विकासन्युज

ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्सोरेन्सबीच बैंकाइन्सोरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो । सो सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्धि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ । यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको थियो । विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको छ । भूकम्पपीडितको सूचीमा रही मृत्यु भएकाले वडा कार्यालयको सिफारिस ल्याए परिवारका अर्को सदस्यको नाममा ट्याक्सी ल्याउन सकिने यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी वाग्मती, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । सूचना नपाएका, मंसिर मसान्तसम्मको म्याद थाहा नपाएका, स्रोत जुटाउन नसकेका र विदेश रहेकाले अहिलेसम्म ट्याक्सी नल्याएको हुनसक्ने उनको भनाइ छ । “भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन्” – कार्यालय प्रमुख अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप एक हजार ५०० ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो । असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ । रासस

नेप्से दोहोरो अंकले ओरालो, उत्पादनमूलक बोहक सबै समूह राताम्मे

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बजारमा परिसूचक १७.५४ अंकले ओरालो लागेर १५१०.२१ अंकमा अडेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा कुल ६६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको ११ लाख ८० हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १६६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ४७, विकास बैंक २२, माइक्रोफाइनान्स २० र बैंकिङ समूहको परिसूचक १३ अंकले राताम्मे भएका छन् । उता उत्पादनमूलक समूह भने ६.४२ अंकले उकालो लागेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य ५.८४ प्रतिशतले घटेको छ । सेयर बजारमा ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

काँग्रेस पराजित हुनुमा दुई वाम दलको भोट मुख्य कारण

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला । काँग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन् । कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र विजय हासिल गरेको छ भने पार्टीका एक से एक हस्तीहरु पराजित भएका छन् । पराजित हुनुमा वाम गठबन्धनबाहेक नाम मात्रको लोकतान्त्रिक गठबन्धन निर्माण, पार्टीभित्रको गुटबन्दी र अन्तरघात, प्रभावकारी चुनावी मुद्दा नहुनु, काँग्रेस नेतृत्वमा भएका राम्रा काम जनतालाई बुझाउन नसक्नुलगायत कारणबारेमा पार्टीमा बहस हुन थालेको छ । काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टीका नेता बालकृष्ण खाँण २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो दलका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेपछि अंकगणितीय रुपमा वाम गठबन्धनको भोटको संख्या बढी देखिएको बताउँछन् । नेता खाँण भन्छन्, “दुई दलको भोट गाभियो । तटस्थ भोटलाई ठूलो संख्यामा हामीले आकर्षित गर्न सकेनौँ, उनीहरुले आफ्ना भोटलाई सुरक्षित गर्न सक्नुुभयो र परिणाम ल्याउन सफल हुनुभयो ।” यद्यपि समानुपातिकतर्फको मत भने काँग्रेसको मत प्रत्यक्षजस्तो कम देखिँदैन । काँग्रेसले राष्ट्रिय राजनीतिमा हालसम्म खेल्दै आएको भूमिकाका कारण आम मतदातालाई सोहीअनुसारको अपिल हुन्छ भन्ने भरोसा रहेको तर परिणाम भने २०६४ सालको संविधानसभा निर्वाचनजस्तै आएको उनको टिप्पणी छ । काँग्रेसले स्थापनाकालदेखि नै मुलुकका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्दै आएको उनी बताउँछन् । विसं २००७ मा राणा शासनको अन्त्य, २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना, २०६२/०६३ सालको शान्तिपूर्ण जनआन्दोलन र गणतन्त्र स्थापना, नेपालको संविधान जारी गरी मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसारको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै नेता खाँण भन्छन्, “मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको छ ।” उनी भन्छन्, “अब काँग्रेस प्रतिपक्षमा बस्छ, शान्ति र समृद्धि र संविधान कार्यान्वयनमा पार्टीको रचनात्मक सहयोग रहन्छ । तर कसैले संविधानमा आमूल परिवर्तन गर्ने, राजनीतिक व्यवस्था परिवर्तन गर्ने र ५० वर्षसम्म कम्युनिष्ट शासन चलाउँछौँ भन्यो भने त्यसविरुद्ध शान्तिपूर्ण रुपमा पार्टी पंक्ति र जनता परिचालन गर्छौं ।” कतिपय नेता भने पार्टीभित्रका विकृति र आन्तरिक कलहलाई पराजित हुनुको मुख्य कारण ठान्छन् । पार्टीका एक पुराना नेता तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा पुनः उम्मेदवारी दिन लगाउनु नै गल्ती थियो भन्छन् । प्रमुख दलबीचको सहमति त्यही बेलादेखि टुटेको र परिणामस्वरुप वाम गठबन्धन बनेको उनको तर्क छ । नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, “पार्टी नेतृत्वको असक्षमता, तदर्थवादमा पार्टी सञ्चालन गर्नु, आफ्ना नातागोता तथा पार्टीमा कुनै योगदान नभएकालाई पैसा लिएर टिकट वितरण गर्नु, पार्टीमा योगदान भएका पुराना नेता कार्यकर्तालाई बेवास्ता गर्नु वा पाखा लगाउनु पार्टी पराजयका कारण हुन् ।” हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो भएकोमा त्यसबारेमा कुनै पनि समीक्षा नगरी अर्को निर्वाचनमा होमिनु पनि काँग्रेस हारको कारण भएको उनको धारणा छ । पार्टीका युवा नेता विश्वप्रकाश शर्मा पनि निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट दलबीच भएको वाम गठबन्धन नै पार्टी पराजयको प्रमुख कारण भएको ठानेका छन् । “हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो बनेका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा काँग्रेसले अपेक्षा गरेअनुसार परिणाम आउने त कुरै भएन” नेता शर्मा भन्छन् । यसबाहेक काँग्रेसले आफ्नो नेतृत्वमा गरेका राम्रा काम जनतासमक्ष पुर्याउन नसक्नु, शान्ति स्थापना र संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका जानकारी गराउन नसक्नु कमजोरी भएको उनी स्वीर्काछन्। काँग्रेसले ठूलो आन्दोलन भएको मधेशका दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउनु र आदिवासी/जनजाति, मधेश, पिछडिएका समुदायका माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव ल्याएको लगायतका विषय आममतदाता समक्ष पुर्याउन नसक्नु पनि निर्वाचनमा हारको कारण हो, उनी भन्छन् । पार्टीको संगठन कमजोर भएका कारण उपरोक्त काम गर्न नसकिएको बताउँदै नेता शर्मा प्रहरी महानिरीक्षक प्रकरण र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग पनि पार्टी पराजयको कारण हुनसक्ने आँकलन गर्छन् । तत्काल केन्द्रीय समितिको बैठक बोलाई यसबारेमा गम्भीर समीक्षा गर्नुपर्ने उनको माग छ । रासस

बाम सरकार: २ बर्षपछि ७० प्रतिशत विद्यार्थीलाई प्राबिधिक शिक्षा अनिवार्य

काठमाडौं । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्र अनुसार काम गरे भने आगामी २ बर्षपछि ७० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा प्राबिधिक शिक्षा प्रदान गरिनेछ । बामपन्थी घोषणा पत्रमा उनीहरुले २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गर्ने र त्यसका जगमा ७० प्रतिशत व्यवसायीक तथा प्राबिधि र ३० प्रतिशत गैर प्राबिधिक शैक्षिक जनशक्ति तयार पार्र्ने उद्घोष गरेका छन् । ‘आफ्नै अनुभवहरुको समिक्षा गर्दै र संसारभरिका नमुना शिक्षा प्रणालीहरुको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्माणका लागि आगामी २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गरिनेछ । गैरप्राबिधिक बिषयमा ३० प्रतिशत र व्यवसायिक तथा प्राबिधिक बिषयमा ७० प्रतिशत जनशक्ति विकास गर्ने गरि शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरुप साधन श्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिनेछ’, बामपन्थी घोषणा पत्रमा लेखिएको छ । यतिबेला बामपन्थी दलहरुले सरकार गठन गर्न सक्ने गरि सुबिधाजनक बहुमत प्राप्त गरिसकेका छन् । अब उनीहरुले आफ्नो चुनावी घोषणालाई कार्यान्वयन गरे भने २ बर्षपछि कुल विद्यार्थीमध्ये ७० प्रतिशतले व्यवसायीक तथा प्राबिधिक शिक्षा अध्ययन गर्नै पर्नेछ । ३० प्रतिशत विद्यार्थीले मात्रै गैर प्राबिधिक बिषय अध्ययन गर्न पाउनेछन् । नेपालमा मानविकी, शिक्षा लगायतका संकायलाई गैर प्राबिधिक मानिन्छ । बामपन्थीहरुले राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत बजेट शिक्षामा अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने घोषणा पनि गरेका थिए । त्यस्तै, गुरुकुल, बिहार, गुम्बा, मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने दावी गरिएको छ । २ बर्ष्भित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने र पाँच बर्ष्भित्र सबै नेपालीलाई साक्षर बनाउने अठोट पनि घोषणा पत्रले कसेको छ । बामपन्थीहरुले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त गराउने तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउने पनि बताएका छन् । त्यस बाहेक दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासिय शिक्षाको व्यवस्था गर्ने, कक्षा ३ सम्मको शिक्षा मातृ भाषामा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।

नेपालको व्यवसाय प्रवद्र्धनमा युरोपियन युनियनको सहयोग

काठमाडौं । नेपालकालागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको समुचित आर्थिक विकासका साथसाथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने बताएका छिन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग परिसंघको सचिवायमा मंसिर २६ गते भएको भेटवार्ताको क्रममा राजदूत कोडिले उक्त विचार व्यक्त गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडिले नेपालको संविधानको कार्यान्वयनको क्रममा हालै शान्तिपूर्ण रुपमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीयतहको निर्वाचनपछि देश विकासको सम्भावना र विश्वास लगानीकर्ताहरुमा बढेको र नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनको तर्फबाट सहयोग विस्तारका सम्भावना रहेको धारणा व्यक्त गरेकी छन् । साथै, राजदूतकोडिले नेपालमा युरोपियन युनियन बैँकको सञ्चालनको सम्भावनाको समेत अध्ययन गरिने भएको र यस सन्दर्भमा सम्बन्धित टोलिले निकट भविष्यमा नेपालमा भ्रमण गर्ने कार्यक्रम भएको जानकारी गराएकी थिइन् । सो भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई नै अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएकोले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने अपेक्षा परिसंघले लिएको बताएका छन् ।

विजयी मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला

रौतहट । निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा (माओवादी केन्द्र)का मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी भएका उनलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी भएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उनको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए । नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताए । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए । सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो । मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्हालिसकेका छन् । रासस