महालक्ष्मी बैंकले दियो प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकको खाडीचौर स्थित शाखाले संस्थागत बलेफी गाँउपालिका ७, खाडीचौरमा रहेको श्री बालशिक्षा माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । उक्त शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि.खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेकी हुन् । बैंकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वीत भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
चीनको हुवाजिनले सिमेन्टमा १५ अर्ब लगानी ल्याउने, बोर्ड र कम्पनीबीच प्रारम्भिक सम्झौता
काठमाडौं । चीनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको हुवासिन सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भीक आयोजना लगानी सम्झौता भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् । हुवासिनले ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ । मस्र्यौदा सञ्चालक समितिबाट पारित भएपछि औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता हुने छ । हुवाजिनले सिमेन्ट कारखाना स्थापना गर्न १५ अर्ब रुपैयाँ लगानी चीनबाट ल्याउने भएको छ । दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ । कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरिसकेको छ । सिमेन्टमा लगानी गर्ने तयारीमा रहेको हुवाजिन दोसो चिनियाँ उद्योग हो । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ । होङसीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । आउदो फागुन अन्तिमसम्म होङसीले सिमेन्ट उत्पादन थाल्ने छ । होङसीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
विद्युतीय भुक्तानी प्रणाली लागू गरिने
काठमाडौँ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागेको हो । आन्तरिक राजश्व विभागलाई पूर्णरुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिए। उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ । सहसचिव पौडेलले भने , “मोबाइल भुक्तानी, वास्तविक समयमा भुक्तानी (रियल टाइम पेमेन्ट), डिजिटल पेमेन्ट र नेक्स्ट जेनेरेसन पेमेन्टलाई मिलाएर एकीकृत (युनिफाइड) भुक्तानीका लागि आवश्यक काम राष्ट्र बैंकले गरिरहेको छ ।” राष्ट्रिय भुक्तानी प्रणाली बनाउनका लागि राष्ट्र बैंकलाई जिम्मा दिइएकाले समयमै काम भई कार्यान्वयनमा आउने विश्वास लिइएको छ । यस प्रणालीले राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत र करदाताबीचमा सिर्जित अवरोधहरु निराकरण हुने विश्वास लिइएको छ । प्रणालीको प्रयोगसँगै न्यायपूर्ण, सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजश्व अधिकतम बनाउन सहयोग पुग्ने सहसचिव पौडेलको दाबी छ । पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय (२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय (१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर) साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ । त्यसपछि सरकारले गैरकर राजश्व कार्यालयमा उक्त प्रविधिको प्रयोग गर्ने योजनाका साथ अगाडि बढाएको छ । त्यसका लागि कानुनी तथा प्रविधिगत सुधार गरिरहेको अर्थ मन्त्रालयले जनाएकोे छ । रासस
नर्भिक अस्पतालले सुरु गर्यो सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन, २ सय शैय्या थप्ने तयारी
