आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो । नेपालमा गोल्छा अर्गनाइजेशन अन्तर्गतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ । आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तर्गतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसैगरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् । अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमार रायलेदाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे । साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउँछ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ । बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ । ‘भारतीय बजारमा क्रिष्टलका उत्पादनहरु अधिक रुचाइएका छन् । उच्च गुणस्तरकाकारण नै यो सम्भव भएको हो । अब नेपालीउपभोक्ताले पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।,’ महाप्रबन्धक रायले भने । आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।
कनकाई विकास बैंकको माघ २ गते बुक क्लोज
काठमाडौं । कनकाई विकास बैंकको आगामी माघ २ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जानको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी माघ १६ गते वार्षिक साधारणसभामा जाँदै छ ।
सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने, ३ वर्षमा खुदनाफा १ अर्ब १५ करोड पुग्ने
काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले गत आवमा ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खराब कर्जा घटाउने र व्यवसाय विस्तार गरेर नाफा बढाउने लक्ष्य लिएको हो । बैंकको निष्क्रिय कर्जा ४.६५ प्रतिशत छ । यो वर्ष निष्क्रिय कर्जा आधा घटाउने योजना बैंकको छ । बैंकले हकप्रद निष्कासन गर्दा बाहिर ल्याएको विवरणअनुसार गत आवको तुलनामा खुदनाफा साढे २ गुणा बढ्ने प्रक्षेपण गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा नाफा बढाए १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुर्याउने भएको छ । यस्तै आगामी आव ०७५/०७६ मा १ अर्ब १० करोड ८८ लाख र आव ०७६/०७७ मा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको हो । नाफा वृद्धिसंगै आउदो ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) साढे २ गुणा बढाएर १४ रुपैयाँ ४६ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको ईपीएस ६ रुपैयाँ ५२ पैसा थियो । चालु आवमा दोब्बर बढाएर १३ रुपैयाँ २९ पैसा पुर्याउने छ । यस्तै आगामी आवमा १३ रुपैयाँ ८६ पैसा र आव ०७६/०७७ मा १४ रुपैयाँ ८६ पैसाँ पुर्याउने प्रक्षेपण गरेको हो । यस्तै आव ०७६/०७७ मा निक्षेप परिचालन बढाएर ५९ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड थियो । चालु आवमा बढाएर ४२ अर्ब ६३ करोड ८४ लाख, आगामी आवमा ५० अर्ब ३१ करोड ३३ लाख रुपैयाँ निक्षेप परिचालन गर्ने योजना छ । ३ वर्षमा कर्जा लगानी बढाएर ५२ अर्ब १७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गर्ने योजना बनाएको छ । गत आवमा बैंकको कर्जा लगानी २९ अर्ब ४९ करोड रुपैयाँ थियो । चालु आवमा बढाएर ३७ अर्ब १५ करोड १० लाख, आगामी आवमा ४४ अर्ब ३ करोड रुपैयाँ पुर्याउने छ । बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै संचित कोषमा भएको रकम पनि बढेर १ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा बैंकको संचित कोषको आकार बढेर १ अर्ब १ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।
औपचारिक शिक्षाको बिउ रोप्ने दरबार हाईस्कुलको पुननिर्माण अझै सुरु भएन
काठमाडौ । नेपालमा औपचारिक शिक्षाको बिजारोपण गरेको दरबार हाईस्कुलको पुननिर्माण अझै सुरु भएको छैन् । बि.स. १८५४ निर्माण भएको दरबार हाईस्कुल २०७२ बैशाख १२को भूकम्पले भत्किएको थियो । भत्किएको तीन बर्ष बितिसक्दा पनि स्कुल निर्माणको कार्य आरम्भ नहुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरु घाम, पानी र धुलो सहेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतो भन्छन्–भवन बन्ने प्रक्रिया सुरु भएको छैन्, विद्यार्थीहरुलाई ट्रसमा राखेर पढाईरहेका छौं, घाम, पानी र धुलोले सताईरहेको छ । नेपालमा औपचारिक शिक्षाको विजारोपण गर्दै तत्कालिन श्री ३ महारज वीर शमशेरले दरबार हाईस्कुलको स्थापना गराएका थिए । हाल स्कुलमा ३०० जना विद्यार्थीहरु अध्ययनरत छ भने १६ शिक्षिक शिक्षिकाले अध्यापन गराईरहेका छन् । स्कुल निर्माणका लागि सम्पूर्ण लगानी चीन सरकारले गर्ने सहमति भैसकेको छ । विद्यालय भवनको डिजाइन तयार भैसकेको छ तर पुरातत्व विभागले स्विकृत भने गरिसकेको छैन् । ‘दरबार हाईस्कुलको डिजाइन तयार भएको छ, हामी अध्ययनको अन्तिम चरणमा पुगेका छौं, पुरानो भवन अनुसार नै पुननिर्माणको काम अघि बढ्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । प्राचीन स्मारक ऐनमा १ सय वर्ष पुरानो प्राचीन संरचनाको आकार, उचाई र स्वरुपमा कुनै परिवर्तन गर्न नपाइने व्यवस्था छ । सोही ऐन अनुसार नै दरबार हाईस्कुलको पुननिर्माणको काम अघि बढाउन लागिएको हो । नक्सा पास भएसँगै चीन सरकारको पुर्ण लगानीमा स्कुलको पुननिर्माण अघि बढ्ने सिडिई घिमिरेले बताए । (प्रशिक्षार्थी)
६ बर्षमा एक अर्ब ४१ करोड नगद अनुदान, उपलब्धि कति ?
काठमाडौं । सरकारले निर्यातमा उपलब्ध गराउँदै आएको नगद अनुदानमाथी प्रश्न उठेको छ । गत ६ आर्थिक बर्षमा एक अर्ब ४१ करोड रुपैंयाँ निर्यातमा नगद अनुदान दिईसकिएको छ । तर निर्यातको मात्रा भने अझै पनि अपेक्षाकृत रुपमा बढ्न सकिरहेको छैन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाका अनुसार आर्थिक बर्ष २०६८।६९ देखि गत आव २०७३।७४ सम्ममा एक अर्ब ४१ करोड रुपैंयाँ नगद अनुदान दिईसकिएको छ । आव ६८।६९ मा १० करोड, ६९।७० मा १८ करोड, ७०।७१ मा ३८ करोड, ७१।७२ मा २५ करोड, ७२।७३ मा २० करोड र ७३।७३ मा २९ करोड नगद अनुदन दिएको थियो । तर निर्यात भने अझै पनि नबढेकाले यसमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो । उनले निर्यात बढाउन नसक्ने उत्पादनहरुले पनि अनुदान पाईरहेको पनि बताए । हाल निर्यातजन्य उद्योगहरुले कुल निर्यातको २ प्रतिशत नगद अनुदान पाउँदै आएको हस्तकला महासंघका सहायक निर्देशक सुविन्द्र बज्राचार्यले बताए । उता, अर्थविद डा. पोषराज पाण्डेले भने पनि निर्यातमा उपलब्ध गराइने नगद अनुदानमाथी पुनर्विचार गर्नुपर्ने धारणा राखे । निर्यात जन्य उत्पादनहरुको बिशेष प्रवद्र्धन गर्न नसकिएकाले पनि निर्यात बढाउन नसकिएको पाण्डेले बताए । उनले निर्यातको अधिक सम्भावना भएका निश्चित उत्पादनहरु तोकेर नगद अनुदात तथा अन्य सुबिधाहरु दिनुपर्नेमा पनि जोड दिए ।
दिनभरी बल्छन् तराईका नगरपालिकाका सडक बत्ति, बल्ब निकाल्न प्राधिकरणको निर्देशन
काठमाडौ । तराई/मधेशका नगरपालिकाले रातिका उज्यालाका लागि राखिएका बत्ति दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गतका भरतपुर तथा वीरगंज महानगरपालिका, हेटौडा उपमहानगरपालिका, गौर, कलैया, लगायतका नगरपालिले विद्युतको पोलमा झुण्डाएर सडक बत्तिका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा वत्ति बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन । यसैगरि, जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवा लगायतका नगरपालिकाले राखेका सडक वबत्ति दिनभर बलिरहेका छन् । सडक वत्ति रातको समयमा मात्रै बालिने भएकाले त्यस्ता सडक वत्तिको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा वत्ति राख्ने तर त्यसलाई ननिभाउँदा विजुली चुहावट भइरहेको छ । यसबाट नेपाल विद्युत प्राधिकरणले करौडौं रुपैयाँ राजश्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्यमा आपूर्ति पुग्दैन । एकातर्फ दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ भारतबाट बढी आयात गर्नुपर्छ । ‘निर्वाचित जन प्रतिनिधि आएपछि सडक वत्ति राख्न प्रतिश्पर्धा नै चलेको छ, तर, हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावीरुपमा सडक वात्ति राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन’, जनपुर क्षेत्रीय कार्यालय अन्तर्गतका एक बितरण प्रमुखले भने,‘किन यस्तो गरियो भनेर मेयर/उपमेयरलाई सोध्यो, हामी निर्वाचित प्रतिनिधि हौ, यस्तो अधिकार छ भन्नु हुन्छ, उहाँहरुको अगाडि हामी निरिह बन्नु पर्ने अवस्था छ ।’ सडक वत्तिबाट विद्युत चुहावट भइरहेको र राजश्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक वत्ति निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घिसिङले जनकपुर तथा हेडौडा क्षेत्रीय कार्यालय अन्तर्गतका बितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । ‘त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक वत्ति दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजश्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ’उनले भने,‘वत्ति निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नु पर्यो, अब त्यस्ता वत्ति निकाल्न अभियान नै सुरु गरिसकेका छौं ।’ उनले दिउसो बलिरहने सडक बत्ति निभाइदिएर ‘उज्योलो नेपाल’ अभियानलाई सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे । सडक वत्ति दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर बितरण केन्द्रको विद्युत चुहावटमा सडक बत्तिको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ति दिनभर बलिरहन्छ । त्यसलाई नत जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक वत्तिसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्विकारे । उनले भने,‘सडक वत्ति निभाउन भनिरहेका छौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन’,उनले भने,‘मेयर÷उपमेयरलाई अनुरोध गर्यो, गर्दैछौं भन्नु हुन्छ तर अहिलेसम्म नतिजा देखिएको छैन ।’ हेडौडा क्षेत्रीय कार्यालय अन्तर्गतको सडक वत्तिको बक्यौता ७१ करोड ४१ लाख रुपैयाँ छ । विद्युत चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरि। जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको सडक बत्तिको बक्यौता ५७ करोड १४ लाख ४८ हजार रुपैयाँ छ । विद्युत चुहामवट ३६.५५ प्रतिशत छ । यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मन्त्रिपरिषद्ले गत असारसम्मको सडक वत्तिको बक्यौता तिरिदिने निर्णय गरेको छ । वक्यौता रकम सम्बन्धित नगरपालिका÷गाउँपालिकाले समर्थन भने गर्नु पर्ने छ । प्राधिकरणले अहिले बक्यौता रकमलाई समर्थन गरिदिन आग्रह गर्दै सम्बन्धित नगरपालिका÷गाउँपालिकालाई पत्राचार गरिसकिएको जनाएको छ ।
काठमाडौँको तापक्रम एक डिग्री
काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ । “काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उहाँले भने। बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ । आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा ऋणात्मक(माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ । रासस
नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङाना
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् । संघको बिहीबार बस्ने विशेष साधारण सभाले उनलाई औपचारिक रुपमा अध्यक्षको घोषणा गर्दैछ । उनको विरुद्धमा कुनै पनि बैंकर्सले अध्यक्षमा दाबेदारी नपरेपछि हालका उपाध्यक्ष रहदै आएका ढुङगाना एक्ला उम्मेदवार हुन् ।