विकासन्युज

जनता बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ७० लाख लाभांश बाड्ने

काठमाडौं । जनता बैंकको आठौं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा चुक्तापुँजीको १४.४० प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ ९१ हजार रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम छ । यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ गरी ६ जना संचालकको निर्वाचन हुने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सभामा बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने, प्राप्ति गर्ने र विदेशी रणनीतिक साझेदारी भित्राउनका लागि सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।  

मिसन डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस, पुस १६ गतेसम्म सेयर किन्नेले पाउने

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आवको नाफाबाट लगानी कर्तालाई ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरण प्रयोजनका लागि बैंकले पुस २७ गतेका लागि साधारण सभा समेत डाकिसकेको छ । पुस १६ गतेसम्म सेयर खरिद गर्ने लगानी कर्ताहरुले बोनस सेयर पाउनेछन् । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।

नियमित बिजुली आपूर्तिले उद्योगलाई राहत, औद्योगिक क्षमता बढेर ५७ प्रतिशत पुग्यो

काठमाडौं । नियमित रुपमा बिजुली आपूर्ति भएपछि नेपालमा औद्योगिक क्षमता उपयोग र उत्पादनमा वृद्धि भएको छ । उद्योगले औसतमा ५७.३ प्रतिशत क्षमता उपयोग गरेका छन् । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.२ प्रतिशत मात्र थियो । क्षमता उपयोग बढेपछि उत्पादनमा पनि सुधार आएको छ । गत वर्षदेखि नियमित उर्जा आपूर्ति, बन्द हड्ताल लगायतका आपूर्तिजन्य अवरोधमा कमी, पुनर्निर्माणका कारण निर्माणजन्य सामग्रीको माग बढेको र औद्योगिक श्रम सम्बन्धमा सुधार भएका कारण उद्योगहरुको क्षमता उपयोगमा वृद्धि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा पश्मिना उद्योग भएका छ । पश्मिनाको ९८.५, वियरको ८२.१, चाउचाउको ७९.१ र प्रशोधित चिया उत्पादन गर्ने उद्योगको ७८.६ प्रतिशत क्षमता उपयोग भएको छ । अघिल्ला वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८, ६२.८, ८३.३ र ६५.५ प्रतिशत मात्र थियो ।सबैभन्दा कम क्षमता उपयोग गर्नेमा चामल उद्योग रहेको छ । चामल उद्योगले २८.८, चिनी उद्योग ३१.२ र इँटा उत्पादन गर्ने उद्योगले ३५.७ प्रतिशत गरेका छन । औद्योगिक उत्पादनमध्ये वनस्पति घिउ तथा तेल समूह, पेय पदार्थ समूह, लत्ता कपडा समूह, कागज, अन्न तथा पशुदाना समूह अन्य रसायनिक पदार्थ समूह, प्लाष्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुको सामानको उत्पादनमा वृद्धि भएको छ । दुग्धपदार्थ, अन्य खाद्य पदार्थ समूह, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा ह्रास आएको छ । वनस्पती घिउ तथा तेल समूहको उत्पादन ३९.२, समग्र पेय पदार्थको उत्पादन २७.२,लत्ता कपडाको उत्पादन २८.८ प्रतिशतले वृद्धि भएको छ । अन्न तथा पशुदाना समुहको उत्पादन १९.४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूह अन्तर्गत विस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ । चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५.३ प्रतिशतले ह्रास आएको छ । तयारी कपडा समूहको उत्पादन ३२.९ प्रतिशतले घटेको छ । रंगको उत्पादनमा २६, साबुनको उत्पादनमा ३२.३, इँटाको उत्पादन १२.२ र सिमेन्ट उत्पादन ५८.३ प्रतिशतले बढेको छ । यसैगरी, फलामको छड तथा पत्ति र जिआई तारको उत्पादनमा क्रमशः १०९.३ र ८२.२ प्रतिशतले वृद्धि भएको छ । घरेलु धातुका सामान उत्पादनमा ३.८, जुत्ताको उत्पादनमा १७.५ प्रतिशत ह्रास आएको छ । प्रशोधित छालाको उत्पादनमा ९.७, चिरेको काठको उत्पादनमा २०.८, बिजुलीको तार र केबलको उत्पादनमा १०.९ प्रतिशत कमी आएको छ । कागज उत्पादनमा २८.८, रोजिनको उत्पादन १२.५ र समग्र औषधिको उत्पादनमा औसतमा १७.१ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत रुपमा विश्लेषण गर्दा काठमाडौमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधी, जुत्ताको उत्पादन हुने गरेको छ । विराटनगरमा वनस्पती घिउ तथा तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लाष्टिकका सामान, फलामको छड तथा पत्ति, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख छ । जनकपुरमा चिनी, मदिरा, कागज, ईटा, सिमेन्ट आदिको उत्पादन हुने गरेको छ । वीरगञ्जमा वनस्पति घिउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी र पोखरामा विस्कुट, चाउचाउ, रवरजन्य वस्तुको उत्पादन हुने गरेको छ । सिद्धार्थनगरमा गहुँको पिठो, पेय पदार्थ, औषधि, सिमेण्ट उत्पादन हुने गरेको छ । नेपालगञ्जमा तोरीको तेल, चामल, सिमेण्ट उत्पादन हुने गरेको छ । धनगढीमा गहुँको पिठो, रोजिन, साबुन लगायतका वस्तुहरुको उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा उर्जा आपूर्तिमा सुधार भएको, कच्चा पदार्थको सहज उपलव्धता रहेको तथा पुनर्निर्माण कार्यले लिएका गतिबाट उद्योगहरुको क्षमता उपयोगमा थप विस्तार हुने अनुमान गरिएको छ । प्रादेशिक तथा केन्द्रीय स्तरको चुनाबमा सरकारी खर्चमा हुने वृद्धिबाट चाउचाउ, चकलेट, वियर र हल्का पेय पदार्थ जस्ता वस्तुहरुको माग बढ्न गई उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा मौसमी अनुकुलता रहेका कारण कृषि उत्पादनमा वृद्धि हुन गई चामल, पिठो, दाल र तेल जस्ता कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । सरकारले उखुको मूल्य निर्धारणमा गर्ने ढिलाई तथा चिनी उद्योगहरुले विगत वर्षहरुको उखुको मूल्य किसानहरुलाई भुक्तानी नगरेबाट किसानको उखु खेतीमा आकर्षण घट्न गई चिनी उत्पादन भने घट्ने देखिन्छ । पुनर्निर्माण प्राधिकरणबाट भूकम्प पिडितहरुलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाहरुको पुनर्निर्माण कार्यले लिएको गति लिएको छ । भर्खरै सम्पन्न स्थानीय तहरुको निर्वाचन पश्चात् गठित स्थानीय तहहरुले आप्mनो क्षेत्रमा पूर्वाधार विकास निर्माणमा वृद्धि गर्ने लगानीबाट निर्माणजन्य सामाग्री इँटा, सिमेन्ट, फलामे छड तथा पत्ति लगायका उत्पादन बढ्न जाने देखिन्छ

राधि विद्युत कम्पनीको आईपीओ सोमबारदेखि बिक्री खुला, बिहीबार बन्द हुने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारदेखि बिक्री खुला हुने भएको छ । राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । सेयर  निष्कासन पुस ६ गते बन्द हुने कम्पनीका अध्यक्ष विनय भण्डारीले जानकारी दिए । धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको थियो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । संस्थापक सञ्चालक तथा आयोजना क्षेत्रका स्थानियबासिन्दालाई आईपीओ जारी भइसकेकाले उनीहरु यो खरिद प्रक्रियामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।

औद्योगिक कर्जा विस्तार, बैंक तथा वित्तीय संस्थाले गरे ६३७ अर्ब लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको औद्योगिक कर्जा २१ प्रतिशतले विस्तार भएको छ । अघिल्लो वर्षको तुलनामा औद्योगिक कर्जा बढेर ६ खर्ब ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ५ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ थियो । यस्तै ०७२ मा औद्योगिक कर्जा ४ खर्ब ३१ अर्ब २६ करोड रुपैयाँ थियो । वर्षेनी औद्योगिक कर्जा बढ्दै गएका देखिएको छ । समीक्षा अवधिमा प्रवाहित कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३२.४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले गरेको गत वर्षको आर्थिक गतिविधिको अध्ययनले औद्योगिक क्षेत्रले विस्तारै गति लिएको देखाएको हाे । केन्द्रीय बैंककाअनुसार कृषि, वन तथा पेय पदार्थ एवम् गैर खाद्यवस्तु शीर्षकमा १३.८, निर्माण क्षेत्रमा २३.१, पर्यटन उद्योग÷सेवा शीर्षकमा ३२.५, विद्युत, ग्याँस तथा पानी शीर्षकमा ३६, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक शीर्षकमा ३४.३ र खानी सम्बन्धी उद्योगमा १८.२ प्रतिशत कर्जा वृद्धि भएको छ । यसरी प्रवाहित मध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी अर्थात् ४५ प्रतिशत कर्जा प्रवाह भएको छ । सबैभन्दा न्यून अर्थात् ०.६ प्रतिशत कर्जा खानी उद्योगमा प्रवाह भएको छ । निर्माण उद्योगमा ३१.२, पर्यटनमा ९.९, विद्युत, ग्याँस तथा पानीमा ९.१, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ४.२ प्रतिशत कर्जा प्रवाह भएको छ । कुल औद्योगिक कर्जा लगानीमा काठमाडौ क्षेत्रको सबैभन्दा बढी छ । काठमाडौं क्षेत्रमा यसको अंश ५८.९, विराटनगरमा ११.४, वीरगञ्जमा ९.२, पोखरामा ६.७, सिद्धार्थनगरको ६.४, नेपालगञ्जको ३.४, धनगढीको २.२ र जनकपुरको अंश १.८ प्रतिशत छ । सबैजसो ठूला बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमै रहदा कुल कर्जामा काठमाडौ क्षेत्रको अंश उच्च देखिएको हो ।  

समानुपातिकतर्फको मतगणना सकियो

काठमाडौँ ।  गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । मतगणना कार्य सकिए पनि अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा (माओवादी केन्द्र) १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ । त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६६ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेका छन् । रासस

कवाडका सामान टिप्नेभन्दै चोरी गर्ने ‘चल्ला ग्याङ’ पक्राउ

काठमाडौं । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहानामा घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट बिभिन्न ब्राण्डका मोवाईल ४ थान, बिभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजंफपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् । अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्धामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्धामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्तिहरु भएको खुल्न आएको छ । भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रबेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने, चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ । अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी महाशाखाले जनाएको छ ।

अब नेपाल भित्रिने सामान निरीक्षण गर्न भारतबाटै ‘ट्रयाकिङ सिस्टम’

काठमाडौं । भारतबाट आयात हुने वस्तुलाई बिना अवरोध नेपाल भित्र्याउनका लागि सरकारले नयाँ प्रविधी इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ एण्ड सेक्यूरिटी सिस्टम (इसिटिएस) लागू गर्ने भएको छ । वाणिज्य मन्त्रालयले भन्सार नियन्त्रण अन्तर्गत भारतबाट पास हुने सामानको गतिविधीलाई निरीक्षण गर्न इसिटिएस प्रणाली सुरु गर्न लागेको हो । सरकारले आगामी जनवरीदेखि नेपाल भित्रने सामानसहितका कन्टेनरमा इसिटिएस प्रविधी जडान गर्ने तयारी गरेको छ । भारतबाट वस्तु आयात प्रकृयामा चोरीपैठारी, ढिलाई बढेको तथा सामान बिग्रिने जस्ता समस्या बढेको निष्कर्श निकाल्दै सरकारले इसिटिएस प्रणाली लागू गर्न लागेको हो । साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेशन (एसएएसइसी) एण्ड ट्रेड फ्यासिलिसिएसन अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा वाणिज्य मन्त्रालयले भारतबाट आयात हुने सामानको ढुवानीलाई ‘ट्रयाक’ गर्न छुट्टै प्रविधीको ‘पाइलटिङ’ गर्न लागेको हो । पहिलो चरणमा यसलाई भारतसँगको प्रमुख नाकाहरु – वीरगञ्ज, विराटनगर र भैरहवामा प्रयोग गरिने मन्त्रालयले जानकारी दिएको छ । इसिटिएस पूर्णरुपमा वायरलेस प्रविधी हो । यो प्रणाली लागूभएपछि बस्तु आयातमा हुने ढिलाईलाई कम गर्न सकिने विश्वास लिइएको छ । कलकत्ता बन्दरगाहदेखि नेपालको सीमानाकासम्म दैनिक औषत ६०/७० कन्टेनर पास हुन्छन् । मन्त्रालयको ३ महिनाभित्र सबै कन्टेनरमा उक्त उपकरण जडान गर्ने लक्ष्य रहेको उपसचिव मनोज आचार्यले जानकारी दिए । यो प्रविधी रेल र सडकबाट आउने सामानहरुका लागि प्रयोग गर्ने उनले बताए । सुरुवातमा ढुवानीकर्ताले स्वैच्छिकरुपमा उक्त उपकरणलाई प्रयोगमा ल्याउनपाउछन् । उनले भने, ‘पाइलटिङको रुपमा ३ महिनाजति जो-जसलाई ईच्छा छ, त्यही अनुसार प्रविधी प्रयोगमा ल्याइन्छ । प्रोजेक्ट सफल भएपछि भारत सरकारसँग वाणिज्य सन्धीमा यसलाई समेट्न प्रस्ताव गरिनेछ ।’ कलकत्तादेखि भन्सार बिन्दूसम्म इसिटिएस प्रविधी प्रयोग गरिने आचार्यले बताए । इसिटिएसको प्रयोगले विलम्ब तथा जाँचपास शुल्कलाई समेत कटौती गर्ने र नियमित राजश्व संकलनमा पनि योगदान पुर्‍याउने उनले बताए ।  अहिले कुनै पनि कन्टेनर सही समयमा नआउने गरेको उनले बताए । एउटा कन्टेनर पास गर्न बढीमा ४५ दिनसम्म लाग्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो अवधारणा अघि सारेको छ । उनले भने, ‘यसले कुन सामान कति समयमा पास भइरहेको छ भन्ने जानकारी ट्रयाक गर्दछ । बीचमा आइपर्ने अवरोधलाई यसले तुरुन्त जानकारी गराउनेछ । यो प्रविधीले ढिलाईको समस्यालाई पनि सुल्झाउन मद्दत पुर्‍याउछ ।’ मन्त्रालयले यो प्रणाली लागू गर्न आवश्यक आन्तरिक तयारी गरिरहेको आचार्यले जानकारी दिए । एसियाली विकास बैंकले प्राविधिक सहयोगका लागि कम्पनी समेत नियुक्त गरेको उनले बताए । गत जुनमा नै भारत सरकारसँग प्रविधी जडान गर्ने विषयमा समझदारी भइसकेको छ । भारत-नेपालबीच भएको समझदारीपत्रमा उल्लेख भएअनुसार भारतबाट नेपालको भन्सारबिन्दूसम्म कार्गो ( कन्टेनर तथा मालवाहक ट्रक)मा इसिटिएस प्रणाली पाइलटिङ गरिनेछ । यो प्रणाली अन्तर्गत स्याटेलाइट पोजिसनिङ सिस्टम, सञ्चारसम्बन्धी उपकरण, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन,वेबद्वारा सञ्चालित सफ्टवेयर तथा अन्य प्रविधीको प्रयोग गरिनेछ, जसले कार्गोको सुरक्षा र त्यसको आवतजावतमा आउनसक्ने अवरोधलाई निरुत्साहित गर्न प्रत्याभुत गर्दछ । यसअघि भारतले भुटानसँग पनि यो प्रणाली लागू गरिसकेको छ ।