अल्फानजाईमी लाइफ साइन्स इन्डियाको उत्पादनहरु नेपाली बजारमा
काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध उत्पादनहरुमा प्रयोग हुने इन्जाइम्स(अर्गानिक स्टिमुलेट प्रडक्स) उत्पादन गर्दै आइरहेको छ । आइएसओ ९००१ः२००८, एफएसएसएआई, भेडिक अर्गानिक सर्टिफिकेट आदि प्राप्त कम्पनी आफ्ना उत्पादनहरु भारत, अफ्रिका, साउथ इन्ट एसियाली मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ । विशेष गरी कम्पनीद्वारा उत्पादित इन्जाइम्स चीनी उत्पादन, खाद्यतथा पेय पदार्थ प्रोशेसिङ, वेकरी, स्वास्थ्य, बायो फर्मास्युटीकल्स, कृषि, पशु पालन आदि क्षेत्रमा अर्गानिक तरिकाबाट उत्पादन बृद्धि गर्न प्रयोग गर्ने गरिन्छ । नेपाली बजारमा विशेष गरी चीनी कारखाना, पेय पदार्थ उत्पादक कम्पनी, औषधीजन्य उत्पादक कम्पनी, पशु खाद्य उत्पादक कम्पनी आदि क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
अघि बढ्यो भेरी बबई डाइभर्सन, ४८ मेगावाट विद्युत् उत्पादन गर्ने
काठमाडौं । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी-बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म एक हजार ५० मिटर सुरुङ खनि सकिएको छ । प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ । “मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग शुरु भएको छ”, आयोजना प्रमुख बस्नेतले भने, “मेशिनको प्रयोग सफल भएको छ ।” भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरु भएको हो । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए । “अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने छ”, उनले भने । प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरु क्रियाशील रहेको जानकारी दिँदै खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत २० प्रतिशत नै रहेको बताए । आयोजनाको कूल लागत रु १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै रु १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत शुरु हुनेछ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ । हालसम्मको प्रगति सन्तोषजनक एवम् उत्साहप्रद भएको टिप्पणी गर्र्दैआयोजना प्रमुख बस्नेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई आयोजनालाई नमूना बनाउने विश्वास व्यक्त गरेका छन् । सो आयोजनामा टिबिएम प्रयोग सफल भएपछि नेपालमा निजी क्षेत्रका ऊर्जा उद्यमीसमेत टिबिएम ल्याउने तयारीमा लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही पुस २१ गतेदेखि आयोजना गरेको हिमालयन हाइड्रो एक्पो र २०१८ मा समेत टिबिएम मेशिन प्रदर्शनीमा राखिनेछ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले टिबिएम मेशिनका बारेमा चासो राख्दै केही उद्यमी चीन पुगेको जानकारी दिएका छन् । रासस
कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै सिमेन्ट उद्योगीकाे मूल्य बढाउने चलखेल
काठमाडौं । कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै उद्योगीहरुले सिमेन्टको भाउ बढाउने चलखेल सुरु गरेका छन् । पुस लागेसँगै केहि प्रतिशत मूल्य बढाएका उद्योगीहरुले सिमेन्टको पुनः मूल्य बढाउने अभियान थालेका हुन् । ‘सिमेन्टको मूल्य बर्षमा ४।५ पटक घटबढ हुनु स्वभाविक हो, कच्चा पदार्थ र ढुवानी भाडा बढेकाले अहिले पनि सिमेन्टको मूल्य बढ्न सक्ने अवस्था देखिएको छ’, नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष समेत रहेका अर्घाखाँची सिमेन्टका कार्यकारी निर्देशक पशुपति मुरारकाले विकासन्युजसँग भने । उद्योगीहरुले मूल्य बढाउने चलखेल स्वरुप सिमेन्टको आपुर्ति नै रोकिरहेका छन् । भाउ नबढेसम्म सिमेन्ट आपूर्ति नगर्ने अडानमा उद्योगी रहेका छन् । ‘एक हप्तादेखि बजारमा नेपाली सिमेन्ट पाईरहेका छैनौं, मूल्य बढेपछि मात्रै बजारमा आउने उद्योगीहरुले भनिरहेका छन्’, राजधानीका एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने । यद्यपी मुरारकाले भने, सिमेन्टको आपूर्ति बन्द नगरिएको दावी गरेका छन् । पुसयता मात्रै ‘पीपीसी’ सिमेन्टको मूल्य बढेर प्रतिबोरा कारखाना मूल्य ६७० देखि ७०० सम्म र ‘ओपीसी’ ७७० देखि ८०० सम्म पुगेको छ । दुई हप्तायता ढुवानी भाडामा बोराको ३०÷३५ प्रतिशत र क्लिङ्करको भाउ समेत बढेको मुरारकाको भनाइ छ । उद्योगीहरुका अनुसार अहिले सिमेन्टको माग बढ्ने सिजन हो । यो सिजनमा विगतदेखि नै सिमेन्टको भाउ बढ्दै आएको छ । साउन, भदौ जस्ता अफ सिजनमा भने, मूल्य घट्ने गरेको छ । उनीहरुका अनुसार अहिले नेपालमा मुलुक बाहिरदेखि करिब ७० प्रतिशत कच्चापदार्थ भित्रिदै आएको छ । अबको २ वर्षभित्र कच्चा पदार्थको लागि नेपाल आत्मनिर्भर हुने उनीहरुको दावी छ ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन हुने
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले पुष २१ गते शुक्रबार विहान ११ बजे गर्ने आयोजकले जानकारी दिएका छन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । विशेष गरी सीएमसी इटली, भोइथ जरमनी, क्रिष्टल इन्डिया, फ्लोभेल इन्डिया, भ्यापटेक बुलगरिया, म्याभेल सीजेच रिपब्लीक, बीएफएल इन्डिया, पावरचाइना चाइना, सीएसईसी चाइना जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने भएका छन् । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ । हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार रुपैयाँ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् । नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल-भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको टाइटल प्रायोजक जर्मनको भोओआइटिएच कम्पनी रहेको छ भने प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । उक्त एक्स्पोको अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका छन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।
व्यवसायीले प्रधानमन्त्रीसँग भने-बैंकले ऋण दिएनन्, लगानी कसरी गर्नु ?
काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभाव संकटले अर्थतन्त्र विस्तारमा अवरोध गर्ने भन्दै यसको समधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवालाई भेटी तरलताको कारणले उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको थिए । तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई उद्योगको उत्पादन लागत बढेर उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको जानकारी गराएको छ । परिसंघले कर्जाको ब्याजदर महंगिएपछि उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको अध्यक्ष शर्माले जानकारी गराएका थिए । यही अवस्था कायम रहे आगामी वर्ष मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने भन्दै सचेत समेत गराएको छ । अर्थतन्त्रको आकार बढे अनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसियसनलगायतले उपयुक्त मौद्रिक उपकरण प्रयोगमा जोड दिए । प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हाल देखिएको तरलताको समस्या सम्बन्धित सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
टाटा नेक्सनले पायो ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड
काठमाडौं । टाटा नेक्सनले एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८को उत्कृष्ट ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड पाएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निमार्ण गरिएको सव-४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल रहेको छ । टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर, २०१७मा भारतमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ । स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ । टाटा मोटर्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।
बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्डको
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।
बार्षिक खुदनाफा १९.२३ प्रतिशत बढाउने प्रभु बैंकको लक्ष्य, ३ वर्षमा २ अर्ब ७६ करोड खुदनाफा गर्ने
काठमाडौं । प्रभु बैंकले बार्षिक १९.२३ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको छ । गत आवमा १ अर्ब ७६ करोड नाफा कमाउन सफल बैंकले आगामी ३ बर्षमा नाफा १ अर्ब १ करोड रुपैयाँ बढाएर २ अर्ब ७६ करोड रुपैयाँ पुर्याउने योजना बनाएको हो । बैंकले आगामी ३ बर्षमा खुदनाफा ५७.७१ प्रतिशतले बढाउने योजना मंगलबार हकप्रद सेयर निष्काशनको आव्हानपत्र ३ वर्षको व्यवसायीक योजना सार्वजनिक गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा १ अर्ब ८९ करोड, ०७५/०७६ मा २ अर्ब १० करोड ६८ लाख र ०७६/०७७ मा २ अर्ब ७६ करोड रुपैयाँ खुदनाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाउने लक्ष्य अघि सारेको छ । हाल २९.७८ रुपैंयाँ रहेको प्रतिसेयर आम्दानी रहेको बैंकले आगामी ३ बर्षपछि बढाएर ३३ रुपैयाँ ५२ पैसा पुर्याउने लक्ष्य लिएको छ । चालु आवमा बैंकले २३ रुपैंयाँ, आगामी वर्ष २५.५९ र ३ वर्षमा ३३ रुपैयाँ ५२ पैसा पुर्याउने बैंकको लक्ष्य छ । नाफाको लक्ष्य पुरा गर्न बैंकले ३ वर्षमा बैंकले निक्षेप बढाएर १ खर्ब २५ अर्ब रुपैयाँ र कर्जा लगानी ९५ अर्ब ४९ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । चालु आवमा ९५ अर्ब, आगामी आवमा १ खर्ब १० अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २३ करोड पुग्ने छ ।