्रतिस्पर्धामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी कुन स्थानमा छ ? असोज मसान्तसम्ममा प्रिमियम संकलनको आधारमा हामी दोस्रो स्थानमा छौं । चालु आर्थिक वर्षमा प्रिमियम बजारको वृद्धि करिव १५ प्रतिशत छ । प्रथम तीन महिनामा हामीले १८ प्रतिशतको वृद्धि हासिल गरेको छौं । यस वर्ष प्रिमियम संकलन गर्न वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएका छौं । बीमा प्रिमियम वृद्धिदर गतवर्ष भन्दा कम भएको हो ? प्रिमियम वृद्धिदरमा केही कमी देखिए पनि बीमा बजारको वृद्धिमा कमी आएको छैन । मोटर बीमाको प्रिमियम, दंगा तथा आतंकवादको बीमा प्रिमियम लगायत केही शिर्षकको बीमा प्रिमियम दर बीमा समितिले घटाई दिएकोले प्रिमियम रकमको वृद्धिमा कमी आएको देखिन्छ । कुन कुन क्षेत्रको बीमा स्वेच्छिक वृद्धि भएको छ ? कुन कुन क्षेत्रमा नीतिगत रुपमा अनिवार्य गरिएको कारणले बीमा गर्ने क्रम बढेको छ ? मुलतः अनिवार्य बीमा नीतिको प्रभावले नै बीमा बजार विस्तार भएको छ । बैकिङ क्षेत्रबाट कर्जा प्रवाह हुँदा गरिने बीमा बढी छ । त्यस्तै, अनिवार्य बीमा गर्ने पर्ने सरकारको नीतिहरु भएका कारणले तेस्रो पक्षको बीमा बजार विस्तार भएको छ । बाली तथा पशुबाली बीमा बजार बढ्दै गएको छ । स्वेच्छिक बीमाको अभ्यास कम छ । यसमा बीमा कम्पनीहरुको पनि कमजोरी रहेको देख्छु म । किनकी बीमा कम्पनीहरुबीच बाध्यकारी बीमा बजारमा प्रतिस्पर्धा छ । बीमा हुनु पर्ने तर नीतिगत रुपमा अनिवार्य नगरिएको क्षेत्रलाई आकर्षिक गर्नेतर्फ बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुन सकेको छैन । अनिवार्य बीमा प्रिमियम रकमको तुलनामा बीमा कम्पनीको प्रयासमा आएको प्रिमियम रकम ज्यादै कम छ । करिव ९५ प्रतिशत प्रिमियम अनिवार्य बीमाबाट आएको छ भने स्वेच्छिक बीमाबाट करिव ५ मात्र प्रिमियम संकलन हुन्छ । जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । जबसम्म ग्राहक आफ्नो वा आफ्नो सम्पत्तिको सुरक्षाका लागि बीमा गर्छु भनेर बीमा कम्पनीमा आउने वातावरण बन्दैन, तबसम्म तबसम्म बीमा बजारप्रतिको आकर्षण पनि हुँदैन । स्वेच्छिक बीमा बढाउन बीमा कम्पनीहरुको भूमिका के हुनसक्छ ? बीमा कम्पनीका सञ्चालकहरुमा सोचमा केही गम्भिर कमजोरीहरु छन् । खासगरी निर्जीवन बीमा गर्न चाहाने मान्छे बीमा कम्पनी आउनुपर्छ, कहाँ बीमा कम्पनीहरु ग्राहकको घर घरमा जान सक्छ ? भन्ने सोच गलत हो । त्यस्तै, जनचेतनाको कमी भएकोले बीमा गर्न मानिसहरु स्वेच्छाले आएनन् भन्ने तर्क पनि गलत छ । जनचेतना पनि बढाउने र हामी यस्तो सेवा दिन्छौं भनेर कम्पनीहरु किन सर्वसाधारणको घरदैलोमा नजाने ? हामी जानै पर्छ । हाम्रो जस्तो गरिब र विकासोन्मुख देशमा मात्र होइन, विकसित देशहरुमा पनि बीमा कम्पनीहरु ग्राहकको खोजीमा घरदैलोमा जानैपर्छ । फरक के चाही हो भने विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । बीमा कम्पनीहरुको सोचाई फारकिलो हुनुपर्छ । बीमा बजार सहरमा