२५ अर्बले काम नगरेपछि राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै
काठमाडौं । लगानीयोग्य पुँजीको संकट समधान गर्न नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । राष्ट्र बैंकले सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत एक सातामा ३ पटक गरेर २५ अर्ब रुपैयाँ पठाउदा पनि पुँजीको समस्या समधान नभएपछि आइतबार पनि बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ पठाउन लागेको हो । यो समेत गरी राष्ट्र बैंकले बजारमा पठाउने रकम ३५ अर्ब रुपैयाँ पुग्ने छ । बैंक तथा वित्तीय संस्थाले बिहीबार पनि बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकल आउदो आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बिहीबार १८ बैंक तथा वित्तीय संस्थाले १४ अर्ब १४ करोड ४४ लाख रुपैयाँ माग गरेकोमा १३ संस्थाले ७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ मात्र पाएका छन् । कुपन रेट र डिस्काउन्ट रेट जोडदा ब्याजदर करिडोर नीतिले तय गरेको ३ प्रतिशत तल गएपछि आज धेरै रकम बजारमा नगएको हो । लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए । बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
टाटा मोटर्सको सोरुममा पुस २१ गतेदेखि ‘जनावरी फेष्ट’ संचालन हुँदै
काठमाडौं । टाटा मोटर्स र नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ बर्षको उपलक्ष्यमा ‘जनावरी फेष्ट’ कार्यक्रम संचालन गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा पुस २१ गते देखि २३ गते सम्म संचालन हुने छ । उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेष्ट, टियागो, हेक्सा, स्ट्रोम लगाएतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक सो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिभर बुकिङ्ग गर्ने ग्राहकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ । बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहनेमा पनि कम्पनी विस्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।
बूढीगण्डकी माथिल्लो तामाकोशी ढाँचामा निर्माण हुने, २ खर्ब ७० अर्बकाे लागत
काठमाडौं । बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले आयोजनाको प्रक्रिया शुरु गर्न प्राधिकरणलाई निर्णयसहित पठाइएको जानकारी दिए । सरकारले गत मंसिर ८ गते योजना आयोगका उपाध्यक्ष डा वाग्लेको संयोजकत्वमा गठन गरेको समितिले केही समय पहिले उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री कमल थापालाई प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्देशनसहित प्राधिकरणलाई आयोजना कार्यान्वयन शुरु गर्न निर्देशन दिएको घिमिरेले बताए । आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेना, नेपाल प्रहरीको कल्याण कोष तथा स्वदेशी बैंक तथा वित्तीय संस्थाको रकम लगानी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । फ्रान्सेली परामर्शदाता टक्याटबेलले तयार पारेको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजनाको कूल लागत रु दुई खर्ब ७० अर्ब बराबर हुनेछ । उक्त लागतमध्ये सरकारले प्राधिकरणलाई रु ९४ अर्ब अनुदानमा उपलब्ध गराउनेछ । सरकारले आयोजना माथिल्लो तामाकोशीको ढाँचामा निर्माण गर्ने गरी प्रस्ताव तयार पारेको छ । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत हिस्सा रहनेछ । बाँकी नपुग रकम भने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका निकायबाट लिइनेछ । यस्तै सरकारले पूर्वाधार शुल्कमार्फत उठाउँदै आएको रकमसमेत आयोजनामा लगाइनेछ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार बिन्दुमा नै प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबापत हालसम्म रु १३ अर्ब ५० करोडको हाराहारीमा रकम जोहो भइसकेको छ । आगामी १० वर्षमा सो करबाट रु एक खर्ब बराबरको रकम जोहो हुनेछ । सञ्चय कोषले वार्षिक रु १० अर्बका दरले १० वर्षसम्म लगानी गर्दा रु एक खर्ब जोहो हुनेछ । माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत्जस्ता आयोजनाले पनि लगानी गर्ने गरी ढाँचा तयार पारिएको छ । यस्तै नेपाल टेलिकमबाट रु २० अर्ब र स्थानीय प्रभावितबाट रु २० अर्बसमेत आयोजनामा लगानी गर्न सकिने अध्ययन समितिको ठहर छ । सरकारले समेत अनुदान उपलब्ध गराएपछि आयोजना निर्माण शुरु गर्न सहज हुने प्राधिकरणले विश्वास लिएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले ऊर्जा मन्त्रालयबाट आयोजना अगाडि बढाउने सम्बन्धमा निर्णयसहितको पत्र प्राप्त भएको जानकारी दिए । उनले आयोजना कम्पनी ढाँचामा स्थानीयवासीको समेत सहभागितामा अगाडि बढाइने जानकारी दिए । सरकारले आयोजना सम्भाव्य बनाउन अनुदान दिनेसमेत विकल्प अगाडि सारेपछि आफूहरुलाई सहज हुने र आयोजना आकर्षक हुनेसमेत प्रवक्ता अधिकारीको भनाइ छ । सरकारले चालू आर्थिक वर्षमा आयोजनाका लागि रु १० अर्ब बजेट विनियोजन गरेको छ । सो रकम स्थानीय प्रभावित बासिन्दालाई मुआब्जा वितरणमा खर्च भइरहेको छ । आव २०७३÷७४ मा रु पाँच अर्ब रकम मुआब्जाका लागि खर्च भएको थियो । आयोजनामा रु ६० अर्ब रकम मुआब्जाका लागि खर्च गर्नुपर्नेछ । धादिङ र गोरखाका साविक २७ गाविसका करिब ५० हजार बासिन्दा आयोजनाका कारण प्रभावित हुनेछन् । प्रभावित अन्य क्षेत्रको मुआब्जा निर्धारण भएर वितरणको प्रक्रिया शुरु भए पनि गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा के कति निर्धारण गर्ने भन्नेबारे हालसम्म कुनै निर्णय हुन सकेको छैन । बूढीगण्डकी आयोजना सरोकार समितिले पटक पटक मुआब्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाउन र शीघ्र वितरण गर्न दबाब दिँदै आएको छ । सरोकार समितिका संयोजक हरेराम ढकाल मुआब्जा निर्धारण भएकालाई तत्काल वितरण गर्न र नभएको स्थानको समेत तत्काल तय गर्न आफूहरुले आन्दोलन गरिरहेको बताउँछन् । आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी लगानी भित्र्याउने भन्ने सन्दर्भमा लामो समयदेखि विवाद रहँदै आएको थियो । उक्त विवाद निरुपण भएको र निर्माणको प्रक्रिया शुरु गर्न ऊर्जा मन्त्रालयले प्राधिकरणलाई नै जिम्मेवारी दिएपछि स्थानीयवासी हर्षित भएका छन् । रासस
रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सलाई १ अर्ब ६७ करोडको आईपीओ निष्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो । रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस्तै आरम्भले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । दुबै संस्थालाई आईपीओ निष्कासनका लागि बाटो खुला भएको छ । आरम्भको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । यस्तै रसुवागढीमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, सिदार्थ क्यापिटल लिमिटेड र एसनआईबीएल क्यापिटल लिमिटेड रहेका छन् । रसुवागढीले पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । आरम्भको पनि ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक लगानी रहने छ । रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ५५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने, बाँध निर्माणलगायत अन्य पुर्वाधारको काम तिब्र गतिमा भइरहेको छ । कुल ४ हजार १८५ मिटर लामो सुरुङ मध्ये २ हजार ५ सय मिटर सकिएको छ । अब मुल सुरुङ खन्न १ हजार ६ सय मिटर मात्र बाँकी छ । आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को डिसेम्बरमा सकने गरी कार्ययोजना तयार पारिएको छ ।आयोजनाको समयसीमा २ वर्ष मात्र बाँकी छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।
बजारमा परिसूचक र कारोबार रकम दुबैमा सुधार, ५३ करोडको सेयर कारोबार
काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । बजारमा परिसूचक ७.२२ अंकले उकालो लागेर १४२३ अंकमा पुगेको छ । सो दिन ५३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड २६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको ५ करोड रुपैयाँको सेयर र राष्ट्रिय बीमा कम्पनीको २ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाएका छन् । बिहीबार कारोबारमा आएका १० समूह मध्ये ७ समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले उकालो लागेका छ । विकास बैंक, होटल र ट्रेडिङ समूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।
सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर सूचिकृत
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर पश्चात यस बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । बिहीबार मात्रै यस बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ लाख रुपैयाँ रहेको छ ।
१ रुपैंयाँकाे विद्यार्थी आन्दोलनले चुकाएकाे मूल्य र समाजका बेथिति
काठमाडौं । नेपाल आयल निगमले पुस १८ गते पेट्रोलियम पदार्थको मूल्य बढायो । डिजेल र पेट्रोलमा १/१ रुपैंयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैंयाँ मूल्य बढाएपछि वाम गठबन्धन समर्थक युवा विद्यार्थीले आन्दोलन गरिरहेका छन् । नेपालीमा एउटा उखान छ–बिरालो बाँधेर श्राद्ध गर्ने । अहिले देखिएको आन्दोलन पनि ठिक त्यही शैलीमा अघि बढेको छ । पञ्चायत कालदेखि २०६२/६३ सालसम्म विद्यार्थी आन्दोलनले शैक्षिक, राजनीतिक एजेण्डासँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई जनजीविकासँग जोडेर जोडतोडले उठाउँदै आएको थियो । सरकारले इन्धनको मूल्य बढाउने वित्तिकै जनजीविकाको एजेण्डाका रुपमा त्यसलाई विद्यार्थी संगठनहरुले उठान गरेर नागरिकको मन जित्ने प्रयास गर्थे । त्यससँगै राजनीतिक स्वतन्त्रका आवाजहरु गुञ्जन्थे, शैक्षिक एजेण्डाहरु माथि बहस हुन्थे । उतिबेला जनजीविकाको महत्वपूर्ण पाटोका रुपमा इन्धन रहन्थ्यो । आज पनि इन्धन जनजीविकाको महत्वपूर्ण पाटो त हो तर यो भन्दा धेरै महत्वका अन्य क्षेत्रहरु आन्दोलनको एजेण्डाका रुपमा तयार भैसकेका छन् । एउटा नागरिक रत्नपार्कबाट बानेश्वरसम्म सार्वजनिक सवारीमा जाँदा २ रुपैंयाँ ठगिमा पर्छ । उपत्यका भित्र सार्वजनिक सवारीमा ४ किलोमिटर यात्रा गर्दा १३ रुपैंयाँ भाडा दर तोकिएको छ तर सिधै १५ रुपैंयाँ तिर्न बाध्य छन् सर्वसाधारणा । यो तथ्य आन्दोलनको एजेण्डा बन्न सक्छ कि सक्दैन ? सरकारले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा खर्च गरिरहेको छ । तर आम नेपालीले आफ्नो आम्दानीको बहुमत हिस्सा आफ्ना सन्तानकै शिक्षाका लागि खर्चिरहेका छन् । राज्यको २० प्रतिशत र नागरिकको आम्दानीको पनि बहुमत हिस्सा खर्चिदाँ पनि हाम्रो शैक्षिक जनशक्ति कस्तो तयार भैरहेको छ ? निजी शैक्षिक संस्थाहरुले पैसाको बिटोसँग शिक्षा साटिरहेका छन् । एक दर्जन शैक्षिक संस्थाहरु नेपालमा दर्ता नभई, नेपालको कानुनी दायरा भन्दा बाहिर बाटै सञ्चालनमा छन् । उनीहरुले पैसालाई पैसे र रुपैंयाँलाई रुपैँये भनेर पढाईरहेका छन् । विद्यार्थी आन्दोलनले यसलाई छुनु पर्छ कि पर्दैन् ? बर्सेनी शुल्क बढाएर अविभावकको ढाड सेक्न पल्केकाहरुसँग युवा विद्यार्थी संगठनहरुले आफ्नो सम्बन्ध पुनरावलोकन गर्ने कि नगर्ने ? मंसिर महिनामा संस्थागत तवरले २७ हजार ९ सय ६५ जना, व्यक्तिगत तवरले २४ हजार ७ सय ९ जना र इपिएस प्रणालीबाट ४ सय १८ जना नेपाली युवा विदेशिएका छन् । यीमध्ये दैनिक औषतमा तीन जना नेपालीको शव बाकसमा फर्कन्छ । यिनको पिडालाई युवा आन्दोलनले छुनु पर्छ कि पर्दैन ? पुस १३ गते कतार उडेका एक नेपालीले फ्रि भिसा र टिकटका लागि अण्डर टेवल ९० हजार रुपैंया तिरे । अहिले कतारमा रहेका उनलाई सप्लाई कम्पनीमा काम लगाईएको छ । उनी आफूले गरेको सम्झौता विपरिद सप्लाई कम्पनीमा काम गर्न बाँध्य छन् । फ्रि भिसा र टिकेटका लागि अण्डर टेबल ९० हजार तिरेर कतार पुगेको र त्यहाँ पनि सप्लाई कम्पनीमा काम गर्न बाध्य पारिएका नेपालीको यो कथा युवा विद्यार्थी आन्दोलनको बिषय बन्न सक्छ कि सक्दैन ? खाडीको ४० डिग्री तापक्रममा काम गर्न तयार भएका युवालाई आफ्नै माटोदेखि उहाँसम्म पुग्दा ठग्ने दलालहरुलाई हाम्रो आन्दोलनको रापतापले छुन्छ कि छुँदैन ? पाँच वर्ष के गर्ने ? निर्वाचनमा पराजित भएर शेरबहादुर देउवा सत्ता छाड्ने अन्तिम अवस्थामा छन् । उनी सत्तासिन हुँदा निगमले इन्धनको मूल्य बढायो । त्यसलाई अन्तराष्ट्रिय बजार भाउ अनुसार समायोजन गरिएको भनिएको छ । भवितव्य केहि भएन भने अब वामपन्थीहरुले सत्ता सम्हाल्ने पक्का जस्तै भएको छ । निगमलाई अहिलेकै व्यवस्था अनुसार सञ्चालन गर्ने हो भने ओली प्रधानमन्त्री बन्दा पनि १५/१५ दिनमा इन्धनको मूल्य समायोजन गर्नै पर्ने हुन्छ । अन्तराष्ट्रिय बजार मूल्य अनुसार नै त्यतिबेला मूल्य बढ्न पनि सक्छ र घट्न पनि । त्यतिबेला इन्धनको मूल्य बढ्यो भने प्रधानमन्त्रीको पुत्ला जल्छ कि नाई ? निगमको सुधार, अमलेखगञ्जसम्म निर्माण हुन लागेको पाइपलाइनको औचित्य, सातै प्रदेशमा निर्माण गर्न लागिएका इन्धन भण्डारण डिपोहरुको आवश्यकता र औचित्यबारे आन्दोलनकारीले कहिल्यै केहि सोचेका छन् कि छैनन् ?
प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा वीरगंजमा उद्घाटन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराएका छन् । साथै, कम्पनीका संचालक अमात्यले यस इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ’ उनले भने, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजना सहित हामी आएका छौं ।‘ कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले भने, हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो ।‘ कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने जानकारी गराएका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।