एनआईसी एसिया बैंकले १ अर्बको ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन गर्ने
काठमाडौं । एनआईसी एसिया बैंकले एनआईसी एसिया ग्रोथ फण्डको निष्कासन आउदो माघ २ गतेदेखि गर्ने भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई ग्रोथफण्ड निष्कासन गर्न लागेको हो । लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ग्रोथ फण्डको अवधि ७ वर्ष रहेको छ । एनआईसी एसिया बैंकको म्युचल फण्ड अन्र्तगत सञ्चालन हुने ग्रोथ फण्डको कोष प्रवन्धकमा बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ । न्युनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड रहेको छ । आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ । हालै बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।
यसरी बन्दैछ काठमाडौंमा १२ तले भ्यु टावर, ४ सय कामदार निर्माणमा
काठमाडौं । गत वर्ष माघदेखि काठमाडौंको पुरानो बस पार्कमा निर्माण सुरु गरिएको काठमाडौं भ्यु टावरको काम तिब्र गतिमा भइरहेको छ । अहिले भ्युटावर निर्माण तिब्र गतिमा भइरहेको सञ्चालक भैरव भेटवालले बताए । ‘द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको छ,’ उनले भने ‘अबको दुई वर्षपछि काम सिध्याउछौं ।’उनको अनुसार औपचारिक रुपमा चार महिना अघिदेखि काम सुरु भएको हो । हालसम्म कुनै रोकावट आएको छैन । ‘अहिले दिन र राती गरी ४ सय जना कामदार काममा खटिएका छन्,’ उनले भने ‘हालसम्म १ हजार १ सय पाइलीङ गर्न पर्नेमा आधा (साढे पाँच सय) सकिएको छ ।’ त्यस्तै कुल ३८० मिटर शेयरवाल निर्माण गर्न पर्नेमा ६० मिटर लागिसकेको छ । कम्पनीको अनुसार अहिले भ्यु टावर निर्माण कार्यका लागि ३ म्यैट मेसिन, ४ क्रेन, २ भ्याकु, १२ टिपर लगायतका सम्पूर्ण ठूला÷साना मेसिनहरु सञ्चालन भइरहेको छ । ‘अहिलेसम्म ६१ करोड रुपैयाँ खर्च भइसकेको छ,’ कम्पनीका सञ्चालक भेटवालले भने । टावर निर्माण आरम्भ गर्नका २०७३ बैशाखमा पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारिएको थियो । बसपार्क सारिएको ८ महिनापछि टावर निर्माण आरम्भ गरिएको होे । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ । कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुने जनाइएको छ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गरिनेछ । २०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत १ अर्ब ८७ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको थियो । त्यसपछि सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने अनुमान गरिएको छ । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ ।
एसबिआई बैंकको अध्यक्षमा सुजितकुमार बर्मा चयन
काठमाडौं । नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई चयन गरेको छ । बैंकको हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको हो । अध्यक्ष बर्मा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकका संसारभर विभिन्न मुलुकहरुमा रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले अध्यक्ष बर्मालाई गर्भनरको सचिवालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, निर्देशकहरु रमण नेपाल, बमबहादुर मिश्र र रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
सिमेन्टको भाउ नौं सय नाँघ्यो, रडको भाउ पनि बढ्दै
काठमाडौं । पछिल्लो समय सिमेन्ट र रडको भाउ बढेको छ । भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपिदिएको छ । सिमेन्ट उद्योगी तथा व्यवसायीहरुले भारतबाट भित्रिने सिमेन्टको कच्चा पदार्थकाे भाउ बढेकोले सिमेन्टको मूल्य बढेको बताएका छन् । उपभोक्तावादीहरुले भने, भुकम्प पीडितहरुको भवन पुनर्निर्माण कार्यलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा उद्योगी व्यवसायीहरुले अत्यावश्यक सिमेन्ट तथा रडको मूल्य बढाएको आरोप लगाएका छन् । अहिले पुनर्निर्माण कार्य चलिरहेको समयमा सिमेन्ट र रडको भाउ बढ्नाले मुख्यगरी भुकम्प पीडितहरुको ढाड सेकिएकोे छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २०/३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ । जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २०/३० रुपैयाँको दरले बढीरहेको छ,’ उनले भने ‘पछिल्लो समय बोरामा (५० किलो) ३० रुपैयाँ बढेको छ ।’ उद्योगमा अहिले ओपीसी सिमेन्टको मूल्य ८५० छ भने, पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । उनका अनुसार ८/९ वर्षको अबधिमा अहिले सिमेन्टको भाउ सबैभन्दा महङ्गो भएको छ । ‘अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशत बढेको छ’, उनले थपे ‘उद्योगहरुमा कच्चा पदार्थको अभाव छ । रक्सौलबाट आउन सकेको छैन । उद्योगहरुबीच कच्चापदार्थ तानातानको अबस्थामा छ ।’ त्यस्तै ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए । यद्यपी राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिनाले भुकम्प पीडितका घरहरुको पुनर्निर्माण गर्न पर्ने हालको अवस्थामा उद्योगीहरुले पीडितलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा जताभावी उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट तथा रडको भाउ बढाएको आरोप लगाए । ‘हप्ता दश दिनमा सिमेन्ट र रडको मूल्य २ देखि ३ सय रुपैयाँसम्म बढेको छ,’ उनले भने ‘कुनै पनि वहानामा उद्योगी व्यवसयीहरुले त्यसरी मूल्य बढाउन पाउदैनन् ।’ पछिल्लो समय बढेको सिमेन्ट र रडको भाउले सरकारको लाचारीपन प्रष्ट देखिएको उनको बुझाइ छ । आपूर्ति मन्त्रालयले ती निर्माण समाग्रीहरुको मूल्य नियमन् गर्न पर्ने माग उनको छ । सरकारले मूल्य बढ्नको बास्तविकता पत्ता लागाई भुकम्प पीडितहरुलाई राहत प्रदान गर्न पर्ने उपभोक्तावादीहरुको ठहर छ ।
टाटा नेक्सनको बुकिङ्ग पुस २४ गतेदेखि सुरु, २५ हजारमा कार बुक गर्न पाइने
काठमाडौं । टाटा मोटर्स्ले बोल्ड र स्पोर्टी एसयूवी टाटा नेक्सनको बुकिङ्ग यही पुस २४ गतेदेखि नेपालमा आफ्नो अधिकृत डिलरहरु मार्फत शुरु गर्दैछ । यस कारलाई नेपाली २५ हजार रुपैयाँमा ग्राहकवर्गहरुले बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । शहरहरुका लागि सहज र उत्कृष्ट मानिएको यस टाटा नेक्सनमा कारमा हुनु पर्ने सबै विशेषताहरुलाई समावेश गरेको छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको यस टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्स्को चौथो उत्पादन हो । टाटा मोटर्स्का ईण्टरनेश्नलबिज्नेस हेड-प्यासेन्जर भेकल, सुजन रोयका अनुसार, “इण्डिया अटो एक्सपो २०१४मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेला देखि नै चर्चाको विषयबन्न सफल भएको थियो । पृथक स्टाईलिङ्ग र तारिफ योग्य विशेषताहरुले टाटा नेक्सन यूवा ग्राहकहरुको लागि शहरी क्षेत्रमा उत्कृष्ट सावित हुनेछ । नेक्सनाको साथ, हामीले नेपालमा तिव्र गतिले बढ्दै गरेको एसयूवी वर्गमा नयाँ बेन्चमार्क तय गरेका छौं र कार विशेषज्ञहरुबाट आएको प्रतिक्रियाहरुले पनि हामीलाई निकै उत्साह प्रदान गरेको छ । हाम्रो परिवर्तित रणनीतिको अनुरुप, हाम्रो लक्ष्य भनेकै बजार साझेदारीमा सुधार ल्याउनुका साथै बजारमा आफ्नो उत्पादनहरु छिटो भित्राउनु हो जसका लागि हामीे थपफोकस र ऊर्जाको साथ काम गरिरहेका छौं । टाटा नेक्सनप्रतिको तपाईंहरुको प्रतिक्रिया देखेर हामी निकै प्रशन्न भएका छौं र यसको बढ्दो मागलाई मध्यनजर गर्दै चाँडै नै यसको बुकिङ्ग नेपालमा सुरु गरेका छौं।”
सानिमा क्यापिटलले डीम्याट खाता खोल्दा शुल्क नलिने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्दा लाग्ने शुल्क हटाएको छ । सानिमाले डीम्याट खाता खोल्दा लिदै आएको ५० रुपैयाँ शुल्क हटाएको जानकरी दिएको छ ।कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताएको छ । निकट भविष्यमा सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका साधारण शेयर (आईपीओ) निष्काशन हुने र सोमा आवेदन गर्नका निमित्त डिम्याट खाता अनिवार्य रहेको जानकारी सानिमाले दिएको छ । शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा खोल्न सकिनेछ ।
अब नेपालमै हुँदैछ साइबर क्राइमको इन्स्योरेन्स, धमाधम पोलिसी बनाउँदै बीमा कम्पनी