मात्र खोज्ने होइन, ग्रामिण क्षेत्रमा पनि जानुपर्छ । बीमा कम्पनीहरु परम्परागत रुपमा घर, सवारी, कार्गो जस्ता सम्पत्ति बीमा जबरजस्ती बीमा गराउने काममा मात्र सीमित रहे । माइक्रो बीमा पोलिसी बनाएर आधुनिक सम्पत्तिको बीमा गर्ने गराउने अभ्यास नै भएन । मुख्य शहरमा शाखा खोलेर ती शाखामा आउने ग्राहकको मात्र बीमा गरेर पुग्दैन । बैंकहरुले शाखारहित बैकिङ सेवा शुरु गरेको छन् । उनीहरुले एक व्यक्तिलाई प्रतिनिधि तोकेर प्रविधिको सहायाताले जसरी बैकिङ सेवा दिएका छन्, त्यसरी नै बीमा कम्पनीहरुले नै प्रविधिको प्रयोग, ब्रान्चलेस इन्स्योरेन्स सर्भिसको प्रयोगलाई बढाउनुपर्छ । सूचना प्रविधिमा बीमा कम्पनीहरुले लगानी वृद्धि नगरी सुखै छैन । पछिल्लो समयमा बीमा कम्पनीहरुले कसरी बजारीकरण गरिरहेका छन् ? बीमा सेवा लिन ग्राहक कम्पनीमा जान्छन् वा कम्पनीका कर्मचारी ग्राहकको खोजीमा बजारमा जान्छन् ? बीमा कम्पनीका कर्मचारीहरु नयाँ ग्राहक आकर्षित गर्न बजारमा नजानु नै मुख्य समस्या हो । बैंकहरुसँग सम्पर्क सम्बन्ध बढाएर, ठूला औद्योगिक समूहको कार्यलयमा गएर लविङ गर्ने बाहेक बजारीकरणतर्फ बीमा कम्पनीहरुको भूमिका कमजोरी नै छ । जसरी बैंकमा निक्षेप संकलन गर्न वा कर्जा लिन ग्राहक बैंक खोजेर जान्छन्, त्यसरी बीमा सेवा लिन ग्राहक आउने अभ्यास पनि छैन । त्यसैले बीमा कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्नको लागि कर्मचारी, अभिकर्ता परिचालनदेखि सेवा वितरणको च्यानलमा धेरै सुधार गर्न जरुरी छ । धेरै बैंकहरुले शाखा १०० भन्दा बढी बनाएका छन्, २००/५०० भन्दा बढी स्थानमा ब्रान्चलेस सेवा सञ्चाल बनाएका छन् । रेमिट कम्पनीहरुले हजारभन्दा बढी भुक्तानी काउन्टर सेवा सञ्चालन गरेका छन् । यस्तो नेटवर्कमा बीमालाई पनि सँगै लैजान सकिन्छ । व्यक्ति र संस्था दुबैलाई एजेन्ट बनाएर ठूलो सञ्जालमार्फत जनचेतनाका कार्यक्रमसँगै सेवा बिक्रीमा जोड दिनुपर्छ । प्रविधिको प्रयोग ग्राहकको पनि माग हो, तपाईहरुको पनि चाहाना हो । धेरै नेपालीले स्मार्ट फोन प्रयोग गर्छन । इन्टरनेटको नेटवर्क पनि व्यापक विस्तार भईसकेको छ । तर पनि बीमा क्षेत्रमा प्रविधिको प्रयोग किन सुस्त भयो ? हो, बीमा बजार प्रविधि भित्र्याउने मामिलामा अनिच्छुक देखिएको जस्तो देखियो । हाल १७ वटा निर्जीवन कम्पनीहरु छन्, कुल प्रिमियम करिव २० अर्ब रुपैयाँ हो । प्रति कम्पनीको हिस्सा सवा अर्ब रुपैयाँ मात्र छ । जसरी अहिले बैकिङ क्षेत्रमा प्रविधिको प्रयोग भएको देखिन्छ, त्यो लेबलको प्रविधि प्रयोग गर्न एउटा बीमा कम्पनीले कम्तिमा ५/७ करोड रुपैयाँ लगानी गर्नुपर्छ । दुई वर्षअघिसम्म बीमा कम्पनीहरुको चुक्ता पुँजी नै १२/१५ करोड थियो । उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग गर्न सकिरहेका थिएनन् । अब कम्पनीहरुको पुँजी पनि १ अर्ब रुपैयाँ हुँदैछ । जुन कम्पनीको पुँजी पनि १ अर्ब पुग्दैछ, वार्षिक प्रिमियम ३/४ अर्ब रुपैयाँ हुँदैछ, उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग बढाउने छन् । त्यसले अरु कम्पनीलाई पनि प्रविधिको प्रयोग गर्न दवाव दिनेछ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । धेरै सेवा अनलाईनबाट नै लिन सकिनेछ । सबै बीमा कम्पनीहरु मिलेर कम लागतमा साझा सफ्टवेयर किनेर प्रयोग गर्न सकिदैन ? हाल बीमा कम्पनीहरुले प्रयोग गर्दै आएको सफ्टवेयरबाट सबै प्रकारको इन्टिग्रेटेड सूचना प्राप्त हुन सक्दैन । सबै निर्जीवन बीमा कम्पनीलाई उपयोगि हुने सफ्टवयर कष्ट सेयररिङमा ल्याएर प्रयोगमा ल्याउन सकिन्छ । त्यो स्वभाविक पनि हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कुन कुन सेवामा विशिष्टिकरण गर्दैछ ? बीमा सेवा प्रदान गर्न विशिष्ट प्राविधिक ज्ञान र जनशक्ति आवश्यक हुन्छ । हामीले अहिले व्यक्तिगत बीमा र सम्पत्ति बीमामा जोड दिएका छौ । सवारी बीमा, घर बीमा, व्यवसाय बीमा, स्वास्थ्य बीमामा हामीले जोड दिएका छौं । ठूलो बीमा भन्दा साना र मध्यम खालको बीमालाई जोड दिएका छौं । सरकारले छुट्टै स्वाथ्य बीमा ऐन आएको छ, सरकार आफैले स्वास्थ बीमा कार्यक्रम चलाईरहेको छ । यसले बीमा कम्पनीहरुलाई फाइदा पुग्छ कि तपाईहरुको विजनेश पनि खोसिन्छ ? विजनेश खोस्ने कुरै छैन । यसले बीमा कम्पनीहरुलाई फाइदा नै पुग्छ । ९३ प्रतिशत नेपाली बीमाको दायरामा छैनन् । बजार ठूलो छ । सरकारले बीमा कार्यक्रम सञ्चानल गर्दा बीमाबारे जनचेतना बढाउँछ । बीमाको महत्व सर्वसाधारणले बुझ्छन् । त्यसको लाभ बीमा क्षेत्रले पाउँछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । नर्भिक, बयोदा, मेडिसिटी, अल्का, नोबेल मेडिकल कलेज, मणिपाल कलेज लगायतसँग सहकार्यको सम्झौता गरेर स्वास्थ्य बीमा सेवा दिदै आएका छौं । स्वास्थ्य बीमा गर्ने ग्राहकलाई हामीले एउटा यूनिक कार्ड दिन्छौं । त्यही कार्डको आधारमा ग्राहकले हामीसँग सहकार्य भएका अस्पतालहरुमा उपचार गराई बीमा बापतको रकम पाउनेछन् । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । हामीले २५ हजारदेखि १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पोलिसी दिईररहेको छौं । उपचार गर्दा हुने सबै खर्च रकमको १० देखि १५ प्रतिशत मात्र विरामीले बोहोर्नुपर्छ । बाँकी बीमा पोलिसीले कभर गर्छ, बीमा कम्पनीले हस्पताललाई सोझै बुक्तानी गर्छ । बीमा पोलिसी लिँदा अस्पताल भर्ना भएको बेलामा मात्र बीमाले खर्च बोहोर्ने वा ओपीडी सेवामा पनि बीमाले खर्च बेहोर्ने भनेर ग्राहकलाई छनौटको अवसर दिन्छौं । यो सेवा १५ वर्षदेखि ६५ वर्षसम्मका उमेर समूहलाई दिईरहेका छौं । १५ वर्षमुनिका बालबालिकालाई अभिभावको पोलिसले कभर गर्छ । बीमा रकमको १.५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्दा वार्षिक १५०० रुपैयाँ प्रिमियम बुझाउनुपर्छ । तपाईले यो सेवालाई बीर, टिचिङ, पाटन जस्ता बढी विरामी जाने र उपचार खर्च पनि कम हुने अस्पतालमा किन लैजानु भएन ? तपाईले भनेको अस्पतालहरु लगायत सबै सरकारी अस्पतालहरु, जिल्लाहरुमा रहेको सरकारी अस्पतालहरुमा पनि यो सेवा विस्तार गर्ने हाम्रो सोच रहेको छ । तर ती अस्पतालहरुमा बीमा कम्पनीले मागेका सूचनाहरु दिनुपर्छ । त्यसको निश्चित प्रक्रियाहरु छन् । त्यो प्रक्रिया बुझ्ने र बुझाउने प्रयास भईरहेको छ । सरकारी अस्पतालहरुमा निजी क्षेत्रको बीमा कम्पनीसँग सम्झौता गरेर काम गर्नको लागि अधिकार प्रत्यायोजनको समस्याहरु पनि देखिएको छ ।
बामपन्थी सरकारः अब कता जान्छ सेयर बजार ?
काठमाडौं । मंसिर २० गते बुधबारका दिन सेयर बजार ११.६७ अंकले बढेर १४३६.५४ पुगेर रोकियो । बिहिबार ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन भयो र यतिबेला धमाधम निर्वाचनको परिणाम आईरहेको छ । निर्वाचनले आगामी पाँच बर्षका लागि बामपन्थीहरुको सरकार गठन हुने निश्चित देखाएको छ । सेयर बजार प्रति अनुदार मानिँदै आएका बामपन्थीहरुको सरकार गठन हुने निश्चित भएसँगै अब सेयर बजार कता जान्छ भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । ‘स्थिर सरकारका कारण अर्थतन्त्र सुधार हुने भएकाले सेयर बजार पनि सुधार हुने अपेक्षा गरेका छौं, सरकारको नीति पनि अब छिटो छिटो परिवर्तन नहोला त्यसले गर्दा सेयर बजार पनि उकालो नै लाग्ने आस छ’, एक सेयर ब्रोकरले भने । उनले बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण नभएको पनि बताए । नेपालको नेप्से इन्डेक्स बामपन्थी सरकारहरुकै पालामा उच्चतम विन्दु कायम भएको इतिहास पनि उनले सुनाए । सेयर बजार बामपन्थी सरकारका कारण नभएर आफ्नै स्वभाविक विकासक्रमका कारण भने घट्ने वा बढ्ने अवस्था आउने पनि उनले बताए । सेयर बजारका जानकार ज्योति दाहालले पनि बामपन्थी सरकारका कारण सेयर बजारमा तात्विक असर नपर्ने बताए । उनले बामपन्थीहरुको घोषणा पत्रमा सेयर बजारबारे खासै उल्लेख नगरिएकाले तत्काल सरकारात्मक वा नकारात्मक प्रभावको अपेक्षा राख्न अवस्था नरहेको दावी गरे । बाम सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने उनको भनाई छ । तर पनि सेयर बजारमा मनोवैज्ञानिक त्रास भने उत्पन्न हुन सक्ने बताए ।‘बापमन्थी सेयर बजार प्रति निरपेक्ष देखिन्छन्, न सुधार्ने योजना देखिन्छ न त बिगार्ने नै । यद्यपी लगानी कर्तामा मनोवैज्ञानिक त्रास आउन सक्छ । तर डराउनुपर्ने अवस्था रहनन’, दाहालले भने । तर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको बोनस सेयर धमाधम आउने क्रममा छ । लाइफ र नन लाइफ बीमा कम्पनीहरुको हकप्रद सेयरको बाढी नै आउँदैछ । केहि कम्पनीहरुले प्रीमियम मूल्यमा एफपिओ नै जारी गर्दैछन् । केहि बैंकहरुको हकप्रद सेयरको आवेदन अझै खुल्ला रहेको छ । धेरै जलविद्युत कम्पनीहरु आइपीओ निष्काशनको तयारीमा जुटेका छन् । यसैबिच, बैंकहरुले ब्याजदर तत्काल घटाउने अवस्था पनि नरहेको विश्लेषकहरु बताउँछन् । महंगो ब्याजमा ऋण लिएर सेयर बजारमा लगानी गर्ने अवस्था नरहेकाले पनि सेयर बजारमा अपेक्षित सुधार आउन नसक्ने अनुमान गरिएको छ । त्यसो त अब गठन हुने बामपन्थी सरकारको आर्थिक नीति हेर्ने सम्भावित पात्रका रुपमा रहेका डा. युवराज खतिवडा देखिन्छन् । उनी रियलस्टेट र सेयर बजार प्रति सकारात्मक सोँच नभएका अर्थशास्त्री मानिन्छन् । खतिवडा नेतृत्वको विज्ञ समुहले तयार पार्ने आर्थिक नीतिले पनि सेयर बजारलाई खासै प्रोत्साहन दिने छैन् । बामपन्थी सरकारले सेयर बजारलाई सुधार्न कुनै ठोस कदम नचाले पनि बिगार्ने प्रयास पनि नगर्ने भने पक्का छ । खुल्ला बजार अर्थतन्त्रका पक्षपातीहरु सरकारमा आएपछि मात्रै सेयर बजार उकालो लाग्छ भन्ने मान्यतालाई शेर बहादुर देउवा नेतृत्वको सरकारले गलत सावित गरिसकेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकार सम्हालेको ६ महिने अवधीमा सेयर बजार करिब ७५ अंकले घटेको देखिन्छ । त्यसकारण पनि बामपन्थी सरकारका पालामा सेयर बजारमा कुनै असर नपर्ने विश्लेषकहरु बताउँछन् ।
समानुपातिकमा ३३ हजार मतले एमाले अगाडी, कांग्रेस पछ्याउँदै
काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार साँझ ७ बजेसम्मको परिणाममा नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भएको छ । एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ। नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्रले करिब साढे १३ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६८, राष्ट्रिय जनता पार्टी नेपालले ६८४, नयाँ शक्ति पार्टी नेपालले ६०१, विवेकशील साझा पार्टीले ३६९ मत ल्याएका छन्।
विद्यार्थीले गरे पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध, तत्काल फिर्ता लिन आग्रह
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको छ । उक्त संगठनले ‘कामचलाउ’ सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएर जनताको अपेक्षा विपरित वामपन्थी गठबन्धनप्रतिको लहर भड्काउन खोजेको आरोप लगाएको छ । उक्त विज्ञप्तीमा उल्लेख भएअनुसार, ‘संविधान कार्यान्वयनको ऐतिहासीक कार्य अन्तर्गत प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भई देशव्यापी रुपमा नतिजा आउने क्रम जारी छ । स्थिर सरकार, दिगो विकास र सम्वृद्धिको महान संकल्प सहित निर्वाचनमा होमिएको वामगठवन्धनको पक्षमा ऐतिहासिक लहर देखा परेको छ । नेपाली जनताले मतदान मार्फत व्यक्त गरेको त्यो जनमतलाई सलाम गर्दै हामी जनताको खुसीसँग साथै रहेको कुरा व्यक्त गर्न चाहान्छौ । नतिजाले देखाएको छ कि स्थानीय तहसँगै अव केन्द्र र प्रदेश सवै तिर वामगठवन्धनको नेतृत्व हुनेछ । निर्वाचनको नतिजाले लोकतान्त्रिक गठवन्धन मुख्यतः नेपाली काग्रेंसको पक्तिमा निराशा र छटपटाहट पैदा गरेको छ । कांग्रेस निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गर्न र संयमित हुन विशेष आग्रह गर्न चाहन्छौं । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । त्यो काम पुरा भएको छ र सरकार काम चलाउ वनेको छ । नतिजाले सकेंत गरे अनुरुप अव वर्तमान कामचलाउ सरकारले वामपन्थी गठवन्धनलाई सरकार गठन गर्न सहयोग पुर्याउनु पर्ने यो वेलामा जनताको अपेक्षा विपरीत अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, ग्यास लगायतमा मुल्य वृद्धी गरेर वामगठवन्धन प्रतिको लहर भड्काउने निकृष्ट हर्कत गरेको छ । हामी देउवा सरकारको यो हर्कतको घोर भत्र्सना गर्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’ शनिबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।
चुनाव अपडेट: प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा ५६ निर्वाचित, स्याङ्जा निषेधित क्षेत्र घोषित
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ जना महिलासहित ३४ जना निर्वाचित भएका छन् । यसैगरी, प्रदेशसभातर्फ दुई जना महिला उम्मेदवारसहित ५६ जना निर्वाचित भइसक्नु भएको जानकारी प्राप्त भएको छ । मंसिर २१ गते निर्वाचन भएका ४५ वटै जिल्लाका मतपेटिकाहरु जिल्ला सदरमुकाममा प्राप्त भई मतदान गणना सुरु भएको छ । सोही दिन भएको मतदानमा समस्या आई स्थगित भएकोमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरा मतदान स्थलका (क) र (ख) मतदान केन्द्रमा आज मतदान सञ्चालन भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज दिनको ३ बजे प्राप्त जानकारी अनुसार त्यहाँ अहिलेसम्म ५८ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म निर्धारित मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने छन् । स्याङजाबाहेक सबै जिल्लाहरूमा मतगणना कार्य सुरु भई केही जिल्लाहरुको नतिजासमेत सार्वजनिक भइसकेको छ, स्याङ्जामा कतिपय स्थानमा निर्वाचन सन्तोषजनक नभएको भनी जिल्ला सदरमुकाममा बाम गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरूको भीडभाडले २ नम्बर निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई दुर्व्यवहारसमेत गरेपछि हिजोबाटै स्याङ्जा बजारका क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी आयोगले दिएको छ ।
‘छाेटाे अवधिमा उच्च प्रगति, अर्को पटक देशको नेतृत्व’
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु। विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु। “यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं। समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ। यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो! रवीन्द्र मिश्र उमेदवार, काठमाडौं क्षेत्र नं १ संयोजक, विवेकशील साझा पार्टी
खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी, १८ हजार ३७२ मत ल्याउन सफल
खोटाङ । प्रदेश ‘ख’ खोटाङमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ) विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन् । पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०४१ सालदेखि राजनीति शुरु गरेका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सभासद् भएका थिए । रासस
५० वटा दल पत्तासाफ !
