विकासन्युज

नेप्से २० अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । सोमबारदेखि लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २०.६३ अंकले ओरालो लागेर १४१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार कुल १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २० करोड रुपैयाँ घटी हो । दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल २९, माइक्रोफाइनान्स २६.६८, हाइड्रोपावर २६.०१, अन्य समूहको १९, विकास बैंकको १७ र बैंकिङ समूहको परिसूचक १६ अंकले ओरालो लागेका छन् ।

भूकम्पबाट विस्थापित ६ परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद

रसुवा। भूकम्पबाट विस्थापित ६ परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तेस्रो चरण अन्तर्गत डाडागाउँबाट विस्थापित ६ परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरेको हो। जिल्लाको उत्तरगया गाउँपालिकास्थित डाडागाउँबाट विस्थापित ६ परिवारलाई नुवाकोटको किस्पाङ गाउँपालिका ५ मा प्रतिपरिबार चार आना जग्गा खरिद गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए। उनले भने, ‘हामीले विस्थापितहरुको स्थानान्तरणका लागि जग्गा खरिद कार्यलाई तीव्रता साथ अघि बढाएका छौं, अहिले हामीले भुकम्पबाट विस्थापित डाँडागाउँका खुवाबहादुर तामाङ, शक्तिमान तामाङ, बुधे तामाङ, रिक्ती तामाङ, वीरबहादुर तामाङ र पूर्णबहादुर तामाङको परिवारका लागि जग्गा खरिद गरेका हौं।’ जग्गा खरिद गरेसँगै सोमबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमबीच नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यले जग्गाधनी गुणराज न्यौपानेलाई चेक हस्तान्तरण गरेका छन्। खरिद गरिएको जग्गाको मूल्य १२ लाख रुपैयाँ रहेको उपाध्यायले जनाए। केही दिनभित्र विस्थापितहरुलाई संयुक्त जग्गाधनीपुर्जा हस्तान्तरण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाले जनाएको छ। पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा रसुवामा ३ सय ५३ परिवार विस्थापित रहे पनि हालसम्म ७८ परिवारका लागि नुवाकोटको किस्पाङमा पुनर्स्थापनाका लागि जग्गा खरिद गरिएको छ।

दुई कम्पनीको २ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न दुई कम्पनीको २ करोड ८६ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले मेगा बैंक नेपाल र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार मेगा बैंकको २ करोड ७९ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको ६ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

नेपाल हाइड्रोको पुस २६ गते बुक क्लोज

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आगामी पुस २६ गते बुक क्लोज हुने भएको छ । विशेष साधारणसभामा जाने प्रयोजनको लागि यस हाइड्रो बुक क्लोज हुन लागेको हो । हाइड्रो आगामी माघ ४ गते विशेष साधारणसभामा जाँदै छ ।

कालीगण्डकी करिडोरको पर्वतखण्डमा दुईवटा पुल निर्माण शुरु

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । प्रदेशसभा सदस्य विकास लम्सालले हिजो एकैदिन दुईवटै स्थानमा पुल शिलान्यास गर्नुभयो । उक्त करिडोरको पर्वत र स्याङ्जाखण्डमा चारवटा पुल निर्माण हुँदैछ् । कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुष्माबजार नजिकै मोदीवेणीमा रु नौ करोड १४ लाखको लागतमा पुल निर्माण हुन लागेको हो । साठी मिटर लामो तथा ११ मिटर चौडा हुने पुल २०७५ असारसम्ममा सम्पन्न हुनेगरी निर्माण शुरु गरिए पनि पुलको निर्माणस्थल परिवर्तन गर्नुपरेका कारण थप एक वर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताए । अहिले निर्माण शुरु भएको स्थलभन्दा २०० मिटर तल पुल निर्माण गर्दा मोदीवेणी दिव्यधामका संरचना हटाउनुपर्ने भन्दै विरोध भएपछि स्थान परिवर्तन गरिएको थियो । मोदीखोलामा पक्की पुल निर्माणपछि पर्वतको सदरमुकाम कुष्माबजारदेखि क्षेत्र नं २ का फलेवास नगरपालिका, बिहादी, महाशिला र पैञ्यु गाउँपालिका तथा बागलुङका जैमुनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । यसैगरी लमायखोलामा पनि पाँच करोड १३ लाख दुई हजार रुपैयाँको लागतमा पुल निर्माण हुने उक्त आयोजनाले जनाएको छ । पुल २५ मिटर लामो र ११ मिटर चौडाइको हुने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । यो पुल पनि २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाहेक पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको कृष्णगण्डकी गाउँपालिकाको बीचमा पर्ने सेतीवेणी र स्याङ्जाको मिर्मीमा आँधीखोलामा पनि पुल निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । चारवटै पुल निर्माण पछि स्याङ्जाको मिर्मीदेखि पर्वतको मालढुंगासम्मको ५५ किमीमा बाह्रै महिना सावरी साधन चल्नेछ । करिडोरको पर्वतखण्डमा दुई किमीमात्रै मार्ग खोल्न बाँकी छ । प्रदेशसभा सदस्य लम्सालले यस खण्डमा चारवटै पुल निर्माण भएपछि मुस्ताङबाट सोझै गैँडाकोटसम्म सवारीसाधन चल्ने हुँदा पर्वतको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए । रासस

स्वीडेनको टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड कर तिर्न ठूला करदाता कार्यालयकाे अल्टिमेटम,नतिरे कार्वाही गर्ने

काठमाडौं । सरकारले स्वीडेनको टेलिया सोनेरा कम्पनीलाई पुँजीगत लाभकर तिर्न ताकेता गरेको छ । ठुला करदाता कार्यलयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार रुपैयाँ पुँजीगत लाभकर चुक्ता गर्न सूचना जारी गरेको हो । मेलेसियाको आजियाटा ग्रुप ब्राड मेलेसियालाई ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको पुँजीगत लाभकर ६० अर्ब ७१ करोड २४ लाख र समयमा कर नतिरेकाले सोमा लागेकाे ब्याज र हर्जना शुल्क थप ५ अर्ब गरी ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न कार्यालयले टेलियाको नाममा पत्राचार गरेको छ । १५ दिनको सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुल उपर गर्ने चेतावनी कार्यालयले दिएको छ । यसअघि गत जेठ १३ मा कर कार्यालयले टेलियालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो । ०७२ साल चैत्रमा टेलिया सोनेरालाले आजियाटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गरी नेपालबाट बाहिरिएको थियो । एनसेलको स्वामित्व आजियाटालाई बिक्री गरेपछि ठुला करदाता कार्यलयले टेलियालाई ६० अर्ब ७१ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरी तिर्न ताकेता गरेको थियो । पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि कार्यलयले बुधबार सार्वजनिक सुचना जारी गरी कर तिर्न आउन बोलाएको हो । अघिल्लो साता सर्वोच्च अदालतले एनसेललाई नेपालमा कमाएको लाभांश विदेश लैजान बाटो खुला गरेको थियो । सर्वोच्चले बाटो खुला गरेपछि कार्यलयले कर असुली गर्न ताकेता गरेको हो । टेलियाले लाभकर तिर्नुनपर्ने जिकिर गर्दै अटेर गर्दै आएको छ ।  

बोनस सेयर पछि जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार मात्रै जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समोयोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यी दुबै कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । जानकी फाइनान्सको १८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकको पनि १५.७९५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको थियो ।

परीक्षण उत्पादन सुरु भएकै दिन मिदीम आयोजना स्थानियबासीले बन्द गरे

काठमाडौं । परीक्षण उत्पादन सुरु गरेको दिन स्थानियबासिन्दाले ३.३ मेगावाटको मिदीम साना जलविद्युत आयोजना बन्द गराएका छन् । मंगलबारदेखि परीक्षण उत्पादन थालेको मिदीमले स्कुल, स्वास्थ्य संस्था र खानेपानीलगायत अन्य पुर्वाधार निर्माण गर्नुपर्ने बन्द गराएका हुन् । उनीहरुले ५ करोड रुपैयाँ दिनुपर्ने माग राखेर युनियन हाइड्रोपावरले निर्माण गरेको आयोजनामा स्थानिबासिन्दाले बाँधबाट आयोजनास्थलमा पानी आपूर्ति बन्द गरिदिएका छन् । १५ दिनको परीक्षण उत्पादनपछि आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा थियो । स्थानियबासिन्दाले विभिन्न माग राखेर आयोजना बन्द गर्न लगाएको युनियनका अध्यक्ष किरण मल्लले बताए । “सानो आयोजनामा त यस्तो समस्या छ ठुलोको कस्तो होला ?” उनले भने । आयोजनाका कर्मचारीले समेत तलव नपाएको अवस्था रहेको उनले जानकारी दिए । “आयोजना सञ्चालनमा आयो अब बन्द गर्नुपर्छ भनेर एकहुल आएर उत्पादनमा अवरोध गरेका छन” उनले भने । आयोजनाको सुरुङ निर्माणलगायत विभिन्न कारणले लागत बढेको भन्दै उनले जानकारी दिए । सम्झौताअनुसार बिजुली उत्पादन ढिलाइ भएको भन्दै नेपाल विद्युत प्राधिकरणले युनियनलाई जरिवाना समेत लगाएको छ ।