काठमाडौं । अब नेपालमै साइबर क्राईमको इन्स्योरेन्स हुने भएको छ । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक भएपछि नेपाली बीमक कम्पनीहरुले नै साइबर क्राइमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढाएका थिए । हाल नेपाल इन्स्योरेन्स कम्पनीले साइबर क्राईम सम्बन्धी इन्स्योरेन्स पोलिसी नै बनाएर बीमा समितिलाई बुझाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले साइबर क्राइम इन्स्योरेन्सको पोलीसी बनाएर बीमा समितिमा पेश गरिसकेको बताए । ‘हामीले साइबर क्राइम सम्बन्धी इन्स्योरेन्सको पोलिसी बनाएर बीमा समितिलाई बुझाई सकेका छौं, समितिले अनुमति दिएपछि नेपालमा पहिलो पटक साइबर इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा आउँछ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । बीमा समितिले पनि साइबर क्राइम सम्बन्धी जोखिमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढेको बताएको छ । ‘अधिकांश निर्जीवन बीमा कम्पनीहरुले साइबर क्राइम इन्स्योरेन्सको पोलिसी बनाउन थालेका छन्, समितिसँग पटक पटकको छलफलपछि साइबर क्राइम इन्स्योरेन्स पोलिसी बनाउन लागिएको हो’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । उनका अनुसार साइबर क्राइम सम्बन्धी विदेशी विदेशी विज्ञले नेपाली इन्स्योरेन्स कम्पनीको उपल्लो नेतृत्वलाई साइबर क्राइम इन्स्योरेन्स सम्बन्धी प्रस्तुति समेत दिएका थिए । सिइओ शाहले अघि भने–‘नेपाल इन्स्योरेन्सले नै बैंकर्सहरुलाई प्रेजेन्टेशन दिएको हो, साइबर क्राइमको बीमा सम्भव छ, जोखिम हस्तान्तरण सम्भव छ भन्ने स्थापित गरेरै छाड्छौं ।’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले पनि साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी बनाउने प्रक्रिया अघि बढाएको बताए । उनले विभिन्न देशहरुमा भैरहेको साइबर क्राइम सम्बन्धी बीमा पोलिसीको अध्ययन गरेर आगामी एक डेढ महिनाभित्र नतिजा आउने गरि काम गरिरहेको पनि जानकारी दिए । हालसम्म नेपालमा साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स गर्ने व्यवस्था नै थिएन् । विभिन्न बीमा कम्पनीले तयार पारेको पोलिसीको अध्ययन तथा एक्चुरी गरेर साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा ल्याउने समितिका निर्देशक पौडेलले बताए ।
१४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न, साढे २ करोडको कारोबार
काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब साढे २ करोड रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक नानीराज घिमिरेले जानकारी दिए । समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए । कार्यक्रममा संघका अध्यक्ष रविन कुमार श्रेष्ठले प्रदर्शनीका प्रायोजक तथा सहभागीहरु कम्पनीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको लागी आव्हान गरेका छन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले जुत्ता उद्योगमा भित्रिएको विकृती र वषै भरी जुत्ता मेला लगाउने प्रवृतीले जुत्ता उद्योगनै धरासयी हुने भन्दै यस तर्फ वेलैमा सचेत हुन सबैलाई आग्रह गर्दै संघले त्यसका विरुद्ध उचित कदम चाल्ने बताए । मेलाको प्रर्वद्धनमा उत्कृष्ट सहभागीता ब्राण्ड प्रती ग्राहकको अभिरुची, स्टलको सजावट लगायत सम्पूर्ण विद्यालाई ध्यान दिई गोल्ड स्टार र हात्ति छाप चप्पललाई बेस्ट इभेन्ट पर्फमेन्स अवार्ड को रुपमा सम्मानीत गरिएको थियो । त्यसै गरी बाँकी प्रायोजकहरु मध्येबाट बेस्ट स्टल अवार्ड म्याजिक फुटवेयर, अन्य सहभागी स्टलहरुबाट स्काई सुज र ल्याण्ड वाक सुजलाई वेस्ट स्टल अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा गुणस्तरीय उत्पादनका आधारमा कोशेली सुज, एनबी फुटवेयर र ह्युमान फिट लेदर क्राफ्टलाई वेस्ट प्रडक्टको अवार्ड प्रदान गरिएको थियो । सो अवसरमा मेलामा सहभागी स्टलवाट उत्कृष्ट स्काई सुज,‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो । प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्री कक्ष रहेको थियो । यस पटकको प्रदर्शनीमा कम्पनीहरुले आफ्नो स्टल व्यवस्थापनलाई भव्य बनाउन आकर्षक सजावट गर्नृुका साथै अन्तर्राष्ट्रिय स्तरको झझल्को प्रदान गरेका थिए । प्रदर्शनीको क्रममा हरेक दिन पनि रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच र साँझपख फेसन शो आयोजना गरिएका थियो । मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको छ । प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए ।