विकासन्युज

सिद्धार्थ बैंकको नयाँ शाखा बनेपामा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा बनेपाको बनेपा बजारमा विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, बैंकले प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ । हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप ८२ अर्ब १५ करोड रुपैयाँ र कर्जा लगानी ७३ अर्ब ८० करोड रुपैयाँ गरेको छ ।

समस्याग्रस्तमुक्त वित्त कम्पनीलाई राष्ट्र बैंकको अंकुश, १० प्रतिशत भन्दा बढी एकल ग्राहक लगानी गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थाबाट मुक्त भएका वित्त कम्पनीको एकल ग्राहक कर्जा सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकले त्यस्ता  संस्थाको कर्जा सीमा प्राथमिक पुँजीको १० प्रतिशत मात्र हुने व्यवस्था गरेको छ । यसअघि र अब समस्याग्रस्त अवस्थाबाट मुक्त भई वित्तीय कारोवार संचालन गर्ने  संस्थाले तोकिएको चुक्ता पुँजी नपुगेसम्म एकल ग्राहक कर्जा सीमा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले वित्त कम्पनीको चुत्तापुँजी बढाएर ८० करोड रुपैयाँ पुरयाएको छ । चुक्तापुँजी नपर्याएसम्म एकल ग्राहक कर्जा सीमा कायम रहने जानकारी दिएको छ । एक साताअघि राष्ट्र बैंकले कुवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडलाई समस्याग्रस्त मुक्त गरी वित्तीय कारोबार गर्न पुनः अनुमति दिएको छ । यसअघि तत्कालिन जनरल फाइनान्स हालको वेष्ट फाइनान्स लिमिटेड र अरुण फाइनान्स लिमिटेडलाई पनि समस्याग्रस्त मुक्त गरेको थियो । यी दुबै  संस्थाले पुँजीवृद्धिको योजना राष्ट्र बैंकमा पेश गरेका छन् । वित्तीय संस्थाले चुक्ता पूँजी दुई बर्ष अर्थात ०७६ भित्र पुरयाउनु पर्ने, खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने र संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्न यस्ता संस्थालाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।    

अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकासः पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवाहरूको विदेश पलायनलाई रोक्न प्राथमिकताका साथ लैजाने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न नै केन्द्रित रहँदै, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिएर अगाडि बढ्ने बताएका छन् । सियो धागोदेखि चामल र तरकारी/फलफुलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिंदै उनले देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए । देशभित्रै उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री ओलीले एकआध वस्तुबाहेक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने प्राकृतिक स्रोत साधन हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक रूपमा धनी नेपालीले आफुसँग भएको प्राकृतिक धनको सदुपयोग गर्दै कुनै बेला हरेक वस्तुमा आत्मनिर्भर रहेकोमा अहिले परनिर्भर बनेको टिप्पणी गर्दै उनले भने –‘कुनै समय हाम्रो अर्थतन्त्र पुरै आत्मनिर्भर थियो । कुनै पनि वस्तु आयात गर्नुपर्दैनथ्यो । तर त्यो स्वाट्टै आयातमुखी सजिलो बाटोतर्फ जाँदा अहिलेको चरम परनिर्भरताको अवस्था सिर्जना भयो ।’ केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको बताए । मुलुकमा सबैखाले उद्योग, कृषि, व्यापार, तथा सबैखाले सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनाबाट तीब्र विकास गर्न प्रतिबद्ध रहने बताउँदै ओलीले सानो उद्योगले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने भनाइ राखेका छन् । सरकार सडक बनाउने, उद्योगधन्दाको विकास गर्ने, रोजगारी बढाउने, अन्य पूर्वाधारको विकास गर्ने र देशलाई उन्नत बनाउने अभियानमा आफु लाग्ने भन्दै उनले देशको विकास उन्नत र प्रगतिका लागि स्वदेशी उद्योग र उत्पादनलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न साना तथा घरेलु उद्यमी व्यवसायीलाई उनको सुझाव थियो । आफ्नै कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिन भन्दै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको दोहोर्याउँदै पूर्व प्रधानमन्त्री ओलीले साना तथा घरेलु उद्योगी÷व्यवसायीले आर्थिक लाभसँगै मुलुकको आत्मनिर्भरतातिर लाग्न आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताएका छन् । लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उनले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने बताएका छन् । विगतमा सम्पन्न स्थानीय तहको निर्वाचन र हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पश्चात संविधानले परिकल्पना गरेको तीन तहको सरकारको व्यवस्थापन अब पूर्णतः कार्यान्वयनमा आउने विश्वास रहेको महासंघका अध्यक्ष गिरीले बताए।

आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार बर्षका लागि उक्त सिईओ पदमा नियुक्त गरेको हो । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् । २०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ ।

नेप्से दोहोरो अंकले ओरालो, ५१ करोडको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबारको नेप्से ११.०१ अंकले ओरालो लागेर १५०९ अंकमा अडेको छ । बजारमा १५८ कम्पनीको ५१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नागबेली लघुवत्तको ६ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ११ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०९ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । आइतबार बीमा समूहको परिसूचक ८८ अंकले राताम्मे भएको छ । त्यस्तै, विकास बैंक १८, हाइड्रोपावर १६, बैंकिङ १२.७८ र माइक्रोफाइनान्स सममूहको परिसूचक १२ अंकले राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।

८५ वटा डिलर्स सहित सिजी इलेक्ट्रोनिक्स इजिप्ट भ्रमणमा

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टु इजिप्ट २०१७” भन्ने आवजका साथ आफ्ना ८५ वटा डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको छ । प्रत्येक वर्ष नेपाल भरिका सिजी इलेक्ट्रोनिक्सका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सिजी इलेक्ट्रोनिक्सले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको बताएको छ ।

जनसेवी लघुवित्तको शतप्रतिशत हकप्रद पारित, चुक्ता पुँजी ९ करोड ८० लाख पुग्यो

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर पारित भएको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको यस संस्थाको दोश्रो बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । संस्थाका अध्यक्ष विकाश गौचनको सभापतित्वमा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन लाई छलफल गरी पारित गरेको बताइएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ पुग्नेछ भने जारी पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । संस्थापकहरुमा हकप्रद शेयर निश्कासन पश्चात ४ करोड २० लाख रुपैयाँ बराबरको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गरी संस्थाको चुक्तापुँजी १४ करोड पुर्याउने अध्यक्ष बिकाश गौचनले बताए ।   २०७२ आश्विन २२ देखि कारोवार शुरु गरेको यस वित्तीय संस्थाले कारोवारको दोश्रो वर्षसम्ममा १० जिल्लामा २० वटा शाखा मार्फत १० हजार भन्दा वढि महिलाहरुलाई सामुहिक जमानीमा ६४ करोड लगानी गरी २१ लाख ४९ हजार रुपैयाँ मुनाफा गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।

२ वर्षपछि बुटबल पावरको आम्दानी भारी घट्ने, लगानीकर्ताको लाभांशमा पनि कटौती हुने

काठमाडौ । आगामी २ वर्षपछि बुटबल पावर कम्पनी लिमिटेड (बीबीसी) को आम्दानीमा भारी गिरावट आउने भएको छ । ६० मेगावाटको खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडबाट वर्षेनी पाउँदै आएको ४० करोडदेखि ५० करोड रुपैयाँ बराबरको लाभांशमा भारी गिरावट आउने भएपछि बीपीसीको आम्दानी घट्ने भएको हो । आम्दानीमा कमी आएपछि लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ । २ वर्षपछि अर्थात सन् २०२० जुलाईमा हिमाल पावरले निर्माण गरेको खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा जाने छ । सोही समयदेखि हिमाल पावर र विद्युत प्राधिकरणबीच अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को म्याद सकिने भएपछि करोडौ रुपैयाँ आम्दानी गुमाउने भएको हो । खिम्तीको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण र डलर पीपीएको म्याद सकिएर नेपाली मुद्रामा कम दर रेट कायम भएपपिछ बीपीसीले हिमाल पावरबाट हाल पाउदै आएको वार्षिक ५० करोड रुपैयाँ लाभांश घटेर केही करोडमा सीमित हुनेछ । त्यसपछि लगानीकर्ताले पाउने लभांशमा भारी गिरावट आउनेछ । हिमाल पावरबाट पाउने ५० करोड रुपैयाँ लाभांशले बीपीसीको नाफा बढेर वार्षिक २८ प्रतिशत हारहारीमा लाभांश वितरण गर्दै आएको छ । २ वर्षपछि बीपीसीले खिम्तीबाट प्राप्त हुने न्युन लाभांश र ९.४ मेगावाटको आँधिखोला, १२ मेगावाटको झिम्रुक र ४ मेगावाटको खुदी हाइड्रोपावर लिमिटेडबाट पाउने लाभांशमा मात्र निर्भर हुने छ । यी आयोजनाबाट धेरै आम्दानी नहुने भएपछि नाफामा कमी आउने देखिएको छ । नयाँ आयोजना नबनाएर हिमाल पावरमा मात्र निर्भर रहदा सन् २०२० पछि बीपीसीले लगानीकर्तालाई लाभांश नै दिन नसक्ने अवस्था देखिएको छ । खिम्तीको प्रवद्र्धक हिमाल पावरमा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । बीपीसीले हिमालबाट वार्षिक औसत न्युनतम् ४० करोडदेखि बढीमा ५० करोड रुपैयाँ लाभांश पाउँदै आएको छ । आयोजनाको आधा स्वामित्व प्राधिकरणमा गएपछि हालको पीपीए सम्झौता पनि सकिनेछ । नयाँ पीपीए सम्झौता हुने भएपछि हिमाल पावरबाट बीपीसीले पाउने लाभांशमा पनि भारी गिरावट आउनेछ ।खिम्ती आयोजना बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) रहेको छ । हिमाल पावर बीपीसी, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ । सरकारले सांग्रिला इनर्जी लिमिटेडलाई ९६ करोड रुपैयाँमा बीपीसीको ७० प्रतिशत सेयर बेचेको हो । यसमा सांग्रिलाको ६८.९५ प्रतिशत, सर्वसाधारणको १०, सरकारको ९.९, इन्टरकास्ट नेपालको ६, युनाइटेड मिसन टु नेपालको २.७९, कर्मचारीको २ र प्राधिकरणको १ प्रतिशत सेयर छ । ५ वर्षमा बीपीसीले १ हजार मेगावाट बिजुली उत्पादन गर्ने केहि वर्ष बीपीसीको आम्दानीमा गिरावट आएपनि पाँच वर्षको लक्ष्य सम्पन्न भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने अवस्था आउने देखिन्छ । आगामी पाँच वर्षपछि बीपीसीले चीनियाँ कम्पनीको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ । आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना ३ वर्षमा सम्पन्न हुदैछन् । बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको सिचवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एसजीआई) ५१ र छेन्दु सिनचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्योङ इन्जिनियरिङ कनसल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना तयार पारेको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ । यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ ।