विकासन्युज

अन्तरबैंक ब्याजदर ५ प्रतिशत तल, राष्ट्र बैंक भन्छ : थप तरलता पठाउन रिपो जारी गर्न पाइएन

काठमाडौं । बाणिज्य बैंकहरुले लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै केन्द्रिय बैंक र अर्थ मन्त्रालय धाईसकेका छन् । तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंक भने रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि मात्रै केन्द्रिय बैंकले रिपो जारी गरेर बजारमा हस्तक्षेप गर्न पाउँछ । तर अहिलेसम्म त्यस्तो ब्याजदर ४.५ प्रतिशतकै आसपासमा अडिएको छ । ‘बजारमा पैसाको अभावै हुन्थ्यो भने अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघ्नु पर्ने हो, अहिले हल्ला गरिएको जस्तो लगानी योग्य पुँजीको अभाव छैन, नयाँ बैंकलाई मात्रै केहि समस्या देखिएको हो’, नेपाल राष्ट बैैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विकासन्युजसँग भने । उनले बैंकिङ प्रणालीमा अझै ४१ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताए । “३ साता भयो राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । रिपो जारी गर्न अन्तर बैंक ब्याजदर ५ प्रतिशत कट्नुपर्छ त्यो भएको छैन”, उनले भने “राष्ट्र बैंक रिपो जारी गरेर बजारमा तरलता व्यवस्थापन गर्न चाहान्छ तर बैंकहरुले रिपो जारी गर्न अवसर नै दिएका छैनन् ।” चालु आर्थिक वर्ष सुरुभययता राष्ट्र बैंकले ६ पटक रिपो जारी गरिसकेको छ । रिपोको भन्दा अन्तर बैंक ब्याजदर सस्तो भएपछि यस्तो अवस्था आएको हो । गर्भनर डा. चिरन्जीवि नेपालले पनि ३ सातादेखि रिपो निष्कासन गर्न नपाएको बताएका छन् । रिपो निष्कासन गर्न नपाएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकसंग भएको विकास ऋणपत्र खरिद गर्न लागेको उनको भनाई छ । यसअघि साढे ४ प्रतिशत ब्याज कबोलेर ५ अर्ब बैंकले लगिसकेका छन । आज बुधबार केन्द्रीय बैंकले पुनः १० अर्बको ऋणपत्र खरिद योजना ल्याएको छ । केही नयाँ बैंकले आफनो पोर्टफोलियो बढाउनका लागि आक्रमक ढंगले अघि बढन चाहेको उनको भनाई छ । “भएको निक्षेप सकिएपछि अहिले केही बैंकको नजर सरकारको ढुकुटीमा गएको छ” उनले भने “बैंक डिलमा पुगिसकेका छन्, अहिले सरकारको वचत भएको रकम दिनुपर्यो भनेर हारगुहार गरिरहेका छन ।” चालु आर्थिक वर्षको ४ महिनामा बैंकको कर्जा लगानी साढे १७ प्रतिशत र निक्षेप परिचालन १४ प्रतिशत भएपछि लगानीयोग्य पुँजीको अभाव भएको उनको भनाई छ । पछिल्ला समयमा खुलेका बैंक पुरानासंग प्रतिस्पर्धा गर्न निक्षेप परिचालन, कर्जा लगानी बढाएर बढी नाफा कमाउने होडमा लाग्दा अहिलेको अवस्था आएको उनको दावी छ । ती बैंकले अहिले कर्जा लगानी २२ प्रतिशतसम्म विस्तार गर्नका लागि राष्ट्र बैंकसंग लगानीयोग्य पुँजी मागिरहेको भन्दै उनले यस्ता बैंकको नाम भने खुलाउन चाहेनन् । नयाँ पुस्ताका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका बैंकहरुमा हाल तरलताकै समस्या देखिएको छ । यी बैंकहरुले आक्रामक बजार विस्तारका क्रममा छन । आफ्नो हैसियत भन्दा अघि बढेर ऋण प्रवाह बढाएपछि यी बैंकहरुमा समस्या देखिएको राष्ट्र बैंकको जिकिर छ । यता गभर्नर डा. चिरन्जीवि नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न बैंकहरुलाई भनेका छन् । निक्षेप संकलन भन्दा कर्जा लगानी बढी गरेको आरोप लगाउदै गभर्नर नेपालले भने “निक्षेप बढाउनुस सक्नु हुन्न भने चुप लागेर बस्नुस ।” निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था नरहेको उनको भनाई थियो ।

ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा माघ १० मा, आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्ने

काठमाडौं । हालै मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीले माघ १० गते पोखरामा वार्षिक साधारणसभा बोलाएको छ । पोखरामा हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । धितोपत्र ऐन तथा नियमावलीअनुसार बोर्डमा दर्ता गरेर आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्ने कम्पनीले जानकारी दिएको छ । ज्योति लाइफले तीन महिनामा पौने २३ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ७७ वटा बीमालेखबाट २२ लाख ८९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको हो । १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफले प्रति सेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति सेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको जनाएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो । ज्योतिले आईपीओ निष्कासनको तयारी गरेपनि सञ्चालनमा आएको १ वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्कास गर्न नपाउने व्यवस्था रहेको छ । नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने(सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन् । नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासनको तयारी गरेका छन् ।

प्रिमियर इन्स्योरेन्सको एफपीओ बिक्री खुला आजसम्म

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिक्री बुधबारसम्म मात्र खुला हुने भएको छ । गत आइतबारदेखि बिक्री खुला भएको एफपीओको माग भन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ सयमपछि बन्द हुने भएको हो । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ ।

आज राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै, तरलता समस्या समधान होला ?

काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो । आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न थप रकम पठाउन लागेको हो । आइतबार २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेकोमा केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ बैंकलाई दिएको थियो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता छ । आइतबार औसत साढे ४ प्रतिशत ब्याजमा विकास ऋणपत्र राष्ट्र बैंकमा धितो राखेर बैंकहरुले पैसा उठाएका हुन् । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको हो । विकास ऋणपत्रको समयसम्म यो कायम हुने राष्ट्र बैंकले जनाएका छ । यो दीर्धकालिन तरलता प्रवाह हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ । बैंकरले मुद्दती निक्षेपको ब्याज दर नबढाउने आन्तारिक सहमति गरेका छन् । मुद्दतीको ब्याजदर बढ्दा कर्जा धेरै महंगो हुने भएपछि नेपाल बैंकर्स एसोसियसनको पहलमा बैठक गरी ब्याजदर अब नबढाउने सहमति गरेका हुन् । हाल मुद्धति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने गरी बैंकले योजना ल्याएका छन् । ब्याज नबढाउने बैंकको निर्णयले सेयर बजारमा सुधार आउन थालेको छ । बैंकले साधारण वचतमा भने ६ प्रतिशत भन्दा कम ब्याज दिइरहेका छन् ।सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।

गर्भनर नेपालद्धारा ग्लोबल आइएमईको नवनिर्मित रजिर्ष्टड कार्यालयको उद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको यस बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिर्ष्टड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिर्ष्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिएका छन् । उक्त कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । ११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै हाल बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ । साथै, नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

नबिल फाउण्डेसनद्धारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई सहयोग

काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बालिकाहरुको शिक्षाका लागि श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई बालिकाहरुको शिक्षा प्रयोजनको लागि एक लाख २० हजार रुपैंया प्रदान गरेको छ । नबिल बैंकले विगतको ३ वर्षदेखि बालिकाहरुको शिक्षा प्रयोजनको लागि पुर्याउँदै आएको उक्त सहयोगलाई नबिल फाउण्डेसनले निरन्तरता प्रदान गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले सो रकम बराबरको चेक वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानकी संरक्षीका श्रीमती अंगुरबाबा जोशीलाई गत पुस १६ गतेका दिन हस्तान्तरण गरेका छन् । सो प्रतिष्ठान समाजका विभिन्न समुदायहरु जस्तै दलित, थारु, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण, गुरुङ्ग, तामाङ्ग, राई, मधेसी आदिका बालिकाहरुको शैक्षिक विकासमा गुरुकुल पद्धति द्वारा पठन पाठन गराउने नेपालको एक मात्र कन्या गुरुकुल रहेको छ । बालिकाहरुलाई संस्कृत साहित्य तथा वेद, पुराण, उपनिषद जस्ता उच्चकोटीका ग्रन्थहरुको साथै अंग्रेजी भाषा, विज्ञान, कम्प्युटर, ललित कला, नृत्य, योग, ध्यान जस्ता विषयहरुमा पारङ्गत ज्ञान दिलाइ प्राचीन तथा आधुनिक ज्ञानको संयोजन गरी समाजमा बौद्धिक नेतृत्व प्रदान गर्न सक्ने भावी विदुषीहरु उत्पादन गर्न प्रतिष्ठान लागि परेको छ । सो अवसरमा प्रतिष्ठानको कार्यको सरहाना गर्दै अग्रवालले नबिलको यस सानो सहयोगले प्रतिष्ठानलाई सामाजिक कार्यका क्षेत्रमा सेवा प्रदान गर्न अझ बढी उत्पे्ररणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सोही अवसरमा श्रीमती जोशीले आगामी दिनहरुमा अझ बढी प्रभावकारी सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको विचार व्यक्त गरेका छन् ।

गभर्नर डा.नेपालको बैंकका सीईओप्रति आक्रोस, निक्षेप बढाउन सक्नुहुन्न भने चुप लागेर बस्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न बैंकहरुलाई भनेका छन् । १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब बैंकले लगानी गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव भएको दावी गर्दै गभर्नर नेपालले भने “निक्षेप बढाउनुस सक्नु हुन्न भने चुप लागेर बस्नुस, नत्र कार्वाही हुन्छ ।” निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था नरहेको उनको भनाई थियो । ग्लोबल आईएमई बैंकको नयाँ कर्पोरेट कार्यलयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बैंकरलाई भने “निक्षेप संकलन गरेर मात्र कर्जा प्रवाह गर्नुस नत्र भने कार्वाही हुने छ ।” अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी कार्यक्रममा गभर्नर नेपालले बैंकको कार्यशैलीप्रति कडा आलोचना गरे । उनले आफनो क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको भन्दै क्षमता बढाएर मात्र लगानी विस्तार गर्न बैंकलाई सुझाए । उनले अहिलेको अवस्था आउनुमा बैकहरु दोषि रहेको दावी गर्दै आक्रोस व्यक्त गरेका छन् । पछिल्ला केही समययता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढेको छ । अधिकाँश बैंक लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।गभर्नरले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जानकारी दिए ।  बैंकका कारण रिपोमार्फत बजारमा पैसा पठाउन नसकेको गुनासो गरे । उनले सञ्चालक समितिलाई खुसी पार्ने काम मात्र नगर्न सीईओलाई चेतावनी दिएका थिए । राष्ट्र बैंकले बैकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । यता बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात बढेर ७७ प्रतिशत पुगेको छ । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ ।

वित्तीय विवरण पेश गर्न नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले प्रकाशित गरेको सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा रु दुई करोड भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ । कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस