विकासन्युज

सौर्य ऊर्जामा बढ्दो आर्कषण,१५९ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं, । सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ । घरायसी प्रयोजनका लागि जडान गरिएका सौर्य ऊर्जाको समेत विद्युत् खरिद दर तय भएको, प्रविधिमा आएको परिवर्तनका कारण कुल लागत समेत घट्दै गएकाले लगानी गर्नेको संख्यामा वृद्धि भएको हो । विद्युत् विकास विभागका अनुसार कुल ३४ परियोजनाले सौर्य ऊर्जा प्रणाली जडान गर्ने प्रयोजनका साथ सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाबाट १५९ मेगावाट विद्युत् उत्पादन हुनेछ । विभागबाट सर्वेक्षण अनुमति लिएकामध्ये ५ वटा परियोजना नेपाल विद्युत् प्राधिकरणको छ । यस्तै निजी क्षेत्रको अपि पावरले मात्रै ३६ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ । केटीएम इनर्जीले विराटनगरमा १०, मोरङमा १५ मेगावाट क्षमताका सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा ब्लक २ परियोजनाबाट ८ मेगावाट, ब्लक ३ परियोजनाबाट साढे ३ मेगावाट, ब्लक ४ बाट ८ मेगावाट र नुवाकोटको चतुरालेमा ५ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ । प्राधिकरणले विश्व बैंकको सहयोगमा २५ मेगावाटको सौर्य प्रणाली जडानका लागि विगतमा प्रक्रिया अगाडि बढाए पनि संसदीय समितिको छानबिन तथा अन्य संवैधानिक निकायको अध्ययनका कारण रोकिएको परियोजनासमेत अगाडि बढाउन तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मिश्रणलाई बढ्ता जोड दिने लक्ष्यका साथ प्राधिकरण लागिपरिरहेको प्रतिक्रिया दिन्छन  । “हामीले निजी क्षेत्रलाई पनि सौर्य ऊर्जा उत्पादनमा प्रेरित गरिरहेका छौँ, हामी आफैँ पनि जलविद्युत्का अलावा सौर्य ऊर्जा प्रणालीलाई अगाडि बढाउन प्रयत्नशील छाै” कार्यकारी निर्देशक घिसिङले भने। प्राधिकरणले घरघरमा उत्पादन हुने सौर्य ऊर्जाको प्रतियुनिट ७ रुपैयाँ ७५ पैसामा विद्युत् खरिद गर्ने कार्यविधि पारित गरेको छ । तर उक्त अवधारणा कार्यान्वयनमा भने आउन सकेको छैन । घिसिङको उक्त भनाइ भए पनि व्यावसायिक रुपमा सौर्य ऊर्जा उत्पादनको तयारीमा रहेका व्यवसायीसँग भने विद्युत् खरिद सम्झौता गर्न भने सकेको छैन । निजी क्षेत्रले भने विद्युत् खरिद सम्झौता गर्न प्राधिकरणले आलटाल गरिरहेको आरोप लगाएका छन् । प्राधिकरणले ऊर्जा मन्त्रालयले नयाँ कार्यविधि ल्याएका कारण आफूहरुले सम्झौता गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेको छ । तर छोटो समयमा नै ऊर्जा उत्पादन गर्ने गरी तम्तयारी हालतमा बसेका व्यवसायीसँग लामो समयदेखि प्राधिकरणले सम्झौता नगरिदिदा लगानी डुब्ने जोखिम बढेको बताउन थालेका छन् । यस्तै रिडी हाइड्रोले प्रवद्र्धन गर्ने गरी बुटवलमा साढे ८ मेगावाटको अनुमतिपत्र लिएको छ । प्राधिकरणले २०७३ जेठ २६ गते प्रतिस्पर्धा आह्वान गर्दा मुलुकका विभिन्न २२ स्थानमा सौर्य ऊर्जा प्रणाली जडानका लागि निजी क्षेत्रले प्रस्ताव पेश गरेका थिए । हेटौँडा, ढल्केबर, परवानीपुर, सिमरा, चन्द्रनिगाहपुर, लहान, दुहबी, अनारमनी, बुटवल, वर्दघाट, चनौटा, लमही र कावासोतीमा सौर्य ऊर्जा प्रणाली जडानका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको छ । तर प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । रिडी हाइड्रोका प्रमुख कुवेरमणि नेपाल अनुमतिपत्र भए पनि प्राधिकरण सम्झौता गर्न नै तयार नदेखिएको गुनासो गर्छन । । उहाँको कम्पनी रिडी हाइड्रोपावरले झापामा ५ मेगावाट र गुल्मीको रुरुमा एक मेगावाटको सौर्य प्रणाली जडानका लागि अनुमतिपत्र लिएको छ । सौर्य प्रणाली जडानको तयारीमा रहेका व्यावसायीले प्राधिकरणले सम्झौता गरेको छ महिनाभित्र विद्युत् दिने प्रतिवद्धता जनाएका छन् । अपि पावरका प्रमुख सञ्जिव न्यौपानेले सौर्य परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आफूहरुले काम शुरु गरे पनि प्रक्रियामा लामो समय लागेका कारण समस्या उत्पन्न भएको बताउछन । उहाँको कम्पनी अपि पावर एक्लैले ३६ मेगावाट विद्युत् उत्पादन गर्न नौ स्थानमा सौर्य ऊर्जा प्रणाली जडानको अनुमति लिएको छ । “लगानी नै डुबे अवस्थामा पुगेको छ, छिटोभन्दा छिटो विद्युत् खरिद सम्झौता हुनुपयो भन्ने प्राधिकरणसँग हाम्रो माग छ, प्रमुख न्यौपानेले भने। प्राधिकरणले निजी क्षेत्रसँग सौर्य विद्युत् खरिदको प्रक्रिया अगाडि बढाएपछि ऊर्जा मन्त्रालयले ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ ल्याएपछि पूरानो प्रक्रिया रोकिएको बताइन्छ । सरकारले २०७२ साल फागुन ६ गते जारी गरेको ऊर्जा संकटकालीन कार्ययोजनामा समेत ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेको थियो । सो कार्ययोजनाअनुसार आगामी १० वर्षभित्र कम्तीमा पनि एक हजार मेगावाट क्षमता बराबरको ऊर्जा मिश्रण गर्ने र सौर्य प्रणाली जडानमा जोड दिने उल्लेख छ । रासस

घलेम्दी खोला पावर हाउसको निर्माण तीव्र

बेनी, म्याग्दी  ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेघावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ । दुई हप्ता अगाडि आयोजनाका प्रबन्ध निर्देशक प्रमोदकुमार श्रेष्ठले शिलान्यास गरेको पावर हाउसमा मेसिनसहितका आवश्यक उपकरण राख्ने भवनको दुई चरणमा काम भइरहेको छ । नीलगिरि खोलाको किनारमा कडा चट्टान पन्छाउँदै बिहान, दिउँसो र रातको समयमा समेत धमाधम काम भइरहेको कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । “पावर हाउसको काम तीब्र गतिमा भइरहेको छ,” सचिव रिजाले भने – “पावर हाउसदेखि ड्यामसम्म दुई चरणमा काम भइरहेको छ ।” पावर हाउससहित कर्मचारी आवासगृहको कामसमेत शुरु भएको उनले जानकारी िदए  । आगामी ४ महिनाभित्र पावर हाउसको निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । रातको समयमा निर्माण कार्यमा कुनै पनि असर हुन नदिन आसपासका क्षेत्रमा हेलोजिन बत्तीको समेत प्रयोग गरिएको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष ईश्वर सुवेदी, प्रबन्ध निर्देशक प्रमोदकुमार श्रेष्ठलगायतको टोलीले अनुगमन तथा तत्काल समस्या समाधानका लागिसमेत आयोजनास्थलमै निर्देशन दिने गरेकाले पनि पछिल्लो समय पावरहाउसदेखि ड्यामसम्मको कामले तीव्रता पाएको रिजालको भनाइ छ । विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको छ । आयोजनाको सुरुङमार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपको ढुवानीको तयारी भइरहेको कम्पनी सचिव विमलले जानकारी दिए। पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपबेको निर्माणकार्य शुरु भएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट ड्याम, इन्टेकको काम भइरहेको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ । ३८ करोड ५० लाख  संस्थापक शेयर रहेको आयोजनामा विभिन्न वित्तीय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ । रासस

हस्तकला निर्यात प्रोत्साहन बढाउन र छुट्टै नीति तर्जुमा गर्न महासंघको माग  

काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यात वृद्धिका लागि नगद प्रोत्साहन दर बढाउन माग गरेको छ । महासंघले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको हो । शनिबार महासंघको ३७ औं वार्षिक साधारणसभाको बन्द शत्रलाई सम्बोधन गर्दै अध्यक्ष धर्मराज शाक्यले त्यसको वृद्धिका लागि माग गरेका छन् ।नगद प्रोत्साहन दर निकै कम भएकाले त्यसको वृद्धिका लागि महासंघ निरन्तर सक्रिय रहेको उनले बताए । वाणिज्य मन्त्रालयको सहयोगमा सम्बन्धित क्षेत्रका सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी सुझाव र सिफारिशहरु सरकारलाई पठाएको उनले जानकारी दिए । उनले भने, ”नगद प्रोत्साहन वृद्धिका लागि उद्योगको अतिरिक्त निर्यात मात्र गर्ने फर्म/कम्पनीलाई पनि नगद प्रोत्साहन सुविधा उपलब्ध गराउन साविकको कार्यविधी संशोधन गराई नगद प्रोत्साहन कार्यविधिमा व्यवस्था गरिएको निर्यात प्रवर्द्धन गृहको साटो निर्यात गर्ने फर्म र कम्पनीहरुलाई पनि यो सुविधा उपलब्ध गराइने छ’ यो वाक्यलाई कार्यविधिमा संशोधन गराउने तर्फ महासंघले प्रयास गरिरहेको छ ।’ महासंघले हस्तकला क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जोडदार माग गरेको छ । शाक्यले हस्तकला विकास नीति २०७४ तर्जुमा गर्न उद्योग मन्त्रालयलाई प्रस्ताव पेश गरेको बताए । उनले भने, ‘हस्तकला व्यवसाय प्रवर्द्धन र बढ्दो व्यापार घाटालाई न्यून तुल्याउन सहयोग पुर्‍याउने उद्येश्यले तयार पारिएको यस नीतिलाई अविलम्ब कार्यान्वयन गराउने तर्फ महासंघ प्रयासरत छ ।’ त्यस्तै महासंघले सरकारसँग सातैवटा प्रदेशमा हस्तकला ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराउन माग गरेको छ । शाक्यका अनुसार हस्तकला उद्योग व्यवसायको दिगो विकासका लागि सातवटा प्रदेशहरुमा एक एक वटा हस्तकला ग्राम स्थापना गर्न प्रयास गरिरहेको छ ।

मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु, ४५० मिटर खन्न बाँकी

चौतारा ।  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्र) सम्पन्न भएको छ ।   सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ । सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ । एसियाली विकास बंैक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । अायाेजनाकाे काम इटालीकाे सीएमसीले गरीररहेकाे छ । रासस

शनिबारदेखि बिराटनगरको हाटखोलामा एनसेल मेला

काठमाडौं । एनसेल प्रालिले आफ्ना ग्राहकसँग खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदानगर्न बिराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ को आयोजना गर्ने भएको छ । गतसाता पोखरामा गरेपछि एनसेलले शनिबार हाटखोलामा मेला आयोजना गर्न लागेको हो । पोखरेलीदर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमले मेलामा दर्शकले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टको मजा लिन सक्ने एनसेलले जनाएको छ । मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधी फोरजी थिममाआधारित हुनेछन् । दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् । मेलामा कलाकारहरु शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समुहमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । साँझ ६ः३० बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको एनसेलले जानकारी दिएको छ । आगन्तुकले मेलामा, देशको १९ शहरमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर परीक्षण पनि गर्न सक्नेछन् । दर्शकले मेलामा नै आवश्यक कागजात बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी हुदै

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको हो । रितिपुर्वक आवेदन दिने १ लाख ४८ हजार ८७४ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ । हकप्रद बाँडफाँडपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर गर्ने भएको छ । मर्जरमा जाने प्रस्ताव विशेष साधारणसभाले पारित गरेकाले मर्जर प्रक्रिया सुरु हुने छ । टुरिजमलाई गाभेपछि मेगाको चुक्तापुँजी साढे ९ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंक तथा वित्तीय संस्थाको सीईओ निवृत्ति भएको ६ महिनापछि मात्र अर्को संस्थामा जान पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एउटा संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थामा नियुक्त हुन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गरी नियुत्ति सम्बन्धित अस्वस्थ अवस्थालाई नियमन गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ । अब कुनै एक बैंक तथा वित्तीय संस्थाको सीईओले जागिर छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको सीईओ हुन पाउने भएको छ । यस्तै पदावधि पुरा नगरी हटेको सीईओको हकमा पनि यो नियम लागु हुने केन्द्रीय बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाको सञ्चालकले पनि छाडेको ६ महिनापछि मात्र अर्को संस्थामा जान पाउने व्यवस्था गरेको छ ।

मौरीपालक गणेशको वार्षिक आम्दानी छ लाख

लेकम, दार्चुला । पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक  छ लाख रूपैयाँ भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गरेका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बनेका छन् । स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खोज्नेहरुले गणेशबाट सिक्नुपर्छ । पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा मौरीपालन शुरु गर्नुभएका उहाँले यसै व्यवसायबाट ८ जनाको परिवार सजिलैसँगै पालिरहेका छन् । रिड्स नेपाल नामक संस्थाले शुरुमा २ घार मौरीे उपलब्ध गराएको थियो । त्यही २ घार मौरीबाट गणेशले ३०० घार मौरी बनाए। अहिले भने उनीसँग ५० घार मात्रै छ । उनले भने– “३०० घार बनाएको भए पनि अरु घार बिक्री गरें । अब ५० घार बाँकी हुन ।” सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले यहाँ मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उनकाे भनाइ छ । कक्षा ३ सम्म मात्रै पढेका गणेशले स्वदेशमै श्रम बेचेर आफ्नो घरधन्दा चलाइरहेका छन् । “छोराछोरीको पढाइ गर्न कुनै समस्या छैन,” उनले भने– “घरधन्दा चलाउन कसैसँग मुख जोड्नुपरेको छैन ।” वार्षिक ५० घार जति बिक्री गर्ने गरेको र चार क्विन्टल मह बिक्री गर्ने गरेको उनले बताए । स्थानीय बजारमा मह प्रतिकिलो  ८०० रूपैयाँका दरले बिक्री हुने गरेको छ । उहाँले भने– “मौरीसहितको घार बिक्री गर्दा प्रति घार ८ हजार रूपैयाँ प्राप्त हुन्छ ।” मौरीपालन व्यवसायबाट उनकाे वार्षिक ६ लाख रूपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ । मौरीपालन गर्दा शुरुमा केही अप्ठेरो आएको भए पनि अहिले आएर कुनै समस्या नभएको अनुभव सुनाउछन । हाल रहेका ५० घार मौरीबाट अबको केही दिनभित्रै २०० घार बनाउने उनकाे लक्ष्य छ । आउँदो वर्षमा पाँच क्विन्टल मह बिक्री गर्ने सोच बनाएका ४४ वर्षीय गणेशले मौरी पाल्ने मोह नै आफूमा रहेको बताउछन। उनले भने – “व्यवसाय गर्न उमेर र पढाइ नभएर रोकिँदैन । काम गर्ने इच्छा हुनुपर्छ जाँगर आफैँ आउँछ ।” मह बिक्री गर्न कुनै समस्या छैन । घरमै मह किन्न ग्राहक आउछन। “दार्चुला, बैतडी, डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतबाट समेत मह किन्न ग्राहक आउने गरेका छन् । मौरी एक उपयोगी किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुयाएको हुन्छ । थोरै लगानीमा वर्षभरि आम्दानी हुने भएपछि यहाँका अरु कृषक पनि मौरीमा लगानी गर्न हौसिएको उहाँले बताउनुभयो । मौरी पाल्न खासै अध्ययन आवश्यक नपर्ने उनकाे अनुभव छ । एकान्त ठाउँ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरीको बारी आवश्यक हुन्छ । । मौरीले बिरुवाको परागसेचनमा सहयोग पुयाउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ । मौरीपालनसँगै गणेशले तरकारी खेती र बाख्रापालन समेत गरेका छन। बाख्रापालन र तरकारी खेतीबाट समेत उनले थप आम्दानी गरिरहेका छन । तरकारी खेतीबाट पनि मात्रै उहाँले वार्षिक  ३ लाख कमाउछन भने बाख्रापालनबाट वार्षिक २ लाख रूपैयाँ ।