एभरेष्टको सेयर खुल्ने वित्तिकै १० प्रतिशतले घट्यो, किन्ने कोहि छैनन्, बेच्नेहरु लाइनमा
काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको हो । ४ हजार ७ सय ५४ कित्ता सेयर बिक्रिमा राखिए पनि कुनै लगानी कर्ता खरिद गर्न निस्किएनन् । एभरेष्टको सेयर मूल्य २१९ रुपैंयाँले घटेर १९७१ रुपैंयाँमा आईपुगेको छ । मंगलबार पनि एभरेष्टको सेयर मूल्य २४३ रुपैंयाँले घटेको थियो । कम्पनीले पुर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नपाउने भएपछि लगानी कर्ता निरास बनेका छन् । हाल सबै साधारण सेयर मात्रै रहेको कम्पनीले अब संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउनै पर्ने भएको छ । सो सेयर संरचना कायम गराउँदा पुर्व घोषित ६ सय प्रतिशतको हकप्रद सेयर निष्काशन गर्न नपाउने भएको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ देखि
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर माघ १५ देखि बिक्रि सुरु हुने भएको छ । कम्पनीले प्रति १० कित्ता बराबर ८.३ कित्ताको अनुपातमा एक सय रुपैंयाँ दरका २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । पुस २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जबाट सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउँनेछन् ।
सिभिल बैंकको हकप्रदको म्याद थपियो, माघ १२ गतेसम्म आवेदन दिन पाउने
काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । यसअघि पुस २७ गते बिहीबारसम्म हकप्रद निष्कासनको अन्तिम समय तोकिएको थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।
पञ्चकन्या हाइड्रोपावरले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुने छ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
अब पुनर्बीमामा पनि ब्रोकरः स्वदेशीलाई विदेशी खोजिदिने, विदेशीलाई नेपाली
काठमाडौं । अब पुनर्बीमामा पनि ब्रोकरको व्यवस्था हुने भएको छ । बीमा समितिले पुनर्बीमालाई थप व्यवस्थित र सुरक्षित गराउन ब्रोकर सेवा सम्बन्धी व्यवस्था गर्न लागेको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुका लागि भारतको जेबी बोडा इन्स्योरेन्स ब्रोकरेजले प्रतिनिधी राखेर ब्रोकर सेवा दिँदै आएको छ । ‘नेपाली बीमा कम्पनीका लागि व्यवसायीक ब्रोकर मार्फत काम गराउने उदेश्यले ब्रोकर सम्बन्धी निर्देशिका तयार पार्दैछौं’, बीमा समितिका नियमन विभागका प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने । त्यस्ता ब्रोकरहरुले नेपाली बीमा कम्पनीका लागि संसारका राम्रा पुनर्बीमा कम्पनी खोजिदिनेछ भने नेपाल पुनर्बीमा कम्पनीका लागि पनि विदेशी व्यापार खोजिदिनेछ । ‘नेपाली कम्पनीका लागि राम्रा विदेशी पुनर्बीमा कम्पनी खोज्ने र नेपाली कम्पनीमा पनि विदेशी कम्पनीहरुबाट पुनर्बीमा गराउने कामका लागि पुनर्बीमा दलालको व्यवस्था गर्न लागेका हौं’, नियमन विभाग प्रमुख लामिछानेले भने । समितिले पुनर्बीमा दलाल निर्देशिका मार्फत त्यस्तो ब्रोकरहरुको व्यवस्था गर्न लागेको हो । समितिले हाल त्यस्ता रि इन्स्योरेन्स ब्रोकरको चुक्ता पुँजी, सेवा शुल्क, संख्या, कार्यक्षेत्र र नियमनका उपायबारे अध्ययन गरिरहेको छ । पुनर्बीमा ब्रोकरको चुक्ता पुँजी एक करोड राख्नेबारे सहमति नजिक पुगिएको श्रोतले बतायो । बीमालाई जोखिम हस्तान्तरणको व्यवसाय मानिन्छ । एउटा कम्पनीमा गरिएको बीमा वापतको प्रीमीयम दर्जनौं पुनर्बीमा कम्पनीमा बाढिएको हुन्छ र ती कम्पनीहरुले प्राप्त गरेको प्राप्त गरेको प्रीमीयमका आधारमा जोखिम वहन गरिरहेका हुन्छन् । नेपालमा भने हालसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स मात्रै रहेको छ । पुनर्बीमा ब्रोकरले लाइसेन्स पाएर सेवा आरम्भ गरेपछि नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनी पाउने समितिले दावी गरेको छ । हाल विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका कम्पनीहरुले दावी भुक्तानी नपाएर हैरानी पाईरहेका छन् । युनाइेटड इन्स्योरेन्स कम्पनीले सिटी स्केपको दावी भुक्तानी लिन सकिरहेको छैन् । पुनर्बीमा ब्रोकर सेवा आरम्भ भएपछि त्यस्ता समस्याहरु नहुने बीमा समितिको दावी छ । आगामी डेढ महिना भित्र पुनर्बीमा ब्रोकरलाई लाइसेन्स दिने गरि बोर्डले काम अघि बढाईरहेको बताएको छ ।