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधी जडान सहितको उक्त सेवाको बुधबार पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन् । उक्त प्रविधी जडानपछि अस्पताल पूर्व रुपमा न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएको सञ्चालकले जनाएका छन् । नेदरल्याण्डमा निर्मित ३.०टि इन्जेनिया एमआरआईमा यसको सुरुङ भित्र श्रव्य-दृश्य प्रणाली छ । जसकारण बिरामीले आफूलाई मनपर्ने, सङ्गीत तथा भिडियो सुन्न वा हेर्न सकिने सञ्चालकले जानकारी दिएका छन् । एमआरआई प्रक्रियाको चित्र स्पष्ट र आरामदायी सुविधा भएको यो नेपालकै पहिलो प्रविधी भएको दाबी गरिएको छ । यो प्रणालीमा सामान्य एमआरआईभन्दा करिब ८० प्रतिशत कम ध्वनी उत्पन्न हुनेभएकाले बिरामी डराउने समस्या नरहेको सञ्चालकले जानकारी दिएका छन् । सीटी स्क्यानमा आइडोजफोर प्रणाली रहेकाले यसलाई विश्वकै उत्कृष्ट मानिएको सञ्चालकको दाबी छ । यो प्रविधी पूर्णरुपमा बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले जानकारी दिइन् । नेपालको घरदैलोमा अन्तराष्ट्रिय स्तरको चिकित्सा सेवा पुर्याउँदै सेवा नर्भिकले आफूलाई अझै परिस्कृत र परिमार्जित गरेर सेवा सुविधाहरु थप्न लागेको उनले बताइन् । ‘आगामी पञ्चवर्षीय योजना अन्तर्गत नर्भिकको हालको पूर्वाधारमा आमूल परिवर्तन गरी विद्यमान शैय्या थप गरी २०० पुर्याउनेछौं ‘, उनले भनिन्,’ त्यस्तै ३ मोडुलर अपरेटिङ सुइट्समा जेसिइ मापदण्ड अनुसार थप पाँच अपरेटिङ सुइट्सहरु थप गरी ८ वटा अत्याधुनिक मोडुलर सुइट्स सञ्चालनमा ल्याइनेछन् ।’ त्यस्तै अस्पतालमा कार्डियोलोजी सेन्टर, डाइजेस्टिभ डिजिज सेन्टर, मदर एण्ड चाइल्ड सेन्टर, आइभिएफ सेन्टर, पल्मोनरी सेन्टर र ट्रमा केयर सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन् ।
लगानीकर्ताको ध्यान प्रमोटर सेयरमा, एकै दिन नेपाल लाइफको ११ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला लगानीकर्ताका ध्यान संस्थापक (प्रमोटर) सेयर खरिदतर्फ गएको छ । बुधबार २१ अंकले सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा १ लाख कित्ता सेयर प्रमोटर सेयर किनबेच भएको छ । नेपाल लाइफको प्रोमटर सेयर किनबेचले बुधबारको सेयर कारोबार बढाएको हो । नेपाल लाइफको सेयर मूल्य १ हजार ७५२ रुपैयाँ छ । आधा मूल्यमा सेयर प्रमोटर सेयर किनबेच हुने गरेकोमा नेपाल लाइफको साधारण भन्दा २२४ रुपैयाँमा भन्दा बढी मूल्यमा किनबेच भएको छ । नेपाल लाइफको प्रमोटर सेयर मात्रै १० करोड ९९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कुल ८ वटा कारोबारमा २८ नम्बर ब्रोकरले सेयर बेचेको र १७ नम्बरले सेयर खरिद गरेको देखाएको छ । दुबै कम्पनी मारवाडी समुदायको हो । बुधबार ७६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार बढेका बेला प्रमोटर सेयरको किनबेच हुने गरेको एक ब्रोकरले बताए । साधारण सेयरको आधा मूल्यमा किन्न पाइने र प्रतिफल उतिनै पाइने भएपछि बजार घटेका बेला लगानीकर्ताको आर्कषण प्रमोटर सेयरमा हुने ती ब्रोकरको भनाई छ । मारवाडी व्यवसायीले नेपाल लाइफको प्रमोटर सेयर खरिद गरेको स्रोतको भनाई छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता १ हजार ९५५ रुपैयाँमा १० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डले चुक्तापुँजी बढाउन सत्प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कारोबार बढेको छ ।
टेलिकमको सेयर बेच्नेलार्इ ठूलो नोक्सान, पीडितको गुनासाे सुनुवाई हुने नेप्सेको भनाई
काठमाडौं । आज नेपाल टेलिकमको सेयर बेच्नेहरु डुबेका छन् । सेयर किन्नेहरुलाई राम्रो फाइदा भएको छ । नेपाल टेलिकमले पुस १२ गते बुक क्लोज हुने सूचना पुस ९ गते पत्रिका मार्फत जनाएको थियो । सोहि सूचनाको आधारमा लगानीकर्ताले कम्पनीले दिने नगद लाभांश बुक गर्दै आज कम मूल्यमा सेयर बिक्री गरेको थिए । हिजो प्रतिकित्ता ८६० रुपैयाँमा कारोबार भएको टेलिकमको सेयर आज ८४३ मा कारोबार शुरु भएको थियो । कम्पनीले दिने ५५ रुपैयाँ नगद लाभांश बुक गर्दै धेरै लगानीकर्ताले प्रतिकित्ता ८११ रुपैयाँसम्ममा बेचेका थिए । बेच्नेहरुको लागि दुःखद खबर आयो र किन्नेहरुको लागि खुशीको खबर आयो । टेलिकमको बुक क्लोज पुस १६ गते मात्र हुने भयो । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्–नेप्सेसँग टेलिकमले गरेको सम्झौता अनुसार बुक क्लोज हुने मितिभन्दा एक हप्ताअघि नै सूचना प्रकाशित गर्नु पर्ने थियो । तर ९ गते सूचना जारी गरेर १२ गते बुक क्लोज हुने जानकारी दियो । टेलिकमले सम्झौता उल्लंघन गरेको भन्दै टेलिकमलाई पत्र लेखेपछि टेलिकमले पुस ११ गते नेप्सेलाई पत्र लेख्दै बुक क्लोज १६ गतेदेखि ३० गतेसम्म रहने जानकारी दियो । तर नेप्सेले पुस १२ गते मात्र टेलिकमको पत्र पायो । ‘११ बजेपछि सूचना अपडेट भएको हो’ प्रबक्ता पराजुलीले भने । ढिलोगरी सूचना प्रकाशित भएको कारण वा सम्बन्धित कम्पनीको गलत सूचनाको कारण सेयर किनबेच गर्दा हुने नोक्सानीको बारेमा नेप्सेमा सूनुवाई हुने उनले बताए । ‘पुस १२ गते नेपाल टेलिकमको सेयर बेचेर नोक्सान भयो भन्दै पीडित आए भने त्यसको सुनुवाई हुन्छ’ प्रबक्ता पराजुलीले भने । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौलेले नेप्सेलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन् ‘नेप्से, लगानीकर्ता मर्कामा परे । टेलिकमले गरेको सूचनाको दुरुपयोग लगानीकर्ताको सहनशीलता बाहिर छ।’ नोक्सानमा परेकालाई क्षतिपूति दिने वा नदिने निर्णय गुनासो सुनुवाई समितिले गर्ने पराजुलीले बताए ।
किन जाँदैछ सेयर बजारमा पहिरो ? यस्ता छन् कारण
काठमाडौं । ‘हामीले सेयर कर्जाको ब्याजदर १५ प्रतिशत पुर्याएका छौं, त्यसको सिधा अर्थ भनेको सेयर कर्जा लिन नआउनु भन्ने नै हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको भनाई हो यो । अर्थात बाणिज्य बैंकहरुले यतिबेला सेयर कर्जा कटौती गरेका छन । बरु उल्टै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । बजारमा लगानी योग्य पुँजीको पर्याप्तता नभएका संकेतहरु पनि यथेष्ठ मात्रामा देखिईसकिएको छ । निर्वाचनपछि बजारमा आएको भनिएको पुँजी पनि बैंकिङ च्यानलमा आईनसकेको स्पष्टै देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिक प्रतिवेदनका अनुसार बैंकहरुको निक्षेप संकलन दर भन्दा पनि कर्जा लगानीको दर बढि देखिएपछि सावधानी अपनाउन भनिसकेको छ । ‘वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ ।’, राष्ट्र बैंकले भनेको छ । केन्द्रिय बैंकले कर्जा प्रवाहमै सावधानी अपनाउन भनिरहेका बेला अनुत्पादक मानिएको सेयर कर्जामा लगानी बढाउने सम्भावनै देखिन्न । मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयरमा कर्जा लगाउन पाउने व्यवस्था गरेको छ । त्यसका अलवा बजारमा सेयरको आपुर्ति ह्वात्तै बढेको छ । धेरै कम्पनीले भर्खरै हकप्रद सेयर निष्काशन सम्पन्न गरेका छन् । कतिपय कम्पनीको आइपिओ पाइपलाइनमा रहेको छ । त्यस्तै अधिकांश बाणिज्य बैंकहरुले भटाभट बोनस सेयर घोषणा गरिरहेका छन् । केहि जलविद्युत कम्पनीहरुको आइपिओ समेत पाइपलाइनमा छ । सेयरको अत्याधिक आपुर्तिका कारण पनि सेयर बजारमा पहिरो गैरहेको छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजार घटाउन सबै निकाय लागिपरेको आरोप लगाए । उनले नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेको निरिहताले ब्रोकर र सिमिति लगानीकर्ताले बजारमा अनावश्यक चलखेल गरेको दावी गरे । ‘बजार घटिरहेको छ तर सेयर कारोबार भने खासै घटेको छैन, सिमित मान्छेहरुले त्रास फैलाएर सस्तोमा सेयर किनिरहेका छन, बैंकहरुले पनि अनावश्यक रुपमा ब्याजदर बढाएका छन’, रौनियारले भने । अर्कातिर सेयरमा भ्याट लगाउने सरकारी अभियान अझै वार वा पार भैसकेको छैन् । आन्तरिक राजश्व विभागले सबै ब्रोकरसँग भ्याट असुल्ने स्पष्ट पारिसकेको छ, त्यस्तै आगामी आर्थिक बर्षदेखि सेयरमा भ्याट लगाउने पनि बताईरहेको छ । सेयरमा भ्याटको लफडाले पनि बजार घटाउन ठुलै भूमिका खेलिरहेको देखिन्छ । त्यसका अलवा राजनीतिक अस्थिरताले पनि बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको देखाउँछ । स्थिर सरकार मार्फत विकास र समृद्धिको सपना बाढ्दै बामपन्थीहरुले निर्वाचन जितेका थिए । तर सरकार बन्न ढिलाई भैरहेको छ र कसको नेतृत्वमा कस्तो सरकार बन्ने हो भन्ने अझै एकिन भएको देखिन्न । ‘काँग्रेस, माओवादी र मधेशवादी मिलेर सरकार बनाउँछन् भन्ने हल्ला फैलिएको छ, यसले स्थिर सरकार नआउने भन्ने मनोविज्ञान लगानी कर्तामा देखिन्छ’, रौनियारले भने । सेयर बजारमा लगानी गर्नेहरुले समाजिक सञ्जालहरुमा बिभिन्न ग्रुपहरु बनाएर सेयर बजार ओरालो लगाईरहेको आरोप पनि रौनियारको छ । सेयर बजार अत्यन्तै संवेदनशिल क्षेत्र हो, यसमा प्रवाह हुने सानो सूचनाले पनि ठुलो प्रभाव राख्छ । अहिले बैंक तथा वित्तिय संस्थाहरुले निरन्तर बढाईरहेको ब्याजदर, सेयर कर्जाको कटौती, बजारमा सेयरको आपुर्तिमा भैरहेको तिब्र वृद्धि, अनिश्चितताको भूमरीमा फसेको राजनीतिक वातावरणमा सेयर बजारका खेलाडीहरुले ठुलै माछा मारिरहेको देख्न सकिन्छ । सेयर बजार निरन्तर ओरालो लाग्नु तर सेयर कारोबारको आकारमा भने खासै गिरावट नआउनुले पनि कुनै समुहले फाइदा लिईरहेको अनुमान सहजै गर्न सकिन्छ ।
सेयर बजार २१.५३ अंकले ओरालो, कारोबार ७६ करोड
काठमाडौं । बुधबार पनि सेयर बजार २१.५३ अंकले आरोलो लागेको छ । बुधबार बजार खुल्ने वित्तिकै ओरालो लागेर १४२२.३२ अंकमा झरेको बजार १२ः३० बजे फेरी बढेर १४४३.३० अंकमा पुगेको थियो । तर त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः २१.५३ अंकले घटेर १४२५.५१ अंकमा आईपुगेको हो । बजार घटेको भएपनि बुधबार ७६ करोड ५७ लाख रुपैंयाँ मूल्यमा १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । दोहोरो अंकले बजार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटेर सेयर र स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर १० करोड भन्दा बढि मूल्यको कारोबार भएको छ ।