विकासन्युज

सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । यसबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी पुगेकोे कम्पनीले जनाएको छ । बैंकको अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, उक्त सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । बैंकको हाल शाखाहरुको संख्या ७० र एटिएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।

नेपाली लगानीमा बुढिगण्डकीः भारतसँग तल्लो तटिय लाभको हिस्सा मागिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले १२०० मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण आफ्नै लगानीमा गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन भएको समितिले कम्पनी मोडलमा आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । (प्रतिवेदनकोे पूर्ण पाठ) नेपाल विद्युत प्राधिकरणको मातहतमा सहायक कम्पनीका रुपमा बिशिष्टकृत आयोजना कार्यान्वयन इकाई खडा गरेर नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा संस्थान, बीमा कम्पनीहरु, नेपाल टेलिकम, अपर तामाकोशी, चिलिमे, नेपाल प्रहरीको कल्याण्कारी कोष, सेनाको कल्याणकारी कोष र सर्वसाधारबाट लगानी जुटाउन सकिने उल्लेख गरिएको छ । प्रतिवेदनमा तल्लो तटिय लाभ तथा हानीको मूल्यांकन गरेर अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा छिमेकी देशहरुसँग छलफल गर्ने पनि उल्लेख गरिएको छ ।  

आइएमई जनरल इन्स्योरेन्सले ८०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ८० प्रतिशत हकपद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात बोनस सेयर दिई कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने गरी पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ ।

सुजुकीको नयाँ ‘सेलेरियाे’ कार नेपाली बजारमा, मूल्य २३ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो प्यासेन्जर कार ‘सेलेरियाे’ को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट फ्याम्ली कार’ कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ । नयाँ सेलेरियोमा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के १० ईञ्जिनको प्रयोग गरिएको छ । सो ईञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दावी गरिएको २३ दशमलव १ किलो मिटर प्रति लिटर माइलेज दिने क्षमता राख्छ । सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरुमा समय सापेक्ष रुपमा नयाँ फ्रण्ट ग्रिल र स्टाइलिश फ्रण्ट बम्पर एसेम्ब्लिको प्रयोग गरिएको कम्पनीले जनाएकाे छ । साथै, कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पूरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । सार्वजनिक नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेण्डि नभइ कारको भित्री सजावतमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् । आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखि यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्सहरुपनि समाहित गरिएका छन् । सेलेरियोमा १ सय ७० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध गरिएको छ । त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतिय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्रि, ईलेक्ट्रिक पावर स्टेरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् । कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा पनि लिइन्छ । कारका हरेक भ्यारिण्टमा स्ट्याण्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन्, एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्टपनि कारमा जडान गरिएको छ । साथै, दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चाट पटक न्यूनिकरणका लागि प्रयोगहुने सुरक्षा फिचर्स उपलब्ध केही कार मध्य योपनि एक भएको छ । साथै, कार चोरी लगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा ईम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरुपनि जडान गरिएका छन् । ‘सुरक्षा तथा आरामदायी अनुभवका लागि विभिन्न फिचर्सका साथै अतुलनिय कार्य प्रदर्शनी तथा क्षमताका लागि नयाँ सेलेरियोमा विभिन्न अत्याधुनिक फिचर्सहरु उपलब्ध रहेका छन् । हामीले नेपाली परिवारका लागि विशेष उपयोगी होस् भन्ने तिर विशेष ध्यान दिएर कार सार्वजनिक गरेका छौँ’, नयाँ सेलेरियोका बारेमा बोल्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,‘हामीले निकट भविष्यमा नै यसको स्पोर्टी भ्यारियण्ट सेलेरियो एक्सपनि सार्वजनिक गर्ने तयारी गरिरहेक छौँ ।’ यस कारमा चार वर्षे वारेण्टि तथा ८ निःशुल्क सर्भिसिङ सुविधा सहित उपलब्ध हुने छ । साथै, यस कारको मूल्य २३ लाख ३९ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