बाढीपीडितलाई राहतका लागि १अर्ब बढीको अख्तियारी
काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन राहतका लागि १अर्ब ४ करोड ६ लाख ५० हजारको अख्तियारी दिएको छ । बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रतिपरिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिए । प्राधिकरण अन्र्तगतको बाढी पुनः निर्माण तथा पुनः स्थापना आयोजना प्रमुख डा सुमन कर्णले तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहतस्वरुप भोलिदेखि नै प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम वितरणको प्रक्रिया शुरु गरिने बताए । आयोजना प्रमुख डा कर्णका अनुसार बाढीपछिको पुनः स्थापना आवश्यकता आङ्कलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माणबापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो । राहत वितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । रासस
भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ गाउँपालिकामा गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । पर्यटन प्रवद्र्धन गरी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यले दिप्रुङ गाउँपालिकाले आज बतासेको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो । भिरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको परीक्षण सफल भएको सो गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “प्याराग्लाइडिङ र ¥याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य छ,” उहाँले भने, “यसले ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्दै गाउँपालिकालाई आन्तरिक स्रोत पनि जुट्नेछ ।” बतासेको भिरचुङ्माडाँडाबाट एकैसाथ चारवटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । बतासेको भिरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताए । प्याराग्लाइडिङका लागि जिल्लाका अधिकांश ठाउँ सम्भावित रहेकाले यसलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाइने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “हाम्रो जिल्ला भौगोलिक रुपमै पर्यटकीयस्थल हो,” उहाँले भने, “भिरचुङ्माडाँडालगायत सम्भावित ठाउँमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सम्बन्धित निकायमा पहल गर्नेछु ।” यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडा लगायतका ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो । खोटाङ पहाडै पहाडले बनेको जिल्ला भएकाले अधिकांश ठाउँमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । रासस
नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने
काठमाडौँ । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ । उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ । हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ । पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । “पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएको हुन्छ । हामीले त्यसैलाई ध्यान दिन खोजेका हौँ” उपमहानिर्देशक थापाले भने। नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तैः चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ । विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिए। कर्णाली नदीमाथि निर्माण गरिएको पुलको प्रविधि तथा ज्ञानको विषयमा नेपाली प्राविधिक जानकार नभएको र केही विषयसमेत थाहा नपाउने अवस्था रहेकाले चितवन–नवलपरासी जोड्ने पुल निर्माणको प्रविधि नेपाली प्राविधिकले समेत सिक्ने अवसर प्रदान गर्न लागिएको हो । कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक २ हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् । विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । सिडिइ शाक्यले आगामी दिनमा निर्माण गरिने पुल चार लेनको बनाइनेछ ।