काठमाडौं । नयाँ संबिधान अनुसार मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनले ५० वटा राजनीतिक दलहरुको अस्थित्व समाप्त पारेको छ । एक सिट प्रत्यक्ष र ३ प्रतिशत समानुपातिक मत कटाउनै पर्ने थ्रेस होल्डको व्यवस्थाका कारण ५० वटा राजनीतिक दलहरु पत्ता साफ हुने निश्चित भएको हो । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल नयाँ शक्त्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रत्यक्ष तर्फ प्रतिनिधी सभा निर्वाचन जित्ने देखिएको छ । यीमध्ये पनि नयाँ शक्ति पार्टी नेपाल, राष्टिय जनमोर्चा र राप्रपालाई समानुपातिको ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गर्न मुस्किल पर्ने देखिन्छ । निर्वाचन आयोगमा ५९ वटा दल दर्ता भएका थिए । यी मध्ये ५० वटा दलले प्रत्येक्षतर्फ एक सिट पनि जित्ने अवस्था छैन । तर, यी मध्ये नेपाल मजदुर किसान पार्टीले भने प्रत्येक्षमा केही सिट जित्ने सम्भाबना छ । पत्तासाफ हुने ५० वटा दल १. राष्ट्रिय प्रजातन्त पार्टी(प्रजातान्त्रिक) २. विवेकशील साझा पार्टी ३. आमूल परिवर्तत मसिहा पार्टी नेपाल ४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल ५. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ६. ग्रीन पार्टी नेपाल ७. चुरेभावर लोकतान्त्रिक पार्टी ८. जनप्रजातान्त्रिक पार्टी, नेपाल ९. जनसमाजवादी पार्टी, नेपाल १०. तामाङसालिङ लोकतान्त्रिक पार्टी ११. दलित, मुस्लिम जनशक्त्ति पार्टी १२. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल १३. देशभक्त लोकतान्त्रिक पार्टी १४. नेपाः राष्ट्रिय पार्टी १५. नेकपा(माक्र्सवादी) १६. नेकपा(माले) १७. नेपाल जनता पार्टी १८. नेपाल दलित पार्टी १९. नेपाल युवा किसान पार्टी २०. नेपाल लोकतान्त्रिक जनता काँग्रेस २१. नेपाल संघीय समाजवादी पार्टी २२. नेपाल समाजवादी पार्टी(लोहियावादी) २३. नेपाली काँग्रेस(बी.पी.) २४. नेपाली जनता दल २५. बहुजन शक्ति पार्टी २६. बहुजन समाज पार्टी नेपाल २७. मंगोल नेशनल अर्गनाइजेसन २८. मधेश तराई फोरम २९. युवा नेपाल पार्टी ३०. राष्ट्रिय जनमुक्ति पार्टी ३१. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ३२. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल ३३. राष्ट्रिय शिवसेना पार्टी ३४. राष्ट्रिय समाजवादी पार्टी, नेपाल ३५. लिवरल डेमोक्रेटीक पार्टी ३६. लोककल्याणकारी जनता पार्टी, नेपाल ३७. शिवसेना नेपाल ३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल ३९. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४०. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) ४१. हाम्रो पार्टी ४२. नेपाल जनलोकतन्त्र पार्टी ४३. देशभक्त समाज ४४. नेपाली ग्रिन्स ४५. मुस्कान सेना नेपाल ४६. नेपालवाद ४७. राष्ट्रिय नागरिक पार्टी ४८. नेपाल नौलो जनवादी पार्टी ४९. गान्धीवादी पार्टी नेपाल ५०. नेपाल मजदुर किसान पार्टी नेपाल मजदुर किसान पार्टीले अहिले सम्म कुनै पनि निर्वाचन क्षेत्रमा अग्रता हासिल गर्न सकेकाे छैन । तर भक्तपुर १ मा प्रेम सुवालले जित्ने अनुमान गरिएकाे छ ।