प्रदेश संरचना मर्मतमा २८ करोड रुपैयाँ लाग्ने

सुर्खेत । छ नं प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका-संसद्का लागि आवश्यक तयारी शुरु भएको छ । प्रदेश सरकार संरचनाका लागि २८ करोड रुपैयाँ लाग्ने भएको छ । प्रदेश व्यवस्थापिका-संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि विद्यमान पूर्वाधार मर्मतका लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमा अडिटोरियम हलदेखि आवाससम्मको मर्मतका लागि उक्त रकम आवश्यक पर्ने उल्लेख छ । प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि उक्त रकम प्रस्ताव गरिएको र शैक्षिक तालीम केन्द्र भवन मर्मतका लागि रु छ करोड आवश्यक पर्ने उल्लेख छ । यस्तै प्रदेश प्रमुख कार्यालय, निवास, प्रदेश सचिव कार्यालय, प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री, मुख्य सचिव कार्यालय, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार विकास, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, मन्त्रीहरुको निवास, विशिष्ट कर्मचारी निवासलगायतमा २२ करोड रुपैयाँ खर्च लाग्ने क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले बताए । “भवन मर्मतका साथै नजिकका बिग्रेका सडकको मर्मतका लागि पनि यो बजेट प्रस्ताव गरेका हौँ” उपाध्यायले भने, “केन्द्रबाट अहिलेसम्म बजेटका बारेमा कुनै निर्णय आइपुगेको छैन ।” क्षेत्रीय प्रशासन कार्यालयले शाखा अधिकृत केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले शैक्षिक तालीम केन्द्रका लागि प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि पनि आवश्यक भवन पनि सो प्रस्तावमा समेटेको छ । रासस

सबै ब्रोकरसँग भ्याट असुल्ने तयारी, चित्त नबुझे पुनरावलोकन

काठमाडौं । आन्तरिक राजश्व विभागले सबै ब्रोकर कम्पनीहरुसँग भ्याट असुल्ने स्पष्ट पारेको छ । विभागका प्रवक्ता प्रवक्ता यज्ञ प्रसाद ढुंगेलले सबै ब्रोकरहरुले भ्याट तिर्नुपर्ने दावी गरे । ‘अहिले तीन वटा कम्पनीको कर निर्धारण गरेर पत्र काटेका छौं, बाँकी ब्रोकर कम्पनीहरुको कर निर्धारण भैरहेको छ, उनीहरुले पनि भ्याट तिर्नु पर्छ’, विभागका प्रवक्ता ढुंगेलले विकासन्युजसँग भने । उनले विद्यमान कानुन अनुसार सबै ब्रोकरसँग कर असुल उपर हुने र नयाँ नीतिगत व्यवस्था आएपछि भने सोही बमोजिम हुने पनि स्पष्ट पारे । ‘अहिलेको कानुनी व्यवस्था अनुसार सबै ब्रोकरसँग भ्याट असुल्छौं, नयाँ नीतिगत निर्णय भएपछि सोही बमोजिम हुन्छ, चित्त नबुझ्नेहरु पुनरावलोकनमा जान सक्छन्’ प्रवक्ता ढुंगेलले भने । विभागले सुन्धारा सेक्युरीटिज, सेवा सेक्युरिटिज र इन्भेष्टमेन्ट मेनेजमेन्टलाई आव २०६९।७० देखि गत आवसम्मको भ्याट बुझाउन पत्र काटिसकेको छ । विभागले केहि दिन अघि मात्रै पत्र काटेर आगामी १५ दिनभित्र भ्याट र जरिवाना दस्तुर समेत बुझाउन भनेको हो । तीन वटा ब्रोकर कम्पनीले २ करोड ९० लाख रुपैंयाँ भ्याट, जरिवाना र ब्याज बुझाउनुपर्छ । कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट लगाएपछि ब्रोकर एसोसियसनले कर हटाउन दबाब दिँदै आएको छ । ब्रोकर एसोसियसनले अर्थ मन्त्रालयसँग पटक पटक छलफल गरिसकेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले आइतबार मात्रै यस कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । बैंकले ३३ करोड ९७ लाख रुपैयाँ बराबरको ३३ लाख ९७ हजार कित्ता सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न अर्थात बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू

काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मार्फत युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभु मनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनुको साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ। साथै, पठाएको पैसामा नेपालमा कुनै पनि सर्भिस चार्ज काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ। प्रभु मनीले खाडी मुलुकको साथै सन्सारको धेरै देशहरुबाट रेमिट्टान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी युएई एक्स्चेन्जसँग सहकार्य गरेको हाे । साथै नेपालीले आर्जन गरेको रकमलाई कुनै पनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्टान्स कार्ड समेत पैसा पठाउन सकिनेछ। रेमिट्टान्स कार्ड मार्फत प्रभु बैंकको १२६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६०० भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८०० भन्दा बढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।