विकासन्युज

बल्ल ताते बैंकर, गभर्नरसँग छलफल सकेर अर्थमन्त्रालय पुग्दै

काठमाडौं । बजारमा लगानी योग्य पुँजीको चरम अभाव सृजना भएपछि बैंकरहरुको दौडधुप सुरु भएको छ । बिहिबार नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगाना र र पुर्व अध्यक्ष राजनसिंह भण्डारी लगायतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग छलफल गरेका छन् उनीहरू भाेली शुक्रबार अर्थ मन्त्रालय जाँदैछन् । ‘लगानी योग्य पुँजीको अभाव देखिन थालेपछि सम्भावित जोखिमको समाधान कसरी गर्ने भन्नेबारे गभर्नर सापसँग छलफल गरेका हौं, शुक्रबार अर्थमा छलफल गर्दैछौं’, बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विकासन्युजसँग भने । हाल बजारमा ३४ अर्बको मात्रै  लगानी गर्नका लागि थप तरलता छ । बाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो)  ७६ पुगिसकेकाले ८० पुग्ने जोखिम बढेको छ । ‘सिसिडी रेसियो औषतमा ७६ पुगेको छ, अब ८० पुग्ने जोखिम बढेको छ, त्यसले पनि हामीलाई सचेत हुन दबाव दिएको छ ।’, ढुंगानाले भने । भेटमा गभर्नर डा. नेपालले कर्जा लगानी अनावश्यक रुपमा बढाएकाले लगानी योग्य पुँजीको अभाव देखिएको भन्दै बैंकरहरुलाई सचेत बन्न भनेका थिए । हाल बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर १२.२५ प्रतिशत पुर्याईसकेका छन् । यसले पनि बजारमा लगानी योग्य पुँजी अभाव रहेको स्पष्ट पारिसकेको छ । चालु आवको पहिलो चार महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढाएको देखिन्छ । कात्तिकसम्ममा निक्षेप जम्मा १४.५ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले कर्जा भने १७.५ प्रतिशतले वृद्धि गरेका थिए । सामान्यतया कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर केहि बढि हुनुपर्ने मान्यता रहिआएको छ । पुँजीगत खर्चको निकासा आरम्भ भएको र निर्वाचनमा खर्च गरिएको रकम वित्तिय प्रणालीमा आउने समय हुनै लागेकाले पनि लगानी योग्य पुँजीको अभाव चाँडै हट्ने विश्वासमा आफुहरु रहेको ढुंगानाले बताए । उता, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि बजारमा लगानी योग्य पुँजीको अभाव देखिएको बताउँदै त्यसको समाधानका लागि केन्द्रिय बैंकले उचित कदम चाल्ने बताए । ‘बैंकहरुले निक्षेप भन्दा कर्जा धेरै प्रवाह गरेको देखियो, सिसिडी रेसियो नाघ्ने अवस्था आईसकेको देखेका छौं, केन्द्रिय बैंक सम्भावित जोखिम न्युनिकरणका लागि सचेत भैसकेको छ’, सहायक प्रवक्ता पण्डितले भने । पुसभित्र सरकारले अर्बौ रुपैयाँ कर संकलन गर्दै छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब रुपैयाँ वचतमा छ । पुसको राजश्व थप हुदा ढुकुटीमा अझै अर्बौ रुपैयाँ थपिने र बैंकिङ प्रणालीमा लगानी गर्न थप पुँजीको अभाव चर्किने संभावना देखिएको छ । केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ । राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षमा ९१ अर्बको दूध बिक्री, १२ अर्ब ग्रामीण क्षेत्रमा

चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको बताए । सरदर ५२ रुपैेयाँ प्रतिलिटर किसानले पाउने भन्दै उनले वार्षिक ९१ अर्ब हाराहारीको दूध किसानले बिक्री गर्नेमा १२ अर्ब ग्रामीण क्षेत्रमा मात्रै जाने बताए । पुस २८ र २९ गते काठमाडौँमा साधारणसभा तथा महाधिवेशन गर्न लागिएको र दुग्धजन्य पशुपालनमा चार लाख ५० हजार कृषक आबद्ध भएको र करिब २० हजारजनाले प्रत्यक्षरुपमा उद्योगमा रोजगारी पाएको बताए । किसानले उत्पादन गर्ने दूधमध्ये १५ प्रतिशतमात्रै डेरीमार्फत बजारमा पुग्छ । उनले ३५ प्रतिशत कृषकले सोझै उपभोक्ताकहाँ पुर्‍याएको र ५० प्रतिशत किसानको आफ्नै खपत रहेको बताए । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रले मात्रै नौ प्रतिशत योगदान पु¥याएको दाबी गर्दै उनले यहाँ उत्पादित दूधको २५ प्रतिशत अन्य देशबाट ल्याउनु पर्ने अवस्था आएको बताए । कुनै याममा दूधको मात्रा बढी हुने र कुनै याममा दूधको अभाव हुने भन्दै उनले प्रविधिको विकास गरी सबै मौसममा समान दूध उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुमित केडियाले डेरीलाई ५० प्रतिशत विद्युत् महसुलमा छुट दिनुपर्ने, डेरीका प्राविधिक उत्पादन गर्ने कलेज स्थापना गर्नुपर्ने, छ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था मिलाउनु पर्नेलगायत आफूहरुको माग रहेको बताए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वार्षिक प्रतिव्यक्ति ९२ लिटर दूध खपत हुनुपर्नेमा अहिले ७२ लिटरमात्र खपत हँुदै आएको छ । अहिले औपचारिक क्षेत्रमा आइरहेको दूधको परिमाणलाई बढाउँदै लैजानु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । औपचारिक क्षेत्र अर्थात् देशका २०० डेरी उद्योगमा अहिलेसम्म १५ अर्बको लगानी भइसकेको छ । चितवनमा दैनिक तीन लाख २० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । अहिलेको समयमा दुग्ध उत्पादनका क्षेत्रमा लागत खर्च कम गर्नु र उद्योगको क्षमता अभिवृद्धिका लागि पहल गर्नु मुख्य चुनौती बन्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले सरकारले थप सुविधा प्रदान गर्नु पर्ने अध्यक्ष केडियाले बताए । दूध उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिँदै उन्नत जातका घाँसका बीउबिजन उपलब्ध गराउन आवश्यक रहेको उनले बताए । गोठ सुधारका लागि दिइने अनुदानलाई सरलीकृत गर्दै पशु बीमा कार्यक्रमलाई कृषकको पहुँचसम्म पु¥याउन आवश्यक रहेको केडियाले बताए । सरकारी तवरबाट दानाको विकल्पमा पोषिलो घाँसको बीउबिजनलाई निःशुल्क वितरण गर्नु पर्नेलगायत काम भए दुग्ध उत्पादनलाई अझै बढाउँदै विदेशी दूधसँग प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने बताइएको छ । रासस

लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन पायो अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार लुम्बिनीलाई १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन बैंकले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्रियस्तरको विकास बैंक हुन लुम्बिनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ । बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ बढी छ ।

डीडीसी विरुद्ध मुद्दा दायर, दुधमा भेटियो हानिकारक ‘कोलिफर्म’

काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले दुग्ध विकास संस्थान (डीडीसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागको अनुगमनका क्रममा सरकारी स्वामित्वको संस्थान डीडीसीले बिक्री गर्ने प्रशोधित दुधमा हानिकारक तत्व कोलिफर्म (जिवाणु) भेटिएपछि मुद्दा दायर गरिएको हो । विभागले अनुगमनमा डीडीसीको काठमाडौंको बालाजुस्थित आयोजनामा प्रशोधित दुध दुषित पाएको हो । सरकारी टोलीले अनुगमन गर्दा शंकाका आधारमा डीडीसीको दुधलाई नमुना परिक्षणको लागि प्रयोगशालामा पठाएको थियो । दिसा-पिसाबमा पाइने हानिकारक तत्व कोलिफर्म दुधमा पाएपछि गत कात्तिक २१ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंले बताए । मापदण्ड अनुसार दुधमा कोलिफर्मको मात्रा शुन्य (०) हुनुपर्छ । तर, डीडीसीले बिक्री गर्ने दुधमा कोलिफर्म देखिएपछि मुद्दा दायर गरेको विभागले जनाएको छ । संस्थानलाई खाद्य ऐनका आधारमा मुद्दा दायर गरिएको वस्तीले जानकारी दिए । खाद्य ऐन अनुसार दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना वा ७ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने चापागाईंले जानकारी दिए । संस्थाको हकमा संस्थाको मुख्य प्रशासकिय जिम्मेवार हुने उनले बताए । गत वर्ष विभागको अनुगमन टोलीले बालाजु आयोजनामा म्याद गुज्रेको लेबल सहितको बोरामा पाउडर दुध भेटेको थियो । त्यतिबेला पाउडर दुध नमूना परिक्षण गर्दा विभागले दुध ‘खान मिल्ने’ रहेको निष्कर्श निकालेको थियो । के हो कोलिफर्म ? कोलिर्फम सरसफाइमा बेवास्ता गर्दा फोहोर खाद्यान्न र पानीको प्रयोगबाट उत्पन्न हुने जीवाणु हो । कोलिर्फमयुक्त खाद्य पदार्थ खाँदा झाडापखालासहित विभिन्न संक्रामक रोग लाग्ने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । उनका अनुसार कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ। ‘यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो’उनले भने, ‘गाईभैंसी दुहुँनेबेलामा यसको संक्रमणको खतरा हुन्छ । यद्यपी प्रशोधन गरेपछि त्यसलाई नियन्त्रण गरिन्छ । यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ।’ कोलिफर्मलाई तीन स्तरमा विभाजन गरिन्छ । यसैका आधारमा विभिन्न स्वास्थ्य जोखिम रहेका छन् । १. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ। २. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ। ३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा ‘इकोलाई’लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ। नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन। केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन्। कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ।

बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने रु छ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

सेयर बजार घट्दा पनि लगानीकर्ताको आकर्षण स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउने आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् । यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ । बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।  

प्रभु लाइफद्वारा बैदेशिक रोजगार जीवन बीमाको शुरुवात

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । उक्त शाखाको उद्घाटन गर्दै प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले प्रभु लाइफले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले अब देशभरी नै आफ्नो शाखा संजाल पू¥याई जीवन बीमासँग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

तरलता अभावकाे संकेत, राष्ट्र बैंकले विकास ऋणपत्र धितोमा लिएर आईतबार बजारमा ५ अर्ब पठाउदै

काठमाडौं । केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ । राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ । “केही बैंकमा लगानीयोग्य पुँजी नै नभएको देखियो” राष्ट्र बैंक स्रोतले भन्यो “पुँजीको तत्कालिन समस्यालाई समधान गर्न बैंकसंग भएको ऋणपत्र राष्ट्र बैंकले किन्ने भएको हो ।” गत वर्ष पनि बजारमा लगानीयोग्य पुँजी नभएपछि राष्ट्र बैंकले ८ अर्ब ९४ करोड रुपैयाँको विकास ऋणपत्र सोझै खरिद गरेको थियो ।  बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ थप तरलता भएपनि केही बैंकमा अभाव देखिएको राष्ट्र बैंकको भनाई छ । बजारमा लगानीयोग्य पुँजीको अभाव हुने संकेत देखिएपछि बैंकहरुले आफुसंग भएको व्यत्तिगत तथा संस्थापक ठुलो रकम निक्षेप बाहिरन नदिन मुद्धति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । अधिकाँश बैंकको मुद्धति निक्षेपको ब्याज दर १० प्रतिशत पुगिसकेको छ । गत वर्ष लगानीयोग्य पुँजी कम हुदा बैंकले १४ प्रतिशत महंगो ब्याज दिएर उठाएको निक्षेप परिपक्व हुन लागेपछि यसलाई रोक्न ब्याज दर बढाएका हुन् ।